कवि बसन्त चौधरी सिर्जनामा अनवरत ‘जागा’ हुन्छन् । एकपछि अर्को कृतिको जन्मले उनीभित्रको अनवरत साधनालाई दर्साउँछ । उनी भावुक कवि हुन्, उनलाई गीत र कवितासँग प्रेम छ । यद्यपि, धेरैले उनलाई प्रेम कविता लेख्ने कवि भन्छन् ।
उनी ‘रोमान्टिक’ शैलीका कविता लेख्छन् । उनको कुनै एउटा कविता संग्रह उठाएर हेर्दा त्यसमा विरह, वेदना र अप्राप्तिको गहिरो राग देखिन्छ । छटपटाहट देखिन्छ । उनी नोस्टाजियामा प्रेम भोग्छन् र आफूलाई महान् प्रेमीको खुमारीमा सरोवर गर्छन् । उनको प्रेम कवितामा एउटा अधुरो कथानक छ, जहाँ मिलनको तिर्सना छ । तथापि, प्रत्येक याममा एउटा ‘मिलन’को आशा बोकेर आउँछन् उनका कविताहरू र पर्खन्छ वसन्त ।
कवि चौधरीको पछिल्लो कवितासंग्रह ‘तिमीविनाको म’ यस्तै एउटा ग्रन्थ हो, जसमा प्रेम र वियोगको फेहरिस्त छ ।
‘समयको दूरी’मा कविले लेखेका छन्,
समयको यो दूरीमा
कहीँ टाढा नहोस् हाम्रो प्रेम
म तिमीलाई आँखा उघारेर
कल्पनाको घुम्टीभित्र लुकाउँदै
नजिक राख्न चाहन्छु
यो समयले ल्याएको फाटोलाई
हृदयले सिएर जोड्न चाहन्छु !
त्यस्तै, प्रेमप्रतिको असुरक्षाको भाव दर्साउँदै हजारौँ अनाम प्रेमीहरूको उद्वेगलाई सम्बोधन गर्दै ‘अद्वितीय प्रेम’मा कविले कोरेका छन्,
ओ ! मेरी मायालु
अनजान, अनामिका
तिमी कतै छैनौ
र त सुरक्षित छौ मेरो निम्ति
म निश्चिन्त छु
तिमी कदापि हराउने छैनौ ।
आत्मपरकता झल्किने कविताहरूका माहिर ‘कारिन्दा’ हुन् उनी । कवितासँगको रोमान्समा उनले सामाजिक बेथितिप्रति असहमति जनाउन छोडेका छैनन् । उनको कवितामा समकालीन विम्ब ठडिएको हुन्छ । युगबोध र चेतना उनको अर्को संवेदनशील पक्ष हो । ‘आजको वर्तमान’ शीर्षक कवितामा कविको प्रकृतिप्रेम यसरी उद्भााषित भएको छ–
प्रकृतिको छत्रछायामा
जीवनलाई आश्रय दिँदै
युगौँदेखि
प्रकृतिसँग गरिरहेछौँ
खेलबाड
कवि चौधरीको कवितामा देशप्रेमदेखि प्रकृति, जीवन–जगत् र मानवमूल्य निहितार्थ छ । उनको कवितामा चिन्ता छ र त प्रेमभाव स्वतः प्रकट हुन्छ । उनी यौन संवेग लेख्ने कवि होइनन्, न त कुनै युवतीको केवल ‘नख शिख’को वर्णन गर्ने कवि हुन् । भयानक मोडबाट गुज्रिरहेको समय र समाज देखेर उद्विग्न कविले पटकपटक कलमको औँला ठड्याएर, आत्मरतिमा व्यस्तहरूलाई खबरदारी गर्छन् । र, लेखेका छन्–
आधुनिक महाभारतको
नयाँ अध्याय
फेरि सिर्जना भयो
लोकतन्त्रको चीरहरण
एकपटक फेरि हुँदैछ
मौन छ कृष्ण
र मनमानी
गरिरहेछ द्यूतसभा
देशको अस्मितासँग
खेल्दै पासा
ठटाउँदै तिघ्रा !
संग्रहभित्रकै ‘हारिरहेछ देश’ शीर्षक कविताको बान्की हेरौँ–
देशको नाउँमा
देशलाई नै बन्दकी राखेर
देशको इज्जत ढाक्न
व्यस्त छन् चारैतिर
भेषधारी अर्जुन ।
कोरोनाको त्रासद समयलाई कविले ‘अन्योल समयको भीडबाट’ कवितामा यसरी अभिव्यक्त गरेका छन्–
सन्त्रासमा सास फेरिरहेको विश्व
पलपल आत्तिएको छ,
युद्धरत छ जीवन मृत्युसँग
आँखामा आत्मीय पीडाको
आँसु बोकेर
बन्दी छ मान्छे
आफ्नै घरभित्र !
कविको काव्य प्रवृत्तिलाई मध्यनजर गर्दा प्रणय चेतना, सामाजिकता, प्रकृति, राष्ट्रवादी भावना, दार्शनिकता, जीवनबोधलगायत विषयगत विविधता देख्न सकिन्छ । सरल, कवितात्मक र अर्थपूर्ण भाषाशैलीले कवितालाई विशेष बनाएको छ ।
‘आफैँ विरुद्ध’ शीर्षक कवितामा कविको विरह–वेदनाको भावना यसरी छताछुल्ल भएर पोखिएको छ–
वियोगको ढुङ्गामा ठोक्किएर
पटक पटक रक्ताम्य म
तिमीलाई बोकेका
यी आँखाका डिलबाट
घाइते खसिरहेको छु !
कविका लागि प्रेम अनन्त प्यास बनेको छ । अतृप्त प्रेमको वियोग सीमाहीन छ । ‘मेघा’ र ‘वसन्त’ कवितासंग्रहबाट चर्चाको चुलीमा पुगेका कवि बसन्तको बारेमा डा. देवी नेपालले लेखेका छन्, “बसन्त चौधरी मनका कवि हुन् । उनका कविता बुझ्नका लागि पाठकले मस्तिष्कलाई ऐँठन पार्नु पनि पर्दैन, शब्दकोश पल्टाएर शब्दजाललाई च्यात्नु पनि पर्दैन र दर्शनको ठेलीभित्र पसेर कुहिरोको काग बन्नु पनि पर्दैन । उनका कविताहरू लामो समयसम्म हृदयमा एक अनौठो तरङ्ग प्रदान गरिरहन्छ ।”
देवी नेपालले भनेजस्तै कवि बसन्तको कवितामा रागात्मक सौन्दर्यको आत्मपरक चित्रण पाइन्छ । जसले सहजै मुटुका हजार तारहरूलाई झङ्कृत गर्दछ । कविले प्रेमलाई जीवन र जगत्को एक महत्त्वपूर्ण पाटोको रूपमा अभिव्यक्त गरेका छन् । निःसन्देह प्रेम बीज हो, जसले सम्पूर्ण सृष्टि अङ्कुरित, विकसित र सिर्जित हुन्छ । ‘आऊ मेघा’ कवितामा कवि नयाँ कोपिलाहरूलाई अंगाल्न आह्वान गर्दै भन्छन्,
शिशिरको उराठ आँगनमा
पतझड बनेको छ जीवन
तिमी मधुमास बोकेर आऊ
फुलाऊ सुन्दर सुन्दर फूलहरू
मगमगाउँदा भरभराउँदा
तिम्रो निर्मल थोपाथोपाबाट
सुन्दरताको बिस्कुन फिँजाएर,
पोख्दैपोख्दै
उराठ शिशिरलाई
वसन्त पार
‘तिमीविनाको म’ अर्थात् तिमी नहुनुको विरह भावसहित नामांकन गरिएको कवितासंग्र्रहका अधिकांश कवितामा भने सँगै रहेको जादुमय पल र सहजीवनको कविता छ, जसमा जीवनको सुन्दरतम् सम्बन्ध नै एकार्काको साथ र सहचर्य हो भन्ने भावना पाइन्छ ।
वर्तमान युगीन चेतना, मानव सङ्कट र त्यसबाट उद्धारको संकल्पना, बेथितिविरुद्ध बेचैनी र छटपटाहट छ कविताको अन्तर्यमा । कवितामा विम्ब र प्रतीकको सुन्दर संयोजन छ । सिद्धहस्त कवि चौधरीका कवितामा भाव र भाषागत सरलता अर्को बलियो पक्ष हो ।
यस कृतिभित्रका कविताहरूलाई मनन गर्दा पाठकले सहजै अनुमान लगाउन सक्छन्, कविताका अविराम सर्जकको दिनचर्यालाई कविताले बलियो टेको दिएको छ । उनको मनका अथाह भावहरू कवितामा भेटिन्छन् । हो, उनी विशुद्ध भावुक कवि हुन् ।