site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुरु भयो प्रिमनसुन : चल्छ हावाहुरी, हुन्छ गड्याङगुडुङ
फाइल तस्बिर ।

काठमाडौं । हिउँदयाम सकिएर प्रिमनसुन सुरु भएको छ । करिब तीन महिनाको यो सिजनमा हावाहुरी चल्ने, बिजुली चम्किने, असिनापानी पर्ने सम्भावना हुन्छ । शनिबार (फागुन १७)देखि प्रिमनसुन अवधि सुरु भएको मौसमविद्ले बताएका छन् ।

अंग्रेजी क्यालेन्डरका तीन महिना – मार्च, अप्रिल र मेको समयलाई प्रिमनसुन भनिने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बिनु महर्जनले बताइन् । डिसेम्बर, जनवरी र फेब्रुअरी अर्थात् मंसिर १६ देखि फागुन १६ गतेसम्म हिउँद अवधि हो ।

आउँदो जेठ २८ गतेसम्म प्रिमनसुनको अवस्था रहने जलवायुविज्ञ डा. धर्मराज उप्रेतीले बताए । “जेठको २८ गतेसम्म प्रिमनसुनको अवस्था रहन्छ,” उनले बाह्रखरीसित भने, “जेठ १८ सम्म प्रिमनसुनको अवधि मानिन्छ । तर, मनसुन जेठको २८ देखि सुरु हुन्छ ।”

देशमा सबैभन्दा धेरै पानी पर्ने मनसुन सिजनका करिब चार महिना (जुन, जुलाई, अगस्ट र सेप्टेम्बर)मा हो । मनसुनपूर्वको अवधि हो, प्रिमनसुन ।

“प्रिमनसुनमा वार्षिक वर्षाको १२.५ प्रतिशत वर्षा हुने गर्छ,” मौसमविद् महर्जनले भनिन्, “मनसुनमा ८० प्रतिशत, पोस्ट मनसुनमा ४ प्रतिशतजस्तो, हिउँदमा ३.५ प्रतिशत पानी पर्ने हुन्छ ।”

महर्जनले जस्तै विज्ञ उप्रेतीले पनि प्रिमनसुनमा मनसुनपछिको बढी पानी पर्ने बताए । “हिउँदामा भन्दा प्रिमनसुनमा बढी पानी पर्ने, प्रिमनसुनमा भन्दा मनसुनमा बढी पानी पर्ने हो,” उनले भने ।

कस्तो हुन्छ प्रिमनसुनको मौसम ?
प्रिमनसुनमा मेघगर्जन/चट्याङ, हावाहुरीसहितको पानी पर्ने सम्भावना धेरै हुने महर्जनले बताइन् । “प्रिमनसुनको समयमा विशेष गरी लोकल सिस्टमहरू, स्थानीय वायुहरू एक्टिभ हुने अनि सानोसानो खालको लोकल सिस्टमहरू डेभलप भएर पानी पर्ने, मेघगर्जन/चट्याङसहितको, हावाहुरीसहितको पानी पर्ने सम्भावना धेरै हुन्छ,” उनले भनिन् ।

उनका अनुसार, प्रिमनसुनमा अपराह्नतिर पानी पर्ने सम्भावना धेरै हुन्छ । बिहान त्यस्तो सम्भावना नै हुँदैन भन्ने पनि होइन ।

“बिहानतिर पनि हुने गर्छ । अपराह्नतिर भर्खरभर्खर सिस्टम डेभलप भयो भने, विकसित भएर पानीचाहिँ साँझ ६/७ बजेको समयमा पनि पर्ने हुन्छ,” उनले भनिन् ।

प्रिमनसुनमा हावाहुरीको बढी जोखिम हुन्छ । तर, त्यो सबै ठाउँमा एकनासको नहुने उप्रेतीले बताए । “हावाहुरी बढी चल्ने, हावाहुरी पनि कुनै ठाउँमा सरसर चल्ने, अर्को ठाउँमा ठूलो – भनिन्छ नि, एकखालको भुमरीजस्तो पारेर जाने हावा चल्छ,” उनले भने, “दिउँसो हावा तातेपछि सिस्टम जेनेरेट गर्छ ।”

यो बेलामा असिना पनि पर्छ । अर्थात्, असिनापानी । अक्सर दिउँसो घाम लाग्ने हुन्छ । “यो बेला दिउँसोको समयमा मजाले घाम लाग्ने, जमिन तातिएपछिचाहिँ तातो हावा माथि जाने अनि त्यसले बादलहरू विकसित गर्ने हुन्छ,” महर्जनले भनिन्, “त्यस्तो हुँदै गर्दा बादलभित्र हावा तलमाथि गर्छ, त्यसको कारणले असिनापानीहरू पनि डेभलप हुन्छ ।”

