site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
दुर्गा प्रसाईंको खोजीमा सीआईबीसहित प्रहरीका ६ टोली सक्रिय, काठमाडौं छाडेको आशंका

काठमाडौं । राजसंस्था र हिन्दु राज्य पुनर्स्थापनानिम्ति आन्दोलनका नाममा अराजकता मच्चाएर भागेका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं अझै फरार छन् । शुक्रबार (चैत १५) राजावादीले काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक बन्दा दुईजनाको मृत्यु भएको थियो । पत्रकार सुरेश रजक र कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको हो ।

प्रसाईं ‘जनआन्दोलन’ नाम दिएको प्रदर्शनका ‘कमान्डर’ तोकिएका थिए । प्रदर्शनका संयोजनक भने पूर्वमहापञ्च ८६ वर्षीय नवराज सुवेदी तोकिएका थिए । प्रदर्शन अराजक बनेपछि सुवेदी घरमै नजरबन्दमा छन् ।

शुक्रबारदेखि उनीहरूले निरन्तर राजासंस्थाका पक्षमा काठमाडौंमा प्रदर्शन गर्ने बताएका थिए । तर, ‘कमान्डर’ प्रसाईं फरार भए । प्रदर्शनमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा, अधिवक्ता स्वागत नेपाललगायत व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूमाथि के मुद्दा लगाउने भन्नेबारे प्रहरी गृहकार्यमा छ । मिश्र, राणा र नेपालसहित अराजक प्रदर्शन, तोडफोड, आगजनी र लुटपाट गर्ने १११ जनालाई प्रहरीले थुनामा राखी अनुसन्धान गर्न म्याद थपका निम्ति अदालतमा उपस्थित गराउने तयारी गरेको छ । प्रसार्ईंको खोजीमा प्रहरी शुक्रबार रातिदेखि नै लागेको छ ।

नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयका तीन जिल्लाका विशेष टोली, प्रहरी प्रधान कार्यालयको विशेष ब्युरोको टोली र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली समेत शनिबारदेखि प्रसार्इंको खोजीमा सक्रिय छन् । तर, प्रहरीले उनको सुइँको पाउन सकेको छैन ।

प्रसाईंका गुरु पुस्कर खतिवडालाई जिल्ला प्रहरी परिसर ललितपुर र विशेष ब्युरोको संयुक्त टोलीले शनिबार पक्राउ गरेको छ । उनी ललितपुरको इमाडोलबाट ट्याक्सीमा भाग्दै गर्दा पक्राउ परेका थिए । उनलाई भेट्न प्रसाईं समेत शनिबार बिहान खतिवडाको घर पुगेको प्रहरीले जनाएको छ ।

खतिवडाको घरमा फलफूल खाएर हिँडेका प्रसाईं कहाँ गए भन्नेबारे प्रहरीले कुनै सूचना पाएको छैन । प्रसाईंले चलाउँदै आएको मोबाइलको अन्तिम ‘लोकसन’ ललितपुरकै भैँसेपाटीमा देखिएको प्रहरीले जनाएको छ ।

प्रदर्शन अराजक बनाउने शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्कालाई भने प्रहरीले पक्राउ गरिसकेको छ ।

प्रसाईंका सहयोगी सन्तोष ‘राजावादी’ पनि फरार छन् । तीनकुने प्रदर्शनक्रममा सुरुमा निषेधित क्षेत्र तोड्न खोज्ने समूहका नाइके समेत सन्तोष राजावादी हुन् ।

कहाँ गए प्रसाईं ?
प्रसाईं कहाँ गए भन्ने भेउ समेत प्रहरीले पाएको छैन । खतिवडाले प्रसाईं शनिबार बिहान आफ्नो घरमा करिब एक घण्टा बसेर निस्किएको प्रहरीसमक्ष बताएका छन् । खतिवडाको घरबाट निस्कँदा प्रसाईंले काठमाडौं छाड्ने बताएका थिए ।

खतिवडाले प्रहरीसित भनेका छन्, ‘‘मेरो घरमा दुर्गा प्रसाईं करिब बिहान एक घण्टा बस्नुभएको थियो । फलफूल र एक गिलास दूध पनि खानुभयो । त्यहाँबाट स्कोरपियो गाडीमा निस्केर काठमाडौं छाड्ने कुरा गर्नुभएको थियो । त्यसपछि कता जानुभयो थाहा छैन ।’’

प्रसाईसँग अरू पाँचजना समेत साथमै रहेको खुलेको छ । तर, खतिवडाले आफ्नो घरको सीसीटीभी फुटेजको ‘हार्डड्राइभ’ गायब पारेको प्रहरीले जनाएको छ ।

प्रसाईंलाई पक्राउ गर्न हम्मेहम्मे पर्नुका पछाडि उनको निकट टिममा पूर्वसैनिक कर्मचारी र अवकाशप्राप्त प्रहरी समेत रहनुलाई सुरक्षा निकायले कारण मानेको छ ।

सुरक्षा ‘थ्रेट’बारे प्रसाईंले उनीहरूसित सल्लाह लिने गरेका थिए । अनुसन्धानमा खटिएका प्रहरीका अनुसार, प्रसाईंले चढ्ने गरेका करिब १५ गाडी र उनीनिकट सबै व्यक्तिमाथि सोधपुछ तीव्र पारिएको छ । प्रहरी उच्च स्रोतका अनुसार, प्रसाईंको खोजीमा प्रहरीको विशेष ब्युरोका एसएसपी सन्तोष खड्का ‘फिल्ड’मा खटिएका छन् ।

यस्तै, ललितपुर प्रहरीबाट एसपी नरहरि रेग्मीको टोली परिचालन गरिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट एसपी अंगुर जिसीको ‘कमान्ड’मा टोली सक्रिय छ । तर, उनलाई पक्राउ गर्न हालसम्म सबै टोली असफल छन् ।

यसैबीच, प्रसाईंले आफू काठमाडौंमै रहेको जिकिरसहित आइतबार (चैत १७) एक भिडियो सार्वजनिक गरेका छन् ।

प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  १४:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro