
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचारका काण्डहरूको छानबिनमा सत्तापक्ष वा प्रतिपक्ष नहुने बताएका छन् । उनले सबै काण्डको छानबिन र दोषीमाथि कारबाहीका लागि साझा प्रतिबद्धता चाहिने बताए ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसद थापाले नागरिकका असन्तुष्टि सम्बोधन पनि सत्तापक्ष र प्रतिपक्षको साझा मुद्दा हुनुपर्ने बताए ।
“यताबाट उताका काण्ड देखाउने, उताबाट यताको काण्ड देखाउने होइन । सबै काण्डहरूको छानबिन गर्न न सत्तापक्ष हुन्छ, न प्रतिपक्ष हुन्छ,” थापाले भने, “त्यसका लागि आयोग चाहिएको हो कि के मार्फत गर्ने हो ? छलफल गरौँ । सत्तापक्षमै भएका बेला हाम्रा साथीहरूले सबै काण्डको छानबिन गर्न सार्वजनिक सरोकारको प्रस्ताव यही संसद्मा दर्ता गर्नुभएको छ । त्यसलाई अघि बढाऔँ ।”