site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
खुसीका रङहरू
Tiktok banner adTiktok banner ad

खुसी के हो ? कहाँ लुकेर बसेको हुन्छ खुसी ? खुसीको आजसम्म गरिएका वास्तविक परिभाषा के हुन् ? क–कसले के–के भने खुसीका बारेमा ? 

यी र यस्ता यावत् प्रश्नहरूबाट सुरु गर्न सकिन्छ खुसीलाई नजिकबाट स्पर्श गर्दै गर्दा । भगवान् बुद्धका वाणीबाट सुरु गरौँ, उहाँ भन्नुहुन्छ– मानिस हरक्षण दुःखी छ, किनकि आफूसँग भएको नदेख्ने र नभएको चाह गर्ने स्वभावका कारण उसको खुसी टिकाउ हुँदैन । 

सानो पनि खुसी, ठूलो पनि खुसी । र त भनिएको हुनुपर्छ खुसीको कुनै परिधि हुँदैन । न लम्बाइ न चौडाइ, न त गहिराइ र उचाइ नै । यदि छन् भने पनि त्यसलाई नाप्ने संयन्त्र अहिलेसम्म बनिसकेको कुरा जानकारीमा आएको छैन । 

जसरी भूकम्प जाँदा यति रेक्टरस्केल भनेर नाप्ने गरिन्छ, ज्वरोलाई फरेनहाइटमा नापिन्छ, वस्तुलाई किलो र ग्राममा तौलिएजस्तो मलाई लाग्दैन कि खुसीको नाप्ने कुनै खास यन्त्र बनेको होस् ! 

यदाकदा नसोचेको परिणामले ठूलो खुसी दिलाउँछ भने सम्भावित परिणामले सानो खुसी । फेरि पनि जत्रो होस् खुसी आखिर खुसी नै हुन्छ । त्यसो त सबै खुसी अलगअलग पात्र अलग परिवेश एवं अलग काल परिस्थितिद्वारा निर्माण गरिएका हुन्छन् । कसैका लागि सानो र सामान्य लाग्ने खुसी कसैका लागि ठूलो भइदिन्छ । 

वर्गीकरण गरेर हेरौँ त !  

जिन्दगीका स–साना खुसीहरू : साना खुसीहरू ती हुन् जो अपेक्षित हुन्छन् । आफूले गरेको कर्मअनुसारको फल सामान्य खुसी हुन सक्छ । जस्तो परीक्षापछिको नतिजाले दिने खुसी । पानी पर्दा छाता भेटिनुको खुसी, तिर्खा लाग्दा पानी र भोकमा खाना पाउनुको खुसी ! गन्तव्यमा सजिलै पुग्नु, बच्चाले खेलौना भेट्नु, यस्ता खुसीलाई सामान्य खुसीको सूचीमा राख्दा होला ।

जिन्दगीका ठूला खुसीहरू : वर्षौंपछिको पारिवारिक पुनर्मिलनले दिने खुसी ठूला खुसीमा पर्छ । कुनै अनपेक्षित घटनाद्वारा उत्पादित क्षणिक खुसी पनि ठूलो भइदिन्छ । जस्तो विनाखबर परिवारका सदस्य दैलोमा टुप्लुक्क आइपुग्दाको अपूर्व खुसीले आनन्दित तुल्याउँछ । 

अप्रत्याशित आइलाग्ने परिणाम, जस्तो कि युवा हुन् वा अधबैँसे, डीभी चिट्ठा परेपछि तिनमा देखिने खुसी । जाँचमा सोचेभन्दा बढी अंक वा जीपीए आउनु र  पहिलोपटक आमा, बाबु बन्दाखेरिकोे खुसी निश्चय पनि अनपेक्षित हुन्छ । जसले अधिक खुसी दिने गर्छ । त्यस्तै ठूलै तप र साधनापछि प्राप्त हुने आनन्द र त्यसबाट प्राप्त हुने खुसी । 

के पैसाले खुसी किन्न पाइन्छ ? अवश्य पाइन्न, पाइन्थ्यो भने संसारका धनी सबैभन्दा खुसी हुन्थे । पैसाले खाना किन्छ तर भोक किन्न सक्दैन, ओछ्यान किन्छ, निद्रा किन्न सक्दैन । माया किन्न सक्दैन, आमा किन्न सक्दैन, खुसी हुने वातावरणसम्म सिर्जना गर्न सक्ला पैसाले, तर खुसी किन्न सक्दैन । 

सक्थ्यो भने आज संसारका अथाह धनीहरू नै बेखुसी देखिँदै छन् । अभावमा पनि भाव जगाएर बाँच्न सकिएमा अवश्य खुसी मिल्नेछ । यसको विपरीत भावमा पनि अभाव देख्नु दुःखी हुनुको लक्षण हो ।

के सुख पाउनु र खुसी हुनु एकै हो त ? यो सवाल पनि उठ्छ । धन ठूलो कि मन भन्ने बहस कहिल्यै नटुंगिएझैँ सुख र खुसी एकै हुन् वा अलग भनेर लामै बहस हुने गरेको हुनुपर्छ । 

सुख र सुविधा र भोग विलासले यथेष्ठ खुसी दिन्थे भने, संसारका सफल मानिसका पत्नीले छाडेर जाने थिएनन् पक्कै । निद्रा पर्दाको राडी र अनिँदोको मखमलको खुसी एकै हुनै सक्दैन । 

एउटा सुविधासम्पन्न महलमा बस्ने धनी र झुपडीमा रमाउने गरिबको खुसीको वजन एकै तराजुले जोख्नै सक्दैनन् । नत्र किन कोही भिरमाहुरीको मह काढेर गुजारा चलाउँदा अधिक खुसी देखिन्छ । जबकि घुम्ने कुर्सीमा बसेर एउटा निर्णय गर्दा लाखौँ डलर आर्जन गर्नेहरू त्यत्तिकै खुसी हुन सकिरहेका हुन्नन् !

खुसी कहाँँ लुकेको हुन्छ ? भन्ने प्रश्न पनि नआउने होइन । हत्केला, झलमल्ल लागेको घाम छेकेको भान पालेर बाँच्छ, फिस्टो आकाश मैले नै धानेको छु भन्ने ठान्छ । 

बाबु परिवारको सम्पूर्ण बोझ मैले नै उठाएको छु ठान्छन्, आमा पनि त उत्तिकै दत्तचित्त छिन् । छोराछोरीहरू पनि त कुनै न कुनै भूमिकामा व्यस्त रहन्छन् । यी सब हाम्रा हेराइ र बुझाइमा भर पर्ने कुरा हुन् । उसो भने खुसी कहाँँ लुकेको हुन्छ त ?

स्वाभाविक जवाफ आउन सक्छ कि खुसी मानिसको मुहार, अनुहार, चेहरा ओठको हाँसोमा, मुखको बोलीमा आँखाको हेराइ आदिमा लुकेर अव्यक्त रूपमा बसेको हुन्छ । केही हदसम्म ठिकै पनि होलान् यी तर्कहरू । वास्तवमा खुसी मान्छेको अन्तरहृदयको कुनामा अर्थात् अन्तस्करणमा लुकेर रहेको हुन्छ, जो प्रक्रियागत रूपमा अंकुुरित हुँदै कसैका मुहारमा त कसैका ओठको हाँसोमा अनि कसैको मुखको बोली बनेर बाहिर प्रष्फुटित हुने गर्छ । 

एउटा प्रश्न गरौँ, के खुसी हुनु दुःखी नहुनु हो ? अवश्य पनि प्रश्नले विषयवस्तु उठाएजस्तै दुःखी नहुनु केही हदसम्म खुसी हुनु नै हो । तर, यसो भन्दैमा सबै दुःख र पीडाबाट हुने उन्मुक्तिले खुसी दिन्छ भन्ने छैन । सुखी हुँदाहुँदै पनि सांसारिक दुःख र पीडाले सिद्धार्थ गौतमलाई दरबारबाट साधनाको बाटो हिँड्ने मोडमा पुर्‍यायो । 

एउटा गम्भीर प्रश्न भनेको हामी किन खुसी हुन सकिरहेका छैनौँ भन्ने पनि हो । सबथोक भएर पनि एकथरी मान्छे खुसी हुन सकिरहेको छैन । अर्कोथरी केही नभएर पनि अत्यधिक खुसी सँगालिरहेको छ ! तसर्थ ‘सन्तोषम् परमम् सुखम्’ अबको नारा बनाइनुपर्दछ । 

संयुक्त राष्ट्रसंघले गरेको पछिल्लो विश्व खुसी प्रतिवेदनअनुसार फिनल्यान्ड सर्वाधिक खुसी राष्ट्रका रूपमा सूचीकृत भएको देखाएको छ । दक्षिण एसियामा नेपाल सर्वाधिक खुसी मानिस बस्ने देश भनेर त्यसले औँल्याएको छ । 

यद्यपि, विविध कारणले हामी नेपाली पनि सुखी हुन सकिरहेका छैनौँ । र पनि, दुःखलाई आत्मसात् गरेर बाँच्न सक्छौँ । यसैले त दक्षिण एसियामा नेपाल खुसी राष्ट्रको रूपमा अगाडि देखापरेको हो । यत्ति समाचारले पनि हाम्रो चेहरामा अकल्पनीय खुसी झल्किन्छ ! 

खुसीका कुनै रङ हुँदैनन् र पनि रंगीन लाग्छन्, जिन्दगीको क्यानभासमा उतारिएका आकृतिजस्तै खुसीहरू ।  

खुसी यति बृहत् शब्द हो कि यसको दायरा प्रशान्त महासागरभन्दा पनि विशाल छ, त्यसैले एकै बसाइमा लामो लेख पस्केर तपाईं पाठकलाई दुःखी बनाउनु मेरो उद्देश्य कदापि होइन । बरु आलेख पढेर थोरै भए पनि मुस्कुराउनुभयो भने मलाई पनि खुसी नै मिल्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २६, २०८१  ०६:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro