
पोखरा । जन्मदिनमा समेत प्रयोग गरिने स्पार्कलसँग सम्पर्कमा आउँदा पोखरामा शनिबार एक विस्फोट हुन पुग्यो । जसमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते हुन पुगे । घाइते दुवैको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।
शनिबार पोखरा भ्रमण वर्ष घोषणा कार्यक्रम थियो । प्रमुख अतिथि थिए, मन्त्री पौडेल । कार्यक्रमको अध्यक्षता गरेका थिए मेयर आचार्यले । औपचारिकताबाट अगाडि बढेको कार्यक्रममा उद्घोषकले अर्थमन्त्री पौडेललाई ‘पोखरा भ्रमण वर्ष, २०२५’को लोगो अनावरण गर्न आग्रह गरे अनि उनले सँगै मेयर आचार्यलाई पनि मन्त्रीलाई सघाउन आग्रह गरे ।
कार्यतालिकाअनुसार ‘पोखरा भ्रमण वर्ष २०२५’ लेखिएका नीला र राता बेलुनका दुई झुत्ता अर्थमन्त्री पौडेल र आचार्यलाई दिइयो । तर, बेलुन उड्न पाएनन्, एक्कासि विस्फोटको ठूलो आवाज आयो । अर्थमन्त्री मञ्चमा उक्लिए, मेयर मञ्चबाट हामफाले ।
विस्फोट भएको बेलुन त्यही स्पार्कलको झिल्काको सम्पर्कमा थियो । कार्यक्रम व्यवस्थापनमा ध्यान नदिँदा सानो झिल्कोले ठूूलो आवाजसहितको विस्फोट गरायो । पौडेलको टाउको, घाँटी, गालामा आगोले भेट्यो । मेयर आचार्यको गालामा आगोको लप्काले भेटेको छ । उनको गालामा बेलुन नै टाँसिएका थिए, जसलाई सफा गर्न खोज्दा उनको छाला नै उप्किएको छ ।
अर्थमन्त्रीलाई तत्कालै उपचारका लागि गण्डकी मेडिकल कलेज पु¥याइयो भने मेयर आचार्यलाई फिस्टेल अस्पताल लगियो । निकटस्थहरूका अनुसार मेयर आचार्यको त्यतिवेला रक्तचाप निकै बढेको थियो ।
पोखरामा सामान्य उपचारपछि अहिले दुवैजनाको कीर्तिपुरस्थित जलन उपचार अस्पतालमा उपचार भइरहेको छ । मेयरलाई सघन उपचार कक्षमा राखेर उपचार गरिरहेको अस्पतालले जनाएको छ ।
बेलुन विस्फोटको घटना सामाजिक सञ्जालभरि फैलिरहँदा उक्त बेलुनमा प्रयोग हुने ग्यासबारे धेरैले चासो राखिरहेका छन् ।
बेलुनमा हाइड्रोजन प्रयोगको बारेमा महानगरले नै पुष्टि गरेको छ । “कार्यक्रमको डिजिटल इनागुरेसन गर्ने क्रममा हाइड्रोजन ग्यास भरिएका बेलुनहरू फायर क्यान्डिलबाट निस्किएका झिल्काहरूसँग ठोकिन पुगेपछि दुर्घटना हुन पुगेको हो,” महानगरले फेसबुक पेजमा लेखेको छ ।
बेलुनमा हाइड्रोजन ग्यास प्रयोगको जोखिमबारे शनिबारको घटनाले पनि पाठ सिकाएको छ । तर, हाइड्रोजन प्रयोगको घटनामा ३५ जनाले ज्यान नै गुमाएको इतिहास पनि छ ।
सन् १९३७ मे ६ मा भएको हिडनबर्ग दुर्घटना हाइड्रोजन ग्यास प्रयोगको कारण भएको थियो । जर्मनीको यात्रुवाहक एयरसिप हिडनबर्ग अमेरिकाको न्युजर्सी विमानस्थलमा अवतरण गर्दा आगो लागेको थियो । घटनामा ३५ मानिसको मृत्यु भएको थियो ।
हिडनबर्गमा हाइड्रोजन ग्यासको प्रयोग गरिएको थियो । यो ग्यास आफैँमा ज्वलनशील ग्यास हो । घटनापश्चात् हाइड्रोजनको सट्टा हिलियम ग्यासको प्रयोग बढाइयो, जुन सुरक्षित ग्यास हो । हिडनबर्ग सो बखत आलिसान सिविल एभिएसनको भविष्य मानिन्थ्यो, हवाईजहाज मुख्यगरी सैनिक सेवाका लागि मात्र प्रयोग गरिन्थ्यो । उक्त घटनापश्चात् सर्वसाधारणलाई ध्यानमा राखी हवाईजहाज बनाउन सुरु भएको हो ।
जोखिमयुक्त हाइड्रोजन ग्यास हावामा सहजै तैरिने र सस्तो मूल्यका कारण पछिल्लो समय बढी प्रयोग हुन थालेको छ । तर, यसको ज्वलनशीलताका कारण सुरक्षासम्बन्धी चुनौतीहरू पनि ल्याउँछ ।
हाइड्रोजन एक अत्यधिक ज्वलनशील ग्यास हो । यो हावामा अक्सिजनसँग मिसिएमा सजिलैसँग आगो लाग्न सक्छ । बेलुन फुट्ने वा चिसो हुने अवस्थामा पनि आगलागीको खतरा बढ्न सक्छ ।
हाइड्रोजन ग्यासले भरिएको बेलुन ठूलो दबाबमा रहन्छ । यदि बेलुन फुट्यो भने वा ग्यास लिक भयो भने विस्फोट हुने सम्भावना हुन्छ, जसले आसपासका व्यक्तिहरूलाई गम्भीर चोटपटक लाग्न सक्छ । हाइड्रोजनले भरिएको बेलुनबाट ग्यास लिक भएमा मानिसहरूको सासमार्फत उनीहरूको फोक्सोमा पुग्न सक्छ । जसले श्वासप्रश्वाससम्बन्धी समस्या उत्पन्न गर्न सक्छ ।
यो ग्यास वातावरणमा मिसिएमा यसले वायु प्रदूषण गर्न सक्छ र अन्य ग्यासहरूसँग प्रतिक्रिया गरेर हानिकारक यौगिक बनाउन सक्छ । हाइड्रोजन ग्यास भरिएका बेलुनहरू हावामा उड्ने भएकाले यदि यी बेलुनहरू नियन्त्रणबाट बाहिर गए भने दुर्घटना हुने सम्भावना बढ्छ ।