
काठमाडौं । ‘आठौँ एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ कार्यक्रम शनिबार (चैत २३) काठमाडौंको गोकर्णमा सम्पन्न भएको छ । सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गोकर्ण फरेस्ट रिसोर्टको गल्फ कोर्षमा टी–अफ गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए ।
उद्घाटन समारोहमा मन्त्री गुरुङले एनसेल बाह्रखरी गल्फ सिंगो अर्थतन्त्रकै लागि महत्त्वपूर्ण रहेको भन्दै लकडाउनपछि सुस्ताएको पोखराको पर्यटनमा आधारित अर्थतन्त्र यसले जगाएको स्मरण गरे । उनले आफू गण्डकी प्रदेशको मुख्यमन्त्री हुँदा नै बाह्रखरी मिडियासँग भावनात्मक सम्बन्ध जोडिएको बताए ।
“त्यति बेला कोभिडको महामारीमा थियौँ । पोखरमा पर्यटन ठप्प थियो । सुरुमा गल्फ मुस्ताङमा आयोजना गर्ने भन्नुभयो । तर, त्यहाँ सम्भव भएन,” उनले भने, “त्यसपछि पोखरामा गल्फ हुँदा पोखरा सुरक्षित रहेको सन्देश फैलियो र पर्यटन व्यवसाय लयमा फर्किन ठूलो सहयोग पुग्यो ।”
प्रतियोगितामा यसपालि ९६ कर्पोरेट खेलाडीले प्रतिस्पर्धा गरे । प्रतियोगिता १८ होलमा स्टेबल फोर्ड फर्म्याटमा सम्पन्न भयो । एनसेल बाह्रखरी गल्फको आठौँ संस्करणको उपाधि दोर्जे होजाङस्टाङले जिते । बाह्रखरी मिडियाले वार्षिक रूपमा आयोजना गर्दै आएको प्रतियोगिताको विजेता बनेका दोर्जेले सुनको बल प्राप्त गरे ।
विजेता दोर्जेले ४४ अंक जोडेका थिए । उनले फ्रन्ट नाइटमा २५ अंक जोडेका थिए । ब्याक नाइनमा १९ अंक जोडे ।
यस्तै, बेस्ट ग्रसको उपाधि ३९ अंकसहित निश्चयजंग रायमाझीले जिते । नोर्बुछिरिङ शेर्पाले मोस्ट बर्डीको उपाधि जिते । नोर्बुले सात बर्डी प्रहार गरेका थिए ।
पुरुषतर्फ राजेन्द्र श्रेष्ठले दोस्रो स्थान हासिल गरे । राजेन्द्रले ४३ अंक जोडेका थिए ।
प्रतियोगितामा भाइराजा पाण्डेले सिनियर (६० वर्षमाथि)तर्फको उपाधि जिते । ७५ वर्षीय पाण्डेले ३५ अंक जोडेर सिनियरतर्फको शीर्ष स्थान हासिल गरे ।
महिलातर्फको उपाधि आरती राज्यलक्ष्मी राणाले जितिन् । उनले २३ अंक जोडेकी थिइन् । उपविजेता बनेकी बालकासी गुरुङले २२ अंक जोडिन् ।
‘क्लोजेस्ट टु द पिन’को उपाधि पनि होजाङस्टाङले जिते । उनी ‘होल इन वन’को पुरस्कारमा बीवाईडीको ‘अट्टो थ्री’ गाडी जित्न करिब दुई फिटले चुकेका थिए । लङ्गेस्ट ड्राइभको उपाधि अस्माङ कार्कीले जिते । उनले करिब २५८ यार्ड लामो ड्राइभ प्रहार गरेका थिए ।
प्रतियोगितामा भारत, अमेरिका, चीन, सिंगापुर र श्रीलंकाका गल्फरको समेत सहभागिता थियो । नेपालस्थित विदेशी नियोगका प्रतिनिधि पनि गल्फ प्रतियोगितामा सहभागी भए ।
प्रतियोगितामा काठमाडौंसहित पोखरा, धरान, चितवन, बुटवल, नेपालगन्जलगायत क्षेत्रका कर्पोरेट गल्फर, न्यायाधीश र केही सरकारी उच्च अधिकारीले सहभागिता जनाए ।
गल्फ प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण समारोहपछि इकोनोमिक सिम्पोविजयम (आर्थिक परिसंवाद) सुरु भएको थियो । आर्थिक परिसंवादको सुरुआतमा विषय प्रवेश गर्दै बाह्रखरी मिडियाका अध्यक्ष तथा प्रधानसम्पादक प्रतीक प्रधानले वर्तमान सरकारले उपभोक्ताको आत्मविश्वास बढाउन र लगानीको वातावरण बनाउन धेरै काम गर्नुपर्ने बताए ।
लगानीको वतावरण निर्माणका लागि जारी अध्यादेश प्रतिस्थापन विधेयकमार्फत पारित हुनु सकारात्मक भएको भन्दै उनले नयाँ कानुनानुसार काम अघि बढाउनुपर्नेमा जोड दिए ।
उनले अहिलेको समाज जुन कुनै कुरालाई राम्रोसँग बुझ्न नपाउँदै स्टन्टबाजी गर्नेको पछि सामाजिक सञ्जाल दौडँदा सिरियस मिडियालाई नागरिकले कम विश्वास गर्ने परिस्थिति बनेको बताए । यसतर्फ जिम्मेवार र परिपक्व कदम उठाउन उनले सरकारलाई सुझाव दिए ।
विज्ञान प्रविधि क्षेत्रलाई ‘न्युट्रिसन’ अभाव : गगन थापा
नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य गगन थापाले आईटी सेक्टर र स्टार्टअप बिजनेसको सम्भावना र चुनौतीसम्बन्धी कार्यपत्र प्रस्तुत गरे । उनले विज्ञान र प्रविधिको क्षेत्रलाई नेपालमा ‘न्युट्रिसन’को अभाव रहेको बताए ।
प्रिन्सटन युनिभर्सिटीले खर्चने बजेटभन्दा सिंगो नेपालको शिक्षा क्षेत्रको बजेट कम रहेको उनले बताए । हाम्रो समाज भने अझै कम्प्युटर बोकेर कीर्तिपुर दौडिएर व्यंग्य गर्ने युगमा रहेको उनले बताए ।
सूचना प्रविधिसँगै एआईको विकासले अहिले काम पाइरहेका थुप्रै मान्छेले भोलिका दिनमा स्टार्टअप गुमाउने उनले बताए । त्यसो हुन नदिन अहिलेदेखि नै काम गर्न आवश्य रहेको उनको भनाइ थियो ।
भारतमा मेकिङ इन्डियाले रोजगारी सिर्जना गर्न सकेन भनेर प्रश्न उठाइएको भन्दै उनले हाम्रोमा त्योभन्दा ठूलो च्यालेन्ज रहेको टिप्पणी गरे । “हामीले यो सेक्टरका लागि आवश्यक न्युट्रिसन दिन सक्यौँ भने विश्वभर सेवा बिक्री गरेर देशको आम्दानीमा ठूलो योगदान गर्ने सेक्टर हो यो,” थापाले भने ।
आईटी, सफ्टवेयर, प्रोग्रामिङसँगै इन्फ्रास्टक्चरमा काम गर्नुपर्ने आवश्यकता उनले औँल्याए ।
ग्रामीण र सहरी क्षेत्रको वर्ग विभाजन रोक्न काम गर्नुपर्नेमा उनले जोड दिए । “हाम्रा ग्रामीण तहमा र सहरी क्षेत्रमा ब्यालेन्सको अभाव छ । सहरी जनसंख्याले कमाउँदै गर्दा ग्रामीण क्षेत्रमा केही हजार कमाउनका लागि वैदेशिक रोजगारमा जानुपर्ने अवस्था छ । यसमा ब्यालेन्स गर्नका लागि नेसनवाइड यसको पहुँच विस्तार गर्न आवश्यक छ,” उनले भने ।
उनले देशमा डेटा सेन्टरको अभाव रहेको र मातातीर्थमा निजी क्षेत्रबाट डेटा सेन्टर बन्दै गरेको बताए । केही गर्न लागेकालाई रोक्ने सरकारी प्रवृत्तिमा सुधार गर्दै फ्यासिलेट गर्ने गरी नीति निर्माणमा काम गर्न उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरे ।
कर प्रणालीमा पनि केही काम गर्न जरुरी रहेको उनले औँल्याए । करमा धेरै कसेर जाँदा लगानी नआउने उनले बताए ।
सांसद थापाले विदेशमा कमाएको यहाँ ल्याउने र यहाँ कमाएको बाहिर लैजान सहज बनाएपछि लगानी भित्रने धारणा व्यक्त गरे । त्यसका लागि सरकारले ल्याएको अध्यादेश सुरुआत हुन सक्ने उनले बताए । उनले यति गरिसक्दा डायस्पोरा नेपालको ‘स्टेन्थ’ बन्ने उनको भनाइ थियो ।
आशा जगाउने प्रयत्न : प्रधानमन्त्री
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले गल्फ र अर्थतन्त्रको संगोष्ठी भएको भन्दै यसको खास अर्थ रहेको बताए । समाजका अनेक चिज अन्तरसम्बन्धित रहेको भन्दै उनले गल्फ र अर्थतन्त्रसम्बन्धी संगोष्ठी गरेर समाजमा निराशा फैलिरहेका बेला आशा जगाउने प्रयत्न गरिएको उल्लेख गरे ।
निराशा फैलाउने काम त्यसका ‘व्यापारी’को भएको भन्दै उनले हामीले सम्भावना हेर्ने र नकारात्मकता फैलाउनेलाई नियन्त्रण गर्नुपर्ने उनले बताए । हाम्रो समाज, प्रकृतिअनुसार नै विकास र सम्भावनाको खोजी गर्नुपर्ने भन्दै देशमा पर्याप्त सम्भावना रहेको उनको भनाइ थियो ।
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भूगोल, जनसंख्या र युवा जनशक्तिले देश धनी रहेको पनि बताए । विश्वमै नेपालका पूर्वजहरू ज्ञान र विकासमा अगाडि भएको ओलीले बताए । तर, त्यसपछिका प्रवृत्तिले देशलाई पछि पारेको उनको टिप्पणी छ ।
ओलीले महिलालाई घरबाहिर निस्कन नदिने, महिलाले नै लेखेको वेद पढ्नुहुँदैन भन्नेसहितका बन्धनले आधा जनसंख्या 'प्यारालाइज्ड' भएको बताए । उनले सिपयुक्त जनशक्तिलाई अछुत बनाएर विकास र प्रगतिमा भाग लिन रोकिएको बताए ।
“हाम्रो देशमा कस्ताकस्ता उल्टा बुद्धीका मानिसहरू आए, जुन महिलाहरूले वेदको रचना गरे, तिनै महिलाहरूले वेद पढ्नुहुँदैन भन्ने आयो । महिलाहरू चुलोचौकोमा बस्नुपर्छ, अर्काले देख्नुहुँदैन, हाँस्न हुँदैन भन्ने गलत मान्यताले आधा जनसंख्यालाई प्यारालाइज्ड गरिदियो,” प्रधानमन्त्री ओलीले भने, “अर्कातर्फ जातीय विभाजनले अछुत सिर्जना गरिदियो । त्यसले प्रगतिलाई बाधा खडा गरिदियो ।”
उनले विभेद र गलत प्रवृत्तिका कारण पूर्वजले विकास गरेको ज्ञान, सिप र अनुसन्धानका निष्कर्ष हस्तान्तरण र विस्तारित हुन नपाएकाले देशले प्रगति गर्न नसकेको बताए । हस्तान्तरणलाई अवरुद्ध पारे पनि त्यसको 'जेनेटिक मेमोरी' (आनुवांशिक ज्ञान) बाँकी रहेको उनको तर्क छ ।
“तर, हामीसँग अत्यन्त अन्वेषक, अनुसन्धाता, इनोभेटिभ पुस्ता जसले ज्ञान विज्ञान र अनुसन्धान गरेको थिए । तिनको जेनेटिक मेमोरी हामीसँगै छ,” ओलीले भने, “यसको मतलब हामी छिटो सिक्न सक्ने सामर्थ्य राख्छौँ ।”
त्यसबाहेक नेपालीहरूले इमानदार र मिहिनेती भनेर विश्व समुदायमा परिचय बनाएको उनको भनाइ छ ।
उनले अर्थतन्त्रमा तरलता अभाव र अधिक तरलताको उतारचढावले केही समस्या आउने गरेको बताए । यसमा स्थिरता कायम गरेर अघि बढ्न सम्बन्धित निकायले काम गर्नुपर्ने उनको भनाइ छ ।
दश वर्षमा प्रतिफल आउने क्षेत्रमा लगानी गरेर पाँच वर्षमा फिर्ता गर भन्न नमिल्ने भन्दै उनले कृषिसहितका क्षेत्रमा लगानीकर्ताले नै जोखिम हेर्ने प्रणाली विकास गर्नुपर्ने बताए ।
कार्यक्रममा कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान)की अध्यक्ष सुनैना घिमिरेले इन्टरनेट क्षेत्रले विभिन्न शीर्षकमा ४२ प्रतिशत बढी कर तिरिरहेको बताइन् । उक्त नीति डिजिटल नेपाल फ्रेमवकको मर्मविपरीत रहेको उनको भनाइ छ ।
उनले एकातिर हरेक नेपालीको पहुँचमा इन्टरनेट पुर्याउने नीति लिने अर्कातर्फ इन्टरनेट सेवा प्रदायकलाई करको बोझमा पार्दा दक्षिण एसियामै बढी कर लिने राष्ट्रको पहिचान नेपालले बदल्नुपर्ने उनको सुझाव थियो । आईसीटी बोर्डको अवधारणा ल्यानुपर्ने बताएकी उनले सबै नीतिगत सुधार बोर्डमार्फत नै हुन सक्ने बताइन् ।
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका प्राध्यापक सुरेश मानन्धरले नेपालमा डेटा सेन्टर, क्लाउड सेन्टर आवश्यकता रहेको बताए । उनले सरकारसँग क्षमता विस्तारका लागि काम गर्न आग्रह गरे । नेपालको प्रविधि क्षेत्रमा 'स्किल ग्याप' रहेको भन्दै उनले आईटी, एआई इकोसिस्टम बनाउन सके सूचना प्रविधिको क्षेत्रमा ठूलो मद्दत पुग्ने उनले बताए ।
स्टार्टअप इको सिस्टम बनाउनुपर्ने र नेपाली भाषा बुझ्ने एआई मोडल बनाउनुपर्ने उनको सुझाव थियो । लगानीका लागि भेन्चर क्यापिटल आवश्यकता रहेको र एउटा युनिकर्न कम्पनी आवश्यकता भएको उनको भनाइ थियो ।
लक्ष्मी हुन्डाई ग्रुपका प्रबन्ध निर्देशक निरञ्जन श्रेष्ठले सुशासनमा सुधार गरिए नेपालको आर्थिक वृद्धि सात प्रतिशत माथि जाने बताए । नेपालको अर्थतन्त्र समस्यामा अल्झिएको, जमिनको मूल्य निरन्तर ३/४ प्रतिशतले बढेको र निजी क्षेत्र अप्ठ्यारोमा रहेको उनको भनाइ थियो ।
उनले पूर्वाधार निर्माण निकै सुस्त गतिमा अघि बढेको र मानव विकास सूचकांकमा पनि नेपाल निकै कमजोर रहेको बताए । प्रतिवर्ष डेढलाख रोजगारी सिर्जना गर्न नसकिए देशले सुधारको बाटो समाउन नसक्ने उनको भनाइ छ ।
दूरसञ्चार सेवा प्रदायक एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जाब्बोर कायुमोभले नेपालमा सन् १९९० को आर्थिक उदारीकरणले वैदेशिक लगानी भित्र्याउने क्रम सुरु भएको बताए । त्यसलाई अझ गति दिन नेपालले नीतिगत सुधार गर्नुपर्ने उनको भनाइ छ । सरकारले सुरु गरेको डिजिटल नेपाल फ्रेमवर्कमा एनसेलले सहयोग गर्ने उनको भनाइ छ ।
उनले नेपालको आर्थिक विकासमा आईटी क्षेत्र ठूलो सम्भावना बोकेको क्षेत्रका रूपमा रहेको बताए । तिस खर्ब आईटी निर्यात गर्ने सरकारको लक्ष्यमा एनसेलले हातेमालो गर्न चाहेको उनको भनाई थियो ।
नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले बैंकमा लगानीयोग्य रकम बढिरहेको, ब्याज एकल विन्दुमा रहेको तर कर्जा प्रवाह हुन नसक्दा अर्थतन्त्रमा सकारात्मक परिणाम देखिन नसकेको बताए ।
“बाह्य क्षेत्र राम्रो भएता पनि समग्र मागमा अपेक्षाकृतरूपमा सुधार आउन सकिरहेको छैन । समग्र माग कसरी बढाउन सकिन्छ भन्नेतर्फ हामी सबैको ध्यान जान आवश्यक देखिन्छ,” अग्रवालले भने, “मुलुकमा लगानीको वातावरण बनाउन कानुनहरूमा सुधार अपरिहार्य रहेको निष्कर्ष निकाल्दै परिसंघले कुनकुन कानुनको कुन दफामा के सुधार गर्नुपर्छ भनेर अध्ययनसहित विस्तृत सुझाव सरकारलाई हस्तान्तरण गरेका छौँ ।”
उनले परिसंघका सुझाव समेतलाई आधार बनाएर सरकारले आर्थिक तथा व्यावसायिक वातावरण, सार्वजनिक लगानी बढाउनुपर्ने बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपालमा रोजगारीको समस्यासँगै दक्ष जनशक्तिको पनि अभाव रहेको बताए । सरकारले दक्ष जनशक्ति विकासमा ध्यान दिनुपर्ने बताएका ढकालले सरकारले नीतिगत स्थायित्वको पनि ग्यारेन्टी गर्न आवश्यक रहेको बताए । उनले सेवा प्रदायक र सञ्चालक छुट्टाछुट्टै बनाउन पनि सुझाव दिए ।
“नेपाल नागरिक उड्ड्यन प्राधिकरण, नेपाल विद्युत् प्राधिकरणजस्ता संस्थाको छुट्टाछुट्टै हुनुपर्छ,” उनले भने, “सरकारले नीतिगत स्थायित्व भए निजी क्षेत्रले लगानी बढाउँछ ।”
पूर्वाधार क्षेत्रमा लगानीका लागि पनि सरकारका केही नीतिगत समस्या रहेको अध्यक्ष ढकालको गुनासो थियो ।