site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
प्रगतिवादी चेतले भरिएका कविता

म पक्षाघातले पारेको सकस व्यहोरिरहेको थिएँ । सकसबाट आफूलाई अलमल्याउन दायाँ हातको चोरी औँलाले कविताहरू लेखेर फेसबुकमा यदाकदा पोस्ट गर्ने गर्थें । त्यस बेला गोरखापत्र र मधुपर्कलगायत अन्य पत्रपत्रिकाले मेरा कविता छापिदिएर मलाई हौस्याएका थिए ।

यही सेरोफेरोमा ‘शब्द संयोजन’ मासिक पत्रिका रमेश पोखरेलले चलाउँछन् भन्ने जानकारी हुन आयो । मैले सम्पर्क गरेँ र भनेँ, “रमेश सर, आजकाल म पनि लेख्दै छु है !”

उनले जवाफ दिए, “हो, थाहा छ मलाई, म देखिरहेको छु ।”

उनको यो जवाफपछि म मौन भएँ । केही क्षणपछि उनले भने, “आफ्नो व्यक्तिगत विवरणसहित एक प्रति फोटो र तीनवटा कविता पठाइदिनू ।”

मैले पठाइदिएँ । मेरो साहित्य यात्राको सारसमीक्षा शब्द संयोजन साहित्यिक मासिकको वर्ष १७ अंक सातमा प्रकाशित भयो । मैले प्रधानसम्पादक पोखरेललाई धन्यवाद दिएँ ।

पोखरेलसँग मेरो चिनजान २०४३ सालमा आरआर क्याम्पसमा भएको हो । उनी बीए अध्ययनमा मभन्दा एक ब्याच अगाडिका हुन् । हाम्रो बसाइ घट्टेकुलोमा वरपर थियो । हामी कलेजमा हुँदा विद्यार्थी संगठनको प्रारम्भिक कमिटीमा संलग्न थियौँ । विभिन्न राजनीतिक वा अन्य  सांगठनिक गतिविधिमा हामी सँगै हुन्थ्यौँ । पढाइ एउटा सामान्य औपचारिक मात्र थियो मेरा लागि । म लामो समय खेतीपाती गरेर जागिर खाने ध्येयका साथ काठमाडौं आएको मानिस । तथ्यांक विभागमा एक वर्ष नौ महिना करारको जागिर खाएर म राष्ट्रिय वाणिज्य बैंकमा स्थायी जागिरे हुन पुगेँ ।

रमेशजी आफ्नै व्यावसायिक प्रतिष्ठानमा जागिरे भएछन् । उनी भृकुटी कागज कारखानामा उच्च व्यवस्थापक हुन पुगे । हाम्रो भेट पातलियो ।

उसो त रमेशजी र म झापा जिल्लावासी हौँ । प्रवेशिका परीक्षा मैले २०३४ मा दिएको थिएँ भने उनले २०३७ सालमा एउटै परीक्षा केन्द्र दमकबाट दिएका रहेछौँ ।

यसो भए पनि काठमाडौं आउनुपहिले आपसमा चिनजान हुन सकेको थिएन ।

मेरो करिब ३२ वर्षको जागिरे जीवनमा रमेश पोखरेल र म यदाकदा बाटामा भेटिँदा हात हल्लाएर अभिवादन गर्ने सम्बन्धमा सीमित हुन पुग्छौँ । सम्बन्ध नियमित हुन चाँजो मिल्नुपर्ने सहरबजारमा ! जागिरे मानिस दुवै, भिन्नै ठाउँ, परिवेश र कार्यशैलीले छुट्ट्याइदियो हामीलाई ।

म स्ट्रोकको बिमारले थलिएको थिएँ । कोरोना २०१९ को पहिलो भेरियन्ट चलेको थियो । राज्यको नियन्त्रण यस्तो हुन्छ कि लकडाउनको नाममा घरबाहिर चरोमुसो चल्न÷हिँड्न दिएको हुँदैन ।

बिरामी अवस्था र कोरोना कहरबाट ध्यान अन्यत्र मोड्न म आफूलाई कविता, निबन्ध, कथा लेखनमा लगाउन थाल्छु । त्यही समयमा कौशिला रिसालको (पछि उनले डाक्टर उपाधि लिइन्) सहयोगमा ‘मनको किरण’ कवितासंग्रह निस्कियो ।

कविताको भूमिका श्रद्धेय गुरु प्रा. डा. गोविन्दराज भट्टराईले लेखिदिनुभयो । पुस्तक विमोचन कार्यक्रम राखियो । विमोचन मनीषा प्रसाईंको पहलमा साहित्य सुधा नेपालको आयोजनामा भएको थियो । उक्त कार्यक्रम व्यवस्थापनमा मलाई निकै सकस परिरहेको थियो । यसै त म विषयको जानकार नभएको मानिस, अर्काे बिरामी ।

मैले मन मिचेर रमेश पोखरेलजीलाई सहयोगका निमित्त अनुरोध गरेँ । उनले मेरो अनुरोध सहजै स्वीकार गरे । आजको व्यस्त मानिसले यति सजिलै सहयोगी हात कहाँ बढाउँछ र ! मलाई लाग्यो– रमेश पोखरेल भएर सहज भयो । उनी समाज र साहित्यिक कार्यमा जहाँ तहीँ सहज रूपमा आफूलाई उभ्याउने गर्छन् ।

कवितासंग्रह ‘मनको किरण’ लोकार्पण कार्यमा लेखकले गर्नेलगायत सबै काममा रमेशजीको योगदान रह्यो । पुस्तक लोकार्पण भयो । लोकार्पित पुस्तकको समाचार बनाउने, पठाउने, छापिदिन अनुरोध गर्ने सबै काममा रमेश पोखरेलको योगदान अविस्मरणीय छ । त्यसपछि हो, मेरो रमेश पोखरेलसितको नियमित सम्पर्क र सम्बन्ध बनेको ।

उनले एक दिन आफ्नो कवितासंग्रह ‘बज्दैनन् शोकधुनहरू’ मलाई उपहार दिए । म कविता पढ्न थालेँ । कवितासंग्रहमा ११ वटा गद्य कविता र १० वटा गीतिलयका कविता समावेश रहेछन् । गद्य कविता र गीतिकविता (झ्याउरे लयका) सबै प्रगतिवादी चेतना प्रवाहले अनुबन्धित छन् ।

उक्त संग्रहले तत्कालीन समाजको गहिरो चित्रण गरेको बोध हुन्छ मलाई । पञ्चायतको बेला थियो । पञ्चहरूको रजगज थियो । इतर राजनीतिक पार्टीहरू प्रतिबन्धित थिए । कांग्र्रेस पार्टी निर्वासित समय बिताइरहेको थियो, भारतमा ।

नेपालमा भूमिगत बसेर नेकपा माले जनताका दैनिक जीवनसित जोडिएको थियो । नेपालका गाउँघर, टोलसमाजमा परिवर्तनकामी जनताहरूको बोली रमेशजीको कवितासंग्रहको अघिल्लो पाटोले बोलेको बोध हुन्छ मलाई । उसो त उनका कविता तथा गीतहरूले पञ्चायतपछिको समयावधिलाई पनि सम्बोधन गरेका छन् ।

उनी लेख्छन्, “२०३६ सालको राजनीतिक हलचलपश्चात् केही हदसम्म चेतना बढ्यो र केही अध्ययन गर्ने गराउने कार्यको थालनी भयो । यसै सिलसिलामा केही बढी सचेत साथीहरूले श्रद्देय स्रष्टा मोदनाथ प्रश्रितको ‘पचास रूपयाँको तमसुक’ नाटक पढ्न दिए । त्यसैगरी, सन्जय थापा (प्रदीप नेपाल)को ‘देउमाइको किनारमा’ उपन्यास र मेक्सिम गोर्कीको ‘आमा’ उपन्यास पढ्ने अवसर प्राप्त भएपछि सामाजिक रूपान्तरणको पक्षमा साहित्यले झकझकाउने रहेछ भन्ने सचेतता... विकास भयो ।”

उनको आफ्नै भनाइमा उल्लेखित पुस्तकहरूको अध्ययनपश्चात् युग तथा समयबोध गर्ने प्रेरणा प्राप्त भएको कुरा भनेका छन् । हो पनि, समाज नै हो मानिसको जन्म हुने ठाउँ, समाज नै हो केही सिक्ने ठाउँ, समाजलाई नै हो केही दिने पनि । समाजमै मानिस अस्त हुन्छ, समाजले नै मानिसका राम्रा नराम्रा गुण र दोषको पैरवी गर्छ ।

यस्तो समाज एकछत्र सोलोडोलो हुँदैन । समाज वर्गीय हुन्छ । वर्गीय समाजमा  व्यक्तिले वर्गीय अवधारणा पनि समाजबाटै प्राप्त गर्दछ । सामाजिक जीवनबाट प्राप्त हुने अनुभूतिलाई वरण गर्दा मानवीय संवेदनाको जुन पाटो स्वीकार गर्दछ, मानिसले उसको चेतना त्यतै बढ्दछ । त्यो नै उसको जीवनदर्शन वा दृष्टि बन्दछ ।

रमेश पोखरेलको प्रगतिवादी चेतना र वामपन्थी विचारधारा बन्नुमा समाजका गति र यतिको भूमिका रह्यो भन्न सकिन्छ । प्रगतिवादी साहित्यका सिद्धहस्त विद्वान् तथा वामपन्थी राजनीतिज्ञ मोदनाथ प्रश्रितले भूमिका लेखेको रमेश पोखरेलको कविता पढ्दा उत्साह बढ्छ, थकाइ लाग्दैन ।

कविताको सुरुदेखि अन्त्यसम्म छिचोल्न मन लाग्छ । तत्समाजको चरित्र उजागार गरेका कविता र गीतले तत्कालीन समाजमा घटेका राजनीतिक घटना र संवेदनालाई बोकेका छन् । ती सिर्जनाहरूले तत्क्षणको समय परिवेशलाई चलचित्रझँै पाठकको दिलदिमागमा छाप पार्नेस्तरका छन् भन्ने लाग्छ मलाई ।

मोदनाथ प्रश्रित भूमिकामा लेख्छन्, “कवि रमेशमा साहित्यिक भावुकता र संवेदनशीलता प्रचुर मात्रामा छ र त्यसै अनुपातमा प्रगतिशील चेत र अध्यनशीलता पनि बढिरहेको छ । उनी कविता, गीत, लेख, समीक्षाजस्ता विविध विधामा कलम चलाउँछन् ।... २०४५ सालदेखि २०६० सालसम्मको १५ बर्से समय ओगटेका छन् रचनाहरूले । सुरुका चार कविताले पञ्चायतकाल छोएका छन् भने अरू रचना त्यसयताका छन् ।”

प्रश्रितजीको भूमिकाको उल्लेखित अंशले रमेशजी कवि, गीतकार, लेखक, समीक्षक वा भनाँै साहित्यजगत्का बहुविधामा कलम चलेको वा चलाउन सक्ने व्यक्तित्व बोध हुन्छ ।

सोही कवितासंग्रहको छोटो भूमिकामा कवि वासुदेव अधिकारी लेख्छन्, “लेखन भनेको विचार, भाव अभिव्यक्तिको प्रयत्न हो । यसमा लेखकीय सोच, विश्लेषण र मनोकांक्षा कुनै न कुनै रूपमा प्रकट भएको हुन्छ । चेतनशील लेखकहरू मनोलाप मात्र लेख्दैनन्, जीवन लेख्छन् ।”

यस भूमिकाको सार भनेको पनि रमेश पोखरेलका कविता, गीत, लेख, भूमिका तथा प्रकाशकीय जहाँ जे लेखे पनि तिनमा जीवनबोध गरिएको हुन्छ भन्ने नै हो । यति भनिसकेपछि पोखरेलको सिर्जना क्षेत्र, उद्देश्य र दृष्टिकोण प्रस्ट हुन्छ भन्ने लाग्छ । आज आएर स्रष्टा रमेशको कलम नियात्रामा समेत चलेको देखिन्छ । उनको अमेरिका यात्रासम्बन्धी प्रकाशोन्मुख नियात्रासंग्रहले त्यसको पुष्टि गर्दछ ।

यसपछि मात्र म गहिरिएर रमेश पोखरेलका विषयमा जान्न इच्छुक हुन्छु । मेरो घरअगाडिबाट बिहानै हातमा निकै गरुँगो कालो रङको ब्याग बोकेर लमकलमक लामा पाइला लम्किरहेको देख्दछु । कहिले त्यसरी नै फर्किरहेको हेर्छु । कतै नहेरी अगाडि मात्र हेरेर हिँड्ने रमेशजी कहिलेकाहीँ स्कुटी र मोटरसाइकलमा पनि उसरी नै हुँइकिएको पाउँछु ।

उनको व्यस्तता देखेर म आफूलाई टटोल्न पुग्छु । हिजो टेड युनियनको जिम्मेवारी बहन गर्दा र आन्दोलनमा रहेका बेला मेरो पनि यस्तै अवस्था थियो । बिहानबिहानै निस्कियो, बेलुका राति घर आयो । आफू हिँड्दा छोराछोरी सुतेकै हुन्थे । फर्किंदा निदाइसक्थे ।

छोराछोरी र मेरो आफ्नो देखभेट कुराकानी कहिलेकाहीँ फुर्सदमा मात्र हुने गर्थ्यो । ट्रेड युनियनको नेतृत्वबाट बाहिरिएपछि मलाई ढुक्क भयो । समय पर्याप्त भयो । घरमा परिवारसितको घुलमिलले आनन्द दिलायो ।

म रमेशजीको यो व्यस्तताले विगतको मेरै भोगाइजस्तो ठान्थेँ । तर, त्यति मात्र होइन रहेछ । उनी त पेन्टागन कलेजको प्रशासनिक जिम्मेवार व्यक्ति प्रिन्सिपल पो रहेछन् । आफ्नो विषय विद्यार्थीलाई अध्यापन गराउनु छुट्टै छ ।

सहकारीमा समेत जिम्मेवार पदाधिकारीका रूपमा संलग्न रहेछन् । शब्द संयोजन साहित्यिक मासिकको प्रधानसम्पादक, साहित्य सन्ध्याको उपाध्यक्ष, राष्ट्रिय जनसाहित्यक संघको पनि उपाध्यक्ष ।

रमेशजी उल्लेखित पदमा मात्र छैनन्, उनले सबै ठाउँमा सबै पदका मानिसले गर्ने कार्य प्रायः आफैँ भ्याउँछन, गर्छन् ! उनको यस्तो व्यस्तता थाहा पाएर पनि फेरि म उनीसित सहयोगको अपेक्षा राख्दछु ।

मेरो आत्मकथात्मक उपन्यास ‘यात्रा जिन्दगीको’ पाण्डुलिपि हेरिदिन अनुरोध गरेँ मैले । उनले मेरो प्रस्ताव सहज स्वीकार्दै भाषा सम्पादन मात्र गरिदिएनन्, पुस्तक प्रकाशन तथा लोकार्पणको पनि जिम्मेवारी लिइदिए । मैले दायाँ हातको चोरी औँलाले तीन सय पेज लामो उपन्यास लेख्न सकेकोमा मेरो आत्मबल बढाइदिँदै ‘हामी अक्षरका खेती गर्ने मानिसहरू यसरी अशक्त अवस्थामा लेखिएको सिर्जनाको प्रकाशन गर्न पाउँदा हामीलाई गर्वबोध भएको छ’ भनेर मलाई हौस्याए ।

यो सद्भावपूर्ण हौसला जोकोहीबाट प्राप्त गर्न सकिँदैन । रमेश पोखरेलबाट प्राप्त भयो । मेरो सिर्जना लगाव बढ्यो । मलाई लाग्यो– समाजमा केही व्यक्ति निःशुल्क सेवा दिन्छन्, उदाहरणको रूपमा रमेश पोखरेल एक हुन् ।

मेरो उपन्यास यात्रा जिन्दगीको लेकार्पण शब्द संयोजनको आयोजनामा मेरी आमा ९० वर्ष पूरा भएर ९१ वर्ष प्रवेशको उपलक्ष्यमा २०७९ चैत्र १४ गते नेपाल प्रज्ञा–प्रतिष्ठानको लेखनाथ हलमा भयो ।

रमेशजीले एक दिन भने, “तपाईं यस्तो बिरामी मानिस, लेखनमा यति लगनशील हुनुहुन्छ, मेरो ध्येय तपाईंलाई साहित्यमा स्थापित गर्नु हो, नत्र ता मलाई एक निमिष फुर्सद छैन ।”

अशक्त मानिसको बारेमा यस्तो सोचेर घरमै आएर हौस्याउने मानिस को नै हुनसक्छ र ! रमेशजीप्रति म नतमस्तक हुन पुग्छु । त्यसपछि मैले गहिरिएर बुझ्ने कोसिस गरेँ उनलाई । उनी बिहान ४.३० देखि बेलुका ९ बजेसम्म अत्यन्त व्यस्त मानिस रहेछन् ।

शैक्षिक उन्नयनको आफ्नो पेसा छँदै छ, समाजमा भाषा, साहित्यका विविध सन्दर्भमा रमेश पोखरेल जोडिएको भेटिन्छ । कतिपय सर्जकका कृतिको भूमिका लेखन, कतिपयको प्रकाशन मन्तव्य, कतिपयको लोकार्पण आयोजना रमेश पोखरेलमार्फत हुने गरेका छन् ।

त्यस्ता कार्यक्रमको समीक्षा, समाचार उत्पादन, वितरण र अनुगमन कार्यमा समेत रमेशजीको एक्लो भूमिका ठिङ्ङ भएर मेरो सामु उभिन्छ । अझ त्यति मात्र होइन, साहित्य सन्ध्या कार्यक्रममा ३०–४० जना सहभागी कविका कवितावाचनको सार, समीक्षकबाट त्यति नै संख्यामा गरिएका समीक्षा सार, त्यस दिन विषयवेत्ताका विचारसहितको सटीक सारंशकृत सूचना साहित्य सन्ध्यामार्फत संसारभर पु¥याउने मानिस रमेश पोखरेल नै हुन् ।

त्यस्तै, राष्ट्रिय जनसाहित्यिक संघको आयोजनामा ‘अविरल जनसाहित्य यात्रा’ले हरेक महिनाको दोस्रो शनिबार एकजना प्रगतिवादी कविका एक दर्जन कविता प्रस्तुत गर्ने अवसर उपलब्ध गराउँछ । त्यहाँ प्रस्तुत कविताको चिरफार एकजना विज्ञबाट गराइन्छ । प्रमुख अतिथि र अन्य अतिथिका मन्तव्य सकिएपछि उनै रमेश पोखरेललाई सबै सहभागीका आँखाले खोज्न पुग्छन् ।

उनी कार्यक्रम सुरु भएदेखि यस क्षणसम्म समाचार निर्माणमा एकलव्य रहन्छन् । जब उनको नाम उच्चारण हुन्छ, सबैको ध्यान उनमा केन्द्रित हुन्छ । अल्गो शरीर, हँसिलो खुसिलोपनका साथ उपस्थित मान्यजन स्रष्टाहरूको नाम उच्चारण गर्दै कार्यक्रममा उपस्थित भएर शोभा बढाइदिएकामा धन्यवाद दिन्छन् । अर्काे महिनाको एक दर्जन कवितावाचकको नाम उद्घोषण गर्दछन् अनि कार्यक्रम समापन गर्दछन् ।

दिनभरको थकान, भोको पेट, केही खाने इच्छा सबैलाई हुन्छ नै । बिहान खाएको खाना गोजेरोमा रित्तिइसकेको हुन्छ । सबैजना कार्यक्रमपछि चियानास्तातिर लाग्छन् । तर, रमेशजीलाई थकाइ र भोक लाग्दैन ! लाग्दैन भन्ने त कसरी भन्नु र ! भौतिक शरीर हो, पेट्रोलविना कसरी गाडी चल्छ र ! रमेशजीलाई पनि भोक लाग्दो हो, तर उनी भोक बिसाउन पाउँदैनन् । उनीमा रहेको रिजर्व ट्यांकीको शक्ति उपयोग गरेर केही नखाई नपिई उनी घर पुग्छन् र समाचार तयार गरेर कार्यक्रम सकिएको दुई घण्टाको अन्तरालमा विश्वसञ्जालमा पु¥याउँछन् ।

यसका लागि उनलाई थकाइ र भोक लाग्न पाउँदैन । उनलाई यस कार्यमा प्राविधिक सहयोग प्रशान्त खरेलले पु¥याउँछन् र त प्रगतिशील खेमाका साहित्यिक समाचारहरू विश्वजगत्मा पुग्ने गर्छन् ।

कतिपय अवस्थामा एकै ठाउँको बसाइको कारण हामी साथै जानेआउने गर्छौं कार्यक्रमहरूमा । बाटामा उनले भनेका कुरा म सुन्ने गर्छु, उनी आफ्नो बारेमा कहिल्यै केही भन्दैनन् । उनको योजनामा सामाजिक र साहित्यिक कुरा मात्र हुन्छन् ।

म बिरामी भएर घरमा सुतेको मानिसलाई साहित्य सन्ध्यालगायत साहित्यिक कार्यक्रममा जोड्ने काम उनले नै गरेका हुन् । मलाई सम्झना हुन्छ त्यस बेलाको, पहिले २०४३÷४४ सालतिर म पनि साहित्य सन्ध्यामा जाने गरेको थिएँ ।

करिब चार दशकपछि रमेशजीले मलाई पुनः जोडिदिएका हुन् । सुरुमा त म नजाऊँ कि भनेर अनिच्छा गरेको थिएँ, उनकै बलले गएको हुँ । आज लाग्छ, यस रसाइनको जोडाइले मेरो साहित्यिक यात्रा थप बलियो बनेको छ ।

उनकै पहल र प्रयत्नले म राष्ट्रिय जनसाहित्यिक संघको केन्द्रीय सदस्य बनेको हुँ । उनले भनेका थिए, “महेशजी, अबको तपाईंको जीवन यतैका लागि समर्पित गर्नुस् ।” मैले उनकै सुझाव वा सद्भाव पछ्याइरहेको छु ।

समग्रमा रमेश पोखरेलको दिलदिमागले साहित्य बोकेको छ । साहित्यभित्र राष्ट्रियता अडेको छ । जनताका जनजीविका अटेका छन् । न्यायपूर्ण तथा समतामूलक समाजको ध्येय रहेको छ । वर्गीय उत्थान, विकास र मुक्तिको सपना लुकेको छ । चेतना प्रवाहका माध्यमले हेपिएका, दबिएका, अन्यायमा परेका वर्गीय मानिसका पक्षमा उनको कलम चलेको छ ।

(कोटेश्वर, काठमाडौं) 

प्रकाशित मिति: शनिबार, चैत ९, २०८१  १२:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro