site stats
बाह्रखरी :: Baahrakhari
वार्षिकोत्सव विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बाह्रखरी मिडिया दसौं वर्षमा प्रवेश
Tiktok banner adTiktok banner ad

बाह्रखरी मिडिया आफ्नो स्थापनाको नवौं वर्ष पूरा गरी आज दसौं वर्षमा प्रवेश गरेको छ । यस अवधिमा हामीलाई विश्वसनीय सञ्चार माध्यमका रूपमा अपनाएर दैनिक समाचार, विचार र सूचनाको प्रमुख स्रोत बनाउनुहुने सम्पूर्ण उपयोगकर्ताहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछौँ । आगामी दिनमा हाम्रो व्यावसायिक पत्रकारिताको धर्म पालनामा कुनै प्रकारको सम्झौता नगर्ने प्रण दोहोर्‍याउँदै पत्रकारिताको उन्नयनका लागि नयाँ शैलीको संघर्षको उद्घोष गर्दछौँ ।

गएको दशक संसारभरकै पत्रकारिताका लागि दुष्कर समय रह्यो । छापा माध्यम कमजोर हुँदै गयो, टेलिभिजनका दर्शक कम भए, रेडियोको प्रभावकारिता बढेन तथापि धेरै खस्केन तर डिजिटल समाचार माध्यम च्याउसरी उत्पन्न भए । पत्रकारिताको मूल्य र प्रभावकारितामा यसअघि कहिल्यै यति ह्रास आएको थिएन जति गएको दस वर्षमा यो खिइयो । अहिले संसारभर नै कुनै पनि यस्तो संचार माध्यम देखिएको छैन जस्को सत्य, तथ्य र निष्पक्षतामा पाठकले कसम खान सकून् । 

पत्रकारितामा आएको ह्रासका कारणले संसारभरनै लोकतन्त्रको सहारामा अधिनायवादी चरित्रका नेताहरूको उदय भयो । संसारभरनै निर्वाचनबाटै धर्मान्धता, उग्र राष्ट्रवाद, दलाल पुँजीवादको उठान भएको छ । लोकतन्त्र, नागरिक अधिकार, समानता, उदारवाद बिक्न छाडेको छ, ‘स्टन्टबाज’ले जनमत बटुल्न थालेका छन् । यस्तो अवस्थामा लोकतन्त्र, उदारवाद र कानुनको शासनको पक्ष पोषणगर्ने मिडियालाई आफ्नो आस्था जोगाएर जनतालाई सही दिशा देखाउन हम्मे हम्मे परेको छ । बाह्रखरी पनि यही अप्ठेरो अवस्थामा आफ्ना आदर्श र व्यावसायिकतालाई जोगाउँदै अगाडि बढेको छ । 

नेपालको परिप्रेक्ष्यमा कुनै पनि निजी सञ्चार माध्यमले आफूलाई सशक्त आर्थिक र व्यावसायिक स्थितीमा भएको महसुस गर्ने अवस्था छैन । हाम्रा पाठकहरू सबै सामाजिक सञ्जालमा अलमलिएका छन् । हाम्रा विज्ञापनदाताहरू पनि सामाजिक संजालको माध्यमबाट आफ्नो वस्तु र सेवाको विज्ञापन गर्न तल्लिन छन् । हाम्रा पाठक, दर्शक, स्रोता कुनै पनि समाचार, सूचना र विचार कसले प्रेषित गर्‍यो, कुन सञ्चार माध्यम सशक्त र विश्वसनीय छ भन्नेमा भन्दा कुन सामाजिक संजालको मंच (प्लेटफार्म)ले के दियो भनेर छलफल गर्छन् ।

आजको दिनमा नेपालीपनको, नेपालको सार्वभौमिकता, अखण्डता र अक्षुणता सुरक्षा गर्ने देशको स्वार्थमा सम्झौता नगर्ने मिडिया कसैलाई नचाहिएको जस्तो देखिन्छ । सरकारलाई पनि यसमा खास चासो भएको देखिँदैन । तर, अहिलेको बदलिंदो विश्व राजनीतिक मञ्चमा नेपालीपन जर्गेना र सुरक्षा गर्ने विश्वसनीय समाचार माध्यम जीवित रहेन भने भोलि कुनै पनि महाशक्ति राष्ट्रले नेपालको स्वाधीनताविपरीत कुनै कार्य गरेको अवस्थामा हाम्रो प्रतिरक्षा कसले गर्छ ? के सामाजिक सञ्जालका सञ्चालकहरूले नेपालको हितमा बोलेर शक्ति राष्ट्रको विरोध गर्लान् ?

जुनबेला जनताका अधिकारहरू कुंठित भएका थिए र राजनीतिक दलहरू जनस्तरमा अत्यन्त अप्रिय बनिरहेका थिए त्यसबेला नेपालको उदारवादी खेमाका पत्रकारहरूले लोकतान्त्रिक अधिकारका लागि संघर्षको बिगुल फुके । विडम्बना, जब लोकतन्त्र आयो अनि राजनीतिक दलहरूका विरुद्ध स्पष्ट बोल्ने र उनीहरूले गरेका गलत कृत्य जनतामाझ पुर्‍याउने मिडियाको खेदो खन्ने कार्य सुरु भयो । स्थापित हुन् वा नयाँ राजनीतिक दलका नेता, सबैले स्वतन्त्र मिडियाको विपक्षमा आफूले सकेको योगदान गरे । अहिले संविधान विरोधी, व्यवस्था विरोधी र लोकतान्त्रिक व्यवस्था उखेल्ने शक्तिको उदय हुँदै गर्दाको अवस्थामा ठूला राजनीतिक दलको केही चेत खुलेको हुनुपर्छ । तर, समय घर्किदैं गएको छ । लोकतान्त्रिक, निष्पक्ष र स्वतन्त्र मिडियाको हितका लागि सरकारले अविलम्ब उपयुक्त कदम चाल्नुपर्ने अवस्था अपरिहार्य भएको छ ।

यस्तो अत्यन्त विकट परिस्थितिबीच संघर्षरत रहँदै स्वतन्त्र र निष्पक्ष पत्रकारितालाई अघि बढाउँदै गर्दा हाम्रा होस्टेमा हैंसे गर्ने हाम्रा पाठक, विज्ञापनदाता, सहयोगी मित्र र लोकतन्त्र तथा स्वतन्त्रताका पक्षधरहरूप्रति हामी सदा नतमस्तक छौँ । हाम्रा गल्तीहरू औंल्याउने र कतिपय साना गल्तीलाई सहज ढंगले माफ गरिदिने पारखी शुभेच्छुकप्रति हामी सधैँ आभारी रहनेछौँ ।

आउँदो वर्षमा हामी बढीभन्दा बढी पाठकका मोबाइल फोन र कम्प्युटर स्क्रिनमा धेरैभन्दा धेरै पटक उपस्थित हुन उपयुक्त सामग्री, सक्रियता र विश्वसनीयताका साथ प्रस्तुत हुने प्रण गर्दछौँ । 

धन्यवाद ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ७, २०८१  ०६:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro