काठमाडौं । सपनाको झोलामा कलाकार बन्ने रहर पोको पारेर भूपू (पाण्डे)ले दाङबाट काठमाडौंको गाडी समाउँदा सोचेका थिए– गायक या सिनेमाको कलाकार बनेर गाउँ फर्किने हो । भिन्न परिचय बनाएर नाम रोसन गर्ने हो ।
सपना देख्नु एउटा कुरा, त्यसलाई पाउनु अर्कै कुरा । सपना देख्न संघर्ष गर्नु पर्दैन, तर त्यसलाई भेट्टाउन अनगिन्ती वक्र रेखाहरूको यात्रा तय गर्नुपर्छ । तरेलीहरू छिचोल्नुपर्छ । भूपू काठमाडौं आएपछि बल्ल उनले थाहा पाए, उनी कति अन्तरमुखी छन् । अन्ततः भूपूको अन्तरमुखी स्वभाव नै उनको रहरको बाधक बन्यो ।
कसरी ?
“काठमाडौं आउँदा कि गायक बन्छु कि चलचित्रमा अभिनय गर्ने कलाकार बन्छु भन्ने थियो । यदि, यो सपना नहुन्थ्यो भने सायद म काठमाडौं नआउन पनि सक्थेँ,” भूपू आफ्ना बितेका दिनतिर फर्किन्छन्, “गायक बन्छु अथवा चलचित्रको कलाकार नै बन्छु भन्ने थियो, त्यही भएर म काठमाडौं आएको हुँ ।”
उनलाई आफ्नो रहरको भर्याङ चढ्न कसकसलाई भेट्नुपर्छ भन्ने भलिभाँती जानकारी थियो । गायक, सिनेमाका कलाकार, निर्देशक अधिकांशको नाम थाहा थियो । तर, उनी भेट्न जान लाजले सकेनन् । थिए नै अन्तरमुखी स्वभावका ।
‘म गीत गाउन सक्छु, गाउन दिनुस् न’ भनेर कसैलाई भेट्न जान सकेनन् । ‘मलाई अभिनय गर्न मन लाग्छ, मलाई सिनेमामा खेल्ने अवसर दिनुस् न’ भनेर निर्देशक र निर्मातासँग आग्रह गर्न जान सकेनन् ।
अनि ?
आरआर कलेजमा संगीत पढ्न भर्ना भए । रहरको बाटो हिँड्न सुरको सीप सिक्ने निर्णय गरे । शैक्षिक योग्यताको फेरो समाएर संगीतको भोक मेटाउने गोरेटोको यात्रा सुरु गरे ।
“जब मैले संगीत पढेँ, त्यसपछि चलचित्रको पार्श्व गायनमा भने मेरो स्वर फिट नहुने रहेछ भनेर थाहा पाएँ,” भूपू आफ्नो सीमितता निर्धक्क सुनाउँछन् ।
२०७० सालदेखि उनले गाउन सुरु गरे । सरस्वती वन्दनाबाट भूपूले गायनमा आफ्नो स्वर खोले । भजनमण्डलीसँग देशका धेरै स्थानमा पुगे । त्यसको प्रभाव पर्ने नै भयो । ०७२ को पात्रो पल्टिँदा उनको पहिलो एल्बम निस्कियो । नाम थियो, मोक्षपथ । सात भजनका सुरमा उनको स्वर मिसिएको थियो ।
संगीतको सुरको दायराबारे उनको ज्ञानको चक्षु खुल्दै गयो । सुरमा स्वर फैलिन थाल्यो । उनको स्वर पनि भिन्नभिन्न फर्म्याटका गीतमा मिसिन थाल्यो । कहिले लोक, लोकपप, आधुनिक त कहिले सेमिक्लासिकल सुरमा स्वर मिसाए । कहिले निराशाजनक, सन्तोषजक त कहिले उत्साहजनक परिणाम हात पारे । अनि, एकाधमा त अनपेक्षित परिणाम पनि ।
किशोरावस्थामा देखेको एउटा सपना पूरा गरे, गाउने । ‘भाइरल’ गायकको पनि अनुभूत गरे । ‘लै ले बरै’बाट भूपूले गीत आमस्रोताले सुन्दाको प्रतिक्रिया र मायाको अनुभव कस्तो हुन्छ भन्ने महसुस गरे । ‘पिरैपिर’बाट गीत भाइरल हुँदाको अथाह माया पाए ।
गीत भाइरल भयो । अनगिन्ती फोन कल र म्यासेजको बाढी आयो । स्टेज कार्यक्रमका लागि फोनहरू आउन थाले । केही स्टेज पफर्मेन्स पनि गरे । तर, मेलामहोत्सव र स्टेज कार्यक्रममा आफूले दिएको प्रस्तुतिले उनलाई सन्तुष्टि दिएन ।
किन ?
“सायद म स्टेज पफर्मेन्सका लागि बनेको सर्जक होइन । लाइभ इन्स्ट्रुमेन्टबिना गाएको गाएजस्तै लागेन,” भूपू भन्छन्, “म आफैँ वाद्यवादकका रूपमा वर्षौँसम्म काम गरेकाले पनि होला, लाइभ म्युजिक बजाउने वाद्यवादकको अनुहार हेर्दै गाउन पाए कस्तो हुन्थ्यो भन्ने लाग्छ ।”
कतिको आग्रहलाई नकार्न सकेनन्, गए । गाए । तर, उनी आफैँ सन्तुष्ट हुन सकेनन् । त्यसपछि उनले भन्न थाले– सरी । दर्शकसँग प्रत्यक्ष भेट हुन्छ, आफ्ना गीतको प्रतिक्रिया पाइन्छ । दर्शकको मनोविज्ञान बुझ्न पाइन्छ, थोरबहुत आर्थिक लाभ पनि हुन्छ । तर पनि उनलाई चित्तै बुझेन ।
“सायद म एकलकाँटे छु । एक्लै बसेर सिर्जनामा रमाउने सर्जक हुँ । थाहा छ, यो मेरो कमजोरी हो,” भूपू भन्छन्, “कुनै दिन म यो पनबाट बाहिर आउन सकेँ भने दर्शकमाझ मेलामहोत्सवमा आउनेछु । अहिलेलाई सरी नै भन्नुपर्ने भयो ।”
अक्सर आफ्नै घरबाट यस्तो गुनासो आउँदा भूपूलाई अलि बढी पीडा हुन्छ । गाउँठाउँका व्यक्तिले उनका बुवाआमालाई ‘भूपू हामीले भनेको मान्दैन, हामीले बोलाएको कार्यक्रममा आउँदैन’ भन्ने गुनासो गर्छन् । घरबाट सुनाइन्छ, उनलाई थप दर्द हुन्छ । तर पनि उनलाई शान्तपनको लोभले छोड्दैन । एक्लै बसेर सिर्जनाको लहरीमा लहरिने चाह उत्रिएको छैन । त्यसकै वरिपरि घुमिरहेका छन् ।
गीत गाउने रहर पूरा भयो । भलै, जिन्दगी नै यसमा बिताउनु छ । नयाँनयाँ प्रयोग गर्दै अगाडि बढ्नु छ । यसका निम्ति उनी तयार छन् । सुनाउँछन्, “अबको उद्देश्य नै यही हो । लोकलयमा अलि बढी काम गर्ने मन छ । गाउँगाउँ पुगेर लोकभाका संकलन गर्ने रहर छ ।”
गाउँमा छँदा पलाएको सिनेमामा काम गर्ने रहर भने पूरा भएको छैन । थोरै लाज र संकोचको घुम्टो अझै उग्रिएको छैन । सिनेमामा कामको खोजीमा अझै निस्किन सकेका छैनन् । भलै, आफ्ना गीतमा उनी क्यारेक्टर आर्टिस्टमा काम गरिरहेका छन् ।
“गाउँमा सिनेमा हेर्दा मलाई कलाकार बन्ने रहर पलाएको थियो । तर, हिरो होइन – क्यारेक्टर आर्टिस्ट बनेर काम गर्ने रहर हुन्थ्यो,” भूपू विगतका रहर कोट्ट्याउँछन्, “सिनेमाको हिरोले मलाई कहिल्यै आकर्षित गर्न सकेनन् । त्यहाँका चरित्र अभिनेताहरू मेरा प्रिय पात्र हुन्थे । अनि, म पनि त्यस्तै कलाकार हुन्छु भनेर काठमाडौं आएको थिएँ ।”
भूपूमा यो रहरको पारो अहिले पनि अलिकति ओर्लिएको छैन । उनी भन्छन्, “अहिले पनि त्यस्ता चरित्र पाए म खुसीखुसी काम गर्न तयार छु । सक्छु/सक्दिनँ त्यो भोलिको कुरा हो, तर रहर मरेको छैन ।” दुई दशकअगाडिदेखिको रहरको घर नभत्किएको उनले सुनाए ।