
काठमाडौं । सुरूङ चुहिएपछि समस्या खेपेको मध्यभोटेकोसी आयोजनालाई अर्को समस्यामा परेको छ । त्यो हो, विकल्पका रूपमा निर्माण हुँदै गरेको शिवश्रीको प्रसारण लाइनमा अवरोध आउनु ।
आयोजनाका लागि निर्माण हुँदै गरेको प्रसारण लाइन समयमै नसकिने भएपछि विकल्पका रूपमा १३२ केभीको शिवश्री हाइड्रोको प्रसारण लाइन प्रयोग गर्ने सहमति भएको थियो । तर, उक्त प्रसारण लाइनमा पनि स्थानीयले अवरोध गरेका छन् ।
स्थानीयले ठूलो रकम माग गर्दै तार तान्न र टावर गाड्नमा अवरोध पुर्याएका हुन् । मध्यभोटेकोसीको विद्युत् प्रवाहका लागि अस्थायी रूपमा वैकल्पिक व्यवस्था अनुसार दुई सय केभी प्रसारण लाइनबाट बाह्रबिसे सबस्टेसनमा पुगेको विद्युत् त्यही सबस्टेसनमार्फत एक सय ३२ केभीमा झार्ने तयारी छ ।
जसका लागि २२ मेगावाटको माथिल्लो चाकु ‘ए’ जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनी शिवश्री हाइड्रोपावरले निर्माण गरेको एक सय ३२ केभी प्रसारण लाइनलाई बाह्रबिसे सबस्टेसनमा लैजाने गरी प्रसारण लाइन निर्माण भइरहेको छ ।
उक्त प्रसारण लाइनबाट मध्यभोटेकोसीको विद्युत् लामोसाँघु सबस्टेसन हुँदै राष्ट्रिय प्रणालीमा जोड्ने तयारी छ । अस्थायी वैकल्पिक व्यवस्था खिम्ती–बाह्रबिसे वा बाह्रबिसे–काठमाडौँ प्रसारण लाइन सम्पन्न नभएसम्म उक्त प्रसारण लाइन प्रयोगमा गर्ने तयारीमा आयोजना थियो ।
तर, उक्त प्रसारण लाइनमा पनि स्थानीयले अवरोध गरेका हुन् । “शिभश्री ग्रुपले बनाउनुपर्ने प्रसारण लाइनमा तीन वटा टावर र तार तान्न अवरोध छ,” मध्यभोटेकोसी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामगोपाल शिवाकोटीले भने, “रूट परिवर्तनको माग गर्दै स्थानीयबाट अवरोध भएको छ ।”
यसअघि आयोजनाको मुख्य प्रसारण लाइन निर्माण गर्न सांसद मोहनबहादुर बस्नेतको उक्साहटमा अवरोध भएको थियो । तार तान्ने काममा निरन्तर अवरोधपछि ११ करोड दिने सहमति भएको थियो ।
ठूलो रकम मागेर लामो समय अवराधे गरेपछि भदौमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का तथा सांसद बस्नेतको उपस्थितिमा अस्पताल बनाउन ११ करोड दिने सहमति भएको थियो । उक्त सहमतिपछि त्यस क्षेत्रमा अवरोध हटेको थियो । तर, त्यही सिको गर्दै शिभश्रीको प्रसारण लाइनमा पनि लाइन तान्ने काममा अवरोध भएको छ ।
सुरूङ पुनःनिर्माण अन्तिम चरणमा
पुन:निर्माणको दोस्रो परीक्षणमा पनि पानी चुहिएपछि पुनःनिर्माणको काम अन्तिम चरणमा पुगेको आयोजना प्रमुख शिवाकोटीले जानकारी दिए ।
यसअघि पहिलोपटक ०८० पुस ‘वेट टेस्टिङ’ मा पानी चुहिएको सुरूङ ‘रेट्रोफिटिङ’ गरी परीक्षण गर्दा ०८१ कात्तिकको अन्तिममा पनि चुहिएको थियो । पानी चुहिएर ‘रेट्रोफिटिङ’ गरिएको आयोजनामा पुनः समस्या देखिएपछि दोस्रोपटक ‘रेट्रोफिटिङ’ कार्य भइरहेको छ । “रेट्रोफिटिङ’को कार्य सकिन लागेको छ । चैत्रसम्म सकेर परीक्षणमा जाने तयारीमा छौं,” उनले भने ।
सुरूङमा गुणस्तरीय काम नहुँदा आयोजना उत्पादन मिति अझै अन्यौलग्रस्त छ । १०२ मेगावाटको आयोजनाको सिभिल तथा हाइड्रोमेकानिकलको काम इञ्जिनियरिङ, खरिद र निर्माण (इपिसी) ढाँचामा चिनियाँ कम्पनी क्वाङसी हाइड्रो एण्ड इलेक्ट्रिकल कन्स्ट्रक्सनले ठेक्का लिएको थियो ।
ठेकेदार कम्पनीले निर्माणमा लापरबाही गर्दा आयोजनाबाट ११ वर्षसम्म विद्युत् उत्पादन हुन सकेको छैन । आयोजनाको परीक्षणमा दोस्रोपटक पनि त्यही ठाउँमा पानी चुहिएको थियो ।
आयोजना ठेक्का हुँदा ‘क्लास थ्री’ रक भएका कारण ‘लाइनिङ’ को सट्टा ग्राउटिङ गरिएको थियो । ‘रेट्रोफिटिङ’मा ठेकेदार कम्पनीले राम्रोसँग ग्राउटिङ नगरेका कारण सुरूङमा दोस्रोपटक पनि पानी चुहिएको थियो ।
आयोजनाको सुरूङ ७ किलोमिटर लामो छ । “आयोजनाको पछिल्लो रिपोर्टमा अघिल्लोपटक जस्तो पानी चुहिएको छैन । ३/४ सय मिटर रेन्जमा ३ ठाउँबाट आएको छ । यसको काम अन्तिममा पुगेको छ,” उनले भने ।
करिब ७ महिना लगाएर ‘रेट्रोफिट’ गरिएपनि ठेकेदारले लापरबाही गर्दा अर्बौ रूपैयाँ नोक्सान भएको छ । “आयोजनामा दोस्रोपटक परीक्षण गर्दा केही सुधार भएको हो । पहिला पाँच ठाउँमा चुहिएको थियो । तीन ठाउँमा छ,” उनले भने, “विद्युत् उत्पादन गरिहाल्न चाहिँ समस्या आएको छ ।”
चार वर्षमा सक्ने गरी ०७० मा निर्माण सुरू गरेको आयोजनाले ०६८ मै नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) गरेको थियो । २०७४ मै विद्युत् उत्पादन गर्ने आयोजना निर्माण सुरू भएको थियो ।
तर, भुकम्प र नाकाबन्दीको कारण देखाएर विद्युत् उत्पादन मिति ०७६ पुर्यायो । ०७६ पछि कोभिड–१९ तथा आर्थिक मन्दीको असर भन्दै ०७८ पुर्याएको आयोजना कहिले आउने यकिन हुन सकेको छैन ।
आयोजनामा भएको ढिलाइसँगै लागतमा पनि उच्च वृद्धि भएको छ । सुरूमा १२ अर्ब २८ करोड रहेको लागत आयोजनामा भएको ढिलाइसँगै २० अर्बको हाराहारीमा पुगेको छ ।
पीपीए भएको १३ वर्ष र आयोजना निर्माण सुरू भएको ११ वर्षसम्म पनि आयोजना सम्पन्न हुन नसक्नुमा आयोजनाले ठेकेदारको गल्ती देखाउने गरेको छ । आयोजनालाई एकपछि अर्को समस्या आउँदा विद्युत् उत्पादन अनिश्चित बनेको छ ।