site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
अन्तरिक्षयात्री सुनीताको अर्को कीर्तिमान

काठमाडौं । अन्तरिक्षयात्री सुनीता विलियम्स र ब्यारी बुच विल्मोर करिब १० महिनादेखि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस)मा छन् । उनीहरूलाई यही मार्च १९ वा २० तिर पृथ्वीमा फर्काउन सकिने सम्भावना रहेको नासाले जनाएको छ ।

उनीहरू दुवै सन् २०२४ जुन ५ मा परीक्षण ‘मिसन’का निम्ति स्टारलाइनर अन्तरिक्षयानबाट उडेका थिए । आठ दिनपछि उनीहरू फर्कनुपर्ने थियो ।

स्टारलाइनर अन्तरिक्षयान जब आईएसएसमा पुग्यो, त्यसमा समस्या उत्पन्न भयो । र, अन्तरिक्षयानलाई दिशा प्रदान गर्ने यसका पाँच ‘थ्रस्टर्स’ बन्द भयो । त्यसमा हिलियम पनि सकियो । यिनै समस्यापछि दुवै अन्तरिक्षयात्रीको फिर्ती रोकियो ।

सुनीताको अर्को रेकर्ड
सुनीता विलियम्स पछिल्लो नौ महिनाभन्दा बढी समयदेखि आईएसएसमा छिन् । योसँगै उनी लगातार सबैभन्दा लामो समयसम्म अन्तरिक्षमा बस्ने पहिलो महिला बनेकी छन् ।

सुनीताको यो पहिलो कीर्तिमान भने होइन । सन् २००६–०७ मा आफ्नो पहिलो अन्तरिक्षयात्राका क्रममा उनी २९ घण्टा १७ मिनेट डुलेकी थिइन् । महिलाले गरेको यो हालसम्मकै लामो ‘स्पेसवाक’ थियो ।

यो कीर्तिमान यसअघि अन्तरिक्षयात्री क्याथरिन थोरन्टनको नाममा थियो । उनले २१ घण्टाभन्दा बढी स्पेसवाकको कीर्तिमान बनाएकी थिइन् ।

सुनीताको यो तेस्रो अन्तरिक्षयात्रा हो । सबै तीन यात्राका क्रममा उनले नौपटक स्पेसवाक गरिसकेकी छन् । त्यसक्रममा उनले ६२ घण्टा ६ मिनेट स्पेसवाकमा बिताइन् ।

सुनीता विलियम्स एक सेवानिवृत्त नौसेना हेलिकोप्टर पाइलट हुन् । विल्मोर पूर्वलडाकु जेट पाइलट हुन् । यसअघि पनि उनले दुईपटक अन्तरिक्षयात्रा गरिसकेका छन् ।

को हुन् सुनीता विलियम्स ?
सुनीता लिन विलियम्स भारतीय मूलकी दोस्रो अमेरिकी अन्तरिक्षयात्री हुन् । कल्पना चावलापछि नासाले भारतीय मूलकी सुनीतालाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनको ‘एक्सपेडिसन–१४’ टोलीमा समावेश गरेको थियो ।

सुनीताको जन्म सन् १९६५ मा अमेरिकाको ओहायोमा भएको थियो । उनका बुवा भारतको गुजरातको राजधानी अहमदाबादबाट गएर १९५८ मा अमेरिकामा बसेका थिए ।

सुनीताका बुवा दीपक पाण्डे र आमा बोनी पाण्ड्या हुन् । उनको श्रीमान् माइकल विलियम्स पनि पाइलट हुन् । र, हाल प्रहरी अधिकारीका रूपमा कार्यरत छन् ।

सन् १९९८ मा नासाले सुनीतालाई अन्तरिक्षयात्रीका रूपमा चयन गरेको थियो । स्थानीय पत्रकार सलीम रिजवीका अनुसार, सुनीताले अमेरिकी नौसैनिक एकेडेमीबाट स्नातकोत्तर उपाधि हासिल गरेकी छन् । उनी दक्ष लडाकु पाइलट पनि हुन् ।

उनले विभिन्न प्रकारका ३० विमानमा २७ सय घण्टाभन्दा बढी उडान भरेकी छन् । सुनीताले कर्मचारीका रूपमा पहिलो काम नौसेना उड्डयनकर्मीका रूपमा गरेकी थिइन् । बीबीसी हिन्दीबाट ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  १०:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro