काठमाडौं । नेपाल प्रहरीको ३१औँ प्रहरी महानिरीक्षक (आईजीपी) बन्न प्रतिस्पर्धामा रहेका तीन अतिरिक्त महानिरीक्षक (एआईजी) अन्तिम दौडधुपमा छन् । आईजीपी वसन्तबहादुर कुँवरले प्रहरी नियमावली अनुसार ३० वर्षे सेवाहदका कारण भोलि (चैत ४ गते) राति १२ बजेबाट अवकाश पाउने भएपछि प्रतिस्पर्धामा रहेका एआईजी उत्तराधिकारी होडको अन्तिम क्षणमा पुगेका छन् ।
एआईजीहरू दिपक थापा, सुदीप गिरी र टेकप्रसाद तामाङमध्ये एकजना प्रहरीको ३१औँ आईजीपी बन्नेछन् । हालका आईजीपी कुँवरको अवकाश पाउन अब २४ घण्टासमेत बाँकी छैन । तर, सरकारले ३१औँ आईजीपी नियुक्त अझै गरेको छैन् । जसका कारण प्रतिस्पर्धीहरू नियुक्तिको अन्तिम समयसम्मै दौडधुपमा छन् ।
बहालवाला आईजीपी अवकाशको मुखमा पुग्दासमेत सरकारले समयमै नियुक्त गर्न नसक्दा प्रहरीको 'चेन अफ कमान्ड' र दैनिक कामकारबाहीमा समेत असर पर्ने प्रहरी अधिकारी नै बताउँछन् ।
‘‘सरकारले दैनिक जनतासित जोडिएको सुरक्षा संगठनको प्रमुख नियुक्त समयमै गर्न नसक्दा यसको असर नियमित कामकारबाहीमै पर्ने गर्छ । अवकाशमा जाने अधिकारीहरू अवकाशकै मुडमा रहेका बेला नयाँ हुने प्रमुखसमेत आफू हुन विभिन्न शक्ति केन्द्र धाउँछन् । जसकारण काम कारबाही नै प्रभावित हुन्छ,’’ ती अधिकारीले भने ।
आईजीपीले अवकाश पाउन कमसेकम एक हप्ता अगाडि नै नयाँ आईजीपी नियुक्त गर्दा कमान्ड सम्हाल्न सजिलो हुने एक पूर्वआईजीपीको भनाइ छ । आईजीपीको होडमा लागेका एआईजीहरू कुँवरभन्दा ६ महिनापछि प्रहरी निरीक्षकबाट भर्ना भएका टोली हुन् ।
प्रहरी नियमावली, २०७१ को १२७ (घ) मा प्रहरी अधिकारीको अधिकतम सेवा अवधि ३० वर्ष हुने प्रावधान छ । यही प्रावधान विधेयक संसद्मा विचाराधीन छ । जसकारण आईजीपी कुँवरको कार्यकार थपिने अवस्था सकिएको हो ।
आईजीपी कुँवरले २०५१ चैत ५ मा प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका थिए । सरकारले उनलाई २०७९ चैत १० मा आईजीपी नियुक्त गरेको थियो । करिब दुई वर्ष प्रहरीको कमान्डर सम्हालेका कुँवरको कार्यकाल औसतमात्रै रह्यो ।
आईजीपी बन्न यसअघिको जस्तो अस्वस्थ क्रियाकलापमा भने अहिलेको टोली लागेको छैन । यसअघि भने आईजीपी दौडका पुग्दा एकैसाथ सलाम गर्न सिकेका प्रहरी अधिकारी अड्डा अदालतसम्मै पुगेका थिए । कतिपयले असन्तुष्ट जनाउँदै राजीनामा दिएका घटना पनि छन् । आईजीपी नियुक्तिको अधिकारी मन्त्रिपरिषद्सित हुन्छ ।
३१औँ आईजीपी नियुक्त आज आकस्मिकरूपमा बस्ने मन्त्रिपरिषद्को बैठकले नगरे भोलि (सोमबार) नियमित बस्ने मन्त्रिपरिषद्ले गर्नेछ ।
यस्तो छ आईजीपीका प्रतिस्पर्धीको 'ट्रयाक रेकर्ड'
आईजीपी कुँवरको अवकाशपछि प्रतिस्पर्धारत दिपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङले २०५२ भदौ १९ गतेदेखि प्रहरीमा सेवा सुरु गरेका हुन् । प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका उनीहरू तीनजना हाल एआईजी छन् । तर, एआईजी बढुवा हुँदा फरकफरक मितिमा भएका थिए ।
एआईजी बढुवा हुँदा दिपक थापा, गिरी र तामाङभन्दा १८ दिनअघि एआईजी भएका थिए । थापा हालका आईजीपी कुँवरसँगै २०७९ चैतमा एआईजी भएका थिए । त्यतिबेला थापा आईजीपीकै प्रतिस्पर्धामा थिए । एआईजी बढुवा हुँदा कुँवर र टेकप्रसाद राईपछि तेस्रो नम्बरमा थापा थिए । उनीहरूले एआईजीको दर्ज्यानी चिह्न २०७९ चैत ८ मा एकैसाथ लगाएका थिए ।
राई पनि कुँवरकै ब्याची हुन् । उनी पनि कुँवरसँगै अवकाश पाउनेछन् । थापा हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख छन् । एआईजी हुँदा उनले उपत्यका प्रहरी कार्यालयको कमान्डसमेत गरिसकेका छन् ।
उनीसँग डीआईजी हुँदा वाग्मती प्रदेश प्रहरी प्रमुख, प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय प्रमुखको कमान्ड सम्हालेको अनुभव छ । उनी आईजीपीका अन्य प्रतिस्पार्धीमध्ये बलिया मानिएका छन् ।
त्यसरी नै एसएसपी हुँदा उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख, प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन महाशाखा प्रमुख, एसपी हुँदा चितवन जिल्ला प्रमुख, प्रहरी प्रधान कार्यालयको बजेट शाखा, अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल प्रमुख भएर काम गरेको अनुभव उनीसित छ ।
यसरी नै डीएसपी हुँदा जिल्ला प्रहरी कार्यालय खोटाङ प्रमुख, इलाका प्रहरी कार्यालय बुटवल, प्रहरी वृत्त महाराजगञ्जको कमान्ड सम्हालेका थिए । प्रहरी निरीक्षकमा समेत उनले अनेक युनिटको कमान्ड सम्हालेका थिए । उनीसँग करिब २० भन्दा बढी युनिटको कमान्ड हम्हालेको अनुभव छ ।
थापापछि ०७९ चैत २६ मा सुदीप गिरी र टेकबहादुर तामाङ एकसाथ एआईजी बढुवा भएकाहरू छन् । चारजना एआईजी बढुवाको सूचीमा गिरी दोस्रो र तामाङ चौथो वरीयतामा बढुवा भएका थिए । उनीहरूसित बढुवा भएका एक नम्बरका सन्दीप भण्डारी र तेस्रो नम्बरका मीरा चौधरीले अवकाश पाइसकेका छन् । एआईजीको ५६ वर्षे उमेरहदका कारण उनीहरू दुवैले अवकाश पाएका हुन् ।
आईजीपीको प्रतिस्पर्धी गिरी हाल प्रहरी प्रशिक्षण प्रतिष्ठान केन्द्र महाराजगञ्जको प्रमुख छन् । यसअघि उनी प्रदेश समन्वय विभाग प्रमुख थिए । डीआईजी हुँदा कोसी प्रदेश कमान्ड र प्रहरीको विषेश ब्युरोको कमान्ड गरेको अनुभव गिरीसँग छ । एसएसपी हुँदा गिरीले जिल्ला प्रहरी परिसर काठमाडौंको कमान्ड सम्हाले ।
एसपी हुँदा कैलाली र पर्सा प्रहरी प्रमुखको भएर काम गरेको अनुभव छ । यसरी नै डीएसपीमा प्रहरी वृत्त कालिमाटी र जिल्ला प्रहरी कार्यालय रसुवाको समेत कमान्ड सम्हालेका थिए । प्रहरीको विषेश ब्युरोमा बसेर लामो काम गरेको अनुभव उनीसँग छ । गिरीसमेत आईजीपीको बलिया प्रतिस्पर्धी हुन् ।
अर्का प्रतिस्पर्धी हुन्, एआईजी टेकबहादुर तामाङ । उनी हाल उपत्यका प्रहरी कार्यालय प्रमुखको कमान्डमा छन् । यसअघि प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभाग प्रमुख थिए । डीआईजी हुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल प्रमुख, एसएसपी हुँदा विराटनगर तालिम केन्द्र प्रमुख भएर काम गरेको अनुभव छ ।
प्रहरी उपरीक्षक हुँदा जिल्ला प्रहरी कार्यालय बाँके र प्रहरी पहरा गण मुख्यालय सामाखुसीको कमान्ड सम्हालेको अनुभव पनि छ । उनी डीएसपी हुँदा इलाका प्रहरी कार्यालय धरान, प्रहरी वृत्त कालिमाटी, जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र खोटाङको कमान्ड सम्हालेका छन् । तामाङ पनि आईजीपीका दाबेदारमध्येकै एक हुन् ।
प्रहरी नियमावली, २०७१ को नियम ४१ ले ज्येष्ठता, कार्य कुशलता, कार्य क्षमता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमताका आधारमा आईजीपी नियुक्त गर्ने व्यवस्था छ ।
नेतृत्व प्रदान गर्न सक्ने कुशलता, आफूभन्दा मुनिका प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामर्थ्यका आधारमा सरकारले उपयुक्त देखेको एआईजीहरूमध्येबाट आईजीपी नियुक्त गर्नेछ ।
एआईजी नभएको खण्डमा भने डीआईजीहरूबाट आईजीपी नियुक्त गर्न सकिने व्यवस्था छ ।
आईजीपीसँगै अन्य को–को जाँदै छन् अवकाश ?
३० वर्षे सेवा अवधिका कारण आईजीपी कुँवरसहित एआईजीहरू टेकप्रसाद राई, कुबेर कठायत, दुर्गा सिंह, बुद्धिराज गुरुङ र जनक भट्टराईले समेत अवकाश पाउँदै छन् ।
उनीहरूबाहेक डीआईजीहरू गणेश चन्द, भोला रावल र ध्रुवराज राउतले पनि आईजीपी कुँवरसँगै अवकाश पाउनेछन् ।