आज अक्टोबर १४, मेरो जन्मदिन ! यो खुसी हुनुपर्ने दिनमा म उदास रहन थालेको पनि वर्षौं भयो । साँच्चै, अचेल त झन् जन्मदिन सम्झनै मन लाग्दैन । तर, यो दिन भने बिर्सेर पनि सम्झन्छु ! त्यसमाथि नवरात्रिको पनि फूलपातीमा जन्मिएकी म ! यस्तो विशेष दिन अनि चाडबाडको शुभसाइतको जन्म कसरी भुल्नु !
देवीको प्रसाद भन्थे मलाई ! वास्तवमा मेरो नाम पनि देवी नै थियो । तर, आफूलाई भने यो नाम कहिल्यै मन परेन । त्यसैले बुझ्ने भएपछि बुवालाई भनी नाम बदल्न लगाएँ । लक्षिनकी छोरी भनी बुवा जे भने पनि गरिदिनुहुन्थ्यो । नाम समेत बदलेर ‘निधि’ राखिदिनु’भो ।
बुवाआमाको बिहेको कैयौँ वर्षपछि म आमाको गर्भमा आएँ । म जन्मेपछि त घरमा फलिफापै फलिफाप रे ! त्यसैले म सबैकी प्यारी भएँ । पछि निर्वाण र नितेश जन्मिए । भाइहरू बोलाएर मैले उहाँहरूको जीवन सम्पूर्ण पारेँ रे ! बाबुआमाको जीवन सम्पूर्ण पार्ने म, मेरो आफ्नै जीवनचाहिँ किन यस्तो अपूर्ण भयो ! यो सोचाइले भने मनमा नमज्जा लाग्छ ।
फेरि आज आफ्नो जन्मदिन भन्ने भावले झन् भावुक बनाउँछ । आज त म ४० हानेँ ! यसै आँखाबाट तरर्र आँसु झर्यो ।
आँसु सरक्क पुस्छु । आफैँसँग भन्छु– छ्या, उमेर बढेकोमा पनि कोही रुन्छ ! तर यो के भा’को मलाई ! म किन यस्तो बेचैन छु । हुन त बेचैन पनि किन नहोऊँ ! कोख रित्तो छ । मन खोक्रो छ । जीवन खल्लो छ । आँखा उदास छ ।
भित्रैदेखि पेट हुँडल्लिएर आउँछ । रिंगटा लागेजस्तो भाउन्न हुन्छ । यस्तो त कैले भा’को थे’न । भान्छामा गएर एक गिलास पानी पिउँछु । पानी पनि घाँटीमै अड्किएझैँ हुन्छ । र कोठामा फर्किन्छु ।
ड्रेसिङ टेबलको ऐनाअगाडि उभिन्छु र शीरदेखि पाउसम्म नियाल्छु । अनुहार एकाएक कागती निचोरेझैँ अमिलो लाग्छ । अनि कमजोर र रगत सुकेझैँ पहेँलो पनि !
कञ्चटमा केही सेता कपाल टिलिक्क टल्केको देख्दा मनमा बेचैनी बढ्छ । एकाएक वाकवाकी लागेर उल्टी होलाझँै हुन्छ । लामोलामो सास फेरेर त्यही स्टुलमा बस्छु । तर, आँखा त्यही ऐनाको आफ्नो अनुहारमा अड्छ । देख्छु, रूप पनि नमजासँग खस्किएको !
कति राम्री थिएँ म ! आफ्नो अनुहारसँग आफैँ प्रेममा पर्थें, दुनियाँको त के कुरा ! जता पुग्थेँ, उतै यो रूपको चर्चा हुन्थ्यो । तर आज...!
फेरि दिक्क लाग्छ । यो समय किन यसरी फटाफट बितिरहेछ ! एउटा बच्चा पनि बनेको छैन, जिन्दगी त ढल्क्यो !
अचेल मनभित्र अपारको असन्तुष्टि छ । साँच्चै, भाग्यमा नभएपछि दुनियाँमा विज्ञानले जति नै विकास गरे’नि के ! ल्हासामा सुन छ कान मेरो बुच्चै !
दिमागले केही सकारात्मक सोच्दैन । अब त जिन्दगी यही असन्तुष्टिमै गुज्रिन्छ । यही सोचमा लामो सास फेरेर अगाडि ऐनामा देखिएको अनुहार हेरिरहन्छु ।
अचानक निराशाले छुन्छ । रिस उठ्छ । एकाएक ब्लडप्रेसर सुट भएझैँ दिमाख भनभनाएर आउँछ । अनि ड्रेसिङ टेबलमा राखेको अत्तरको सिसी उठाएर ऐनामा देखिएको आफ्नै अनुहारमा बजार्न मात्र के लागे’थेँ, पछाडिबाट आदर्शले मेरो हात च्याप्प पार्छन् ।
उनले अत्तरको सिसी खोसेर लिए अनि लामो सास फेर्दै भने, ‘रिल्याक्स ! यो के पागलपन हो ? के भा’छ तिम्लाई अचेल ? किन यस्तो हरकत ? आई कान्ट बिलिभ दिस् !’
उनी रिसमा नियन्त्रण गर्छन् । उनको अनुहार बरफझैँ चिसो देखिन्छ । उनलाई रिस उठाउनु मेरो मनसाय थिएन । यतिखेर उनी मेरो कोठामा आउँछन् भन्ने मलाई के ज्ञान !
म उनलाई हेर्छु । एकाएक भक्कानो छुट्छ । उनकै छातीमा टाउको लुकाई घ्वाँघ्वाँ रुन्छु । भन्छु, ‘सरी ! न आफू सुखी रहन सकेँ न त तिम्लाई नै सुख दिन सकेँ । मलाई माफ गर ।’
‘यो के बकबास गर्दै छौ तिमी ? वनको बाघले हैन तिम्लाई आफ्नै मनको बाघले खाइरहेछ । म तिमीसँग सधैँ खुसी छु ! मनगढन्ते कुरा गरेर दिमाग बिगार्न छाडिदेऊ !’
उनी सही भन्दै छन् । म त आफैँभित्रको आत्मग्लानीले मक्किँदै छु, गल्दै छु । सायद यही तोडमा एक दिन म ‘म’ रहने छैन !
लामो सुस्केरा हाल्छु । आँखा फेरि रसाउँछन् । म उनको छातीमा अझै चिपिक्किएर टन्न रुन्छु । केही छिनपछि जब म चुप लाग्छु, उनी जिस्किन्छन्, ‘रुन पुग्यो ?’
म लाडिँदै उनको छातीमा बिस्तारै मुक्काले हान्छु । अनि आफैँसँग लजाउँदै सोच्छु, वास्तवमा उमेर जति भए’नि माया गर्ने लोग्नेसँग सायद सबै स्वास्नीमानिस यसरी नै लाडिँदा हुन् ।
आदर्श मलाई बिस्तारै त्यहीँ नजिकैको सोफामा बसाउँछन् । अनि मेराअगाडि भुइँमा घुँडा टेकी बस्दै भन्छन्, ‘मलाई था’छ तिम्लाई यस्तो असम्यम केले बनाएको छ भन्ने ! हेर, तिमी आफैँ सोच, जुन कुरा आफ्नो बसमा हुँदैन, त्यसमा मानिसले के नै गर्न सक्छ र ? हामीले सक्नेजति त सबै गरिसक्यौँ । फेरि तिम्लाई मैले सधैँ भनेको छु, मलाई त तिमी भए पुग्छ । तिम्लाई पनि म भए पुग्नुपर्ने, तर...।’ उनको अनुहार अँध्यारो हुन्छ ।
‘तिम्रो परिवार ? तिम्रो आमा, दिदीबैनी ?’ म भन्छु ।
‘सन्तान तिम्लाई चाहिएको कि उनीहरूलाई ?’
‘सबैका लागि ।’
‘अब के गर्ने विचार छ त ? कसैको बच्चा पालौँ भन्दा पनि तिमी नमान्ने ! यसको हल के त ?’
‘मसँग हल हुँदो हो त मेरो हाल बेहाल किन हुन्थ्यो !’ म जवाफ लाउँछु ।
‘अब धामीझाँक्रीदेखि आईभीएफसम्म हामीले सबै गरिसक्यौँ । गुगलमा कुनै प्रश्न सोध्न बाँकी पनि रहेन होला ! गुगलले दिएका सम्भाव्यताका कुनै उपायहरूको प्रयोग गर्न बाँकी छैन । हरेकले दिएका सुझावको अवलम्बन गर्नेदेखि अनेकौँ औषधि र विधि प्रयोग गरियो । अब नहुने कुरामा जोड गरेर के गर्ने ? भगवान्ले चाहे कुनै दिन हाम्रो पनि बच्चा होला । धैर्य गर्नुपर्यो । मलाई हेर, म त धैर्य नै गरिरहेछु !’
तर, हल हुन नसक्ने यस्तो समस्याले को पीडित नहुँदो हो ! म कसरी ठिक हुन सक्छु ! बितेका र आउँदा तनावपूर्ण वर्षहरू, हरेक नयाँ वर्षले थपेको उमेरको बढ्दो अंक अनि आशाका घट्दा अंकहरू ! चिन्ता नगर भन्न त सजिलो हुन्छ, तर साँच्चै चिन्ता नगर्न कति गाह्रो हुन्छ, त्यो त जसलाई पर्छ उसैलाई थाहा हुन्छ नि ! मनमनै सोच्छु ।
सुरुमा डाक्टरहरू भन्थे– किन आत्तिएको ! जस्ट रिल्याक्स । स्ट्रेस लिएर केही हुँदैन । धैर्य गर्नोस् । बरु होलिडे जानोस्, इन्जोय गर्नोस् । सब ठिक हुन्छ ! जति रिल्याक्स र खुसी रहनु’भो, गर्भ बस्न उति सहज हुन्छ ! आत्तिनुपर्दैन ।
तर जवानीका रंगहरू त पत्तै नपाई उड्दो रै’छ । जब ३० काटेर जिन्दगी अगाडि–अगाडि दौडिन थाल्यो, तब लाग्यो, अरू रेसमा सधैँ पछि परे पनि उमेरको रेसमा भने कति छिटो अघि कुदिएछ पत्तै भएन ! समयले कतिपटक ३६५ को फन्को मार्यो ! कास, समयलाई रोक्न सक्ने भए, समयसँगै जिन्दगी नमक्किने भए, शरीरका पार्टपुर्जा उत्तिकै ऊर्जाशील हुने भए !
तर, यी सब त ‘कास’ले भरिएका कुराहरू भए । अब त समय नै छैन मसँग ! मनमा फेरि औडाहा बढ्छ । आँखाको कुनाबाट आदर्शलाई हेर्छु । सोच्छु, उनलाई पनि त कति पीडा हुँदो हो ! बाउ बन्ने रहर कसको हुन्न र !
एकाएक मनले भगवान्लाई प्रार्थना गर्छ । भन्छ, दैव ! मिरिकल हुन्छ भन्छन् । एकपटक मलाई पनि मिरिकल गरिदेऊ न !
सधैँझैँ फेरि आदर्श अर्ती–बुद्धि दिन थाल्छन् । उनले बोलेको त सुनिरहेछु, तर बिस्तारै उनका कुराहरू कानमा धुमिल हुँदै गइरहेका छन् ।
एकाएक उनका केही कुरा पनि सुनिनँ । टाउको भारी भएर आयो । आँखा धमिलो भयो । खै के भो, के भो । तर, जब आँखा खोलेँ मैले आफूलाई हस्पिटलको बेडमा पाएँ ।
आश्चर्य लाग्यो । वरपर हेर्दै आदर्श खोजेँ । उनी कतै देखिएनन् । कता गए उनी ? के भएछ मलाई !
केही वर्षयता म ‘डिप्रेस्ड’ छु । आदर्श सधैँ भन्छन् ‘आफ्नो स्वास्थ्यको ख्याल राख । कसरत गर ।’ तर आफ्नो ख्याल राख्नै मन लाग्दैन । न त आदर्शको नै ख्याल राख्छु !
कहिले त लाग्छ कति स्वार्थी छु म ! यति माया गर्ने आदर्श हुँदाहुँदै पनि किन बच्चाको रहरले यसरी मरिरहेको छु ! मेरा यी पागल हरकतहरूले उनलाई कति गाह्रो हुँदो हो !
म सधैँ आफूलाई मात्र देख्छु ! उनको मनमा के बितिरहेछ, त्यो मैले कहिल्यै बुझ्ने प्रयास गरिनँ ! एकाएक आदर्शप्रति मनमा कहिल्यै नजागेको भाव जाग्यो । म फेरि पश्चात्तापमा जल्न थालेँ ।
वास्तवमा यस्तै सोचहरूले म झन्झन् लापरवाह हुँदै गएको छु, सायद । जसका कारण ज्यानमा अनेकौँ समस्या देखापरेको छ । मोटो ज्यान, ब्लडप्रेसर सधैँ हाई ! झन् ४० नै हानेपछि अरू के–के समस्या देखिने हो ?
फेरि निराशा बढ्छ । एकाएक जिन्दगीप्रतिको मोह घट्न जान्छ । लाग्छ, यो बोझिलो जिन्दगी सिद्धिए पनि के ! म रहूँ या नरहूँ, कसलाई के नै फरक पर्छ र ? म नरहूँ मात्रै, भोलिपल्टै आदर्शले अर्को परिवार सुरु गर्छन् । लोग्ने–स्वास्नीको माया पनि के माया !
मनमा उब्जिरहेका यी मनगढन्ते कुरा गम्दागम्दै झ्वाट्ट आँखा आफूलाई दिएको ड्रिपमा पर्यो । साँच्चै, के भएछ मलाई यस्तो ड्रिप नै दिनुपर्ने ?
वरपर आँखा डुलाउँदै आदर्शलाई खोज्छु । केही छिनमै उनी कोठामा छिर्छन् । सोध्छु, ‘कहाँ थियौ तिमी ? म किन यहाँ ?’
‘त्यो मस्तिष्कलाई कति खियाएकी तिम्ले ! बेहोस नै भयौ । ढल्यौ । अनि यहाँ ल्याएँ !’ उनी रुखो सुनिए । बिचरा मदेखि वाक्क भइसके ! नहुन् पनि किन ! तनावबाहेक के नै दिएकी छु र मैले उनलाई !
उनको अनुहारबाट आफ्ना आँखा हटाउँछु । मिहीन आवाजमा सोध्छु, ‘अब कतिबेर बस्नुपर्छ यहाँ ?’ ‘तिम्रो ब्लड टेस्टका लागि लगेको छ । लाग्छ होला, केही समय । कस्तो छ अहिले ?’
‘रिंगटा लागेजस्तो गरी टाउको भारी भइरहेछ । वाकवाक लागेकोलाग्यै छ । केही त त भा’को छ मलाई !’ म टोलाएर बोल्छु, ‘दिमाग खियाएर हैन, शरीरमै केही भएजस्तो छ । एकनासले वाकवाक आउने, रिंगटा लाग्ने त कैल्यै भा’थेन !’
‘फेरि अर्को चिन्ता लिने हैन । राम्ररी खाँदिनौ । कमजोरी भयो होला ।’
‘ब्लड टेस्ट किन गर्न लगेछन् ?’
‘अब बेहोस भएर ढलेपछि त अनेक टेस्ट गर्ने नै भए नि ! नचाहिने चिन्ता नगर !’ आदर्शले सम्झाउने कोसिस गरे ।
केहीछिनमा डाक्टर वार्डमा छिरे । मलाई हेरेर मुस्कुराउँदै भने, ‘बधाई छ ! आई ह्याब ए गुड न्युज फर यू ।’
म फिस्स हाँस्छु, ‘गुड न्युज ! डोन्ट टेल मी आई एम प्रेगनेन्ट, हा हा !’ यति भनी म व्यंग्यात्मक हाँसो हाँस्छु ।
‘एकच्युल्ली यू आर !’ डाक्टर उत्साहित हुँदै भन्छन् ।
मेरो मुटु सन्न हुन्छ । आदर्श र म मुखामुख गर्छौं । मलाई एकाएक रिस उठ्छ । रुखो आवाजमा डाक्टरलाई भन्छु, ‘मलाई यस्तो वाहियात जोक मन पर्दैन !’
‘नो इट्स नट ए जोक’, डाक्टर भन्छन् । ‘यस्तो सिरियस कुरामा म किन जोक गर्छु र ? अब अल्ट्रा साउन्ड गरेर हामी ठ्याक्कै बताउनेछौँ ।’
मेरो मस्तिष्क शून्य भयो । सायद आदर्शले पनि केही सोच्न सकेका छैनन् । उनी पनि स्तब्ध भएर डाक्टरलाई कोठा बाहिर निस्केको हेरिरहन्छन् । म रुँदै भन्छु, ‘साँच्चै ! यदि यो जोक हो भने, योभन्दा घटिया जोक अर्को केही हुँदैन ।’
‘डाक्टरले जोक हैन त भनिसके । अलिकति पोजेटिभ रहने बानी गर न । यस्तो सिरियस म्याटरमा पनि डाक्टरले जोक गर्छन् र ! सायद मिरिकल भयो !’
