
काठमाडौं । नेपालको जलविद्युत् आयोजनामा लगानी गर्न अडानी ग्रुपले आयोजना खोजी गरेको छ । भारतको ठूलो व्यापारिक घरानामध्येको एक अडानी ग्रुपका उपाध्यक्ष जयरमन पुनिधानले नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न कम्पनीले राम्रा आयोजनाको खोजी गरिरहेको बताएका हुन् ।
नेपाली राजदूतावास भारत र इन्डियन फेडेरेसन अफ ग्रीन इनर्जीको संयुक्त आयोजना तथा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को संस्थागत सहभागितामा भारतको राजधानी नयाँदिल्लीमा आयोजित ‘नेपाल–भारत इनर्जी समिट’मा उक्त कुरा बताएका हुन् ।
विश्वभर २७ हजार ३०० मेगावाट विद्युत् उत्पादनका लागि अडानी ग्रुपले एमओयू गरेको बताउँदै उनले अडानी ग्रुपको प्राथमिकता नै छिमेकी र क्षेत्रीय ऊर्जा बजार रहेको पनि उल्लेख गरे ।
उनले नेपालमा विद्युत् निर्यात गर्नकै लागि आयोजना बनाउने र त्यसका लागि सरकारी स्वामित्वका आयोजना पनि हेरिरहेको समेत बताए । अडानी ग्रुप अवसरको खोजीमा रहेको र नेपालमा सरकार वा निजी क्षेत्र जोसुकैसँग पनि पार्टनरसिप गरेर अघि बढ्न सक्ने उनले बताए ।
यसै वर्ष नेपालमा दुई हजार मेगावाटका आयोजना विकास गर्नेतर्फ अडानी ग्रुपले जोड दिने र भविष्यमा पाँच हजार मेगावाटसम्म विद्युत् उत्पादनको लक्ष्य लिएको उपाध्यक्ष जयरमनले बताए । उनले अडानी ग्रुपले ठूला जलविद्युत् आयोजनामा ठूलै लगानी गर्ने योजना बनाएको स्पष्ट पारे । भारतमा पम्प स्टोरेज आयोजना पनि सफल रहेकोले नेपालमा पनि ६ देखि आठ वर्षमा एउटा राम्रो पम्प स्टोरेज आयोजना विकास गर्न सकिने उनको भनाइ थियो ।