
‘ए माधव, अचेल कता हल्लिँदै छौ हँ ?’
‘माधुलाई मज्जा छ, घुमिरहन्छ । लेखिरहन्छ...।’
‘यो माधेजस्तोले पनि घुरको धुवाँ उडाएछ !’
‘रे माधो, कुछो काम धन्धा छै कि नै छौ ?’
सायद यस्तैयस्तै भनिन्थ्यो होला, मेरा बारेमा । माधवले यस्तो गर्यो, माधवले उस्तो गर्यो । माधवले फलाना पत्रिकाका काम गर्न थालेछ । माधवले यसो गरेछ, उसो गरेछ !
अनि, पत्रपत्रिकामा समाचार लेख्दा बाइलाइन हालिन्थ्यो होला, ‘माधवराज उपाध्याय’ अथवा ‘प्रस्तुति : माधवराज’ !
यस्ता अनेकौँ टीकाटिप्पणीबीच माधवको जीवन चलिरहेको हुन्थ्यो होला । जसरी अहिले राजेशको अर्थात् मेरो जीवन चलिरहेको छ ।
नाम जे भए पनि ठिकै हुन्थ्यो । माधव नाम गरेका पनि धेरै छन् । राजेश नाम गरेका पनि बग्रेल्ती छन् ।
मलाई माधव भन्न नछोडेको भए पनि योभन्दा पृथक् केही हुन्थ्यो भन्ने लाग्दैन । नामै त हो, जे भए पनि मान्छेको परिचयका लागि मात्रै न हो ! मानिसलाई बोलाउन सजिलो होस्, चिनाउन सजिलो होस्, त्यसैले त नाम राखिएको होला ।
०००
उमेरले ६० काट्नै लाग्दा यतिखेर आफ्नो नाममा रुमल्लिएको छु म ! मेरो न्वारनको नाम राशिले जुराएअनुसार राखियो । जलेश्वरका पुरेतले पिपलको पातमा लेखेर घण्ट बजाउँदै कानमा नाम फुके होलान् ! तिनले के भने, ११ दिनको बबुरो मैले बुझ्ने कुरै भएन । उनले भनेको नाम आमाबुवा, बुढी हजुरआमा, हजुरबा हजुरआमा, ठूलोबा ठूलीआमा र अरूको कानमा पर्यो होला ।
तर, तिनले त्यस नामले मलाई कहिल्यै बोलाएनन् । न्वारनको नामले बोलाउने चलन पनि छैन । अहिले बेलाबखत गोदान गर्ने समयमा पण्डितले भन्छन्, ‘आफ्नो नाम सम्झेर म म भन्नुस् ।’
अनि सम्झिन्छु, आजभन्दा छ दशकअघि पुरेतले राखिदिएको त्यो नाम र म म भन्दै गोदान टुंग्याउँछु । यसअर्थमा न्वारनको नाम ‘म म’सँग जोडिनमा सीमित भएको छ ।
आमाले सुनाउनु भएअनुसार मलाई घरकाले बाबु भन्थे अरे ! किनभने, मेरो नाम राखिएकै थिएन । सजिलोको लागि बाबु नै सबैलाई ठिक लाग्थ्यो ।
बुझ्ने भइसकेपछि मलाई कसैले बाबु भनेको सम्झना छैन, भाउजूहरूले बाहेक । भाउजूले देवरलाई बाबु भन्ने प्रचलनले गर्दा आज पनि भाउजूहरूले बाबु भन्दै आएका छन् ।
आमाले नै सुनाउनुभएको थियो, जलेश्वरमै रहँदा मेरो नाम माधवराज राखियो । काकाहरू नवराज र रविराजको जेठो भतिजको नाम माधवराज अस्वाभाविक थिएन ।
माधवमा राज पनि थपियो । र, त्यसमा हजुरबा, ठूलोबा अनि बुवाले लेख्ने गरेको थर उपाध्याय पनि राखियो ।
यसरी मेरो नाम माधवराज उपाध्याय रह्यो । यद्यपि, माधवराज भए पनि भन्नलाई सबैले बाबु नै भन्थे अरे !
एउटा बच्चाको नाम माधवराज कसले राख्यो, किन राख्यो, त्यसबारे मलाई जानकारी हुने कुरो भएन । आमा हुँदै एकपटक माधव नामको विषयमा सोधेको हुँ । सोध्दा उहाँले माधव नाम कसले राख्यो त्यो त भन्नु भएन, तर केही वर्षपछि राजेश नाम राखिएको सुनाउनुभयो ।
यसो हेर्दा माधवराज नाम पनि ठिकै थियो । आज पनि धेरै माधवहरू मसँग परिचित छन् । आफन्त छन् । साथी पनि छन् । त्यसैले माधव नाममा त्यस्तो कुनै अप्ठ्यारो हुनुपर्नेजस्तो मलाई लाग्दैन ।
तर, अचानक माधवबाट राजेश ! यो कसरी भयो होला, कसले गर्यो होला ! ममा जिज्ञासा अस्वाभाविक थिएन । मैले यस विषयमा आमाबाहेक अरू कसलाई सोध्नु !
यसै सन्दर्भलाई लिएर किचकिच गरिरहँदा एक दिन आमाले माधवबाट राजेश नाम कसले र किन राख्यो भन्ने वृत्तान्त कहनुभयो । आमाको त्यो कथन सुनेपछि म डाक्टर मामाले झैँ ठहाका लगाएर हाँसेको थिएँ ।
०००
भएछ के भने, मेरो नाम राख्नैपर्थ्यो । बाबुले मात्रै टर्ने कुरै थिएन । त्यसताका नाम राख्दा भरसक भगवान्को नाम राख्ने प्रचलन थियो । छोराछोरी जे हुन्, तिनको नाम देवीदेवताको नामबाटै राखिन्थ्यो ।
अनि, त्यस्तो नाम खोजिन्थ्यो – जुन नाम लिँदा पनि सबैको मुखबाट हमेसा भगवान्कै नाम अवतरित होस् । फलतः माधव मेरो परिचयमा गाँसियो । बामे सर्दाको समयमा नै होला नाम राखिएको । (अब त आमाबुवा दुवै हुनुहुन्न थप सोध्नलाई ।)
माधव र बाबुको नाम बोकेर थोरै समय मात्र बामे सरेको थिएँ म । मेरो नाममा बुढी हजुरआमाको घोर आपत्ति भएछ । हजुरबुवाको आमाको कुरा काट्ने आँट कसैसँग थिएन । बडो कडा स्वभावको हुनुहुन्थ्यो रे ! उहाँले ठाडै भन्नुभएछ, ‘माधव हुँदैन यसको नाम’ ।
आमाले सुनाउनुभएको हो, कुप्री हजुरआमाको यो प्रसंग । जलेश्वरमा तीनचारजना माधव नामधारी मानिस थिए । ती सबै रक्सी खानमा माहिर । प्रसंगवश माधवको कुरो उठ्दा ‘ए, त्यो रक्स्याहा ! त्यो दारुबाज !’ भनिहालिन्थ्यो रे !
आफ्नो पनाति पनि त्यस्तै दारुबाज हुन्छ कि भन्ने लागेर होला, बुढी हजुरआमाले माधव भन्नै दिनु भएन । भन्नुभएछ, ‘माधव नाम राख्यो भने यसले पनि दारु खाएर उधुम गर्छ । यसलाई माधव नभन् ।’
हजुरआमाले भनेपछि जुनै कुरा पनि पत्थरको लकिर हुन्थ्यो रे, कसको हिम्मत उहाँले भनेको कुरो काट्ने !
यता हाम्री आमालाई छोराको नाम जे भए पनि के नै फरक पथ्र्यो र ! माधव राखे पनि राख, विष्णु राखे पनि राख । केशव राखे पनि राख, अच्युतम राखे पनि राख ! भगवान्को नाम राख या राजामहाराजाको अथवा अरू केही ।
बुढी हजुरआमाको यो ‘कर्फ्यु’ आदेशले माधवराज उपाध्यायको नाम यसै हराएर गयो । त्यसपछि सायद माधवराज कसैले भनेनन् होलान् । नभए काका, फुपू र दिदीहरू (ठूलोबाका छोरीहरू)ले माधव भनेर बोलाउँथे होलान् । तिनले पनि कहिल्यै माधव भनेनन् ।
त्यसो भए माधव कसरी राजेश भयो ? आमासँग बुझ्नुपर्ने खाँटी कुरो यो नै थियो । र, आमा हुँदै यसको कथा हाँसीहाँसी सुनाउनुभएको थियो ।
मेरो उमेर कति थियो, थाहा छैन । यस्तै तीनचार वर्षको थिएँ कि ! बुढी हजुरआमाको आदेशले माधवको उच्चारण बन्द भइसकेको थियो, ‘अच्युतम् केशवम्...’ श्लोकको पाठमा बाहेक । म फेरि बाबु भइसकेको थिएँ ।
आमाको घर–माइती भइरहन्थ्यो । कहिले जलेश्वर त कहिले भलुवाही अनि कहिले बुवाको जागिर भएको ठाउँ । बेलाबखत काठमाडौं ।
एकपटक आमा भलुवाही जाँदा मेरो नाम के राखियो भन्ने कुरो चलेछ । ठिकै हो, भोटू (आमालाई सबैले भोटू भन्थे)ले छोरोको नाम के राखी भनेर जिज्ञासा उठ्नु गलत थिएन ।
आमाले भन्नुभएछ– यसको नाम केही राखेको छैन, बाबु भन्छन् सबैले । त्यसै बेला माधवराज उपाध्यायको अध्याय टुंगिएको पनि सुनाउनुभयो होला ! कुरो उठ्नु थियो । उठ्यो ।
त्यति नै खेर समाधान खोजियो । सानिमाहरूबीच मेरो नयाँ नाम के राख्ने भन्नेबारे छलफल भएछ । पछि भुना दिदीले मेरो नामको खोजी गर्नुभएछ । (म सानिमाहरूलाई दिदी नै भन्छु । मामाघर धेरै बसेकोले होला, सानिमा ठूलीआमाहरूलाई दिदी नै भनेँ । किनभन,े मामाहरूले दिदी भन्थे । त्यही सिको गरियो ।)
अनि, एक दिन मामाघरमै मेरो नामकरण गरिएछ, ‘राजेश’ अर्थात् राजेशकुमार उपाध्याय ।
राजेश नै किन ? यो कुरा मैले एक दिन भुना दिदीसँग पनि सोधेँ । दिदी मज्जैले हाँस्नुभयो र भन्नुभयो, ‘त्यो समय हिन्दी सिनेमामा राजेश खन्नाको वर्चस्व थियो, त्यसैले तेरो नाम राजेश राखिदियौँ ।’
आमाले पनि दुरुस्त भुना दिदीले भनेझैँ सुनाउनुभएको थियो ।
वास्तवमै त्यो समय राजेश खन्नाको समय थियो । भारतीय फिल्मजगत्का पहिलो सुपरस्टार ! ‘आराधना’पछि लगातार ‘कटिपतङ्ग’, ‘सच्चा झुठा’, ‘सफर’, ‘अमर प्रेम’, ‘प्रेमनगर’, ‘दुश्मन’, ‘द ट्रेन’, ‘आनन्द’, ‘नमक हराम’, ‘अन्दाज’, ‘हाथी मेरे साथी’जस्ता हिट फिल्म दिएका राजेश खन्नाको क्रेज चुलीमा थियो ।
राजेश खन्नाको नाम उनको फिल्म नहेर्नेलाई पनि थाहा थियो । गाउँमा बोर्डरछेउबाट उपन्यास र विभिन्न पत्रपत्रिका आइरहने भएकाले राजेश खन्नाका विषयमा जानकारी नहुने कुरै भएन । हुनसक्छ, दिदीहरूले एकदुई फिल्म पनि हेर्नुभएको थियो होला ।
त्यसकै परिणति थियो मेरो नाम राजेश, जसमा कुमार र उपाध्याय पनि गाँसियो । यसरी राजेशकुमार उपाध्यायको भारी नाम बोकेर म हिँड्न थालेँ । सबैले माधव नाम बिर्सिए । राजेश भन्न थाले । राजेश बोलाउन थाले ।
एउटा सुपरस्टारको नाम समातेर म उमेर उक्लिँदो थिएँ । जलेश्वरमा बुढी हजुरआमाले देख्नुभएका ती माधव नामधारीहरूको अवस्थाप्रति अब कसैको ध्यान गइरहेको थिएन । किनभने, बुढी हजुरआमा बितिसक्नुभएको थियो । माधवले रक्सी खाला हैन कि राजेशले पनि रक्सी खाला कि भन्ने डरबाट पनि उहाँ मुक्त भइसक्नुभएको थियो ।
जनकपुरको राजर्षि जनक बाल विद्यालय र काठमाडौंको चाबेल, गणेशस्थानस्थित सुकुल कक्षामा पढ्दासम्म मेरो नाम राजेशकुमार उपाध्याय नै थियो ।
०३१ सालतिर म काठमाडौंबाट भलुवाही गएँ । बुवाको सरुवा हनुमाननगर भएकाले बुवाआमा र भाइहरू त्यतातिर लागे । मेरो गन्तव्य भलुवाही भयो ।
त्यहीँको स्कुलमा चार कक्षामा नाम लेखाउने बेला कुमुद मामाले मेरो नामबाट कुमार र उपाध्याय दुवै झिकिदिनुभयो र खनाल राखिदिनुभयो । मामा आफैँ पनि कुमुद ढकाल लेख्नुहुन्थ्यो । सायद त्यसैले पनि होला, त्यसै दिनदेखि म राजेश खनाल भएँ ।
०००
यो माधव महात्म्य लेखिरहँदा म बुढी हजुरआमालाई सम्झिरहेको छु । उहाँको काया र हाउभाउ मेरो स्मृतिमा छैन । तथापि, आमाले सुनाएको उहाँका कुरा मानसपटलमा छ ।
पनातिप्रतिको स्नेहले बुढी हजुरआमालाई कस्तो गाँजेको होला, रक्स्याहा पो बन्छ कि भनेर उहाँले माधव भन्नै दिनु भएन ! नामै राख्न दिनु भएन ।
आज उहाँकै पनाति राजेश बेलामौका, साथीभाइ र घरेलु जमघटमा चुस्की लगाइरहेको हुन्छ । आखिर नामैले के पो रोक्ने रहेछ र !