![सरकारी सेवामा प्रवेश – पहिलो मुक्का](https://12khari.top/uploads/posts/Parashu-Pradhan-1739002470.jpg)
कविवर केदारमान ‘व्यथित’को अनुग्रहले २०२४ सालमा म फेरि काठमाडौं आएँ । वास्तवमा मेरो जीवनको ‘टर्निङ प्वाइन्ट’ यौटा कथा ‘फेरि आक्रमण’ले दिएको हो । सो कथा पहिलो भएकाले पुरस्कार रु. ५०० लिन झापा भद्रपुर बोलाइयो ।
त्यतिबेला पूर्व–पश्चिम राजमार्ग बनिसकेको थिएन, कुलुङ्गबाट धनकुटा–धरान हुँदै विराटनगरबाट जोगवनीमा रेल चढेर भद्रपुर पुगेको थिएँ । तत्कालीन निर्माण तथा यातायातमन्त्री, अध्यक्ष– नेपाली साहित्य संस्थानको त्यस कार्यक्रममा उपस्थिति हुनु स्वाभाविक थियो ।
व्यथितज्यूको उपस्थितिमा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाका हातबाट पुरस्कार ग्रहण गरेँ । भद्रपुरको कलवलगुडीमा रहेको पंचायत तालीम केन्द्रमा हामी सबै बसेका थियौँ ।
रात्रिकालीन पार्टी हुनु स्वाभाविक थियो । नेपालका सबैजसो सुप्रसिद्ध लेखकहरू तथा भारतवाट इन्द्रबहादुर राई र कथा प्रतियोगितामा द्वितीय हुने नन्द हाङ्गखिम पनि उपस्थित थिए ।
पार्टीमा मलाई एकान्तपारि कवि व्यथितले सोध्नुभयो, “तपाईं कहाँको नेवार हो ?”
“म भोजपुरको हजुर,” मैले नम्र भए भनेँ ।
उहाँको दोस्रो प्रश्न थियो, “नेवारी आउँछ ?”
मैले नकारात्मक टाउको हल्लाएँ । उहाँले थोरै मुस्कानका साथ भन्नुभयो, “पहाडी नेवारलाई नेवारी कहाँ आउनु ? अँ, कत्ति पढ्नु भ’को छ ?”
“बी.ए. पढेको छु ।”
“अनि, के काम गर्नुहुन्छ ?”
“भोजपुरको दुर्गम ठाउँमा मास्टरी गर्छु,” मैले यथार्थ जाहेर गरेँ ।
“मास्टरी–सास्टरी छाड्नुहोस् । तपाईंलाई म काठमाडौंमा जागिर दिन्छु । म आ.वा. पठाउँछु, पाउनासाथ आउनू । ढिला नगर्नु होला,” व्यथितज्यूको स्वर कडा थियो ।
मैले ‘हुन्छ हजुर’ भनेँ । र, कोठाको बिछ्यौनामा आएर सोचेँ– आज मैले कुनै भगवान्लाई भेटेँ ।
घरमा बा–आमासहित ठूलो परिवार छ ८–१० जनाको । आफू श्रीमती र दुई छोरीहरू छन् । म ठूलो संकटमा परेँ । रातभरि निदाउन सकिनँ, बल्छी परेको माछा समान भएँ ।
भोलिपल्ट बिहानै आएकै बाटो भोजपुर बजार फर्कें । ‘तु. काठमाडौं आउनू’ भन्ने आ.वा आइसकेको रहेछ–बाले दिनुभयो ।
रातभरि घरमा कुराकानी भयो, काठमाडौं जाने कि नजाने भनेर । किनभने, कुलुङ्गको मास्टरी जीवनबाट आएको रकमले घर लगभग चलेकै थियो । होइन भने घरको खास आम्दानी थिएन । परिवार ठूलो थियो । स्कुलबाट मेरो लगभग रु. ३५०० वा ४,००० लिन बाँकी थियो ।
त्यही लिएर (आषाढ मसान्तमा स्कुललाई आ.स. आएपछि) घर–व्यवहार गर्ने सानोतिनो पसल आमा र बहिनीहरूले गर्ने सल्लाह गरी म कुलुङ्ग हानिएँ । लगभग दुई दिनको बाटो । श्रीमती कल्पनासँग पनि यही सल्लाह गरेँ । उनले सहमति दिइन् ।
स्कुलमा राजीनामा दिई हामी दुई छोरी लिएर दुःखका साथ भोजपुर बजार घरमा फर्क्यौं । त्यो बेला जेठो छोरो प्रतीक कल्पनाको पेटमा थियो । त्यसैले साथै काठमाडौं लैजान सम्भव थिएन ।
फेरि, काठमाडौंको ठाउँ, जागिर हो ? के जागिर हो ? कस्तो जागिर हो ? आदि थुप्रै आशंका थिए । म भाइ सुधाकरलाई लिएर काठमाडौं आएँ ।
भोलिपल्ट बिहानै ज्याठामा व्यथितज्यूको निवास पुगेँ । उहाँले तपाईं लेखक भएकाले साझा प्रकाशनमा काम गर्नुस् भन्नुभयो । तुरुन्तै साझा प्रकाशनका तत्कालीन अध्यक्ष कमल दीक्षितलाई फोन गर्नुभयो ।
दीक्षितज्यू वाराणसी जानु भएकाले कुरा हुन सकेन । उहाँले भन्नुभयो, “खै दीक्षित कहिले आउने हो ? तपाईं साझा यातायातमा मेरो निजी–सचिव र बोर्ड–सचिव भई काम गर्नुहोस् । पछि देखा जाएगा !”
उहाँले साझा यातायातका तात्कालीन महाप्रबन्धक नरेन्द्रविक्रम पन्तलाई फोन गरिदिनुभयो । कार्यालय समय सुरु हुनेबित्तिकै म पुल्चोकको साझा यातायात पुगेँ ।
उहाँले तुरुन्त नियुक्तिपत्र दिनुभयो, अलग कोठा र कुर्सी दिनुभयो । केही समयपछि प्रशासकीय अधिकृत केदारमान अमात्यले छाडेपछि सोही पदमा रहेर बोर्डको समेत काम गर्न थालेँ ।
साझा यातायात गजबले चलेको रहेछ अर्थात् भद्रगोल । साझा यातायात कण्डक्टरहरूले राति १०–११ बजे बुझाएको आम्दानी तत्कालीन लेखापालले घरमा लगी राख्ने प्रचलन रहेछ । सो रकम बैंकमा जम्मा भए, नभएको हेर्ने को ?
अनि, कण्डक्टरहरूले निश्चित रुटमा प्रेमिका खोजिसकेका हुँदा रहेछन् । खाने भट्टी र सित्तैमा चढाउने साथीभाइहरू । कसैलाई अर्को रुट । जस्तो कि गौशाला रुटकालाई लगनखेल सारी दिनासाथ छुरी लिएर प्रशासनमा आक्रमण गर्न आइपुग्दा रहेछन् ।
मैले पनि कार्यालयमा यस्ता गुण्डाहरूको सामना गर्न बाध्य भएँ । तर, केही दुर्घटना भने भएन । त्यहाँको अव्यवस्था–भद्रगोल, मनपरीका कुराहरू म लेख्न चाहन्नँ । लेखेर साध्य नै हुँदैन ।
त्यो बेला बोर्ड बैठक पनि अनौठो हुन्थ्यो । मुख्य अञ्चलाधीश विष्णुमणि आचार्र्यले मलाई धमाधम एजेण्डा सोध्थे । अनि, कसैलाई केही बोल्न नदिई दुई मिनेटमा आफूले सबै निर्णय गराई हिँडिहाल्थे ।
ती दिनहरू सम्झँदा अहिले हाँस उठ्छ । जे होस्, २०२६ मा त्यहाँ रहँदा लोकसेवा शाखा अधिकृतको खुला परीक्षाको जाँच दिएँ र सर्वप्रथम भएँ ।
२०२७ वैशाखदेखि लगभग तीन महिनाको प्रशासकीय तालिम लिई श्रावणदेखि नियुक्ति दिने सूचना निस्क्यो । हरिहर भवनकै सामान्य प्रशासन मन्त्रालय पुगेँ र तालिममा सहभागी हुनेहरूको सूची बोर्डमा हेरेँ । आफ्नो नाम सर्वप्रथम नै होला भन्ने खुसीले सूची हेर्छु । आफ्नो नाम निशाना कतै छैन । साथीहरूलाई हेराउँछु– नाम छैन ।
७५ जना पास भएकोमा ७४ जनाको नाम छ । म १ नम्बरको नाम छैन । म त्यहीँ मुच्र्छा पर्छु होला जस्तो भयो । टाइप गल्ती हो कि भनि सचिव कृष्णबहादुर देउजाकहाँ पुगेँ ।
उहाँले विस्तारै भन्नुभयो, “भोजपुरबाट आएको तपाईंको पुलिस रिपोर्टमा तपाईं कम्युनिष्ट भनी लेखिएको छ । तपाईंले जागिर पाउनु हुन्न आइएम सरी ।”
म भीरबाट गुल्टिएसरह भएँ । सारा पृथ्वी हल्लिएजस्तो लाग्यो । भाउन्न भएर आयो । साझा यातायातमा राजीनामा दिएर स्वीकृत भइसक्यो । वसन्तपुरको डेरामा जहान, केटाकेटी छन्, उनीहरूको अनुहार सम्झँदा मात्रै पनि मलाई आत्महत्या गरूँजस्तो हुन्थ्यो ।
एक किसिमले म विक्षिप्त भएँ । रातभरि निद्रा नपर्ने, दिनभरि शक्तिकेन्द्रहरू धाउन थालेँ ।
त्यस्तो पीडापूर्ण परिस्थितिमा मेरो सहारा नीरविक्रम प्यासी भए । उनी त्यस कालका प्रतिष्ठित कवि, निबन्धकार मात्र होइनन्, राजदरबारका शाक्तिशाली कर्मचारी पनि थिए ।
मैले उनलाई भेटेर आफ्नो दुःख सुनाएँ । उनले सहानुभूतिपूर्वक सकारात्मक आश्वासन मात्र दिएनन्, तत्कालीन मुख्यसचिव कृष्णबम मल्लको घर र कार्यालयमा पुर्याए ।
बीचमा फेरि मेरा मानसपिता ‘केदारमान व्यथित’ भगवान् भएर प्रकट भए । उनी तत्कालीन नेपाल एकेडेमीका कुलपति र खड्गमान मल्ल सचिव थिए । व्यथितले मेरो बिहान खाए बेलुका के खाऊँको परम दारिद्रय स्थिति कतैबाट थाहा पाएछन् ।
उनले कोही चिनारुमार्फत खबर गरे, ‘परशुलाई मसँग तुरुन्त भेट्न भन्दिनू ।’ वास्तवमा म चरम संकटमा थिएँ । फेरि कुलुङ्गकै हाइस्कुल फर्कूं कि भनेर पनि कुरा मिलाउँदै थिएँ ।
म एकेडेमीको कमलादी भवनमा पुग्नासाथ भेट दिएर गाली गरेजस्तो गरी स्नेहपूर्वक भने, “त्यसरी जहान, केटाकेटीलाई भोकभोकै राखेर हिँड्ने हो ? तिम्रो जागिर नभएको थाहा पाएँ । ल, आजदेखि एकेडेमीको प्रशासकीय अधिकृत खाऊ । उता जागिर भएपछि छाडे हुन्छ ।”
म कहाँ छु भन्ने नै बिर्सें । स्रष्टा र सचिव खड्गमान मल्लले नियुक्तिपत्र दिँदै बधाई दिए, “एकेडेमीको कर्मचारीका रूपमा स्वागत गर्न पाउँदा खुसी लागेको छ ।” अझ थपे, “मलाई थाहा छ, कुनै दिन तपाईं एकेडेमिसियन भएर यहाँ आउनु हुनेछ ।”
म त्यही दिनदेखि एकेडेमीको प्रशासन शाखामा काम गर्न थालेँ । एक–डेढ महिना भइसकेको थियो, बेकारी भएर काठमाडौंमा हल्लिरहेको । तर, सरकारी जागिरमा जाने मेरो प्रयास भने कायमै रह्यो ।
सरकारी जत्ति राम्रो र लाभदायक अरू हुन सक्तैन भन्ने मेरो मानसमा राम्ररी नै गाडिएको थियो । मुख्यसचिव कृष्णबम मल्लको कार्यकक्षमा नीरविक्रम प्यासीसँग म गएँ ।
प्यासीले भन्नुभयो, “यो लेखकलाई पुलिसले नचाहिँदो कम्युनिष्ट आरोप लगा’को रिपोर्टले जागिर नै पाउन सकेन । यसको उद्धार गरिदिनु पर्यो मुख्यसचिवज्यू ।”
“तपाईंका कथाहरू रूपरेखामा पढ्दै छु । राम्रो लेख्नुहुन्छ । मेरो ‘गुरुजीको मलामी’ कथासंग्रह पढ्नु भएको छ ?”
“मैले पढिसकेको छु हजुर !”
“तैपनि एक प्रति लानुहोस्,” उहाँले स्नेहपूर्वक आफ्नो हस्ताक्षरसहित मलाई दिनुभयो । अनि भन्नुभयो, “प्रशासकीय तालिमचाहिँ तपाईंको छुट्यो । श्रावण १ देखि तपाईंको नियुक्ति हुन्छ । जानुहोस्, सामान्य प्रशासनको सचिव देउजालाई गएर भेट्नुहोस् ।”
अझ थप्नुभयो, “तपाईंलाई एकैपटक परराष्ट्र वा अरू मन्त्रालयमा पठाउन मिल्दैन । एक वर्ष तपाईंलाई निगरानीमा राख्नै पर्छ । यसैले तपाईंको पोष्टिङ प्रशासन व्यवस्था विभागमा नै हुन्छ ।”
त्यसपछि म र प्यासी प्रसन्न भएर फर्क्यौं । बेलाबेलामा सामान्य प्रशासनमा गएर सचिव कृष्णबहादुर देउजालाई भेटिरहेँ । केही दिनमा मेरो पुलिस रिपोर्ट क्लियर भएर, नियुक्ति दिने निर्णय भयो । यसको सम्पूर्ण श्रेय कृष्णबम मल्ललाई दिन्छु ।
नभन्दै आषाढ अन्त्य २०२७ मा मैले सामान्य प्रशासनमा नियुक्ति पाएँ, नयाँ कामको शाखा पद वर्गीकरण (जब क्लासिफिकेसन) ।
कृष्णबहादुर देउजा आफैँ पनि शक्तिशाली निबन्धकार थिए । मैले सामान्य प्रशासनमा आफ्नो सल्लाह सम्पादनको काम पनि पाएँ । मेरो संकट समाप्त भएको थियो । अब विदेशमा जहाँ सिट आउँथ्यो, मलाई ‘जाने ?’ भनेर सोधिन्थ्यो ।
पाकिस्तानबाट सिट आयो दुई वर्षको ‘पब्लिक एडमिनिष्ट्रेसन’ पढ्ने । तर, मैले अस्वीकार गरेँ । किनकि, मेरो सपना अमेरिका नै जाने थियो । अनि, लेबनानमा डिग्री कोर्स पढ्ने आयो, त्यहाँ पनि मैले अस्वीकार गरेँ ।
नभन्दै मेरो भाग्यमा लेखिएको रहेछ–अमेरिका जाने, डलर कमाउने र काठमाडौंमा स्थायी बसोबास गर्ने ।
पोजिसन क्लासिफिकेसन (पद वर्गीकरण)को नै ‘अन द जब ट्रेनिङ’को कोटा आयो यूएनडीपीबाट । म र साथी इन्द्रमान श्रेष्ठ (मानवअधिकारवादी कपिल श्रेष्ठका पिता) छानियौँ ।
त्यतिबेला मेरो नोकरीको अवधि तीन वर्ष पुगिसकेको थिएन । तर, तत्कालीन सहसचिव अच्युतबहादुर राजभण्डारी र मंगलकृष्ण श्रेष्ठको सदाशयताले काम गर्यो ।
जागिर अवधि तीन वर्ष नपुगी तालिमका लागि विदेश नपठाउने व्यवस्था निजामती ऐनमा भए पनि मेरा लागि विशेष छुट गरियो । जागिर खाएको दुई वर्षमा अर्थात् २०२९ भाद्रमा करिब छ महिनाका लागि म र इन्द्रमान संयुक्त राज्य अमेरिका उड्यौँ ।
जागिरको पहिलो मुक्का अब फूलको, प्रगतिको उपहारमा परिणत भयो । लगभग आठ वर्ष मैले सामान्य प्रशासनमा काम गरेँ । यस अवधिमा मेरा सिर्जना र प्रकाशनमा रत्नप्रसाद दाइ (रत्न पुस्तक भण्डार)को अमूल्य सहयोग र सद्भाव पाएँ ।
बहिदारदेखि शाखा अधिकृतसम्मका ‘लोकसेवा आयोगको गाइड’ सर्वप्रथम तयार गर्ने मौका पाएँ । त्यसबापत रत्न पुस्तक भण्डारले मलाई राम्रै पारिश्रमिक दिई गुन लगायो । उहाँलाई म अर्को देवता मान्छु ।
‘सामान्यज्ञान डाइजेष्ट’को २९औँ संस्करण पनि छापियो । मेरा कथासंग्र्रहहरू, अन्तर्वार्ता र कल्पना प्रधानका बालसाहित्यहरू पनि छापिए । मेरो माध्यमबाट साथीभाइका अन्य पुस्तकहरू पनि छापिए ।
त्यस कालखण्डमा मसँग आत्मिक सम्बन्ध भएका साहित्यकारहरू थिए – दौलतविक्रम विष्ट, पोषण पाण्डे, शंकर लामिछाने, भैरव अर्याल आदि । ती जो थिए आज कोही छैनन् । तर, तिनका कृतिहरूमा सबै अमर छन् ।
सामान्य प्रशासनमा काम गर्दागर्दै द्वितीय श्रेणीको उपसचिवमा लिखित प्रतियोगितामा म दोस्रो भई पदोन्नति भएँ । मलाई शिक्षा मन्त्रालयअन्तर्गत मध्यमाञ्चल निर्देशनालयमा पदस्थापन गरियो ।
(आख्यानकार परशु प्रधानको संस्मरणात्मक कृति ‘जिन्दगीका मोडहरू’बाट ।)