‘कुलुङ जहाँ अरूण नदीको लहर गनेर मैले आफ्ना धेरै परिचित अनुहारलाई बिर्सने बाध्यता स्वीकार गर्नु पर्यो र नै ‘तुलसा’ मेरो मुटुमा गाँसिई सिमलको रातो फूल भएर...’
यी हरफहरू मेरो उपन्यास ‘सबै बिर्सिएका अनुहारहरू’बाट सापटी लिएको हुँ, जुन उपन्यास पूर्णरूपमा मैले भोजपुर जिल्लाको उत्तरी क्षेत्र कुलुङ बस्दा लेखेको हुँ ।
२०२१ सालमा प्राइभेट परीक्षार्थीका रूपमा मैले बी.ए. पास गरेपछि नेपाल राष्ट्र बैंकमा जागिर खाइ आफ्नै गाउँमा भोजपुर बजारमा सरुवा लिएको थिएँ । बैंकको जागिर राम्रो थियो ।
त्यसबेला हरेक हाइस्कुलको हेडमास्टर हुन बी.ए. पास भएकै चाहिने नियम आएकाले के कसरी हो मलाई विभिन्न ठाउँहरूबाट हेडमास्टर हुन आग्रह गरियो । म २०१५ देखि विभिन्न स्कुलहरूमा मास्टरी गर्दागर्दा, सधैँ पढाउने काम गर्दा–गर्दा थाकेको थिएँ ।
राष्ट्र बैंकमा यसो सुस्ताउन थालेको थिएँ, बुइपा, याकु र कुलुङबाट एकै पटकजसो हेडमास्टरी खान बोलाइयो । मासिक रु. ५०० तलब, खान बस्न फ्री र ट्युसनको लोभ ।
जुनबेला सुन एक तोलाको रु. २०० थियो । अहिले तोलाको रु. ५५–६० हजार भएको हिसाब गर्दा लगभग रु. डेढ लाखको मासिक तलब भन्नु पर्यो ।
कुन तृष्णाले हो थाहा छैन– म राष्ट्र बैंक छाडेर कुलुङ जाने भएँ । साथीभाइले तर्साए, बैंकको जागिर छाडेर कोही गाउँ, कुना जान्छ !
तर म दृढ थिएँ, सिर्जनशील साहित्यिक व्यक्ति भइसकेको थिएँ, सधैँ आम्दानी खर्चको जोडघटाउ गरिरहन मन लागेन । शायद नियतिले मलाई कता डोर्यायो–जीवनको नयाँ मोड र शैली खोज्न ।
त्यस ठाउँले मलाई अनेक पात्रहरूसँग भेटायो । ‘बिर्सिएका अनुहारहरू’ मात्र लेखाएन, ‘तारिका– यौटा मौन रुख’, ‘फेरि आक्रमण’, ‘मेलाबाट फर्कंदा’ जस्ता मेरो साहित्यिक जीवनका मानक कथाहरू पनि लेखायो ।
एउटी मास्टर्नी तुलसाको जीवन–चरित्रमा मैले त्यहाँ बसेर ‘बिर्सिएका अनुहारहरू’ उपन्यास लेखेँ ।
तल्लो जातको ठूलो कान्छा र माथिल्लो ब्राह्मण परिवारकी छोरी ‘तुलसा’ को प्रेम, स्नेह, जातीय छुवाछुत, तत्कालीन जनजीवन, दुवैले भोग्नु परेको पीडा आदिलाई फ्ल्यासब्याकीय शैलीमा लेखिएको सो उपन्यास ‘साझा प्रकाशन’ले धेरै संस्करण छाप्यो ।
त्यसबेलामा पाठकहरूको प्रिय उपन्यास थियो यो । उक्त उपन्यासका अन्तिम केही हरफ यहाँ उल्लेख गर्न मन लाग्यो :
“... ठूलो कान्छा ! उसको हँसिलो अनुहार सम्झनासाथ मलाई त्यस सिमलको रुखको सम्झना आउँछ । जो मेरो आँगनमाथिको बारीमा थियो र जसलाई हेर्न म औधी रुचाउँथे । त्यसका राताराता फूलहरू थिए र त्यसका मसिना भुवाहरू । हावामा उड्ने सपनाको कुरा गर्दा मलाई आफ्नो जीउ त्यही सिमलको रुख भएको अनुभव हुन्थ्यो र म चाहन्थेँ– मेरो हृदयबाट पनि यस्तै रातो फूल फुलोस्....।”
अनि इर्खु वा खोलाको एउटा ठिङ्ग उभिएको रुखलाई देखेर एक साँझ मलाई कथा फुर्यो । खोला र त्यही रुखलाई स्त्री र पुरुष बनाएर मैले सो कथा लेखेँ । एउटी नारी– खोला र तारिका रुखलाई पुरुष बनाएर लेखिएको कथा हो– ‘तारिका ः यौटा मौन रुख’ ।
नारीरूपी खोला पुरुषत्वको आह्वान यी हरफहरूमा यसरी गर्छ– “तिम्रो मौनता मलाई घोच्छ बद्रीमान । म चाहन्छु– कथाको राक्षस भएर तिमी आक्रमण गर मलाई– आफ्ना धारिला पातहरूलाई तरबार बनाएर । म त थुनिन चाहन्छु । म सीमित हुन चाहन्छु । मलाई बाँध बाँधिदेऊ । मलाई पखाली देऊ । कत्ति हेछ्र्यौ तारिका ! यौटा मौन रुख भएर ।”
कुलुङको पृष्ठभूमिमा, त्यहाँका पात्र–पात्रालाई (जो यथार्थ थिए) लिएर मैले त्यहाँ नै लेखेको कथाले मेरो जीवनको मोड नै बदलियो । सो कथा हो– ‘फेरि आक्रमण’ । मैले यस कथाको पृष्ठभूमि वा रचनागर्भ यसरी लेखेको छु, जो मेरो पुस्तक ‘कथा र रचनागर्भ’ मा संग्रहित छ :
‘फेरि आक्रमण’ कथा लेखेको लगभग ३५ वर्ष भयो । त्यस समय म भोजपुरको उत्तरी क्षेत्र कुलुङमा थिएँ । त्यो क्षेत्र दुर्गम थियो, अहिले पनि खास फरक के होला र !
सो कथा मैले नेपाली साहित्य संस्थानको कथा प्रतियोगितामा पठाएको थिएँ, जो प्रथम भयो । सो पुरस्कार लिन म झापा पुगेको थिएँ र श्री केदारमान ‘व्यथित’सँग भेट भयो ।
मलाई काठमाडौं बोलाई जागिर दिनुभयो, साहित्यिक क्षेत्रमा सदैव प्रेरणा दिनुभयो । क्रमशः मैले सरकारी जागिर खाएँ, देश विदेश घुमेँ । काठमाडौंमा घर बनाएँ, छोरा–छोरीलाई राम्रो शिक्षा दिन सकेँ र आज सेवा निवृत्त जीवन बिताउँदैछु ।
त्यहाँ सो कथा नलेखेको भए शायद मेरो जीवन माष्टरीमा नै बित्थ्यो होला, भोजपुरमै बस्थेँ हुँला र अहिलेसम्म मरिसक्थेँ हुँला । यसैले कुलुङ मेरो भाग्य वा कर्म गाँसिएको माटो भयो ।
नेपाली साहित्यमा निक्कै चर्चित यौनकथा ‘मेलाबाट फर्कंदा’ पनि कुलुङकै उपलब्धि हो । त्यहाँ लगभग दुई वर्ष बस्दा हाट मेला भर्न दिङ्गला बजार गइन्थ्यो । त्यहाँको हाटबजार विचित्रको हुन्थ्यो । त्यस्तै मेलाको रंगीन तस्बिर अर्थात् जबर्जस्ती यौन शोषणको पात्रा कुलुङकै कुनै तरुनीलाई, उनको मनस्थितिलाई लिएर मैले सो कथा लेखेको हुँ, सत्य घटनामा आधारित छ ।
