
काठमाडौं । नेपाल धितोपत्र बोर्डले ट्रेड टावर लिमिटेडलाई साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले सोमबार टावरलाई आईपीओ निष्कासनको अनुमति दिएको हो ।
ट्रेड टावरले ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँबराबरको ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा आईपीओ निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासनको अनुमतिका लागि ट्रेड टावरले २०७९ असारमा आवेदन दिएको थियो ।
कम्पनीको चुक्तापुँजी ८१ करोड ५६ लाख रुपैयाँ छ । कम्पनीले पुँजीको ४८.६९ प्रतिशत आईपीओ निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्साइज क्यापिटल लिमिटेड रहेको छ ।
ट्रेड टावर थापाथलीले एक वर्षमा ११ करोड १० लाख रुपैयाँ कारोबार गरेको छ । सन् २०२३ मा ९ करोड, २०२२ मा आठ करोड १० लाख, २०२१ मा ६ करोड ८० लाख, २०२० मा आठ करोड ५० लाख र २०१९ मा आठ करोड ७० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।
कम्पनीले सन् २०११ देखि राजधानीको थापाथलीमा ट्रेड टावर सञ्चालनमा ल्याएको हो । टावरमा ३५० जना संस्थापक रहेका छन् । ट्रेड टावरको दोस्रो परियोजना तीनतारे होटेल क्रिष्टल पशुपति निर्माण गरिरहेको छ । आउँदो वैशाखदेखि होटेल पूर्ण क्षमतामा सञ्चालनमा आउने भएको छ । कम्पनीले राजधानीको गौशालामा तीनतारे होटेलसहितको बहुउद्देश्यीय व्यापारिक भवन निर्माण गरिरहेको छ । होटेल क्रिष्टल पशुपतिको निर्माण अन्तिम चरणमा पुगेको छ ।
होटेल आउँदो वैशाखदेखि पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी गरेको विकासकर्ता ट्रेड टावरले जनाएको छ । यद्यपि, होटेल आंशिक सञ्चालनमा आइसकेको छ । ९० मध्ये ४९ कोठा सञ्चालनमा आइसकेका छन् ।
आउँदो वैशाखदेखि ९० कोठा र पसललगायत अन्य पूर्वाधार सञ्चालनमा आउने भएको छ । टावरले गरेको आम्दानीबाट होटेल बनाउन बैंकबाट लिएको ऋणको ब्याज भुक्तानी गरिरहेको छ ।
निर्माणाधीन होटेल नयाँ वर्षको अवसर पारेर २०८१ वैशाखबाट सञ्चालन गर्ने लक्ष्य लिएको थियो । होटेल पूर्वाधार निर्माण पूरा गर्न ६५ करोड रुपैयाँ लाग्ने अनुमान छ । टावरमा संस्थागत लगानीकर्ताका साथै बैंकको ऋण लगानी छ ।
संस्थापकहरूले सबै लगानी गरिसकेका छन् भने बाँकी रकम आईपीओ जारी गरेर जुटाउने लक्ष्य कम्पनीको छ ।
६ तला अग्लो भवनको दुई तलामा होटेल सञ्चालन हुनेछ । त्यसबाहेक कार्यालय र अन्य पसल सञ्चालन हुने कम्पनीले जनाएको छ ।
थापाथलीमा रहेको ट्रेड टावरको स्थापना सन् २००७ मा भएको हो । टावरको ९५ प्रतिशत भवन भाडामा लागेको छ । कम्पनी लिजिङ, फाइनान्स, र पूर्वाधार विकासमा संलग्न छ ।