site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
नेपाली हिज्जेमा परिवर्तनको चाहना र भावुक यथास्थितिवादको द्वन्द्व 

१ .पृष्ठभूमि 

लिपिको आविष्कार नहुँदासम्म कोही पनि अनपढ थिएन । लिपिले मनुष्यलाई साक्षर र निरक्षरमा विभक्त गरिदियो । मानिस–मानिसबीच विभेदको अर्को आयाम थपियो । श्रुतिले काम दिएकै थियो । मनुष्यले भाषालगायत सबै कुरा श्रुतिलाई स्मृतिमा राखेर काम चलाउँथ्यो । त्यहाँ न कोही विद्वान् थियो, न त कोही मूर्ख नै । 

भाषाले आफ्नो हजारौँहजार वर्ष लिपिविना नै बितायो । आफ्नो मस्तिष्कभन्दा बाहिर सूचना, तथ्यांक र ज्ञानलाई लिपिबद्ध गरेर राख्ने शिल्प मनुष्य जातिले गरेको अद्भूत आविष्कार हो । सारा आवश्यक कुराहरू सम्झनामा नभई लिपिमा राख्न थालेपछि जीवन सहज भयो । परन्तु पढाइ/लेखाइको काम सबैका लागि सुलभ हुन सकेन । भाषाले हजारौँ वर्षसम्म समान रूपमा ‘जान्ने’ राखेको मनुष्य जातिलाई लिपिले ‘जान्ने’ र ‘नजान्ने’मा विभाजन गरिदियो । 

Dabur Nepal

लिपि आफैँमा भाषा होइन । लिपि त फगत भाषाको प्रतिनिधि मात्र हो । लिपि भाषाको अनुज हो । यसले आफ्नो अग्रजलाई चिरस्थायी बनाउँछ । सभ्यताको आरम्भ लोककथाबाट भएको मानिन्छ । ती कथा श्रुतिका माध्यमले पुस्तान्तर हुँदै जान्थे । भाषाको आरम्भदेखि नै लिपिको अस्तित्व रहेको भए ती सारा लोककथा आजसम्म जीवितै हुने थिए । लिपिको अभावले गर्दा मानव जातिले वाङ्मयको ठूलो हिस्सा गुमाएको छ । संसारका कतिपय भाषा त अझै पनि बोलचालमै सीमित छन् ।
 
भाषाको निर्माण अनियोजित हुन्छ भने लिपिको नियोजित । वास्तवमा लिपिले भाषा सिकाउने नभई भाषाले लिपि सिकाउने हो । लिपिले भाषालाई एउटा मानक रूप प्रदान गर्दछ । यसले साहित्य सिर्जनाको प्रारूप दिनुका साथै भाषालाई प्रतिष्ठा प्रदान गर्दछ । किन्तु लिपि भाषाजस्तो परिवर्तनशील नहुने हुँदा समयक्रममा रूढ हुँदै जान्छ । एउटा मानकको हैसियत हासिल गरेको हिज्जेलाई परिवर्तन गर्न अभ्यस्त कलम सितिमिति तयार हुँदैन ।
 
आजको युगमा भाषा मात्र समृद्ध भएर पुग्दैन । भाषाको जगेर्नाका लागि लिपि पनि समृद्ध हुनुपर्छ । लिपिले लोक साहित्यको व्यापक क्षेत्र ओगटेको हुनुपर्छ । भाषा समृद्ध छ, तर लिपिको विकास राम्रोसँग भएको छैन भने अर्को लिपि आएर आक्रमण गर्न थाल्छ । त्यस्तो अवस्थामा थाहै नपाई साबिकको लिपि विस्थापित हुन जान्छ । भियतनाम र इन्डोनेसियामा उनीहरूकै मौलिक भाषा प्रचलित छ, तर अचेल त्यहाँ रोमन लिपि प्रयोग हुन्छ । अवश्य पनि रोमन लिपिले ती भाषाको समग्र प्रतिनिधित्व गर्न सकेन होला । तथापि बिस्तारै त्यही लिपि रूढ हुँदै गयो होला । अघिल्लो पुस्ता सकिँदै जाँदा भाषाको पुरानो मौलिकता पनि विस्मृत हुँदै गयो होला । 

जुन लोकसमाजको भाषा हो, सोही समाजभित्रबाट विकसित भएको लिपिले मात्र भाषाको वास्तविक प्रतिनिधित्व गर्न सक्छ । भाषा एक र लिपि अर्को भयो भने पराई लिपिले ध्वनिनिसृत गूढार्थ बुझ्न र व्यक्त गर्न सक्दैन । ऊसँग त्यस खालको वर्णको पनि अभाव हुन्छ । 

धेरै समयसम्म वेद श्रुतिको रूपमा रह्यो । सुरुसुरुमा संस्कृत भाषा ब्राह्मी लिपिमा लेखिन्थ्यो । समयक्रममा ब्राह्मी लिपि लोप भएर गयो । आजको समयमा हामी संस्कृतको प्रतिनिधित्व देवनागरीले गर्छ भन्ने ठान्छौँ । तथापि, देवनागरीले संस्कृतलाई समुच्च न्याय गर्न सक्यो कि सकेन, थाहा छैन । 

अचेल संसारभरि भाषाअनुरूप लिपि सुधार गर्दै जाने कि लिपिअनुसार भाषा पनि स्थिर भएर बस्ने भन्ने विवाद चलिरहेको छ । अहिलेको युगमा भाषा मात्र नभई लिपि समेत जोगाउने चुनौती छ । नेपाली भाषामा देवनागरी लिपि प्रयोग गरिने र यो धेरै भाषाको साझा भएको हुँदा लिपि नै समाप्त हुने डर त नहोला, तर त्यसभित्रको ‘नेपालीपन’ भने बचाइराख्नु आवश्यक छ । हामीले लिपिका साथसाथै भाषाको समेत यथोचित चिन्ता लिनु मनासिब हुनेछ । 

हामीलाई कस्तो लाग्छ भने संस्कृत भाषा देवनागरीमा मात्र लेख्नु सम्भव छ । त्यस्तो लाग्नु स्वाभाविक पनि हो । जुन बखतमा ब्राह्मी लिपि प्रचलित थियो, त्यो बेला सायद ब्राह्मीबाहेक अरू कुनै लिपिमा पनि संस्कृत लेख्न सम्भव हुन्न जस्तो लाग्थ्यो होला । संस्कृतलाई सम्पूर्णतः न्याय हुन सक्यो कि सकेन थाहा छैन, किन्तु देवनागरीलाई भिन्न रूपमा प्रयोग गर्दै आएका बंगला र गुजराती आदि लिपिमा पनि बकाइदा संस्कृत लेखिएको छ । नेपाली र हिन्दीझैँ बंगला भाषा पनि संस्कृतको नजिक र समृद्ध छ । 

नेपाली भाषाभाषीको संख्या हिन्दीको जस्तो बृहत् र व्यापक छैन । किन्तु मौलिकता र गुणवत्ताको हिसाबले नेपाली भाषा हिन्दीभन्दा समृद्ध छ । हिन्दी निर्मित भाषा हो । नेपालीचाहिँ शनैःशनैः उत्परिवर्तनको माध्यमबाट समृद्ध हुँदै गएको हो । नेपालीमा बालबालिकालाई अक्षर चिनाउने आफ्नै पद्धति छ । उच्चारणको तरिका मौलिक छ । हिन्दी भाषामा कुनै कुरा अभिव्यक्त गर्दा सहायक क्रियाको सहारा आवश्यक पर्छ । जस्तै– राम खाता है । नेपालीमा सहायक क्रियाको आवश्यकता पर्दैन । जस्तै– राम खान्छ । नेपाली भाषामा अनुकरणात्मक शब्द र उखान टुक्काको विशाल भण्डार छ । सांस्कृतिक साम्यले गर्दा पौराणिक साहित्य, लोककथा र मिथकहरूको स्रोत भने प्रायः एउटै रहेको छ । 

२. विवादको इतिहास 

संसारमा कुनै कुरा पनि विवादरहित हुँदैन । ‘नेपाली कसरी शुद्ध लेख्ने ?’ यो एउटा जायज प्रश्न हो । विशेष गरेर लेख्य रूपमा न्यूनतम समानता कायम होस् भनेर राखिएको सरोकार स्तुत्य नै मान्नुपर्छ । किन्तु आफूले भने जस्तो लेखे शुद्ध हुने र अन्य तरिकाले लेखेमा अशुद्ध हुने भन्ने कुरा एउटा हठ मात्र हो । कसैले अनर्गल तरिकाले आफूखुसी लेख्न थाल्यो भने पाठक र प्रयोगकर्ताबाटै तिरस्कृत हुन्छ ।
 
नेपालमा खास गरेर विवादमा आएका विषय यस्ता छन्– 
क.)  परम्परादेखि सुरुको अक्षर दीर्घ रूपमा चल्दै आएका तद्भव शब्दहरूलाई बृहत् नेपाली शब्दकोशमा ह्रस्व बनाइएको विषय । जस्तै कीरो – किरो, खीर – खिर, तीतो – तितो, बूढो – बुढो, मीठो – मिठो, रीस – रिस, मीत – मित आदि । 

ख)  संयुक्त अक्षरलाई खारेज गरेर खुट्टो काट्ने प्रचलन गर्नुपर्छ भन्ने परिवर्तनवादीहरूले उठान गरेको विषय । जस्तै—
प्रेम – प्रेम 
राष्ट्रपति – राष्ट्रपति 
विद्या – विद्या 
भण्डारी – भण्डारी 
बुद्ध – बुद्ध 
कन्या – कन्या 
उद्बोधन – उद्बोधन 
राष्ट्र – राष्ट्र इत्यादि । 

ग) अन्य भाषाबाट हाम्रो भाषामा जस्ताको तस्तै मिल्न आएका शब्द यथावत् राख्नुपर्नेमा अन्यथा गरिएको विषय । जस्तै— जोश, होश, जीप, चीफ, शहीद, शिकार, जमीन, गरीब, शेयर, फेशन, शेक्सपियर, कानून, तूफान, स्कूल, कार्टून, जवाफ, रवाफ आदि । 

घ) नेपाली भाषामा उच्चारण नहुने भन्दै केही स्वर र व्यञ्जन वर्णहरू नेपाली वर्णमालाबाट हटाउने भन्ने विषय । 
हिज्जे र वर्णमालामा सुधार गर्ने भन्दै यी र यस्तै अन्य कुरा अकस्मात् नेपालमा मात्र निस्केका होइनन् । हिन्दुस्तानमा हिन्दी भाषा र देवनागरी वर्णमालामा परिवर्तन गर्ने सम्बन्धमा ब्रिटिस औपनिवेशिक शासनको समयदेखि नै विवाद उठ्न थालेको पाइन्छ । त्यहाँ पनि नामी साहित्यकार र भाषाविद्हरूले अनेकौँ सुझाव दिए र दिँदै छन् । उता बहस चलिरह्यो । सुझावहरू पनि प्रस्तुत भइरहे । उता तोकिएको मानकलाई बाध्यकारी नभई मार्गदर्शक मात्र मानियो । यता हतार गर्दै निर्णयार्थ प्रस्तुत गरियो र मन्त्रीले झ्यास्सै निर्णय गरे । यो मामिलामा अदालतमा मुद्दा पुग्ने हदसम्म यसरी सरकार समेत रुमल्लिन पुग्नु मनासिब थिएन ।

हिन्दुस्तानमा समय–समयमा आउने गरेका कुरा यस्ता थिए– 
१. शिरोरेखा याने डिको सजावट मात्र हुनाले प्रयोग आवश्यक छैन ।
२. संयुक्त व्यञ्जन अर्थात् क्ष, त्र र ज्ञ आवश्यक छैन ।
३. केही व्यञ्जनका संयुक्त रूप आवश्यक छैन । जस्तै– द्य, त्त, स्र, द्व, द्ध, ह्व, द्म आदि । 
४. ‘र’ अक्षरका चार रूप आवश्यक छैन । खुट्टो काटे पुग्छ ।
५ अ, आ, इ, ई, उ, ऊ, ए र ऐको सट्टा अमा क का कि की जस्तै मात्रा राखेर लेख्ने । 
६. बीचमा निपात आएको अवस्था र अन्य केही अपवादबाहेक विभक्ति नजोडी लेख्ने । जस्तै राम से, हरि को आदि (हिन्दीमा यो सुझाव व्यवहारमा पनि लागु छ) । 
७. हिन्दुस्तानमा पनि हलन्त बहिष्कार गरिएको छ । 
८. ‘ऋ’ र ‘ष’को स्थान री र श ले लिएको भए तापनि वर्ण नै हटाउने काम नगर्ने । 
९. वर्तनीको आधार उच्चारण नै हो, तैपनि परम्परादेखि चलेका तत्सम शब्दमा छेडखानी नगर्ने । 
१०. फुलस्टपबाहेक रोमन लिपिमा प्रयोग हुँदै आएका अल्पविराम, अर्धविराम, संयोजक, प्रश्नवाचक र विस्मय चिह्न आदिलाई हिन्दीमा पनि ग्रहण गर्ने । 

द्रष्टव्य– 
क. नेपालीमा पनि रोमन लिपिका चिह्नहरू ग्रहण गरिएको छ । 
ख. भारतमा कतिपय प्रकाशनहरूले हिन्दीमा पनि पूर्णविरामको ठाउँमा रोमनको फुलस्टप (.) प्रयोग गर्दै आएका छन् । 
ग. भारतमा कतिपय प्रकाशनले देवनागरीमा विभक्ति जोड्ने गरेको पनि पाइन्छ । 
घ. त्यहाँ भिन्न किसिमका वर्तनी प्रयोग गर्नेलाई अर्को पक्षले सहन गर्ने गरेको देखिन्छ । 
ङ. भारतमा समय–समयमा प्राप्त केही सिफारिस लागु भएको र केहीलाई सुझावको रूपमा मात्र ग्रहण गरिएको छ ।
 
३. भाषा अभियन्ताहरूको भनाइ 

शरच्चन्द्र वस्ती 
नेपाली भाषालाई साह्रै नै माया गर्ने शरच्चन्द्र वस्तीको निरन्तर अभियान प्रशंसनीय छ । उहाँ नेपाली भाषाका अथक प्रेमी हुनुहुन्छ । शरच्चन्द्र बडो तन्मयताका साथ नेपाली भाषाको सेवामा एकचित्त भएर लागिरहनुभएको छ । 

उहाँ भन्नुहुन्छ, ‘...हिज्जेमा सर्वत्र एकरूपता चाहिन्छ भनेर हाम्रो दिमागमा एकदमै ठूलो भ्रम चट्टानजस्तो बनाएर हालिएको छ । त्यो हुन नसक्ने र गर्न पनि नहुने कुरा हो । विकल्पहरू छोडिदिनुपर्छ । अनौपचारिक लेखाइमा, साहित्यिक रचनामा अथवा छन्द मिलाउनुपर्दा अनेक रूप प्रयोग हुन्छन् । कसैले भएको थियो लेख्ला, कसैले भको थियो लेख्ला त कसैले भाको थियो लेख्ला ।... यो भाषाको सौन्दर्य हो । तर विशेष अवस्थामा, अर्थात् औपचारिक, स्तरीय र मानक लेखाइमा चाहिँ हिज्जेमा एकरूपता चाहिन्छ...।’ 

वस्तीजीको यो उक्ति मलाई साह्रै रुचिकर लाग्यो ।
 
गाउँले बलदेव अधिकारी
सरलताका नाममा मनलागी गर्न पाइन्न भन्नेमा नै उहाँको मूलभूत चासो रहेको देखिन्छ । नेपाली भाषाप्रति अविचल र प्रगाढ प्रेम देख्दा उहाँप्रति श्रद्धा लाग्छ ।
 
उहाँ संस्कृत भाषाका उद्भट विद्वान् र अध्येता हुनुहुन्छ । संस्कृतले आफ्नो मौलिकता जोगाएर राख्न सफल हुनुमा एउटा ठूलो कारण छ । सायद अतीतमा संस्कृत कुनै पनि लोकसमाजमा व्यापक रूपमा बोलचालको भाषा रहेन । यो विशाल जनसंख्याबीच बोलचालको भाषा रहेको भए कथ्यअनुरूपको लेख्य बनाउने प्रयत्न हुन्थ्यो होला ।

निरन्तर विद्वत् बहस र वाङ्मयको विपुल क्षेत्र ओगट्दै आएको हुँदा संस्कृतको मौलिकता यथावत् रहन सकेकोमा शंका छैन । 

डा. बलदेवले डा. हेमाङ्गराज अधिकारीलाई गुरुसमान मान्नुहुँदो रहेछ । परन्तु उहाँलाई एउटा कुरामा हेमाङ्ग गुरुसँग साह्रै नै चित्त दुखेको रहेछ । संयुक्त अक्षर लेख्दा झुन्ड्याउने परिपाटी चलिरहेको र सबैले स्वीकार गरेको अवस्थामा त्यसलाई छुट्ट्याएर खुट्टो काट्ने चलन चलाउन खोजेको देखेर उहाँ क्षुब्ध र व्याकुल हुनुभएछ । 

कविवर माधवप्रसाद घिमिरेसँगको भेटमा डा. बलदेवले परम्परादेखि लेख्दै आएको ‘बूढो’लाई किन ‘बुढो’ लेख्न थालेको होला ? भनेर जिज्ञासा राख्नुभएछ । त्यसमा कविवरले भन्नुभएछ, ‘२०४० सालमा बुढो लेख्न मैले लगाएको हुँ । हामी बुढो भन्छौँ ।’ 

सितिमिति आफ्नो अडान छाड्न नमान्ने स्वभावका बलदेवले थप कुरा राखेपछि जिद्दी गर्नतिर नलागी कविवरले भन्नुभयो रे, ‘वादेवादे जायते तत्त्वबोधः ।’ भद्र र वयोवृद्ध कविवरले हठ गर्नुभन्दा किनारा लाग्नु ठिक मान्नुभयो । परन्तु यसको अर्थ उहाँले ‘बुढो’ लेखाउनु गलत थियो भनेर स्वीकार गर्नुभयो भन्ने होइन । 

बलदेव भन्नुहुन्छ, ‘मन्त्री दीनानाथलाई टिप्पणी उठाउनेले फसाएछन् । लवदेव अवस्थी पनि बिगार्ने मान्छे हुन् । मन्त्री दीनानाथ आफैँ निबन्धकार । सम्पादन गर्न दिँदा त पुस्तक काम नलाग्ने भएछ ।’ गाउँले बलदेवले वर्णविन्यासमै विद्यावारिधि गरेको हुँदा उहाँमा वृहत्तर ज्ञान छ भन्ने कुरामा सन्देह छैन । परन्तु परिवर्तन चाहनेहरूलाई साह्रै नै बिझाउने खालका आरोप लगाएर निन्दा गर्नुचाहिँ किमार्थ उचित होइन ।

नेपालमा जस्ता अभियान हिन्दुस्तानमा पनि चलेका थिए र चलिरहेका छन् । तर, नेपालमा हदैको निन्दा र उपहास भयो । कुनै आलोचनाले नपुगेर ‘डलरे’को आरोप समेत लगाइयो । त्यसै हो भने झर्रोवादका अभियन्ता बालकृष्ण पोखरेल र ताना शर्माले (जसले पछि गएर सर्मा लेखेर गल्ती भयो भन्दै हिज्जे सुधार गरेर शर्मा कायम गर्नुभयो भन्ने भनाइ छ) पनि डलर खाएर पछि प्रायश्चित्त गरेको हो भन्नुपर्‍यो । 

झर्रोवाद एउटा आन्दोलन थियो, जो समयक्रममा आफैँ सेलायो । बुढेसकालमा प्रवेश गरेका कुनै भाषाविद् या साहित्यकारलाई उनीहरूले आफ्नो जल्दोबल्दो समयमा गरेका काम कुरा सम्झाएर पश्चात्ताप गर्ने बनाउनु राम्रो कुरा होइन । झर्रोवाद अभियान आफैँ सेलायो, अभियन्ता पनि सेलाए । परन्तु उनीहरूले कायम गरेर गएका अक्कास, सित्तल, अखानो, अगावै, अडेसो, अभेक, अहमत्याइँ, कस्केली, ग्रिसेली, उल्था, औतारी, कुहिरे, कुइरे, कैरन, कोकोहोलो, कोसेढुङ्गो, कोसदुएक, पपाँच, गोडादशेक, कौलासो, खटनपटन, खुरुन्धार, खैराँती, गनोट, गज्मौरो, गलहत्ती, गान्टिनु, जमर्को, घचारो, घुर्मैलो, अनजबाफ आदि जस्ता झर्रा शब्दहरू चिरस्थायी भए । हिज्जेमा छेडखानी सह्य हुँदैन भन्ने हालका अभियन्ताले पनि ती शब्दहरूलाई मान्यता दिइसके । 

डा. हेमाङ्गराज अधिकारी
‘हिज्जेमा सुधार किन ?’ शीर्षक लेखमा डा. हेमाङ्ग लेख्नुहुन्छ, ‘अङ्ग्रेजीमा स्पेलिङ (हिज्जे)लाई व्याकरणभित्र राखिँदैन । यसलाई शब्दकोशको विषय मानिन्छ । 

हामीकहाँ भने नेपाली भाषा प्रकाशिनी समिति (१९९१) को नेकशुले (नेपाली कसरी शुद्ध लेख्ने) पुस्तिकालाई समितिको व्याकरण भनियो । हामी आज पनि त्यसैमा अलमलिएका छौँ । अझ स्पष्ट भन्नुपर्दा परम्परागत संस्कृत वर्णमालामा रहेका लिपिचिह्नहरूलाई नेपाली व्याकरण हो भन्ने भ्रम पालेर हिँडेका छौँ । संस्कृतमा जे–जति वर्ण थिए, नेपालीमा पनि तिनै वर्ण अस्तित्वमा छन् भनी त्यही आँखाले हेर्न खोज्नु भाषाको विकासप्रति आँखा चिम्लिनु हो । 

संस्कृतमा दन्त्योष्ठ्य (तल्लो ओठ माथिल्लो दाँत पछाडि लैजाँदा) उच्चरित हुने ‘व’ नेपालीमा आउँदा द्वयोष्ठ्य (दुवै ओठ जोडिएर उच्चरित हुने) भएको छ ।’ 

यो भनाइमा तर्क छ भन्ने कुरामा दुईमत छैन । सायद यथास्थिति कायम गर्न खोज्ने पक्षलाई पनि यसमा असहमति प्रकट गर्न कठिनै पर्ला । 

डा. हेमाङ्ग अगाडि लेख्नुहुन्छ, ‘ण चाहिँ नेपाली उच्चारणमा राना/राणाजस्ता एक–दुई शब्दमा अपवादको रूपमा अर्थ भेदकजस्तो देखिए पनि यसको उच्चारण व्यवस्था तद्भव शब्दहरूमा स्थापित हुँदैन । तत्सम (संस्कृत) शब्दहरूमा भने यसको मानक उच्चारण निर्णय, वर्णन, निर्माण, अनुकरण, रणनीतिजस्ता शब्दमा भेटिन्छ । शब्दका बीचमा व्यञ्जन मात्र रहँदा तत्सम शब्दमा पनि यो न् (घण्टा, कण्ठ आदिमा)का रूपमा उच्चरित हुन्छ ।’

डा. हेमाङ्गराज अधिकारीले ‘नेपाली भाषामा कारक व्यवस्था’ विषयमा विद्यावारिधि गर्नुभएको छ । उहाँ नेपाली भाषा र व्याकरणका प्रखर ज्ञाता र निरन्तर अध्येता हुनुहुन्छ । उहाँको अभिमतको तात्पर्य उच्चारणअनुरूपको हिज्जे हुनुपर्छ भन्ने नै हो । यसमा तार्किकता छ र उहाँले उदाहरण पनि दिनुभएको छ ।

हिन्दुस्तानमा पनि यी र यस्ता अन्य कुरामा बहस भइरहेको पाइन्छ । भाषाको स्वभाव नै तद्भवीकरण हो र त्यो प्रवाहलाई कसैले रोक्न सक्दैन भन्ने कुरामा संशय छैन । नेपाली भाषाको जननी संस्कृत हो । संस्कृत बोलचालमा प्रचलित नभएको हुँदा कमसेकम लेख्य माध्यममा यथावत्रूपमा बचाएर राख्न सजिलो भएको छ । 

परन्तु जब तिनै संस्कृत शब्दहरू नेपाली या हिन्दीमा उच्चरित हुन्छन्, स्वाभाविक रूपमा तद्भवीकरणको प्रवृत्ति मुखरित हुन थालिहाल्छ । त्यसैले उहाँको आशय तद्भव शब्दहरूलाई उच्चारणअनुरूपको हिज्जेमा लेख्नुपर्छ भन्ने हो जस्तो लाग्छ । 

जनबोलीमा जे–जस्तो भए तापनि तत्सम शब्दलाई जस्ताको त्यस्तै राख्नुपर्छ भन्नेमा सर्वसम्मति देखिएको छ । तद्भव शब्दको पहिलो अक्षर ह्रस्व लेख्नुपर्छ भन्ने तर्क नाजायज होइन । नेकशुले (२०६९)ले पनि परम्परागत रूपमा सुरुको अक्षर दीर्घ लेखिँदै आएका तद्भव शब्दहरूको उदाहरण मात्र दिएको छ, अशुद्ध भयो भनेको छैन र वैकल्पिक व्यवस्था पनि स्वीकार गरेको छ । 

