यी डाँडा–काँडा हिजो जस्तै छैनन्,
यहाँ कुइरो लागेको छ ।
एक रातमै असंख्य उद्भिद्हरू मरे होलान्,
तर उम्रिए पनि होलान्
जसको लेखा छैन ।
बैगुन पोलेर सेलाई
भूगोलका गुरुले दिनुभएको प्रमाण,
मलाई हिजो जस्तै लाग्छ ।
सांसारिक कीराहरूका अत्याचारले पनि
यसलाई नमार्न सकेको छ,
धुक्धुकी यसको अझै छ ।
मलाई सगरमाथाको सम्झना हुन्छ,
फुजियामा, भिसुभियस र रकीको याद आउँछ,
एटना र स्ट्रम्बला सम्झन्छु,
अनि डाँडा–काँडालाई सम्झन्छु
टिठ लाग्छ ।
तिनीहरू झैँ
यिनले क्रान्ति मच्चाएनन्,
विध्वंशात्मक बनी आफू नामी हुन पनि चाहेनन् ।
अन्तर ज्वालालाई
प्रकट नगरी लाभाको रूपमा
भित्र–भित्रै शमन गर्ने
यी महात्माहरू—
हिजो जस्तै छैनन्,
यहाँ कुइरो लागेको छ ।
यी नामी,
अक्कासिएका डाँडाहरूसित मेरो प्रश्न छ—
खोई तिमीहरूले के गर्यौ ?
हिउँको टोपी ओडेर
अथवा,
त्यहाँ विराजित बनेर
शंकरको प्रतिरूप,
गंगाको सट्टा लाभा उछिट्याएर
कुन भगीरथका सन्तानलाई कल्याण गर्यौ ?
सगरमाथा, तिमी भनौला—
जम्बुद्वीपको म त भाग्यविधाता,
त्यस्तै भन्लान् अरू—
मानिसको हुँ म दिने चेतना,
तर हेर अघि, त्यसको तिमी
आफ्नै भाग्यविधाता !
हेर—
हुन्नौ तिमीहरू हिजो जस्तै
जब त्यहाँ कुइरो लाग्छ,
एक क्षणमै अवसान सबकै
जसको लेखा छैन ।
यी डाँडा–काँडा हिजो जस्तै छैनन्,
यहाँ कुइरो लागेको छ ।
एक रातमै असंख्य उद्भिद्हरू मरे होलान्,
तर पनि उम्रिए होलान्,
जसको लेखा छैन ।
(कवि ‘गुमानसिंह चाम्लिङका केही कविता’बाट)