
काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गत छैटौँ प्रतियोगिता 'सूर्य नेपाल एनपीजीए म्याच प्ले आ'जदेखि रोयल नेपाल गल्फ क्लबमा सुरु हुँदै छ ।
सन् २०२३–२४ को अर्डर अफ मेरिटको आधारमा १६ प्रोफेसनल गल्फरले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको कुल पुरस्कार राशि दुई लाख ५० हजार छ ।
उपाधि विजेताले नगद ६० हजार प्राप्त गर्नेछ । यसैगरी, दोस्रो हुनेले ४२ हजार, तेस्रो हुनेले ३२ हजार र चौथो हुनेले २४ हजार रुपैयाँ हात पार्नेछन् । क्वार्टरफाइनलमा पराजित हुने चार खेलाडीले ११ हजार र पहिलो चरणमा हार्ने आठ खेलाडीले ६ हजार हात पार्नेछन् ।
प्रतियोगिताको नियमानुसार नेपाल नम्बर एक गल्फर भुवन नगरकोटीले १६औँ वरीयताका पशुपति शर्मासँग खेल्नेछन् । नेपाल नम्बर २ गल्फर निरज तामाङ र १५औँ वरीयताका सूर्यप्रसाद शर्माबीच पहिलो चरणको खेल हुनेछ ।
अर्को खेलमा तेस्रो वरीयताका दिनेश प्रजापतिको सामना १४औँ वरीयताका रमेश अधिकारीले गर्नेछन् । चौथो वरीयताका रवि खड्का र १३औँ वरीयताका टंकबहादुर कार्कीबीच खेल हुनेछ । यस्तै, १२औँ वरीयताका प्रदीपकुमार लामाले पाँचौँ वरीयताका सञ्जय लामाको सामना गर्नेछन् ।
यसैगरी, छैटौँ वरीयताका जयराम श्रेष्ठ र ११औँ वरीयताका तोरण विक्रम शाही, सातौँ वरीयताका रामे मगरले १०औँ वरीयताका दीपक मगर, तथा आठौँ वरीयताका धनबहादुर थापाले नवौँ वरीयताका भुवनकुमार रोक्कासँग खेल्ने तालिका छ ।
पहिलो चरणका विजेता क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् । पहिलो चरण, क्वार्टरफाइनल, सेमिफाइनल र तेस्रो स्थानका लागि हुने प्रतिस्पर्धा १८ होलको हुनेछ । फाइनल भने ३६ होलको हुनेछ । पहिलो चरणको खेल भोलि हुनेछ । क्वार्टरफाइनल र सेमिफाइनल बुधबार तथा फाइनल र तेस्रो स्थानका लागि बिहीबार प्रतिस्पर्धा हुनेछ ।
“नेपालमा व्यावसायिक गल्फको वृद्धि र प्रवर्धनमा सूर्य नेपाल प्रा. लि. एक महत्त्वपूर्ण साझेदार रहँदै आएको छ,” प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालका अध्यक्ष रविन्द्रमान श्रेष्ठले भने, “विगतका वर्षहरूमा उनीहरूको निरन्तर सहयोगप्रति हामी गहिरो कृतज्ञता प्रकट गर्न चाहन्छौँ । उनीहरूको प्रतिबद्धताबिना सूर्य नेपाल गल्फ टुरले आजको उचाइ हासिल गर्न सक्ने थिएन । म यस साता आयोजना हुने 'म्याच प्ले' हेर्न विशेष उत्साहित छु । देशमा गल्फको विकासप्रति सूर्य नेपालको निरन्तर समर्पणका लागि हामी हार्दिक धन्यवाद दिन चाहन्छौF ।”