प्रेम जीवनको आधारभूत तत्त्व हो, जसले मानिसलाई मानवता त्याग र आत्मिक सन्तोषको बाटोमा अघि बढ्न प्रेरित गर्दछ । यो निःस्वार्थपन, त्याग र सच्चाइलाई अँगाल्दै शारीरिक आकर्षण वा भौतिक चाहनाभन्दा आत्मिक सम्बन्ध र गहिरो समझदारीमा केन्द्रित हुन्छ । प्रेममा विश्वास, सम्मान र समर्थनको मुख्य भूमिका हुन्छ ।
आस्था विश्वासको शक्ति हो, जसले मानिसलाई कठिन परिस्थितिमा पनि सकारात्मक ऊर्जा र प्रेरणा प्रदान गर्छ ।
आदर्शले व्यक्तिलाई नैतिक, जिम्मेवार र उद्देश्यपूर्ण बनाउन सहयोग गर्छ । यो केवल व्यक्तिको व्यक्तिगत जीवनका लागि मात्र नभई समाजका लागि समेत मार्गदर्शक शक्ति बनेर उभिन्छ ।
यी तीनवटै पक्ष मानव जीवनका अपरिहार्य अंग भएकाले एकार्काबाट पृथक् हुन सक्दैनन् भन्ने तथ्यलाई हरिश कल्पितको ‘ग्याब्रियले’ कथासंग्रहले उजागर गरेको छ । कल्पितका कथाहरू समाजकै यथार्थ घटनाहरूलाई टिपेर बुनिएका छन् । विशेष गरी प्रेम विषयलाई प्राथमिकताका साथ प्रस्तुत गरिएका उनका धेरैजसो कथाहरू नेपाली परिवेशमै रचिएका छन् भने केही कथाहरू जापानी र अमेरिकी परिवेशमा रचना गरिएका छन् । तर, विदेशी परिवेशका कथाभित्र नेपाली सन्दर्भ जोडिएकै छन् ।
उनको ‘ग्याब्रियले’भित्र १३ कथा छन् । संग्रहभित्रको पहिलो कथा ‘मोहभङ्ग’ बालविवाहको असर, बाँझोपन, पारिवारिक समस्या तथा नारी संवेदनालाई प्रस्तुत गरिएको कथा हो ।
‘बिहे’ शीर्षकको कथाले असिमा र अमिनाको भगिनीसम्बन्ध, अमिनाको धनाढ्य परिवारसँगको वैवाहिक सम्बन्ध, विकसित राष्ट्रहरूमा पुगेका युवाहरूप्रतिको नेपालीहरूको आकर्षण, भौतिकताप्रतिको मोह, त्यसले परिवारमा निम्त्याएको दुर्घटनालाई विषय बनाइएको छ । यसमा श्रीमानलाई एड्स भएको थाहा भएपछि अमिनाका खुसीहरू लुटिएको र बिरामी परेको अवस्थालाई पनि देखाइएको छ ।
नेपाली समाजमा नारीलाई भौतिक वस्तु वा उपभोग्य वस्तु र सौन्दर्य साधनका रूपमा हेरिने प्रवृत्तिप्रति व्यंग्य गर्दै लेखिएको कथा हो, ‘पुष्पलता’ ।
जनयुद्धले निम्त्याएको समस्यालाई विषय बनाएर युद्धविरोधी कथा लेख्नमा पनि कल्पित खप्पिस देखिन्छन् । उनले ‘उहाँहरू आउनुभो मम्मी ?’ शीर्षकको कथामा जनयुद्धको समयमा एम्बुसमा परी मरेका क्याप्टेनको पर्खाइमा बसेकी प्रेमिकाको मानसिक चोटलाई मार्मिक रूपमा प्रस्तुत गरेका छन् ।
शीर्षकथा ’ग्याब्रियले’ जापानी परिवेशमा रचिएको कथा हो । यसमा जापान र नेपालका सामाजिक, सांस्कृतिक, कानुनी पक्षहरूका साथमा मानवीय स्वभावको समेत तुलनात्मक चित्रण पाइन्छ । यस कथामा श्रीमान् थोमसलाई छाडेर छोरीलाई च्यापी हिँडेकी मिकाले उल्टै नचाहिँदो आरोप लगाएर सम्बन्धविच्छेद तथा कुटपिटको मुद्दा दर्ता गरेको सन्दर्भमार्फत नारीबाट उत्पीडनमा परेका पुरुषको अवस्थालाई देखाइएको छ ।
‘मेरी प्यारी छोरी’ शीर्षकको कथामा नेपाली समाजमा भएको लैंगिक विभेदलाई देखाइएको छ । छोराप्रतिको मोह र छोरीप्रतिको वितृष्णालाई यस कथाले विषयवस्तु बनाएको छ । यसमा गर्भमै छोरीलाई मार्ने योजनाप्रतिको सजकता र नारी अधिकारको वकालत गरिएको छ ।
‘कृष्ण सर’ शीर्षकको कथामा कृष्ण सर र सुशीलाबीचको प्रेम सम्बन्धलाई देखाइएको छ र उनीहरूको वैवाहिक सम्बन्धमा वर्गीयताले कुनै असर नपारेको सन्दर्भलाई यस कथाले पुष्टि गरेको छ ।
‘अनिमा’ शीर्षकको कथाले अनिमा र विवेकको प्रेम सम्बन्ध, विवाह, सन्तानप्राप्ति तथा आदर्श सम्बन्धलाई देखाएको छ । तर, विवाहको पाँच वर्ष नबित्दै श्रीमान् विवेकको हवाई दुर्घटनामा परी मृत्यु भइसके पछाडि बोक्सीको आरोपमा सासूलगायत परिवारका अन्य सदस्यले गरेको दुर्व्यवहार सहन नसकी माइतीमा बसेकी अनिमाको स्मृतिलाई यसको विषयवस्तु तथा पृष्ठभूमि बनाइएको छ ।
संग्रहभित्रको ‘केईको सेनसेई’ जापानी परिवेशमा आधारित कथा हो । जापानीहरूको यथार्थतालाई यसमा चित्रण गरिएको छ । लेखक जापानमा बस्दै आएका र जापानमै भाषा सिक्दै गरेको सन्दर्भलाई म पात्रको माध्यमबाट प्रस्तुत गरिएको हुनाले यथार्थ र कल्पनाको मिश्रणका रूपमा यसलाई लिन सकिन्छ ।
‘भ्रमजाल’ शीर्षकको कथा भने अमेरिकी परिवेशमा लेखिएको कथा हो । यसमा प्रेमलाई नै विषय बनाइएको छ ।
‘एडमको प्रेम’ फरक विषयवस्तुलाई उठान गरिएको कथा हो । यसमा तेस्रोलिंगीको समस्यालाई कथाको विषय बनाइएको छ ।
कल्पितका १३ वटै कथा फ्ल्यासब्याक अर्थात् पूर्वदीप्ति शैलीमा लेखिएका छन् । पात्रहरू अतीतको स्मरणमा पुगेर घटनाको बेलीविस्तार लगाउँछन् । कतिपय कथामा यसले पाठकमा अन्योल सिर्जना गर्ने परिस्थिति पनि देखिन्छ ।
विषयवस्तुमा विविधता र लेखनमा आलंकारिकताको कमी हुँदाहुँदै पनि उनका कथा कौतूहलपूर्ण छन् । वर्णविन्यास तथा आदर एवम् तिर्यकीकरणमा देखिएका त्रुटिले यसप्रति सचेत पाठकलाई कतैकतै बिथोल्ने सम्भावना देखिए पनि अर्थको अनर्थ लाग्ने स्थिति भने छैन ।
उनका कथाहरूमा प्रथम पुरुष दृष्टिविन्दुभन्दा तृतीय पुरुष दृष्टिविन्दुको प्रयोग बढी पाइन्छ । यसले घटना तथा विषयलाई सर्वदर्शी बनाएको छ । कथासंग्र्रहको शीर्षक मात्रै हेर्दा सबै जापानी परिवेशका कथाको सँगालो हो कि भन्ने भ्रम पर्ने भए तापनि कथाभित्र प्रवेश गर्दा ती छर्लंग हुन्छन् । परिवेशका हिसाबले हेर्दा यसमा जापानीभन्दा नेपाली परिवेशका कथाको आधिक्य देखिन्छ । त्यसमा पनि ग्रामीण जनजीवनभन्दा सहरी जनजीवनलाई बढी प्रश्रय दिइएको छ । मूलतः प्रेम नै कथाका विषय बनेका छन् ।
प्रेमका चास्नीभित्र वर्गीय विभेद, सामाजिक, भौगोलिक विभेद, लैंगिक विभेद, राजनीतिक विकृति र विसंगतिमाथि प्रहार गरिएको छ । कल्पित यी कथाभित्र मानवता, भाइचारा र आत्मिक प्रेमका पक्षधर बनेर उभिएका छन् । निःस्वार्थ प्रेमको शक्तिका माध्यमबाट जीवन पढाउँदै शालीन क्रान्ति गर्ने कल्पितका कथामा वर्गीयता, राष्ट्रप्रेम, आध्यात्मिक चिन्तनसँगै प्रेम, आस्था र आदर्शको प्रतिविम्ब समेत प्रस्तुत भएका छन् ।