
केनेडी स्पेस सेन्टर । अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सको रकेट आइतबार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) मा सकुशल पुगेको छ ।
नौ महिनाभन्दा बढी समयदेखि आईएसएसमा फसेका दुई अन्तरिक्षयात्रीलाई पृथ्वीमा ल्याउन उक्त यानलाई अन्तरिक्षमा पठाइएको थियो । यानमा १० यात्रीलाई पठाइएको थियो ।
दुवै यानको भेटपछि उनीहरूले अन्तरिक्षमा फसेका दुई यात्री बुच विल्मोर र सुनीता विलियम्ससँग आपसमा खुसी साटेका छन् । उनीहरूले शून्य गुरुत्वाकर्षणमा आफ्ना समकक्षीलाई अँगालो हालेको टेलिभिजनबाट प्रत्यक्ष प्रसारित फुटेजमा देखाइएको थियो ।
आफ्नो पहिलो चालक दल यात्रामा परीक्षण गरिरहेको बोइङ स्टारलाइनर अन्तरिक्षयानले उनीहरूलाई पृथ्वीमा फिर्ता उडान गर्न असमर्थ भएपछि विल्मोर र विलियम्स गएको जुनदेखि कक्षीय प्रयोगशालामा फसेका थिए । त्यसपछि विल्मोर र विलियम्सको यात्रा नौ महिनासम्म लम्बिएको हो ।
यो लगभग ६ महिनाको अन्तरिक्षयात्रीका निम्ति मानक आईएसएस रोटेसनभन्दा धेरै लामो भएको छ । तर, यो सन् २०२३ मा नासाका अन्तरिक्षयात्री फ्रान्क रुबियोले बनाएको ३७१ दिनको अमेरिकी अन्तरिक्ष रेकर्ड वा मिर अन्तरिक्ष स्टेसनमा लगातार ४३७ दिन बिताएका रुसी अन्तरिक्षयात्री भ्यालेरी पोल्याकोभको विश्व रेकर्डभन्दा छोटो हो ।
तैपनि, आफ्नो परिवारबाट लामो समयसम्म टाढा रहनुको अनपेक्षित प्रकृतिले उनीहरूप्रतिको चासो र सहानुभूति बढाएको छ । उनीहरूले यति लामो समयका निम्ति अतिरिक्त लुगाफाटा र व्यक्तिगत हेरचाहका सामान समेत साथमा लगेका थिएनन् । रासस/एएफपी