
कतिपय भन्ने गर्छन्– जीवन निस्सार छ, निरर्थक छ, वाहियात छ ।
आआफ्नो भोगाइ, आआफ्नो अनुभव र अनुभूति, आआफ्नै धारणा न हो, यसमा विमति र वादविवादको औचित्य र आवश्यकता नै के र ?
एक मनले सोच्दा यो भनाइ गलत होइन । सोचौँ, न चाहेर जन्मन्छौँ, न नचाहुन्जेल मर्दैनौँ । अनि दैनन्दिनका क्रियाकलाप पनि त हाम्रो नियन्त्रणमा छैनन् । अर्काकै खटनपटनमा चल्नुपर्ने, जिउनुपर्ने बाध्यता छ ! यसैले जीवन अनिश्चित, तर साँच्चिकै संघर्षमय छ ।
तर, अर्को कोणबाट हेरौँ र गम्भीरतापूर्वक सोचौँ त, जीवन कति मूल्यवान् छ ? पक्कै पनि मूल्य आँक्न कठिन मात्र होइन, असम्भव छ । यतिचाहिँ निर्धक्क भन्न सकिन्छ– जीवन बहुमूल्य छ । बहुमूल्य के भन्नु ! अमूल्य छ ।
मानवीय चेतनाका प्रत्येक क्षण अद्वितीय हुन्छन् र छन् अनि जीवन जिउनुको आफ्नै स्वाद छ । के जीवन नपाएको भए जे देख्यौँ, भोग्यौँ र जे देख्दै भोग्दै छौँ र जे देख्ने, भोग्ने, व्यहोर्नेवाला छौँ यी सबैकुरा देख्न, भोग्न, अनुभूत गर्न सम्भव थियो ? पक्कै थिएन । त्यसैले जीवन एक अवसर हो ।
०००
दुनियाँ निकै ठूलो छ । देशको सीमा त छँदै छ, दुनियाँ जात, धर्म, सम्प्रदाय, समुदाय आदिका रूपमा पनि विभाजित छ, यो । थरीथरी समाज छन् र समाजका आफ्नै नियम र थिति छन्, विधिविधान छन्, परम्परा, विश्वास र मान्यता छन् ।
थरीथरी छन् मान्छे यस दुनियाँमा, कोही विज्ञानका पछि दौडेका छन्, कोही धर्मका पछि लागेका छन् । कोही धनका पछि दौडेका छन् कोही ओहदाका निम्ति मरिहत्ते गरिरहेका छन् । स्थायी केही छैन र होइन भन्ने जान्दाजान्दै पनि मान्छे यिनैको प्राप्तिमा दौडिरहेका देखिन्छन् । यहाँसम्म कि मान्छेको बजारमा मान्छेको खरिद–बिक्री पनि भइरहेकै छ ।
सम्झौँ त, हामीले अहिलेसम्म सुनेका, पढेका, देखेका, भोगेका घटनाहरू । कति रोमाञ्चक, कति हृदयविदारक, कति अस्वाभाविक, अपत्यारिला र आश्चर्यजनक छन् । अनि साँच्चिकै अद्भूत छैन त यो दुनियाँ ? यस्तो दुनियाँलाई हेर्न, भोग्न पाउनु अहोभाग्य नै हो र यसैले जीवन एउटा अवसर हो ।
बुद्धिमान् मानिने प्राणी आफ्नो सुविधा, सहजतालाई ध्यानमा राखेर अनेक गरिरहेको छ । धेरै गरिसक्यो मान्छेले, तर अझै पनि नयाँ नौलो गर्नुपर्छ भन्ने हुटहुटी मान्छेमा छ र ऊ निरन्तर लागिरहेकै छ । हेर्दा सबै गरिसक्यो अब के नै बाँकी छ र भनेजस्तो लाग्छ । तर, नयाँनयाँ केही भइरहेकै हुन्छ, गरिरहेकै हुन्छ मान्छेले केही न केही ।
निश्चय नै मान्छे जे गरिरहेछ सबै सकारात्मक छैनन्, मान्छेकै विरुद्ध पनि छन् र छन् सभ्यता र मानवताविरुद्ध नै पनि कतिपय, तर मान्छे लागिरहेकै छ निरन्तर, गरिरहेकै छ नयाँ केही ।
०००
अनेक रुचि, अनेक चाहना, अनेक विश्वास छन् हाम्रा, र छन् अनेक आस्था । आखिर जेसुकै भने पनि जिउने मेलो न हो सबै । जतिसुकै तँ–तँ म–म र तेरो–मेरो गरे पनि बाटो एउटै हो सबैको, अनिश्चित आयु बोकेर आएको मान्छेको दिन गुजार्ने मेलो हो यो सबै र यिनै उपक्रममा जीवनको एउटा चक्र पूरा गरेर संसारबाट बिदा हुनु मान्छेको बाध्यता हो ।
दिन गुजार्ने समय बिताउने बहानाहरू अनेक छन् । कुनै सहज स्वाभाविक, कुनै असहज अस्वाभाविक, कुनै सामान्य र सरल, कुनै असामान्य र जटिल । तर पनि मान्छे आस्था, विश्वास, आशा र अपेक्षामा तिनलाई अपनाउने, तिनैमा भुल्ने, रमाउने र कहिलेकाहीँ त तिनमै हराउने समेत गर्दछ ।
केही आस्था र विश्वास यस्ता छन्, जुन भ्रामक, अविश्वसनीय, अकल्पनीय, विभेदपूर्ण समेत छन् । तर पनि मान्छे तिनलाई त्याग्न, नअपनाउन, नमान्न, तिनका विरुद्ध विद्रोहमा उत्रिन हम्मेसी तत्पर हुँदैन । झ्यास्सै त्यसो गर्ने आँट गर्न सक्दैन । आखिर यही समाजको उपज न हो ऊ, एकाएक फड्को मारेर, हाम्फालेर त्यसभन्दा पर जान, अगाडि बढ्न वा बाहिर निस्कन कसरी सक्छ ? कसरी एउटा स्थापित मान्यता वा विश्वासलाई भत्काउन अघि सर्न सक्छ ?
साँच्चिकै भन्दै छु, ऊभित्र परम्परादेखि भरिएको एउटा तत्त्व छ जसले उसमा नराम्रोसँग जरा गाडेको छ, त्यो हत्तपत्ति उखेलिन मान्दैन । त्यसैले अदृश्य साङ्लोमा बाँधेर नचाइरहेको हुन्छ, आफ्नो अधीनमा लिइरहेको, नियन्त्रण गरिरहेको हुन्छ, उसलाई ।
०००
यतिबेला चाबहिल चोकका दृश्य सम्झिरहेको छु । त्यसो त सधैँ नै व्यस्त हुन्छ, तर यतिबेला निकै व्यस्त छ यो । यो अत्यन्त बेफुर्सद छ, चहलपहल बढेको छ, यसको अहिले झनै ।
यता, चाबहिल गणेश र उता बौद्ध स्तुपाजस्ता सम्पदा त छँदै छन् नजिकै पशुपति–गुह्येश्वरी छन् । गौरीघाट र व्यस्त आर्यघाट आफ्नो धर्म निर्वाह गरिरहेका छन् । आस्थाको धरोहर, पवित्रताको पर्याय वागमती बहिरहेकै छ, फोहोरको डुंगुर बोकेरै पनि ।
कोही नाक थुनेर हिँड्दै छन्, आस्थावान्हरू आचमन गरिरहेछन् यसकै जल पवित्र मानेर र गरिरहेछन् पवित्र स्नान । पवित्र नदीलाई बिटुल्याउने, फोहोरका स्रोत पनि त आखिर मान्छे नै हुन् ? यी सबैसँगको सामीप्य चाबहिलको व्यस्तताका कारक हुन् ।
०००
सडक सञ्जाल विस्तारसँगै चाबहिलबाट काठमाडौं खाल्डोको उत्तरपूर्व मात्र होइन, त्यसभन्दा परको भूगोल छिचोल्न सम्भव र सहज भएको छ । यसै त विशेष यो चोक अझ यहाँबाट साँखु, लप्सेफेदी, कात्तिके, नगरकोट हुँदै काभ्रे, सिन्धुपाल्चोक पुग्न सकिने भएपछि चाबहिल चोकको व्यस्तता झनै बढेको छ ।
त्यसो त रुटका सार्वजनिक सवारीसाधन भरिभराउ नै हुन्छन् सधैँ, केही दिनयता साँखु रुटका गाडीहरू विशेष किसिमले भरिभराउ छन् । निजी र भाडाका साना सावरीसाधनको ओहरदोहर बढेको छ यस सडकमा । दुई पांग्रेको चाप छ, उस्तै । थाहा छैन कति पवित्र मनले, कति मन बहलाउने उद्देश्यले, कति अवसर छोप्ने दाउले र कति कोलाहलबाट पर एकान्तमा स्वतन्त्रताको उपभोग गर्ने उद्देश्यले यसलाई उपयोग गर्दै छन् ।
जेसुकै भए पनि सडक व्यस्त छ यतिबेला । जसको उद्देश्य जेसुकै भए पनि यतिबेलाको यसको व्यस्तताको प्रमुख कारक भने शाली नदी हो । किनकि यो स्वस्थानीको समय हो । र हो, शाली नदी स्नान, माधवनारायण मेलाको समय ।
०००
स्वस्थानी भन्नासाथ बाल्यकालका रमाइला दिनको स्मरण हुन्छ वा भनौँ स्वस्थानीले बालक बनाउँछ एकाएक । साँच्चिकै रमाइला थिए ती दिन ! निश्चिन्त, निस्फिक्री त्यस्ता दिन कहाँ पाउनु अब ?
कम्ता झन्झटिलो छ स्वस्थानीको विधान ? कम्ता सकस छ यसका सामग्री जुटाउनु र परिपुर्याउनु ? तर ती सबैको कुनै मतलब हुँदैनथ्यो, जब सुरु हुन्थ्यो स्वस्थानी तब रमाउँथ्यो मन । अरू कुनै कुराले होइन, पञ्चामृत र प्रसादको सम्झनाले ।
विधिपूर्वक व्रत बस्दा जुटाउनुपर्ने सामग्री र पुर्याउनुपर्ने प्रक्रिया कठिन थियो । तर, पनि त्यो सबै गरेर आवश्यक तयारी गर्ने र महिना दिन लामो व्रत बस्ने आँट गर्नेहरू थिए, हुन्थे र अहिले पनि फाटफुट छन् नै ।
छिमेकमा एउटी आमा हुनुहुन्थ्यो, हामीले थाहा पाउँदैदेखि एकल अर्थात् विधवा । हरेक वर्ष स्वस्थानी व्रत बस्ने, चोखोनितो गर्ने, वरपर सबैलाई निम्तो गर्ने गर्नुहुन्थ्यो उहाँ । र, केही पाकासहित छिमेकका अधिकांश केटाकेटी पुग्थ्यौँ पुस–माघका चिसा साँझ उहाँको मझेरीमा बसेर कथा सुन्न ।
कथा भन्ने भनिरहेका हुन्थे, हाम्रो ध्यान कथाभन्दा प्रसादतर्फ हुन्थ्यो । हरेक अध्यायको अन्त्यको सूचक ‘इतिश्री केदारखण्डे माघमहात्म्ये कुमार–अगस्त्यसंवादे..’ आउनासाथै आज प्रसाद के होला ? चासो हुन्थ्यो र प्रसाद–पञ्चामृततर्फ आँखा पुग्थ्यो, र जाडो हातहातमा पाइने त्यही प्रसादको स्वादमा हराउँथ्यो ।
०००
‘हातखुट्टाका नङ काटी, स्नान गरी पवित्र भई एक भक्त रही, एकचित्त गरी महिना दिनसम्म नित्य मध्याह्नकालमा श्रीमहादेवको पूजा गर्नु, सकेदेखि श्रीस्वस्थानी परमेश्वरीको कथा भन्नु वा सुन्नु, नसके मनले उनैलाई सम्झिरहनु’ यसको विधान हो ।
यसको विधानअनुसार पौष शुक्ल पूर्णिमादेखि प्रारम्भ भई माघ शुक्ल पूर्णिमासम्म चल्ने यस व्रतको अन्तिम दिन अष्टोत्तर सय पान, अष्टोत्तर सय अक्षता, अष्टोत्तर सय बेलीपुष्प, अष्टोत्तर सय कुड्का सुपारी, अष्टोत्तर सय यज्ञसूत्र र अष्टोत्तर सय रोटी तथा जातजातका फूल र नैवेद्यहरू तयार पारी आर्सीमा ॐकार लेखी गंगाजलले स्नान गराउनु, माला पहिर्याई धूप, दीप, नैवेद्य, फलफूल र कस्तूरी, मेवा, मिष्टान्न, वस्त्र, भेटी चढाउनु अनि एकचित्त भएर स्वस्थानी परमेश्वरीको स्तोत्र पाठ, जप ध्यान गर्नु अघ्र्य दिनु र ‘हे ईश्वरी !’ भनेर मनले इच्छित वर माग्नुपर्छ । यसो गर्दा वर प्राप्त हुन्छ भन्ने विश्वास रहेको छ ।
यसपछिको व्यवस्थाचाहिँ गजबको छ । ‘प्रसाद सामग्री झिक्नु र अष्टोत्तर सयमा आठ रोटी, आठ अक्षता, आठ यज्ञसूत्र, आठ पान, आठ कुड्का सुपारी सगुन समेत आफ्ना पुरुषलाई दिनु, पुरुष नभए छोरालाई दिनु, छोरा पनि नभए मितछोरालाई दिनु, मितछोरा पनि नभए मेरो अमूक कामना सिद्ध हवस् भनी गंगा वा नदीमा बगाउनु, सय रोटी आफूले फलाहार गर्नु, रात्रिमा जाग्राम बस्नु । यति गरिसकेपछि सम्पूर्ण पाप नाश हुन्छ ।’
स्वस्थानीको प्रसादको अपमान गरेका कारण कुष्ठरोगले पीडित भएकी र पापिनी कहलिएकी चन्द्रावतीलाई अप्सराले सिकाएको उपर्युक्त विधानको कुरो सुन्दा र सो व्रत बसेकै कारण साथमा कुनै सामग्री नभएकी चन्द्रावतीका लागि बालुवा नै आवश्यक सामग्रीमा परिणत भएको र उनले रोगबाट मुक्ति पाएको लगायत कथा प्रसंग सुन्दा बडो गजब लाग्दथ्यो ऊबेला ।
सायद, छोरो हुनुको गौरव महसुस हुन्थ्यो, छोरो हुनु विशेष हुनु रहेछ भन्ने लाग्थ्यो, पौरुष ग्रन्थी प्रफुल्ल हुन्थ्यो त्यतिबेला; कारण, ‘छोरो नभए मितछोरोलाई दिनू, त्यो पनि नभए गंगामा बगाइदिनू’ भन्ने विधान यसको छ ।
०००
कतै रोमाञ्चकता, कतै कुतूहल, कतै दुःख, पीडाको अनुभूति गराउँछ, स्वस्थानीको कथाले । घोरिएर मन्थन गर्नै नपर्ने यसै छ्यांगै देखिने कुराहरू छन्, यस कथामा । एकातिर ढाँट, छल, षड्यन्त्रले भरिपूर्ण छन् स्वस्थानी व्रतकथामा वर्णित प्रसंगहरू, अर्कोतिर असम्भव, अपत्यारिला र अस्वाभाविक घटना, सन्दर्भ र प्रसंग छ्यालब्याल छन् ।
व्रत बस्ने नारी, नारीलाई नै अपमानित र विभेद गर्ने व्यवस्थाहरू आफैँमा विरोधाभास हुन् । तर, कुरा समय र चेतनाको हो, कुनै रचना कुन समय, कस्तो परिवेश, कुन सन्दर्भमा रचिए ? सिर्जना समय, समाज र परिवेशअनुरूप हुने भएकाले यतिखेर यसै विषयमा समय खर्चनुको आवश्यकता रहेन ।
०००
मानिसलाई अनुशासनमा राख्न, विभिन्न किसिमका उपाय अपनायो तत्कालीन समाजले । तिनैमध्येको प्रमुख थियो धार्मिक उपाय । धर्मको माध्यमबाट मानिसलाई शिष्ट, अनुशासित र मर्यादित राख्ने प्रयत्नका क्रममा यसो गर्नु हुन्छ र यसो गर्नु हुँदैन, यसो गरे धर्म र यसो गरे पाप हुन्छ आदि आदि कुरा सिकाइए, बनाइए अगुवाहरूबाट र त्यसले नै समाजलाई मर्यादित र अनुशासित राख्ने काम गर्यो ।
सभ्यतासँगसँगै अएको चेतना र समयले ल्याएको परिवर्तनलाई अपनाउँदै, स्वीकार गर्दै जाँदा धेरै कुरा परिवर्तन र सुधार भए । बुद्धिमान् प्राणी मानिसले नयाँनयाँ वैज्ञानिक उपलब्धि हासिल गर्न र प्रविधिहरूको प्रयोग गर्न थालेपछि नसोचेका अनुमान नै नगरिएका धेरै कुरा हुन थाले, भइरहेकै छन् र हुँदै जानेछन् । समय रोकिँदैन, समयसँगै चल्नु मानिसको बाध्यता हो ।
चेतनशील एवं बुद्धिमान् प्राणी भएकाले मानिसले समयलाई चिन्नु र आफूलाई समयसँगै हिँडाउनु आवश्यक हुन्छ ।
समय कहाँबाट कहाँ पुगिसक्यो, दुनियाँले कहाँकहाँ फड्को मारिसक्यो, हामी भने समयको गतिमा अलि पछाडि नै छौँ !
यसो हुनुको कारण हो, हाम्रा कतिपय अस्वाभाविक मान्यता, आस्था र विश्वास । तिनलाई परिमार्जन, परिष्कार र आवश्यक परे तिरस्कारै पनि पो गर्नुपर्ने हो कि ?