
काठमाडौं । पाकिस्तानी सेनाले बलुचिस्तान प्रान्तमा भएको रेल अपहरणपछि सुरक्षा बलको कारबाही समाप्त भएको जनाएको छ । यस कारबाहीमा सबै अतिवादीहरू मारिएको सेनाको दाबी छ ।
सैन्य कारबाहीमा ३३ जना अतिवादी मारिएको बताइएको छ ।
बीबीसी उर्दूका अनुसार आईएसपीआरका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरिफले एक निजी टेलिभिजन च्यानलसँग कुरा गर्दै यस्तो दाबी गरेका हुन् । प्रवक्ताले यस अपरेसनको क्रममा कुनै पनि यात्रुको मृत्यु नभएको बताएका छन् ।
पाकिस्तानमा यात्रुवाहक रेलबाट ३०० बन्धकको उद्धार, ३३ अतिवादी मारिए
यद्यपि, उनले सेनाको अपरेसन सुरु हुनुभन्दा पहिले अतिवादीहरूले २१ जनाको हत्या गरेका बताएका छन् ।
पाकिस्तानका सूचना तथा प्रसारणमन्त्री अत्ता तरारले रेलमा जम्मा ४४० यात्रु रहेको र तीमध्ये धेरैलाई बन्धक बनाइएको बताएका छन् । उद्धार कार्य ३६ घण्टासम्म चलेको थियो ।
उनले पाकिस्तानी सेनाले सावधानी र कुशलताका साथ कारबाही गरेको बताउँदै भने, “जसका कारण कारबाहीको क्रममा कुनै पनि बन्धकलाई क्षति पुगेन ।” बीबीसी