काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेसीको टोली इन्टर मियामीको खेल खराब मौसमका कारण स्थगित भएको छ । उत्तर अमेरिकी फुटबल संघ कोन्काकाफका अनुसार, भारी हिमापात हुने पूर्वानुमानपछि मियामी र स्पोर्टिङ कान्सास सिटीबीचको खेल स्थगित गरिएको हो ।
तालिकाअनुसार मंगलबार मायामी र कान्सास सिटीबीच थियो । संयुक्त राज्य अमेरिकाको राष्ट्रिय मौसम पूर्वानुमान शाखाले पूर्व–मध्य र उत्तरीपूर्वी तथा मध्य र पश्चिम–मध्य मौसुरी क्षेत्रमा हिउँदे आँधी हुने जनाएको थियो । जसका कारण सोमबार कोन्काकाफले खेल स्थगित गरेको जनाएको हो ।
“खेलाडी र दर्शकहरूको सुरक्षालाई ध्यानमा राखी दुई प्रतिस्पर्धी टोली र स्थानीय प्रशासनहरूसँग समन्वय गरी खेल स्थगित गर्ने निर्णय गरिएको हो,” कोन्काकाफले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
मंगलबारको तालिका स्थगित भएसँगै मियामीले अब पहिलो लेगमा बिहीबार कान्सास सिटीविरुद्ध प्रतिस्पर्धा गर्नेछ । यस्तै, यसको दोस्रो लेग मियामीको मैदान चेस रंगशालामा फेब्रुअरी २५ मा हुनेछ । जसको विजेताले अन्तिम–१६ मा जमैकाको टोली काभालियरविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
यसअघि च्याम्पियन्स लिगको रूपमा परिचित च्याम्पियन्स कप कोन्काकाफले आयोजना गर्ने शीर्ष महादेशीय प्रतियोगिता हो । जसमा उत्तर अमेरिका, मध्य अमेरिका र क्यारेबियनका क्लबहरूले प्रतिस्पर्धा गर्दै आएका छन् ।