
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा लामखुट्टेको टोकाइबाट सर्ने रोग जापानिज इन्सेफ्लाइटिसबाट एक जनाको मृत्यु भएको छ । मध्यबिन्दु नगरपालिका–१ पतवारीका ५२ वर्षीय पुरुषको जापानिज इन्सेफ्लाइटिसबाट मृत्यु भएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का सूचना अधिकारी छविलाल सुवेदीले जानकारी दिए ।
“जिल्लामा चालु आर्थिक वर्षमा चार जनामा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएकामध्ये एक जनाको निधन भएको छ,” उनले भने, “बाँकी तीनजना उपचारपछि घर फर्किसक्नुभएको छ ।”
साउनमा मात्र जिल्लामा चार जनामा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएको हो । बिरामीमध्ये तीनजना कावासोती नगरपालिकाका हुन् । जसमध्ये वडा नम्बर १ की ४४ वर्षीया महिला, वडा नम्बर ३ की ८३ वर्षीया महिला र वडा नम्बर ६ का ५२ वर्षीय पुरुष रहेको प्रदेश जनस्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन निरीक्षक डिल्लीराम तिवारीले बताए ।
“तीन जना संक्रमितहरू उपचारपछि घर जानुभएको छ । संक्रमितहरूको घरपरिवारका सदस्यलाई लक्षण भए/नभएको निगरानी गरिएको छ,” उनले भने, “संक्रमितहरूको घरपरिवारमध्ये पाँच जनाको नमुना संकलन गरी परीक्षणका लागि काठमाडौं पठाइएको छ ।”
जिल्लामा पछिल्लो वर्ष जापानिज इन्सेफ्लाइटिस संक्रमितको संख्या बढ्दै गएको छ । यसको लक्षण देखिएका बिरामीहरूको नमुना संकलन गरी परीक्षणका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु पठाइएको ल्याब टेक्निसियन तिवारीले जानकारी दिए ।
“मध्यबिन्दु प्रादेशिक अस्पताल, डण्डाबाट एक, विनयी त्रिवेणी आधारभूत अस्पतालबाट एक र संक्रमितका घरपरिवारका पाँचजना गरी सात जनाको नमुना संकलन गरी परीक्षणका लागि टेकु लगिएको छ,” उनले भने ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा आर्थिक वर्ष २०७९/८० मा सात जनामा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएकामध्ये पाँच जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयको तथ्यांकमा देखिन्छ । त्यसैगरी, आर्थिक वर्ष २०८०/८१ मा आठ जनामा संक्रमण भएकामध्ये एक जनाको मृत्यु भएको थियो । गत आव २०८१/८२ मा दुई जनामा संक्रमण भएकामध्ये दुवै जना उपचारपछि निको भएका थिए ।
जिल्लामा चालु आवको सुरुवातमै यो रोग देखिएपछि स्थानीय तहबाट जनचेतनामूलक अभियान सञ्चालन गर्न थालिएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रमुख शैलेन्द्रकुमार सिंहले बताए ।
“जापानिज इन्सेफ्लाइटिस क्युलेक्स भन्ने लामखुट्टेबाट सर्ने रोग हो । यी लामखुट्टेहरू मध्यम आकारका, खैरो रङका र पेटतिर सेतो चिह्न भएका हुन्छन् । तिनले प्रायः घाम ढल्किएपछि र अँध्यारो भएपछि टोक्ने गर्दछन्,” उनले भने, “विशेषगरी धान बालीमा जमेको पानी यो लामखुट्टेको प्रमुख बासस्थान हो । साउन, भदौ र असोजमा जापानिज इन्सेफ्लाइटिस बढी देखिने गर्दछ ।”
यो रोगबाट धेरै व्यक्तिहरू गम्भीर बिरामी नभए पनि केहीको गम्भीर अवस्था सिर्जना भई दिमागलाई असर गरी मृत्यु हुने गरेको प्रमुख सिंहले बताए ।
“यो रोग लाग्दा धेरैजसोलाई ज्वरो, झाडापखाला, बान्ता, थकित हुने, गर्धन दुख्ने, घाँटी कडा हुने, टाउको दुख्ने वा कमजोरी देखिन्छ,” उनले भने, “यस रोगका खतराका लक्षणहरू छारे रोग, पक्षघात र अचेत हुनु पनि रहेको छ ।”
विश्वभर प्रत्येक वर्ष ५० हजारभन्दा बढी जापानिज इन्सेफ्लाइटिस संक्रमित हुने गरेको तथ्यांक छ । जसमध्ये १० देखि १५ हजार संक्रमितको ज्यानसमेत जाने गरेको छ । रासस