
सूर्यनारायण एच पेलिस
हे भगवान्, यो परदेशीको बोझ हटाइदेऊ न बोझ हटाइदेऊ
मलाई त्यस्तो माया दिलाइदेऊ, जहाँ म रित्तिन सकूँ
नयाँ–पुराना सारासारा चोटहरू बिर्सिन सकूँ
हे दैव, साहुको फन्दामा बाँधिएको छु, बेचिएको छु
आफ्नोपनको संसार देऊ, जहाँ म खुल्न सकूँ
एउटा सानो फूलबारी बनाऊ, त्यहीँ फुल्न सकूँ
मरुभूमि हैन माटोको सिरानी देऊ, ढुक्कले लत्रिन सकूँ
मलाई त्यस्तो माया दिलाइदेऊ, जहाँ म रित्तिन सकूँ
हे ईश्वर, प्रेमको कस्तो रीत हो यो
मलाई त्यस्तो जिन्दगी देऊ, जो जिएपछि फिक्री हुन्न
मलाई त्यस्तो मुटु दिलाइदेऊ, जो साटेपछि बिक्री हुन्न
त्यस्तो पर्व देऊ, जहाँ एक पल रम्न सकूँ, ठाँटिन सकूँ
मलाई त्यस्तो माया दिलाइदेऊ, जहाँ म रित्तिन सकूँ
हे कुल देवता, सुन न सुन यो परदेशीको पुकार सुन
एकैफेर भए पनि मेरो चित्कार सुन
माया मारी जाने त गइगए, गुँडमा बचेरो गल्दै छ
यता बालुवा र घामको तातो, भित्र मुटु जल्दै छ
त्यस्तो भाग्य दिलाइदेऊ, भुरुरु गुँडतिर बत्तिन सकूँ
मलाई त्यस्तो माया दिलाइदेऊ, जहाँ म रित्तिन सकूँ
हे मुक्तिनाथ, मलाई मुक्ति देऊ, ऋणबाट मुक्ति देऊ
नपहिरिने एउटा घर, नचुहिने छानो सिँगान सकूँ
झिटी नबेची बिरामी बचाउन सकूँ, उतार्न सकूँ
घरगाउँमा मान्छे भई स्वमानमा उभिन सकूँ
नयाँ–पुराना सारासारा चोटहरू बिर्सिन सकूँ
(म्याग्दे– ६, तनहुँ)