site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भित्रँदै छ अर्को मौसमी प्रणाली
फाइल तस्बिर ।

काठमाडौं । देशका केही स्थानमा शनिबार (फागुन २४) वर्षा र हिमपात भएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले काठमाडौंसहित झापा, मोरङ, संखुवासभा, मनाङ, कास्की, गोरखा, रुकुम पश्चिम, सिन्धुपाल्चोकमा वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यी जिल्लाका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात समेत भएको छ । काठमाडौंमा छिटपुटदेखि हल्का वर्षा भएको विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसको प्रभाव शनिबार रातिदेखि विस्तारै कम हुने महाशाखाका मौसमविद् सरोज पुडासैनीले बताए । तर, आइतबार (फागुन २५) कोसी, वाग्मती र गण्डकी प्रदेशमा बदली (आकाशमा बादल)को सम्भावना रहेको उनले जानकारी दिए ।

कोसी र गण्डकीका एक/दुई स्थानमा वर्षा र हिमपातको पनि सम्भावना छ । तर, मजबुत सम्भावना नरहेको उनले स्पष्ट पारे । “वर्षा र हिमपातको सम्भावना भोलि (आइतबार)लाई कमै छ,” उनले बाह्रखरीसित भने ।

आइतबार काठमाडौंमा पनि बदली हुने महाशाखाको पूर्वानुमान छ । आकाशमा बादल लाग्ने उनको भनाइ छ ।

“काठमाडौंमा आंशिकदेखि साधारणतया बदली हुने देखिन्छ । आज (शनिबार)को जस्तैजस्तै हुन्छ,” उनले भने, “काठमाडौंमा भोलि वर्षाको सम्भावना खासै देखिएको छैन ।”

भित्रँदै छ अर्को प्रणाली
पानी पार्ने पश्चिमी वायुकै अर्को प्रणाली भित्रन लागेको छ । आउँदो सोमबार (फागुन २६) त्यो प्रणाली नेपाल भित्रने मौसमविद्ले बताएका छन् ।

तर, त्यो ठूलो ‘सिस्टम’ नहुने र धेरै क्षेत्रमा प्रभाव नपर्ने मौसमविद् पुडासैनीले बताए । “प्रणाली भित्रने सम्भावना देखिएको छ, तर ठूलो सिस्टम होइन,” उनले भने, “कर्णालीमा चाहिँ हिमपात र वर्षाको सम्भावना देखिन्छ ।”

देशमा बरु अब प्रिमनसुनका गतिविधि बढ्दै जाने उनले उल्लेख गरे । स्थानीय वायुको प्रभाव बढ्ने र दिउँसोतिर बादल विकसित भएर हावाहुरी, चट्याङ, वर्षाको सम्भावना हुने उनले बताए ।

जलवायुविज्ञ डा. धर्मराज उप्रेती भने फागुन २६ गतेदेखि आउने पश्चिमी वायुले पूर्वी भागसम्म बदलीको अवस्था हुने बताउँछन् । “फाल्गुन २६ देखि आउने नयाँ पश्चिमी वायुले फाल्गुनको २७ गतेदेखि चैत १ गतेसम्म सुदूरपश्चिम, कर्णाली हुँदै पूर्वी भागमा पुनः बदलीको अवस्था,” उनले शनिबार फेसबुकमा लेखेका छन् ।

उनले फागुन २९ देखि चैत १ गतेसम्म हावाहुरी, असिनापानीको सम्भावना पनि औँल्याएका छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, फागुन २४, २०८१  १९:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro