-1731066014.jpg)
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिका काम करिब ६० प्रतिशत सकिएको छ । गत कात्तिक २३ गतेबाट सुरू स्तरोन्नति कार्य ६० प्रतिशत सकिएको नेपाल नागरिक उड्ड्यन प्राधिकरणले जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राति ८ घण्टा विमानस्थल बन्द गरी समानान्तर ‘ट्याक्सी वे’, ‘इन्टरनेशनल एप्रोन’ ‘ह्यांगर एप्रोन’ लगायत काम भइरहेको छ । जस निम्ति १५ अर्ब रूपैयाँ खर्च हुँदैछ ।
कात्तिक २३ देखि माघ १८ सम्म १० घण्टा बन्द गरी काम सुरू भएको थियो । माघ १९ देखि स्तरोन्नति दुई घण्टा कम गरिएको थियो ।
‘समानान्तर ट्याक्सी वे’ को काम करिब ६० प्रतिशत, ‘ह्याङ्गर एरिया डेभलपमेन्ट’ को काम करिब ४० प्रतिशत र ‘इन्टरनेशल एप्रोन’ को काम करिब ३० प्रतिशत तथा अन्य संरचनासमेत गरी औसतमा ६० प्रतिशतको हाराहारीमा काम सकिएको आयोजना प्रमुख दीपेन्द्र श्रेष्ठले जानकारी दिए । “रातिको काम ६० प्रतिशतको हाराहारीमा सकिएको छ । कार्यतालिकाअनुसार काम सक्ने योजना छ,” उनले भने ।
कात्तिक २३ देखि चैत १८ सम्म १० घण्टा बन्द गरेर निर्माण गर्ने कार्यतालिका छ । तर, विमानस्थलमा अत्यधिक चाप तथा चौतर्फी दबाबले दुई घण्टा समयावधि घटाइएको थियो ।
प्राधिकरणले बेलुका ११ बजेदेखि बिहान ७ बजेसम्म विमानस्थल पूर्ण रूपमा बन्द गरी काम गरिरहेको छ । यसअघि माघ १८ सम्म बेलुका १० देखि बिहान ८ बजेसम्म बन्द हुन्थ्यो । “करिब एक महिना बाँकी रहँदा ६० प्रतिशतको हाराहारीमा काम सकिएको छ,” श्रेष्ठले भने, “विमानस्थल बन्द गरेर गर्नुपर्ने काम समयमै सक्ने तयारीका गति बढाएका छौं ।”
“फ्रेबुवरी १ बाट दुई घण्टा समय घटाएको हो । समय घटाए पनि निर्धारित मितिमै सक्ने योजनामा छौं,” उनले भने, “समय घटाएपछि केही असर त पक्कै छ । तर, निर्धारित समयमै काम सक्ने तयारीमा छौं ।”
कात्तिक २३ गतेदेखि सुरू भएको स्तरोन्नतिका काम करिब तीन महिनापछि ८ घण्टामा झरेको थियो । “स्तरोन्नतिको समय ८ घण्टा भएपनि विमानहरू डिले हुँदा ७ घण्टा मात्रै काम गर्ने समय मिलेको छ,” उनले भने ।
काठमाडौं विमानस्थलमा रातिको समयमा बन्द हुँदा उडान करिब ३० प्रतिशत कटौती भएको छ । काठमाडौंको उडान पोखरा र भैरहवातर्फ जान सर्कुलर गरेपनि समिति संख्यामा मात्रै त्यसतर्फ गएका थिए ।
प्राधिकरणले गौतम बुद्ध विमानस्थल र पोखरा विमानस्थलमा ३० प्रतिशत उडान भर्न विमान कम्पनीहरूलाई सर्कुलर गरेको थियो । तर स्वदेशीसहित ५ कम्पनीमात्रै गएका थिए ।
काठमाडौंमा उडान गर्ने केही विमान कम्पनीहरू भैरहवा गए । तर, अधिकांशले उडान कटौती गरे । विमान कम्पनीहरूले उडान कटौती गरेपछि प्राधिकरणले तीन महिनापछि समयवधि २ घण्टा कम बाध्य भएको थियो ।
क्यानले सबै कम्पनी भैरहवा वा पोखरा जाने विश्वाससहित स्तरोन्नतिका कार्य सुरू गरेको थियो । तर, आधा दर्जन विमान कम्पनी पनि नगएपछि स्तरोन्नतिका काम तीव्रता दिँदै समयमै सक्ने क्यानको योजना छ । क्यानले चैत १८ को समयसीमा अन्तिम मान्दै तीव्र गतिमा निर्माण कार्य गरिरहेको श्रेष्ठ बताउँछन् ।
स्तरोन्नतिपछि २० देखि २५ प्रतिशत धावनमार्गको क्षमता बढ्नेछ भने एयर ट्राफिक व्यवस्थापन सहज हुने उनको भनाइ छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर आन्तरिक ११ हेलिकोप्टर कम्पनीसहित १९ हवाई कम्पनी र अन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित ३० हवाई सेवा कम्पनीले उडान गर्दै आएका छन् । यसरी अधिकांश कम्पनी काठमाडौं छाडेर नगएपछि क्यानलाई समय घटाउन दबाब परेको थियो ।