उनको अनुहारमा सूर्यको चमक देख्छु । आँखामा विश्वास अनि ओठमा हर्षका लहर ! उनले भने, ‘म त भन्थेँ तिम्लाई, भगवान्ले चाहे भने जे पनि हुन्छ ।’
एकैछिनमा नर्स आएर मलाई एक जग पानी दिँदै भनिन्, ‘आधी घण्टाभित्र यो पानी सिध्याउनुस् । म अल्ट्रासाउन्ड गर्न आधा घण्टापछि लिन आउँछु ।’
बेवाक हामी दुई एक–अर्कालाई हेर्छौं र अल्ट्रासाउन्डका लागि बेचैनीका साथ पर्खिन्छौँ ।
‘रिपोर्ट मिक्स पो भा’हो कि ?’ म शंका गर्छु । ‘तिम्लाई त थाहै छ नि, पोहर यही हस्पिटलका डाक्टरले मेरो महिनावारी गडबड हुँदा यू आर इन अर्ली मेनोपोज भनेको ।’
‘भनेँ त, भगवान्ले चाहे जे पनि हुन सक्छ । हेरूँ न, अल्ट्रासाउन्डले के देखाउँछ ! मलाई त मिरिकल नै भएझँै लागिरहेको छ, सत्य !’
कताकता मन मस्तिष्कमा आशाका ढोकाहरू खोलिँदै गएको महसुस भयो । तर फेरि अर्को मनले भन्यो– यो कसरी हुन सक्छ ? ४० मा आएर पहिलो बच्चा ! त्यो पनि नेचुरल्ली !
आदर्श मेरै छेउमा बसेर जगको पानी गिलासमा खन्याउँदै मलाई पिलाइरहेछन् । हामी कुनैबेला टोलाउँछौँ त कुनैबेला चुपचाप एक–अर्कालाई हेर्छौं । हाम्रो मनमा आश्चर्य, अविश्वास, विश्वासका मिश्रित भावहरूले ठाउँ ओगटिरहेको छ ।
कतिखेर लाग्छ, सायद हामी दुवै खुला आँखामा एउटै सपना देखिरहेका छौँ ! मैले वर्षौंदेखि देखेको सपना सायद आज हामी दुवै सँगै देख्दै छौँ । अनि, हाम्रो आँखामा एक किसिमको भय पनि छ– विपनामा सपना टुट्ने !
आधा घण्टापछि नर्स मलाई लिन आइन् । मैले पत्तै नपाई नर्सले दिएको दुई लिटर पानी पनि सिध्याइसकेछु । उनले अल्ट्रासाउन्ड गर्ने कोठामा हामीलाई छाडेर गइन् ।
अल्ट्रासाउन्डको मेसिननगिच कुर्चीमा बसेकी सोनोग्राफरले गाउन दिँदै भनिन्, ‘यो लगाएर बेडमा पल्टनोस् ।’
कहिले नबोकेका भावहरू बोकी लुगा बदलेर बेडमा ढल्छु । बेडमा ढल्दा अनुभव हुन्छ, मुटुको धड्कन आवश्यकताभन्दा बढी धड्किरहेछ ! आँखाहरू अनायास रसाउँछ । आँखाको कुनाबाट बगिरहेको आँसु देखेर सोनोग्राफरले टिस्यु दिँदै भन्छिन्, ‘इमोसनल हुनु’भो ! नर्मल हो । नआत्तिनोस् । सब ठिक हुन्छ । यस्तो बेलामा त जति सक्यो रिल्याक्स हुनुपर्छ !’
‘यस्तो बेला !’ साँच्चै ! उनको कुराले मनलाई अलिक अश्वासन मिल्छ । म रिल्याक्स हुने कोसिस गर्छु । सोनोग्राफरले चिसो जेल मेरो पेटमा खन्याएर बिस्तारै इस्केनर घुमाउन थाल्छिन् ।
आदर्श मेरै छेउमा बसेर उपकरणको स्क्रिनमा देखिएका चित्रहरू ध्यान दिएर हेर्दै छन् । आफ्ना लागि भने ती स्क्रिनका चित्रहरू कालो रातमा झरेका सेता हिउँका बुरबुर्रे धुलाहरूभन्दा बढी केही लाग्दैन ।
सोनोग्राफर किबोर्ड थिच्दै त्यही बुर्रबुर्र धुलोहरूमा कताकता फोकस गर्दै चुपचाप विभिन्न चित्रहरू सेभ गर्दै छिन् । कानमा मेसिनको किटकिट आवाजबाहेक अरू केही छैन ।
फेरि खिन्न हुनुपर्ने हो कि भन्ने भयले मन छटपटाइरहेछ । अनायास छिटो–छिटो ढकढक... ढकढक गरेको आवाज मेसिनबाट निक्लन्छ । थाहा छैन त्यो के आवाज हो । मन सनन्न हुन्छ । आफ्नै आत्तिएको मुटुको धड्कन मेसिनबाट निस्किएझैँ लाग्छ ।
म सोनोग्राफरको अनुहारमा हेर्छु । उनी केही नभनी जुरुक्क उठछिन् र एक मिनेट भन्दै कोठाबाट निस्किन्छिन् । म नर्भस हुन्छु, सायद आदर्श पनि ।
यो पनि गलत निक्ल्यो भने त म पागल हुन्छु ! म मर्छु, मनले यस्तैयस्तै भन्छ । आदर्शलाई हेर्छु । उनी लामो सास फेरेर कपाल समाइरहेका छन् । उनी केही भनिरहेका छैनन्, तथापि उनको बेचैनी म महसुस गर्छु ।
‘कहाँ गइन् ?’ आदर्श सुस्तरी भन्छन् । दुई मिनेटपछि सोनोग्राफर र डाक्टर कोठामा पस्छन् । अनि उनले फेरि पेटको त्यसै भागमा जेल खन्याएर इस्केनर घुमाइन् । उही छिटोछिटो गरी ढकढक गरेको आवाज गुन्जिन्छ ।
‘एक्सलेन्ट’, डाक्टर मलाई हेर्छन् । ‘इट्स ए मिरीकल ! ए रियल मिरेकल !’
स्तब्ध म डाक्टरलाई हेर्छु । शरीर थरर्र्र काम्छ । मुख सुकेझैँ, वाकवाकी आएझैँ हुन्छ ।
डाक्टरले सोनोग्राफरलाई फेरि स्केनर घुमाउन लगाएर त्यही आवाज हामीलाई सुनाउन लगाउँछन् । अनि भने, ‘ल सुन तिमीहरूको बेबीको हर्टबिट ! बेबी इज अलरेडी सेभेन्टिन विक्स एन्ड टु डेज ! बधाई छ ।’
‘सेभेन्टिन विक्स एन्ड टु डेज !’ म सुस्तरी डाक्टरको वाक्य दोहोर्याउँछु । आदर्श मेरो हात जोडले समाउँछन् । थिच्छन् ।
म रुँदै सोध्छु, ‘आदर्श यो सपना त हैन ?’
‘सपना हैन निधि । साँच्चै मिरिकल भयो । अब तिम्ले आफ्नो एकदम धेरै हेरविचार गर्नुपर्छ ।’
उनी मलाई म्वाइँ खान्छन् । ‘अब खुसी रहने ! केही बेवकुफी हरकत गर्ने हैन ! पक्का ! कसम खाऊ ।’
‘पक्का’, म भन्छु । ‘अब कुनै गलत हरकत गर्दिनँ । आई प्रमिस ।’
‘फस्र्ट ट्राइमिस्टर त थाहै नभई कम्प्लिट भयो, तर रिस्क फ्याक्टर अझ धेरै छ । उमेरका कारण धेरै प्रिकसन लिनु जरुरी छ । त्यसैले बाँकी महिनाहरू हस्पिटलाइज नै हुनुपर्छ’, डाक्टर थप्छन् ।
‘यस बच्चाका लागि हामी त जे गर्न पनि तयार छौँ,’ म खुसी र आँसु मिसिएको आवाजमा बोल्छु ।
कस्तो यो मातृत्वको भोक ! आफ्नो कोखबाट बालकको जन्म दिने चाहनाको भोकले कस्तो पीडा ऊब्जाउँछ, त्यो त यही परिस्थितिमा नगुज्रेकाहरूलाई के ज्ञान ! आफूले आफैँलाई अपूरो ठान्दाको वेदना कसले बुझ्ने !
म हलुका आफ्नो पेट सुम्सुम्याउँछु । आफूभित्र कोही छ ! कसैका लागि आफूले आफ्नो विचार पुर्याउनु छ ! यही सोचले आफूलाई माया गर्ने चाहना एकाएक बढ्छ । मनमा एक किसिमको तृप्ति त मिल्छ ।
तर, लामो समयको त्यो अतृप्त भावले भने अझै पूरै छाडिसकेको नहुँदा खुलेर खुसी हुन अझै डराइरहेछु ! हस्पिटलको बिस्तारामा अरू बाँकी महिनाहरू पीडा र वेदनामा गुज्रिन्छ । पीडा पनि शारीरिक र मानसिक दुवै ! आज १५ मार्च । पेट चिरेर निकालेको बालकलाई मेरो काखमा राख्दै डाक्टर बधाई दिन्छन्, ‘ल तपाईंको मिरिकल छोरा !’
म आफ्नो काखमा रोइरहेको छोरा हेर्दै आदर्शलाई भन्छु, ‘हाम्रो छोराको नाम त मिरिकल नै राख्नुपर्छ ।’
केही दिनपछि डिस्चार्ज भएर घर गएँ । मिरिकल जन्मेदेखि दिनको चैन अनि रातको निद सबै उडेको छ । ऊ केवल रुन्छ । आची गर्ने र रुनेबाहेक उसले अरू केही गर्दैन । राम्ररी दूध खाँदैन । दुई–तीन महिना यसै गरी बितिसकेको छ ।
आज एकाएक मनमा मिरिकलप्रति घृणा जाग्छ । त्यत्रो दुःख र प्रतीक्षापछि जन्मेको बच्चो, न त अनुहार मेरोजस्तो छ, न त बानी ! पेटमा बसेदेखि दुःख दे’को अझै दुःख दिन छाडेको छैन !
म मिरिकललाई उचालेर चिच्याउँछु । आदर्श दौडिँदै आइपुग्छन् । हत्तपत्त रोइरहेको मिरिकललाई मेरो हातबाट खोस्छन् र जिल्ल परेर मलाई हेर्छन् ।
उता मिरिकल बाउले लिनासाथ चुप लाग्छ । मेरो दिमाग झन् तात्छ । म रन्थनिँदै अर्को कोठातिर लाग्छु । अनि एक्लै रुन्छु ।
कैयौँ रात भए’थ्यो झिमिक्क ननिदाएको । न त दिनमा न त रातमा सुत्न पाइएको छ । सायद त्यसैले दिमाग र ज्यान दुवै गलेछ । र त, आफूलाई रोक्न सकिनँ ।
एकैछिनमा मिरिकल रुन थाल्छ । आदर्श केही शान्त भएर मेरो छेउमा आई भन्छन्, ‘यसलाई दूध पिलाऊ । भोकाएजस्तो छ ।’
‘कति भोकाउँछ यो,’ मेरो आँखा नै रिसले बल्यो । ‘दूध तानेकोतान्यै छ । ब्रेस्टमा घाउ भइसक्यो । म ब्रेस्ट फिड गर्न सक्दिनँ । लैजाऊ यसलाई । बट्टाको दूध देऊ ।’
कुरा सुनेर आदर्श झोक्किन्छन्, ‘बच्चा तिम्लाई नै चाहिएको हैन ? अब के भो ? यो निर्दोष बालकमाथि किन यस्तो व्यवहार ?’
‘स्वास्नीमानिसको पीडा तिम्लाई के थाहा ?’ म च्याँठिएँ, ‘म पनि कसलाई सुनाइरहेछु ! अब बाउ भयौ । मेरो के वास्ता तिम्लाई !’
आदर्श वाल्ल पर्छन् । मेरो स्वर झनै ठूलो भएछ, ‘अप्रेसन गरेको घाउ अझै दुख्छ । रात न दिन, एकछिन सुत्न पाउने हैन ! मलाई चाहिँदैन तिम्रो छोरो । लैजाऊ । म कि आफैँ मर्छु, कि यसैलाई मारिदिन्छु, सत्य !’
मेरो कुरा सुनेर आदर्शको अनुहारको रङ उड्छ । मैले उनको आँखामा यस्तो भय देखेँ, लाग्यो उनले मलाई साँच्चै नै हत्यारा ठानेका छन् ।
उनी निलो–कालो हुँदै मिरिकललाई लिएर कोठाबाट निस्कन्छन् । म फेरि एक्लै डाँको छोडेर रुन थाल्छु ।
एकछिन रोएर मन हल्का भएपछि आत्मग्लानी हुन्छ । थाहा छैन, के भयो मलाई ? मैले किन त्यस्तो बोलेँ ? त्यस्तो मानिस त म हैन । त्यो नाबालकमाथि किन त्यत्रो रिस मेरो !
मेरो मुटु काम्न थाल्छ । एकाएक शरीरभरि चिट्चिट् पसिना आयो । पसिनाले निथ्रुक्क भिजेँ । फेरि मिरिकल गुमाउने डरले भयभीत हुँदै उसलाई लिन अर्को कोठामा गएँ ।
मिरिकल मजाले बाउको काखमा बोतलको दूध पिउँदै थियो । आदर्शले कतिखेर बट्टाको दूध किनेर ल्याएछ, मलाई पत्तो नै भएन । देख्छु, मिरिकलका कलिला औँलाले आदर्शको हातका औँला च्याप्प समातेको छ । उसको गालाको त्यो नरम छाला ! भुक्लुक भुक्लुक चलिरहेको तालु, यी सब देखेर ममा मातृत्वको भाव फेरि उर्लेर आउँछ ।
म टोलाएर बाउछोरालाई हेरिरहन्छु । लाग्छ, कति सुरक्षित छ मिरिकल आफ्नो बाउको काखमा ! म आमा ! मेरो काख त उसका लागि अझ बढी सुरक्षित हुनुपर्ने ! तर..!
तर, आदर्शलाई मेरो काख उसको छोराका लागि सुरक्षित लाग्दैन ! म फरक्क फर्केर आफ्नो कोठामा आउँछु । केहीबेर फेरि रुन्छु । एकाएक नितान्त एक्लो महसुस हुन्छ । लाग्छ, अब बाउछोरा दुवैलाई मेरो आवश्यकता छैन ।
म लगाएको नाइटगाउन पनि नबदली टेबलमा रहेकोे मोबाइल फोन टिपेर कहिल्यै नफर्किने गरी बाहिर निस्किन्छु ।
हिँड्दाहिँड्दै कति पर पुगेँ, पत्तो भएन । फोन बोकेर किन हिँडे, त्यो पनि थाहा छैन । बेलुकी निकै अबेला फोनको लोकेसन ट्रेस गरी आदर्शले मलाई फेला पार्छन् । र घर लान्छन् ।
उनी मेरो हरकतदेखि भयभीत छन् । त्यसैले भोलिपल्ट होमभिजिटमा घर आएकी नर्सलाई सबै वृत्तान्त बताउँछन् । मलाई ‘पोस्ट नेटल डिप्रेसन’ भएछ । मेरो काउन्सिलिङ र मेडिकेसन सुरु भएको थियो ।
आज मेरो काखमा मिरिकल निदाइरहेछ । म उसलाई हेरेर सन्तुष्टिको सास फेर्छु । मेरो मनमा ती निराशाका भावहरू छैनन् । तर लाग्छ, आदर्श अझै पनि मलाई पूरा विश्वास गर्दैनन् ! उनी बारम्बर कोठामा हामीलाई चेक गर्न आइरहन्छन् ।
मलाई थाहा छ, उनी दुनियाँमा सबैभन्दा धेरै माया छोरालाई गर्छन् । सोच्छु, वास्तवमा सबैभन्दा स्वार्थी माया भनेको आदर्श र मबीचको माया रहेछ ! सबैभन्दा सच्चा र निःस्वार्थ माया त्यही स्वार्थी मायाबाट बनेको अर्को जीवनसँग हुँदो रै’छ !
हामी दुवै यो सानो ज्यानलाई संसारमा सबैभन्दा बढी माया गर्छौं । म मिरिकलको निधारमा लामो म्वाइँ खान्छु । अनि आदर्शलाई भन्छु, ‘डिप्रेसनले मेरो मनस्थिति बिग्रेको थ्यो । अब औषधिले म ठिक भइसकेको छु । छोरामाथिको मेरो मायामा अब शंंका नगर ।’
‘शंका गरेको होइन । सम्झ त, पोहर आजकै दिन हाम्रो जीवनमा कत्रो मिरिकल भएथ्यो !’
‘आजको दिन भा’को मिरिकल मात्र सम्झ तिमी । मेरो जन्मदिन भने नसम्झ !’ म आँखा सन्काउँदै थोरै जिस्किएँ ।
‘ए, आज तिम्रो जन्मदिन पनि !’ उनी मेरो जन्मदिन बिर्सेझैँ गरी जिस्किन्छन्, ‘अब बढ्दो उमेर र जवानीको उड्दो रंगले बेचैन गराउन छाड्यो तिम्लाई ?’
‘के कुरा गरेको ! कुन स्वास्नीमानिसलाई जवानीको उड्दो रंगले बेचैन नगराउँदो हो ? तर, मिरिकलले भने जिन्दगीमा ठूलो चैन दियो ।’
‘त्यसैले त म भन्थेँ– आशा र विश्वास धमिलिन नदेऊ, मिरिकल जहिले पनि हुन सक्छ !’