कुलुङ बस्दाका अनेकौँ सानातिना घटना र प्रसंगले मलाई धेरै साहित्यिक ऊर्जा दिएको थियो । त्यहाँको शोषण, गरिबी, अभाव र महँगीले पनि मेरो कथाकारलाई ब्यूँझाएको हो ।
यसरी मेरो लेखनको पहिलो पाठशाला वा यन्त्रशाला कुलुङ हो– जो मेरो गर्वको विषय हो अनि त्यसको खास माध्यम बन्यो, ‘श्री वीरेन्द्र हाइस्कुल’ ।
कुलुङ बस्दाको मुख्य विषय थियो– सो हाइस्कुल र त्यहाँका मेधावी विद्यार्थीहरू । स्कुल संचालन र विकासका लागि तत्कालिन सचिव डम्बरबहादुर बस्नेत, सूर्यबहादुर बस्नेतबाट मैले ठूलो आड भरोसा पाएँ । यी दुई त्यहाँका अत्यन्त शिक्षाप्रेमी, समाजसेवी र उदार व्यक्तिहरू थिए ।
सूर्यबहादुर बस्नेतले स्कुल सञ्चालनका लागि शिक्षा कार्यालयमा विशेष कागज गरेर कुलुङमा हाईस्कुल लगेको चर्चा सुनेको थिएँ, तत्कालीन शिक्षा निरीक्षक भवानीप्रसाद गौतमबाट ।
स्कुलको भौतिक, शैक्षिक र विद्यार्थीहरूको मानसिक विकासका लागि म पनि प्रतिबद्ध थिएँ, लागिपरेको थिएँ । धेरै विद्यार्थीहरूको अनुहार अहिले पनि मेरो दिमागमा आउँछन् ।
मैले सम्झेका केही नामहरू लेख्छु– पवन आलोक, दिनेश बस्नेत, स्व. इन्द्र कार्की र स्व. नरबहादुर बुढाथोकी, दानबहादुर अधिकारी, उमा बस्नेत, प्रमिला बस्नेत, मोहन बस्नेतलाई केही समय विद्यार्थीको रूपमा पाएको हुँ ।
अन्य धेरै अनुहारहरू छन्– मैले सम्झनै पर्ने । आज आफूले पढाएका भाइ–बहिनीहरू राष्ट्रको उच्च ओहदामा पुगेको, राष्ट्रव्यापी नाम कमाएको, सम्पन्न भएका, देश–विदेश गएको थाहा पाउँदा मलाई ठूलो गौरवको अनुभूति हुन्छ– छाती फुलेर आउँछ ।
त्यसमा पनि आफू स्रष्टा भएकाले कवि, नेपाल स्रष्टा समाजका अध्यक्ष, योगमाया राष्ट्रिय नारी स्रष्टा पुरस्कारका संस्थापक पवन आलोक मेरा मानस पुत्र नै हुन् भन्ने मलाई लागिरहन्छ ।
कुलुङका यी र यस्तै उपलब्धिहरू मेरो जीवनका सार्थक र अग्रगामी पक्षहरू हुन् । आज म जे छु त्यसमा कुलुङको प्रत्यक्ष अप्रत्यक्ष योगदान छ ।
केही वर्ष भोजपुरको त्यस बेलाको अति दुर्गम क्षेत्रमा बसी शिक्षा र समाजको विकासमा सहभागी भएँ भन्ने विषय मेरो जीवनको यौटा महत्वपूर्ण उपलब्धि मैले ठानेको छु ।
(कथाकार परशु प्रधानको संस्मरणात्मक कृति ‘जिन्दगीका मोडहरू’बाट ।)