
काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई पब्लिक प्राइभेट पर्टनरसिपको आधारमा सुधार नगरेसम्म बिचौलियाको स्वार्थमा नेप्से डुब्ने निश्चित भएको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा सांसद केसीले नेप्सेको पुनर्संरचना गरेर मात्र निजी क्षेत्रलाई अर्काे स्टक एक्सचेन्जको लाइसेन्स दिन उपयुक्त हुने बताए ।
“खर्बौंको यो संस्था र सेयरहोल्डरको सुरक्षाका लागि नेप्सेलाई पब्लिक प्राइभेट पार्टनरसिपको आधारमा सुधार नगरेसम्म बिचौलियाको स्वार्थमा नेप्से डुब्ने निश्चित छ,” केसीले भने, “निजी क्षेत्रलाई दिने कुरामा विमति हैन, स्वच्छ प्रतिस्पर्धा र नेप्सेको सुव्यवस्थापन आजको मूल रूपबाट राष्ट्रिय चासो हो ।”
सरकार नियामक र प्रतिस्पर्धी हुन नसक्ने भन्दै नेप्सेको व्यवस्थापन आवश्यक रहेको केसीको भनाइ छ । निजी क्षेत्रलाई नयाँ स्टकको लाइसेन्स दिनुअघि नेप्सेको पुनर्संरचना गर्न अनिवार्य रहेको उनी बताउँछन् । “सरकारले सेयर स्वामित्व राख्दै निजी क्षेत्रलाई अर्काे स्टक एक्सचेन्ज दिनु सर्वथा गलत छ । सरकार नियामक र प्रतिस्पर्धी दुवै हुन सक्दैन,” केसीले भने ।
सरकार र सरकारी संस्थाले नेप्सेको स्वमित्व ओगटेर बस्न नहुने पनि उनले बताए । “भारत, चीन र बंगलादेशमा दुई स्टक एक्सचेन्ज छन् । तर, नेपाल स्टक एक्सचेन्जबाहेक संसारमा कहीँ पनि सरकारको सेयर छैन,” केसीले भने, “९० प्रतिशत सेयर सरकारी संस्थाहरूसँग छ ।”