site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बालुवाटारमा पुज्छन्, मधेसमा गएर आँप झार्‍यो केपी ओलीले भन्छन् : अनिल झा

काठमाडौं । नेपाल सद्‌भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले दोहोरो चरित्र देखाउने राजनीतिक दलका कारण नै मधेसले सोचेको जति अधिकार प्राप्त गर्न नसकेको बताएका छन् । उनले मधेसको मुद्दा खरो रूपमा बोक्ने राजनीतिक दल कम रहेको बताएका हुन् ।

मधेसमा ‘जय मधेस’ र काठमाडौंमा ‘संघीय अभिवादन’ भन्ने नेताहरू भएकाले अधिकारबाट संकुचित हुनुपरेको उनको भनाइ छ । काठमाडौंमा आएर ‘प्रधानमन्त्रीको पूजा’ गर्ने र उता गएर ‘मधेसलाई सखाप पारे’ भन्ने नेताहरूको दोहोरो चरित्र जनताले बुझ्नुपर्नेमा उनले जोड दिए ।

त्यसनिम्ति आफू अब निर्वाचनमा परीक्षण हुन तयार रहेको उनले बताए । निर्वाचन आउन अझै दुई वर्ष बाँकी रहेकाले यसबीचमा सद्‌भावना पार्टीलाई जनस्तरस्म्म पुर्‍याउने उनले उल्लेख गरे ।

न्युज एजेन्सी नेपालसित अनिल झाको भनाइ पढ्नोस्–
मधेस र मधेसवादीका निम्ति तपाईंको स्टुडियोदेखि सिंहदरबारसम्म, सिंहदरबारदेखि बानेश्वरको सांसद भवनसम्म, सांसद भवनदेखि विदेशी समुदायसम्म, विदेशी समुदायदेखि बालुवाटार – प्रधानमन्त्रीको अगाडि आँखामा आँखा जुधाएर बोल्दासम्म र त्यहाँदेखि जनतासम्म एउटै कुरा बोल्ने । यहाँ कस्ता पार्टी पनि छन् कि मधेसमा जय मधेस पनि बोल्छन्, काठमाडौंमा संघीय अभिवादन भन्छन् । प्रधानमन्त्रीसँग के भन्छ, गएर उनको खुट्टा पुज्छन् अनि मधेसमा गएर के भन्छ, आँप झार्‍यो केपी ओलीले भन्छन् । त्यस्तो डबल स्ट्यान्डर, ट्रिपल स्ट्यान्डर पार्टीहरू तपाईं देख्न सक्नुहुन्छ । तपाईं जुन भन्नुहुन्छ टेस्टेडको कुरा, मलाई लाग्दैन कि टेस्टेड हुनु कुनै खराब कुरा पनि होइन । तर, फेरि पनि टेस्ट दिन म तयार छु । फेरि टेस्ट होला । टेस्ट त प्रत्येक पाँच/पाँच वर्षमा हुन्छ नि नेताको । फेरि अर्को चुनावमा होला । त्यो टेस्ट त फेरि पनि देखिन्छ । हामी कुनै अन्डरग्राउन्ड हुने पार्टी होइन । हामी त फाइनल्ली ब्यालेटको राजनीतिमै जाने हो । त्यो चिजमा फेरि पनि दुई वर्ष त बाँकी छ नि, यदि दुई वर्षपछिको असोजमा नर्मल टइममा इलेक्सन भयो भने । म्याक्सिमम त्यही टाइम हो । टेस्ट दिन फेरि पनि तयार छौँ । नेताले त प्रत्येक पाँच/पाँच वर्षमा टेस्ट दिनुपर्छ । विद्यार्थीले प्रत्येक वर्षमा टेस्ट दिन पाउँछ, नेताले पाँच/पाँच वर्षमा ।

प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  १०:३६
प्रतिक्रिया दिनुहोस्