यो पुरस्कारका लागि होइन भन्नुमा निहितार्थ यो छ, सरकार ढालेर सत्तासीन हुन होइन भने पनि सरकार ढाल्नुको मकसद त्यही हुने गरेजस्तै हो यो । ध्यान रहोस्, यो भनिसकिएको छ– यो पुरस्कार प्राप्तिका लागि लेखिएको होइन ।
यसमा एउटा अपवाद छ । कसैले पुरस्कार दिन चाहेमा ? त्यसमा स्वागत छ । दोहोर्याएर भन्न सकिन्छ— स्वागत छ । तर, पुरस्कार यसलार्ई कसले दिन्छ ? दाता कोही निस्किदेला जस्तो छैन । पारिश्रमिक पाउने नपाउने सुनिश्चित छैन भने पुरस्कार ?
जसले पुरस्कार पाउनै सक्दैन उसले पुरस्कारका लागि होइन भन्नु हास्यास्पद हुने त भो नि ! यहाँ पनि एउटा अपवाद लागु गर्न सकिन्छ, यी पंक्तिका लेखक पुरस्कारको लोभी होइन, स्वेच्छाले कसैले दिइहाल्छ भने विनम्रतापूर्वक त्यो ग्रहण पंक्तिकार तयार छ ।
तर, यहाँ पनि यो र यस्तो ‘तर’ धेरै ठाउँ लाग्न सक्छ । मलाई यो नठानियोस्, पुरस्कारको लोभी रहेछ र त पुरस्कार पाउन लेख्दिनँ भन्छ । रे भाइ, जसले पुरस्कार देला – तिमीलाई मात्र ताकेर देला कि अरूलाई छानेर पनि देला ? छनोटमा तिमी नपर्न पनि सक्छौ ।
पुरस्कार एउटा आकर्षक वस्तु हो । यसको पनि आफ्नै गठबन्धनको राजनीति छ । त्यसै घरबाट बामे लाएर नगदसहित एउटा दोसल्ला, एउटा प्रशस्तिपत्र र केही दिनमै ओइलाएर झरी जाने भए पनि महँगो फूलको माला दिँदैन । कतैकतै दुलहाले दुलहीलाई र दुलहीले दुलहालाई लगाइदिने सिताराले सज्जित झकिझकाउ दुबोको माला पनि पहिर्याएको देखिएको छ ।
पछि गएर दुबोझैँ सदा सम्बन्ध हरियो रहोस् भन्ने शुभकामना हराएर दुलहा र दुलहीमा फाटो परेपछि डिभोर्सको नौबत आओस्, त्यो बेग्लै कुरो । तर, दुबोको माला भित्तामा फ्रेमभित्र सुकेर टाक्सिएको हुन्छ र आफ्नो दुर्भाग्यमाथि भित्रभित्र रोइरहेको हुन्छ । यसले यो साबित हुन्छ, अचेल विवाह पनि यो दल वा त्यो दल, त्यो दल वा यो दलसँग लसपसिएर गरिने गठबन्धको स्वभावको भएको छ ।
गठबन्धनका कारण तोडिएको विवाहले दुबोलाई पनि सुकाइदिन्छ । यो पाठ सिक्न सकिन्छ । वस्तुतः पाठ धेरै कुराबाट सिक्न सकिन्छ । जस्तै, यो आलेखमा भनियो– पुरस्कारको आवश्यकता छैन । तर, त्यति ठाडो भाषामा भनिएको छैन, तापनि आशय त्यही हो ।
तर, भाषिकस्तरमा मान्य गराउन सकिने स्पेस यहाँ यो छाडिएको छ, यो भनाइले अन्यथा नलागेमा— यो पुरस्कारका लागि लेखिएको होइन, तर सहृदयतासाथ वा कृपापूर्वक दिनुहुन्छ भने ग्रहण गर्न तयार छु ।
मतलब यो हो, पुरस्कारका लागि लेखिएका यस पंक्तिकारका अन्य कृति प्रशस्त छन्, तर तिनलाई पुरस्कारयोग्य नमानिएपछि निराश पंक्तिकारले यसलाई मात्रै पुरस्कार दिएर उपकृत नगर्नुहोला भनेको हो ।
अर्कोतिर ठाडो भाषामा यो पनि भन्न सकिन्छ— पुरस्कार नचाहिने भनेर ज्ञापित यस आलेखका लागि, सम्पादक नरिसाउने हो भने विनम्रतापूर्वक निवेदन यो गर्न चाहन्छु कि यसको पारिश्रमिक पनि पाउन गारो छ त पुरस्कारको कुरा टाढै छ ।
एउटा कुरो म यहाँ पहिले नै भनिराख्न चाहन्छु कि यो लेख सम्पादकलाई उत्तेजित गराएर पारिश्रमिक पकेट्याउन लेखिएको होइन । यति मात्र यो भन्न लेखिएको हो कि सरकारले सिजनमा उखुको गहुँको र धानको समर्थन मूल्य घोषणा गरेर त्यहीअनुसार किसानलाई पैसा उपलब्ध गराउन सक्छ भने लेखकका लागि पनि समर्थन पारिश्रमिक किन घोषणा गर्दैन ?
उसरी मैले आजै बिहान एउटा समाचार पढेँ— घरमा किन घोडाको तस्बिर झुन्ड्याइन्छ ? सफलता र आम्दानी बढाउन भनेर रहेछ ।
कुनै ज्योतिषीलाई सोधेको त होइन, तर हाम्रा राशिहरूमा अश्व राशि त छैन । मकर वा वृष वा अरू एकदुई पशुपन्छीसँग मेल खाने राशि होलान्, तर घोडाकै तस्बिर किन झन्ड्याउनुपर्यो भाग्योदयका लागि ? प्रसंग नमिलेको पनि हुनसक्छ । तर हेर्नोस्, मैले त्यो पढेपछि यो आलेखको शीर्षकमा घोडाको तस्बिर टाँस्ने विचार गरेको थिएँ । तै त्यो विचारलाई मैले त्याज्य ठानेँ, जब यो आलेख पुरस्कार लागि होइन भनेपछि आलेखलाई घोडाको मुन्तिर किन राख्ने भन्ने विचार आयो ।
यसै पुररस्कारविहीन लेखक भइएको छ भने रेसको घोडा वा उन्नत जातको पाल्ने क्षमता भएको लेखक भनेर किन घोडाको तस्बिर राखेर आफ्नो विज्ञापन गर्ने ? घोडाको ठाउँमा गधा वा खच्चडको फोटो राख्ने म मूर्ख होइन ।
त एउटा अर्को सोच यो आयो, जिउँदै घोडा पाले भो नि ! तस्बिरको घोडाले त राम्रो भाग्य घरभित्र ल्याउँछ भने जिउँदोले त घरै भरिने गरी अटेसमटेस नोटको वर्षा गराउन सक्ला ? तर, जिउँदो घोडा पाल्नु अचेल असम्भव छ ।
मान्छेको पेटको लागि त चारो उपलब्ध गर्न कति मिहिनेत–मसक्कत गर्नु पर्छ भने एउटा सिंगै जिउँदो घोडा पाल्न हात्ती पालेभन्दा कम हुने होइन । पहिलेपहिले कसका पालामा हो, गरिबसँग बदला लिनु छ भने उसको ढोकामा हात्ती बाँधिदिन्थे रे — ‘लौ तँलाई हात्ती बकस भो’ भनेर ।
यो उडाइएको श्रुतिपरम्परा पनि हुनसक्छ । जंगली हात्तीहरूले त अचेल मोफसलतिर उधुम मचाएका छन् । नालीबाली फाँड्नेदेखि मान्छेलाई दुई फ्याक पार्नेसम्मका खबर आइरहेका छन् ।
म पनि यतातिर केही सोच्दै छु– घोडा पालौँ कि हात्ती ? यसमा कुनै तुक छैन । न हात्ती न घोडा कुनै पनि पाल्ने औकात मेरो छैन । औकात माने हैसियत । कुकुर त पाल्न सकिएको छैन, भुस्याहा कुकुरलाई लात्तले हान्नुबाहेक !
उसरी टीभीमा विज्ञापन देखिन्छ, राम्री युवतीले कुकुरको कान चाटेर हाँसिरहेको । मैले यो त भन्न सक्दिनँ— तिमी कुकुरलाई नचाट, मलाई चाट । कुकुरझैँ युवतीको काखमा बसेर लुटपुटिन पाउने सौभाग्य जसको छैन, उसले युवतीबाट ठूलो आस के गर्न सक्छ !
भनाइ यत्ति— मैले पनि त्यस्तै एउटा झ्यापुल्ले कुुकुर पालेर कारमा राखेर डुल्न निस्क सकूँ । तर, जब आम्दानीको स्रोत केही भइहाल्छ कि भन्ने मौकामा मति बिग्रेर यस्तो भनेको छु, ‘यो पुरस्कारका लागि होइन’ त झ्यापुल्ले कुकुर र कारको सपना कसरी पूरा होला ?
थोपाथोपा भरिएर समुद्र बन्छ भन्छन् । मलाई समुद्र चाहिएको छैन । आफ्नै हिमालमा हिउँ गायब भएर कालानिला हुन लागेको बेलामा मेरो चिन्ता यतैतिर छ । सानासाना थोपाले समुद्र भरिन्छ भनेपछि मेरा हिमालका हिउँ त स्वाट्टै बगेर समुद्रमै गए होलान् ?
त्यस्तै सानासाना पुरस्कार सोहोरेर ठूलै राशि बन्छ भन्नेतिर मेरो दिमाग लागेको छैन । कुन्द छ । भनाइ पनि छ नि— हामीसँग सरकार बनाउने बिगार्ने म्याजिक नम्बर छ भन्ने । खै अचेल त्यो अल्लादिनको चिरागजस्तो म्याजिक नम्बर ? त्यो अशक्त भएर इमर्जेन्सी वार्डमा भर्ना भएजस्तो छ । खाली मैले कराएजस्तो तात्तो न छारो चिच्याइरहेको सुनिन्छ, ‘सरकार ढल्छ !’ यत्तिले नपुगेर थपमा यो पनि भनिन्छ, ‘यो सरकार आफैँ ढल्छ !’
तर हेर्नोस्, ठाउँठाउँ ‘तर’ नै आइरहेछ । उता सत्ताकाले भनिरहेछन्– ‘सरकार कुनै हालतमा ढल्दैन ! चौरासीसम्म जान्छ ।’ यो नसोचौँ, चौरासी वर्षको उमेरसम्म चल्ने । मानिस मात्रमा चौरासी वर्षको उमेर हुन्छ । सरकारको त के छ र, आज यो छ भोलि अर्को । सरकार चौरासीसम्म जानु भनेको बाँकी चौरासी वर्षसम्म यही सरकार चल्छ भनेको होइन । (वाह, क्या विद्वत्ता !)
तर, ‘सरकार ढल्छ’ र ‘सरकार ढल्दैन’ भन्ने वादप्रतिवादमा सस्पेन्स, थ्रिलर र हरर तीनै थोकको स्वाद छ है । यो बुझ्नोस् । हामीलाई त के छ र, तेह्र मज्जा चौध स्वाद एउटै ठाउँमा भनेझैँ सरकार र प्रतिपक्षको दोहोरीले सस्पेन्स, थ्रिलर र हरर तीनैको मज्जा दैनिक रूपमा प्राप्त भइरहेछ ।
छिमेकमा पकाएको खसीको मासुको मसालेदार बास्ना सुँघेर गुन्द्रुक–भात थप्दै दाबेजस्तो भइरहेछ ।
तर, शीर्षकको जस्टिफाई यसैमा छ — ‘यो पुरस्कारका लागि होइन’ । तर, कसैले दिन्छ भने लिन इन्कार गरिन्न । जस्टिफिकेसन यही हो ।