site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रानीमहलमा गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीबीच के के विषयमा छलफल भयो ?

पोखरा । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र लुम्बिनीका मुख्मयन्त्री चेतनारायण आचार्यले सिद्धार्थ राजमार्गलाई दुई लेनमा विस्तार गर्न संघ सरकारसँग माग गरेका छन् । गण्डकी र लुम्बिनी जोड्ने यो महत्त्वपूर्ण सडक हो ।

“सिद्धार्थ राजमार्गको पोखरा–बुटवल सडकखण्डलाई डेडिकेटेड दुई लेनमा विस्तार गर्न संघीय सरकारलाई अनुरोध गर्ने,” साझा प्रतिबद्धतामा भनिएको छ । 

बुधबार पाल्पाको रानीमहलमा भेटेर बैठक गरेका मुख्यमन्त्रीद्वयले २१ बुँदामा दुई प्रदेशका सहकार्यका विषयमा प्रतिबद्धता गरेका छन् । दुई प्रदेशको हित हुने बृहत् क्षेत्रका विकास योजनालाई संयुक्त रूपमा अगाडि बढाउने सहमति भएको हो ।

दुवै प्रदेशले हवाई यातायातलाई प्रवर्द्धन गर्दै नेपालगञ्ज, जोमसोम र भैरहवा, जोमसोम हवाई सेवा विस्तार गर्ने निर्णय गरेका छन् । साथै, अन्तरप्रदेश सडक सञ्जाललाई प्राथमिकता दिँदै लुम्बिनी–लोमान्थाङ, लुम्बिनी–मुक्तिनाथ सिल्क रोड, लुम्बिनी–त्रिवेणी–दुम्कीवास सडक, गैंडाकोट–कालिगण्डकी कोरिडोर तथा अन्य सडक स्तरोन्नतिका लागि कार्यान्वयन अघि बढाइने भएको छ ।

आर्थिक वृद्धि र रोजगारी सिर्जनाका लागि भरतपुर–बुटवल–पोखरा क्षेत्रलाई समेट्दै संघीय सरकारबाट प्रस्तावित गण्डकी आर्थिक त्रिभुज परियोजना कार्यान्वयन गर्न माग गरिने निर्णय भएको गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताए । स्थानीय उत्पादन प्रवर्द्धनका लागि लुम्बिनीमा पोखराका कृषि उत्पादन तथा गण्डकीमा लुम्बिनीका कृषि उत्पादन बिक्री गर्ने चिस्यान केन्द्रसहितको बजार संरचना निर्माण गरिने भएको छ ।

कृषि तथा पशुपन्छी उत्पादनलाई बजारसम्म पुर्‍याउन पूर्वाधार निर्माण गर्न सम्भाव्यता अध्ययन गर्ने र कालीगण्डकी कोरिडोरलाई आर्थिक केन्द्रको रूपमा विकास गर्दै हिमाली तथा पहाडी उत्पादनलाई तराई र सीमापार बजारसम्म पुर्‍याइने प्रतिबद्धता उनीहरुले जनाएका छन् । कृषि तथा वनजन्य जडीबुटी प्रशोधन गर्न निजी क्षेत्रसँग सहकार्य गर्दै ब्याज अनुदान दिने नीति ल्याइनेमा दुवै सरकार सहमत भएका छन् ।

पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिँदै लुम्बिनी–पोखरा–मुक्तिनाथलाई मुख्य पर्यटन मार्गका रूपमा विकास गरिने भएको छ । गण्डकी प्रदेशले एकीकृत सूचना प्रणालीसहितको प्रविधि विकास गर्ने प्रतिबद्धता जनाएको छ । त्रिवेणी देवघाट, रुरु क्षेत्र, मुक्तिनाथलगायत धार्मिक क्षेत्रको विकासमा संयुक्त लगानी गरिने भएको छ । गोरखा, तनहुँ, स्याङ्जा, पाल्पा, गुल्मी, प्यूठान, रोल्पा मगर सांस्कृतिक पदमार्ग विस्तार गर्ने साझा प्रतिबद्धतामा उल्लेख छ ।

बुद्ध सर्किटको विकास तथा अन्नपूर्ण, मनास्लु, मुक्तिनाथ क्षेत्रमा साहसिक, धार्मिक र स्वास्थ्य पर्यटन प्रवद्र्धन गरिने भएको छ । चितवन, बाँके, बर्दिया, मनास्लु, अन्नपूर्ण र ढोरपाटनलाई समेटेर पर्यटकीय सर्किट बनाउन दुवै पक्ष सहमत भएका छन् । औद्योगिक क्षेत्र विस्तारका लागि मोतिपुर औद्योगिक क्षेत्र र लोकाहा खोला औद्योगिक क्षेत्रको उपयोग गर्न निजी क्षेत्रलाई सहजीकरण गर्ने सहमति भएको मुख्यमन्त्री पाण्डेले बताए ।  खानी तथा खनिज उद्योग विस्तार गर्दै प्राकृतिक स्रोतजन्य उत्पादनको व्यवस्थापन र बजार सुनिश्चितता गरिने भएको छ । जलविद्युत् तथा ठूला बहुउद्देश्यीय आयोजना सञ्चालन गर्न आपसी समझदारी कायम गरिने पनि उनीहरूले सहमति गरेका छन् ।

नदीजन्य पदार्थको कर प्रणालीमा एकरूपता ल्याइने, सार्वजनिक यातायात भाडादरलाई सम्भव भएसम्म एउटै बनाउने तथा दुर्घटना न्यूनीकरणका लागि गति नियन्त्रण, मादक पदार्थ सेवन जाँच, चालक प्रशिक्षणलगायत कार्यक्रम सञ्चालन गरिने भएको छ ।

रामपुर–चापाकोट एकीकृत सहरी विकास आयोजना कार्यान्वयन गर्न संघीय सरकारलाई सिफारिस गर्न दुवै सरकार सहमत भएका छन् । ऐतिहासिक सम्पदाको प्रवर्द्धन गर्दै रानीमहल क्षेत्रमा जलाशयसहितको पर्यटकीय पूर्वाधार विकासमा दुवै सरकारले सहकार्य गर्ने भएका छन् । संयुक्त बैठकलाई निरन्तरता दिँदै आगामी बैठक गण्डकी प्रदेशमा आयोजना गरिने निर्णय गरिएको छ ।

बैठकमा लुम्बिनीका मुख्यमन्त्री आचार्य, दुवै प्रदेशका अर्थ र पर्यटनमन्त्री नीति तथा योजना आयोगका उपाध्यक्ष, प्रमुख सचिव र सचिवहरु सहभागी थिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  २०:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro