
काठमाडौं । काठमाडौं उपत्यका सोमबार (चैत २५) पनि विश्वकै ‘प्रदूषित’ बनेको छ । दुई सातायता काठमाडौंमा उच्च वायु प्रदूषण छ ।
वायुको अन्तर्रािष्ट्रय नियामक निकाय आईक्यू एयरका अनुसार, सोमबार बिहान ११ः४५ बजे काठमाडौं विश्वका १२४ मध्ये खराब वायु भएका सहरको पहिलो नम्बरमा छ । उक्त समयमा काठमाडौंको वायुको गुणस्तर मापदण्ड (एक्यूआई) २२४ छ ।
यो सूचीको दोस्रो स्थानमा रहेको भारतको दिल्लीको एक्यूआई १८९ र तेस्रोमा कायम इराकको बगदादको १८१ छ । यीबाहेक अरू सहरको एक्यूआई १७० भन्दा कम छ ।
वातावरण विभागका अनुसार, यस दिन काठमाडौंका शंखपार्क र रत्नपार्क, ललितपुरका खुमलटार र भैँसेपाटी तथा भक्तपुर उच्च प्रदूषित छ । उपत्यकाबाहिर दाङको देउखुरी र मुगुको रारा, कैलालीको धनगढी र इलाम उच्च प्रदूषित छन् ।
सोही समयमा शंखपार्ककको एक्यूआई १९७ छ । अरू सहरको एक्यूआई १५५ देखि १७७ सम्म छ ।
एक्यूआई १०१ देखि १५० को वायु बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीका निम्ति ‘अस्वस्थकर’ हुन्छ । त्यो १५१ देखि २०० सम्म पुगेमा सबैका निम्ति अस्वस्थकर हुन्छ । यस्तै, २०१ देखि ३०० सम्म पुगेमा ‘अति अस्वस्थकर’ र त्योभन्दा माथि भएमा ‘खतरनाक’ बन्दै जाने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को मापदण्ड छ ।