
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका प्रवक्ता मनीष सुमनले सरकारले भूमिसम्बन्धी अध्यादेश तत्काल फिर्ता लिनुपर्नेमा जोड दिएका छन् । त्यो फिर्ता नलिए आफूहरू अरू पाँच अध्यादेशको पनि विपक्षमा उभिने उनले बताए ।
शनिबार (फागुन १७) काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा उनले भूमिसम्बन्धी अध्यादेश जग्गा दलाल र बिचौलियालाई पोस्न, नेपालको जंगल मास्न र तराई/मधेसलाई मरुभूमिकरण गर्न ल्याइएको आरोप लगाए । त्यो फिर्ता नलिए अरू अध्यादेशलाई पनि समर्थन नगर्ने उनले स्पष्ट पारे ।
प्रवक्ता सुमनले आफ्नो दलले भूमिसम्बन्धी अध्यादेशको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको सुनाए । उक्त निर्णय देशको हितमा रहेको उनले जिकिर गरे ।
अध्यादेश ल्याउने विषय संवैधानिक भए पनि हाल नियत सफा नदेखिएको उनले बताए । अध्यादेश पारित गराउन सरकारले दल विभाजनसम्बन्धी विधेयक ल्याउन खोजेको सुनिएको भन्दै उनले त्यसबारे पनि विरोध जनाए ।
उनले आफूहरूले सरकारलाई दिएको समर्थन हालसम्म कायम रहेको उल्लेख गरे । तर, यो समर्थन अध्यादेश फिर्ता हुने वा नहुनेमा निर्भर रहेको उनको भनाइ थियो । हिमालयन टेली भ्वाइस