त्यस्तो स्थिति अर्थात् बादलभित्र हावा तलमाथि हुँदा असिनापानी हावाहुरी, चट्याङ, बिजुली चम्किने उनले स्पष्ट पारिन् ।

यही नै प्रिमनसुनको परिचय हो । “हावाहुरी र पानी पर्दा पनि असिनापानी पर्ने त्यस्तो खालको सम्भावना यो सिजनको क्यारेक्टर (चरित्र) हो,” उप्रेतीले भने, “असिना, चट्याङ, हावाहुरी, गड्याङगुडुङ यो सिजनमा हुने सम्भावना हुन्छ ।” चट्याङको जोखिम पनि धेरै रहेको उनले बताए ।

हुन्छ खण्डित वर्षा
प्रिमनसुनमा पानी पार्ने प्रणाली निरन्तर लामो समय रहँदैन । यसको ‘आयु’ छोटो हुन्छ । “एकदम छोटो समयको लागि, एक/दुई घण्टा, हदै भए दुई/तीन/चार घण्टा हुनसक्छ,” महर्जनले भनिन्, “मनसुनमा जस्तो दिनभरि रहने, दुई दिनसम्म पानी पर्ने त्यस्तो हुँदैन ।”

उनका अनुसार, यो अवधिमा खण्डित वर्षाको सम्भावना हुन्छ । एउटै क्षेत्रको एकतातिर पानी पर्दा अर्कोपट्टि सुक्खा हुनसक्छ । “धेरैजसो ठाउँमा खण्डित वर्षा हुने गर्छ । जस्तै, काठमाडौंको पनि ठाउँठाउँमा माथिल्लो नर्थ (उत्तर)मा पानी पर्‍यो भने साउथ (दक्षिण)तिर नपर्ने त्यस्तो खालको पनि हुन्छ,” उनले भनिन् ।

यो अवधिमा स्थानीय वायु सक्रिय हुन्छ । पानी पार्न पश्चिमी वायुको पनि भूमिका रहन्छ । “पश्चिमी वायु हुन्छ । तर, पश्चिमी वायुभन्दा पनि लोकल सिस्टमहरूले पानी पार्ने हुन्छ,” उनले भनिन्, “यो सानोसानो सिस्टमलाई पश्चिमी वायुले सपोर्ट गर्‍यो भने विस्तृत खालको पानी पर्ने हुन्छ ।”

विज्ञ उप्रेतीले भने स्थानीय वायुका कारण पानी पर्ने सम्भावना २० प्रतिशतसम्म मात्र हुने बताए । “स्थानीय वायुको कारणले पानी पर्ने भनेको १०/२० प्रतिशत मात्रै चान्सेस हो, ८० प्रतिशत चान्सचाहिँ समुद्रकै सिस्टमबाट पानी पर्छ,” उनले भने, “समुद्रको सतहतबाट आउने जुन वाष्पीकरण छ, त्यसबाट हो ।”

पानी कुनै निश्चित क्षेत्रमा पर्न सक्छ । थोरै ठूलो ठाउँमा पनि पर्न सक्छ । “प्रिमनसुनमा सानो लोकल सिस्टम मात्रै छ भने त सानो ठाउँमा नै परेर सकिन्छ,” मौसमविद् महर्जनले भनिन्, “प्रिमनसुनलाई अर्को सिस्टमले पनि सपोर्ट गरेको छ भने त्यो सिस्टम ग्रो गरेर अलिकति ठूलो ठाउँमा पनि पानी पार्ने सम्भावना हुन्छ ।”

विज्ञ उप्रेती मनसुन सुरु हुनुभन्दा अगाडिको यो अवस्थालाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिन्छन् । “सडक निर्माण पूरा गर्नुपर्ने, मनसुनमा पहिरोको जोखिम घटाउन अहिले नै तयारी गर्नुपर्छ,” उनले भने, “हावाहुरी चल्ने हुँदा आगलागी नियन्त्रणमा गर्नुपर्ने उपायहरूमा अझ बढी ध्यान दिनुपर्छ ।”

हिउँदबाट प्रिमनसुनको समयमा तापक्रम विस्तारै बढ्न थाल्छ । यो अवधिमा मौसम पूर्वानुमान गर्न पनि कठिन हुने महर्जनले बताइन् । “एकदम सानो खालको लोकल सिस्टम हुन्छ,” उनले भनिन्, “यस्तो सानो सिस्टमको पूर्वानुमान गर्न पनि गाह्रो हुन्छ । चुनौती हुन्छ ।”

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, फागुन १७, २०८१  १८:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro