site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
अर्धकदको अवसान

बी.पी. कोइरालाका साहित्यिक विचारहरू
(विचार : ले./सं. गिरिराज आचार्य)

साहित्यमा बीपी कोइरालाको योगदान अथाह छ । नेपाली राजनीतिका एक स्तम्भ कोइरालाद्वारा सिर्जित साहित्यिक सिर्जनाले साहित्यको भण्डारलाई परिपूर्ण बनाएको कसैबाट लुकेको विषय होइन । उनै बीपीका साहित्यिक विचारहरूको सँगालो हो, गिरिराज आचार्यद्वारा लिखित तथा सम्पादित पुस्तक ‘बी.पी. कोइरालाका साहित्यिक विचारहरू’ । कृतिको यो तेस्रो संस्करण हो । पुस्तकको पहिलो संस्करण २०३९ सालमा प्रकाशित भएको थियो ।

सम्पादक गिरिराज आचार्यले कृतिभित्र लेखेका छन्, “सान्दाजुको निधनपछि यस लेखकलाई उहाँका साहित्यिक विचारहरू संकलन गर्ने, मन्थन गर्ने हुटहुटी जाग्यो । त्यसले बीपीको निधनपछि एक किसिमको तरङ्ग ल्यायो । फलस्वरूप पुस्तकको न्वारन हुन गयो ।...।”

Dabur Nepal

पुस्तकको ब्लर्बमा कमलमणि दीक्षितले लेखेका छन्, “... यो किताब सम्पादन र लेखनमा तपाईंको धेरै नै श्रम परेको स्पष्ट देखिन्छ । उदाहरणार्थ बीपीका असंख्य अन्तर्वार्ताहरूलाई समेटेर विषय विषय छुट्ट्याई एकै ठाउँमा दिनु सानो मेहनतले हुने कुरा थिएन ।...।”

शिखा बुक्सद्वारा प्रकाशित २२० पृष्ठको यो पुस्तकको मूल्य ५२५/– रुपैयाँ राखिएको छ ।

०००

अर्धकदको अवसान
(निबन्धसंग्रह : ज्ञानेन्द्र विवश)
ज्ञानेन्द्र विवश एक कुशल निबन्धशिल्पी हुन् । निबन्ध र चित्रकला समीक्षाका क्षेत्रमा उनको सक्रियता लामो समयदेखि रहँदै आएको छ । उनै निबन्धकार ज्ञानेन्द्रको अर्को निबन्धसंग्रह हो, ‘अर्धकदको अवसान’ ।

उनले यसअघि ‘क्यानभासका तरङ्गहरू’, ‘राराकी अप्सरा’, ‘मृत्यु उत्सव’, ‘आकृतिको आवाज’, ‘प्रणय र पाइला’लगायत थुप्रै पुस्तक ल्याइसकेका छन् ।

पुस्तकको ब्लर्बमा अग्रज निबन्ध स्रष्टा तेजेश्वरबाबु ग्वंगःले लेखेका छन्, “प्रस्तुत ‘अर्धकदको अवसान’ निबन्धले वरण गरेका र गर्न खोजेका भाव कलामय संरचनामा सम्प्रेषित हुनु र तिनले पाठकको मनलाई पाठकीय आनन्द प्रदान गर्न सक्नु ठूलो उपलब्धि हो भन्ने मलाई लाग्छ ।...।”

मन्तव्यमा निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’ले लेखेका छन्, “हामी चारजना ज्ञानेन्द्र विवश, युवराज नयाँघरे, भीष्म उप्रेती र श्रीओम श्रेष्ठ रोदनले निबन्ध लेखन र प्रकाशनको प्रारम्भमा नै सहकार्य गरेका थियौँ । चार–चारवटा निबन्धसहित हामी चारजनाको संयुक्त निबन्धसंग्रह ‘संवेदनाका स्वरहरू’ प्रकाशित गरेका थियौँ २०५४ सालमा ।...।”

प्रकाशकीयमा लेखिएको छ, “अर्धकदको अवसानले समेटेका विचार भावनाहरू निकै गम्भीर छन् । ती निबन्धात्मक विम्बमा अवतरित भएका सम्पूर्ण वर्णन विवरणहरू नेपाली समाजका दस्तावेज हुन् ।...।”

यो पुस्तकमा विवशका ३६ निबन्ध पढ्न सकिन्छ ।

भुँडीपुराण प्रकाशनद्वारा प्रकाशित २३२ पृष्ठको यो कृतिको मूल्य ४५०/– रुपैयाँ राखिएको छ ।

०००

चार पुस्ताका कथा 
(एकाघरका कथा : रमेश विकल÷विजय, महेन्द्र, आलोक र आयुषा चालिसे)
नेपाली आख्यान साहित्यमा आख्यानकार रमेश विकलको नाम सम्मानका साथ लिइन्छ । उनका अनेकौँ आख्यानलगायत कृति बजारमा उपलब्ध छ । उनका कतिपय कृति विश्वविद्यालयमा पनि पढाइन्छ । उनै आख्यानकारका छोरा, नाति र पनातिनीका समेत कथा एकै ठाउँमा राखेर छापिएको कृति हो, ‘चार पुस्ताका कथा’ ।

पुस्तकको प्रकाशकीयमा साहित्यकार रोचक घिमिरेले लेखेका छन्, “हजुरबुवादेखि पनातिनीसम्मका चार पुस्ताका कथा समेटिएको यस्तो पुस्तक सम्भवतः नेपाली साहित्यमा पहिलो प्रकाशन हुनुपर्दछ । रमेश विकलको सृजनात्मक उत्तराधिकार उनको चौथो पुस्तासम्म सर्नु साहित्यजगत्निम्ति हर्षको विषय मान्नुपर्दछ ।...।”

सम्पादकीयमा आलोक चालिसेले लेखेका छन्, “यसरी निरन्तर बगिरहेछ साहित्य र सृजनामा पुस्तान्तरण । बराजुदेखि पनातिनीसम्मको अविरल कथायात्रालाई मध्यनजर गर्दा विकलले रोपेको जरा निरन्तर फैलिरहेछ, नेपाली साहित्य फाँटमा कल्पवृक्षको छहारी बनेर ।...।”

यो पुस्तकमा रमेश विकल, विकलका छोराहरू विजय चालिसे, महेन्द्र चालिसे, नाति आलोक चालिसे र पनातिनी आयुषा चालिसेका पाँचपाँच गरेर २५ कथा समेटिएको छ ।

रमेश विकल साहित्य प्रतिष्ठानले प्रकाशनमा ल्याएको २०८ पृष्ठको यो कथाकृतिको मूल्य २५०/– रुपैयाँ राखिएको छ ।

०००

चौकोटदेवि मन्दिर : पर्यटन गन्तव्य
(यात्रा संस्मरण : सं. गङ्गाप्रसाद भेटवाल)
साहित्यकारहरूको पदयात्रा प्रायः भइरहेको हुन्छ । अझ नियात्रा साहित्यमा लाग्नेहरूका निम्ति पदयात्रा अपरिहार्य नै मानिन्छ । साहित्यकारहरूको एउटा समूह स्रष्टा पदयात्रा नेपालको नामबाट विभिन्न भेगको यात्रामा सक्रिय रहँदै आएको छ ।

सोही समूहसँग आबद्ध साहित्यकारहरूको टोलीले चौकटदेवी मन्दिर क्षेत्रलाई यात्राको गन्तव्य बनायो । त्यस यात्रामा गएकाहरूले सोही सेरोफेरोमा रही नियात्रा लेखे । ती नियात्राहरूको संग्रहलाई ‘चौकोटदेवी मन्दिर ः पर्यटन गन्तव्य’ शीर्षकका साथ प्रकाशन गरिएको छ । यो पुस्तकको सम्पादन साहित्यकार गङ्गाप्रसाद भेटवालले गरेका हुन् ।

सम्पादक भेटवालले पुस्तकमा लेखेका छन्, “२०८१ साल असोज ५ गते स्रष्टा पदयात्रा नेपालको माध्यमबाट हामीले, खर्बौंखर्ब रुपैयाँपैसा आफूसँग लिएर बसिरहेको एउटा पहाडको भ्रमण ग¥यौँ, जसको टुप्पोमा चौकोटदेवी माता–मोक्षदेवी माता बसेर काठमाडौं, मकवानपुर, भक्तपुर, ललितपुरलगायतको धर्तीलाई हेरिरहेकी छन् र तपाईंलाई कुरिरहेकी छन् ।”

स्रष्टा पदयात्रा नेपालका अध्यक्ष साहित्यकार शीतल गिरीले लेखेका छन्, “यस यात्रा र स्रष्टा पदयात्राको बारे मैले केही बोल्नुभन्दा पनि २७ जना स्रष्टाको अनुभव छ यसमा । एउटा यात्रा २७ जना स्रष्टाको भावना हो, ‘चौकोटदेवी मन्दिर ः पर्यटन गन्तव्य’ ।..।”

गङ्गाप्रसाद भेटवालसहित भेटवाल बन्धुहरूद्वारा प्रकाशित ३२० पृष्ठको यो पुस्तकको मूल्य ७०१/– रुपैयाँ राखिएको छ ।

०००

अमर अधिकारी : व्यक्तित्व र कृतित्व
(कृतित्व : ले/सं. डा. घनश्याम पुडासैनी)
लेखक तथा साहित्यकार अमर अधिकारीको व्यक्तित्व तथा उनको कृतिहरूमाथि केन्द्रित रहेर प्रकाशित पुस्तक हो, ‘अमर अधिकारी : व्यक्तित्व र कृतित्व’ । यो पुस्तकको लेखन तथा सम्पादन डा. घनश्याम पुडासैनीले गरेका छन् ।

साहित्यकार रामप्रसाद पन्तले पुस्तकको प्रकाशकीयमा लेखेका छन्, “अमर अधिकारीको साहित्य लेखनमा ज्यादै सक्रियता देखिएको र तमाम लेखक साहित्यकारहरूमाझ परिचित भइसक्नुभएको कुरा ख्याल गर्दै डा. पुडासैनीले उक्त पुस्तक लेख्ने जमर्को गर्नुभएको आभास पाइन्छ ।...।”

सम्पादक डा. पुडासैनीले पुस्तकमा लेखेका छन्, “... यस पुस्तकमा अमरका व्यक्तित्वसम्बन्धी अधिक सूचाङ्कहरू सन्निविष्ट भएका छन् भने उहाँको बालकवितासंग्रह ‘इन्द्रेणी’, आत्मकथासंग्रह ‘ओगिल्जा’ र शब्दकोश ‘रापतीका अलग शब्दहरू’ (भाषिका) तीन ग्रन्थ र बाल साहित्यिक पत्रिका ‘बालमार्ग’ र फुटकर रचनाहरूको संक्षिप्त विश्लेषणका आधारमा कृतित्वलाई प्रकाश पारिएको छ ।...।”

दायित्व वाङ्मय प्रतिष्ठानद्वारा प्रकाशित १२८ पृष्ठको यो पुस्तकको मूल्य २९५/– रुपैयाँ राखिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २६, २०८१  १३:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
CAN Banner adCAN Banner ad
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro