
काठमाडौं । ललितपुरको इमाडोलमा बुधबार (चैत १३) राति एक युवकको हत्या गरिएको छ । खुकुरी प्रहार गरी उनको हत्या गरिएको प्रहरीले जनाएको छ ।
इमाडोलको शिव मन्दिरनजिक रामेछापका ३० वर्षीय रीपक खातीको हत्या गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरहरि रेग्मीले जानकारी दिए ।
हत्या आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापकै २५ वर्षीय सुमन रसाइली छन् ।
गए राति (बिहीबार बिहान) करिब पौने १ बजे खातीमाथि खुकुरी प्रहार गरिएको थियो । मन्दिरमा बोलाएर उनको हत्या गरिएको थियो । घटनाको केही समयपछि रसाइलीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
खाती र रसाइली दुवै ललितपुरको महालक्ष्मी नगरपालिका–४, इमाडोलमा बस्दै आएका थिए । आफ्नो बहिनीलाई जिस्क्याएका कारण खुकुरी प्रहार गरेको रसाइलीले प्रहरीलाई बताएका छन् ।
“बहिनीलाई जिस्क्याएको निहुँमा हत्या गरेको भन्ने छ,” एसपी रेग्मीले बाह्रखरीसित भने, “थप अनुसन्धान गर्दै छौँ । हत्या गर्नेलाई राति नै पक्राउ गरेका छौँ ।”
दुवैजना रामेछापका र यहाँ पनि एउटै स्थानमा बस्ने भएकाले उनीहरूबीच पहिलेदेखि नै चिनजान रहेको हुन सक्ने प्रहरीको आशंका छ । यसबारेमा पनि प्रहरीले अनुसन्धान गरिरहेको उनले बताए ।
खातीको शव पाटन अस्पतालमा राखिएको छ ।