
काठमाडौं । घरेलु मैदानमा जारी एकदिवसीय शृंखलामा नेपाली यू–१९ टिमले अफगानिस्तानविरुद्ध एक रनको हार बेहोरेको छ ।
आइतबार माथिल्लो मूलपानी क्रिकेट मैदानमा भएको खेलमा अफगानिस्तानले प्रस्तुत गरेको १६९ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाएर १६७ रन मात्र बनाउन सक्यो ।
नेपालका ओपनर साहिल पटेलले ६४ रन बनाए पनि टिमको हार टार्न सकेनन् । उनले ११९ बलमा ६ चौका प्रहार गरे । अभिषेक तिवारीले २४, ध्रुव सोनारले २१ रन थपे । निरजकुमार यादवले १५ र कप्तान नरेन भट्टले १३ रन थपे ।
अफगानिस्तानका वाहिदुल्लालह जाद्रन, जाइतुल्लाह शहिन र हाफिज जाद्रनले समान दुई विकेट लिए । रोहुल्लाह अरब, कप्तान महबुब खान र उजाइरुल्लाह नियाजाईले समान एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर १६८ रनको योगफल तयार पारेको थियो ।
अफगानिस्तानका कप्तान महबुब खानले ११४ बलमा एक चौकाको मद्दतले सर्वाधिक ५८ रनको योगदान दिए । यसैगरी रोहुल्लाह अरबले २७, उजाइरुल्लाह नियाजाईले १९, नजिफुल्लाह अमिरीले १६, खतिर स्तानिकजाईले ११ र खालिद अहमदजाईले १० रन बनाए ।
नेपालका सन्तोष यादवले तीन, सिब्रिन श्रेष्ठ र विपीनप्रसाद शर्माले समान दुई तथा अभिषेक तिवारीले एक विकेट लिए ।
जितसँगै अफगानिस्तानले तीन खेलको शृंखला एक खेलअगावै आफ्नो पक्षमा परेको छ । अफगानिस्तानले शृंखलामा २–० को अग्रता बनाएको छ ।
पहिलो खेलमा अफगानिस्तान १३० रनले विजयी भएको थियो ।