
काठमाडौं । यसवर्षको मनसुनमा मधेस प्रदेशका दक्षिणी भूभागमा सरदरभन्दा कम वर्षा हुने भएको छ ।
असार १७ देखि असोज १४ गतेसम्मको तीन महिनाको अवधिमा कोसी प्रदेशका दक्षिणी भूभागमा सरदर र देशका बाँकी भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
यस वर्षको मनसुन ऋतुको ऋतुगत हावापानीको पूर्वानुमान सार्वजनिक गर्दै विभागले कर्णाली प्रदेशको पूर्वी भूभाग, लुम्बिनी प्रदेशको उत्तरी भूभाग र गण्डकी प्रदेशको अधिकांश भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ ।
सुदूरपश्चिम प्रदेशको दक्षिणी भूभाग, लुम्बिनी प्रदेशको पश्चिमी भूभाग, गण्डकी प्रदेशको उत्तरपूर्वी भूभाग, वाग्मती र कोसी प्रदेशको उत्तरी भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको विभागको भनाइ छ ।
सुदूरपश्चिम प्रदेशको उत्तरी भूभाग, लुम्बिनीको दक्षिणपूर्वी भूभाग, वाग्मतीको दक्षिणी भूभाग र कोसी प्रदेशको मध्य भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ ।
कोसी प्रदेशका दक्षिणी भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ । मधेस प्रदेशका मध्य तथा पूर्वी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ४५ रहेको छ । यस वर्ष नेपालमा मनसुन सरदरभन्दा १५ दिन अघि जेठ १५ गते पूर्वी नेपालबाट प्रवेश गरेको थियो । असार ६ गते देशभर फैलिएको थियो ।
सामान्यतया जुनदेखि सेप्टेम्बरसम्मको चार महिनाको अवधिलाई मनसुन ऋतु मान्ने गरिएको विभागले जनाएको छ ।