
काठमाडौं । फाइनलमा घरेलु टिम नेपाललाई २–० ले हराउँदै म्यानमारले चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि जितेको छ । योसँगै नेपाली महिला टिम १३औँ पटक उपविजेतामा सीमित बनेको छ । नेपालले सन् १९९६ यता ३४ वर्षमा १३ फाइनल खेले पनि हालसम्म कुनै पनि उपाधि जित्न सकेको छैन ।
बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा १५ हजार ५६८ दर्शकमाझ सम्पन्न खेलमा दुवै गोल म्यानमारले दोस्रो हाफमा गरेको हो ।
खेलको ६२औँ मिनेटमा यु फर खिनले गोल गर्दै म्यानमारलाई अग्रतामा राखेकी हुन् । लेफ्ट साइड बक्सभित्रबाट खिनले गरेको ‘चिप’लाई नेपाली टिमकी गोलकिपर एन्जिलाले ठम्याउन सकिनन् । त्यसको दुई मिनेटपछि नै म्यानमारले अग्रता दोब्बर बनायो ।
६४औँ मिनेटमा म्यानमारकी विन थेइंगी तुङले गोल गर्दै म्यानमारले अग्रता दोब्बर बनाइन् ।
यसपछि थप गोल नहुँदा म्यानमार च्याम्पियन बनेको हो । त्यसअघि खेलको पहिलो हाफमा दुवै टिमले गोलका केही अवसर बनाए पनि त्यसलाई सदुपयोग गर्न सकेनन् ।
त्यसअघि खेलको २४औँ मिनेटमा नेपाली रक्षक विमला बिकले उत्कृष्ट बचाउ गर्दै नेपालको खतरा टारिन् । गोलकिपर एन्जिलासमेत बिट भएर पोस्ट खाली हुँदा म्यानमारकी सान थ्व थ्वले गरेको प्रहारलाई विमलाले शरीरले रोकिन् ।
३५औँ मिनेटमा सावित्रा भण्डारी साम्बाको प्रहारलाई म्यानमारको गोलकिपर म्यान नेइनले विफल बनाउँदा नेपालले अग्रताको सुनौलो अवसर गुमायो । रेखाले पेनाल्टी बक्स बाहिरबाट निकालेको बलमा सावित्राले ‘वान भर्सेस वान’ अवस्थामा गरेको प्रहार नेइनले उत्कृष्ट बचाउ गरिन् ।
खेलको ४४औँ मिनेटमा राइट साइडबाट रेनुका नगरकोटेले निकालेको क्रसमा बक्सभित्र रहेकी सावित्राको हेडर ‘कनेक्ट’ हुन नसक्दा नेपालले अग्रता अर्को सुनौलो अवसर खेर फाल्यो ।
यसअघि यी दुई टिमबीच लिग चरणमा भएको खेल २–२ को बराबरीमा समाप्त भएको थियो । प्रतियोगिताको लिग चरणमा म्यानमार विजेता र नेपाल उपविजेता बन्दै फाइनलमा आएका हुन् । चार देशको सहभागिता रहेको प्रतियोगितामा लेबनान र कीर्गिस्तान भने लिग चरणबाटै बाहिरिएका थिए ।