शब्दले आफ्नो तत्सम रूप गुमाएर नयाँ कलेवरमा आएपछि त्यसको शुद्ध रूप कस्तो हुने भन्ने कुरा प्रयोगकर्तामा हस्तान्तरण भएको मान्नुपर्छ । यस्ता कुरामा ठूलो वादविवाद गर्नु जरुरी छैन । बुढो र बूढोमध्ये कुन ठिक हो भन्ने कुरा प्रयोक्ताको हातमा छाड्दा नेपाली भाषालाई कुनै नोक्सानी हुँदैन । यहाँ डा. बद्रीविशाल भट्टराईको ‘नेपाली शुद्ध लेख्ने हो भने प्रयोगका आधारमा पढाऔँ ।’ भन्ने अभिव्यक्ति पनि महत्त्वपूर्ण छ । 

२०७२ तिर कान्तिपुर टेलिभिजनले सञ्चालन गरेको एउटा कार्यक्रममा खुट्टा काट्ने चलनबारे प्रश्न गर्दा हेमाङ्गले ‘बालबालिकाको सजिलोका’ लागि भनेर जवाफ दिनुभयो । उहाँले सबैमा नभई केही शब्दमा त्यसो गर्न खोजिएको उदाहरण पनि दिनुभयो । उता, शरच्चन्द्र वस्तीले भने प्रचलन केहीमा चलाए पनि निर्णयचाहिँ सबैमा लागु गर्ने देखिएको बताउनुभयो । शरच्चन्द्रले खुट्टा काटेर बनाइएका केही शब्दको उदाहरण दिएर हसाउनुभयो । 

प्रचलनमा नरहेको कुरा सुन्दा र देख्दा सुन्ने र देख्नेलाई अचम्म लाग्छ । एक किसिमको आदत बसिसकेको कुरामा अर्को प्रस्ताव आउँदा झर्को पनि लाग्छ । अझ विरोधी पक्षबाट त्यसलाई उपहासपूर्ण तरिकाले प्रस्तुत गरिएको रहेछ भने त रमाइलो खाले झोँक पनि चल्छ । तर्कलाई भावनाले जित्न खोजिएको अवस्थामा तर्क गर्ने पक्ष उठान गरेको कुरामा उदासीन हुन, चुप लाग्न या तत्काललाई पछि हट्न बाध्य हुन्छ । 

हेमाङ्गको भनाइ शुद्ध उच्चारण होस् भन्ने रहेछ । उहाँले ‘सबैमा खुट्टा काट्न भनिएको छैन भ्रम नफैलाइयोस्’ भनेर प्रतिवाद पनि गर्नुभयो । चलिरहेको प्रवाहलाई किन बिथोल्नु भन्ने अर्को पक्षको अभिमत देखिन्छ । शरच्चन्द्रले ‘निस्तो र दुष्ट’को उच्चारण गरौँ त फरक छ कि छैन ? भनेर सोध्नुभयो । त्यो त अक्षरमा फरक देख्ने बानी लागेको हुँदा मात्र हो, नेपाली जनजिब्रो त्यस्तो उच्चारणमा अभ्यस्त छ जस्तो लाग्दैन । शरच्चन्द्रले निस्तो र दुष्ट भन्दा फरक उच्चारण गरेजस्तो पनि लागेन । हेमाङ्गको भनाइ पनि तत्सम शब्दलाई हटाउने भन्ने रहेको छैन । व्यवहारमा दन्त्य र तालव्य छुट्टिन्छ तापनि मूर्धन्य ष को उच्चारण नेपालीमा फरक छ जस्तो लाग्दैन । 

मैले त ‘पेटफारो ष’ (ख उच्चारण गरेर) सिकेको हुँ । कतै मूर्धन्य ष भनेर पनि पढाए होलान् । किन्तु मूर्धन्य र मूर्धा भनेको के होला भन्ने कुरा कतिलाई सिकाइयो होला ? यो सबै कुरा मैले नेपाली वर्णमालाको हकमा भनेको हुँ । कोही कसैले संस्कृत वर्णमाला सिक्नुभएको थियो र स्तरीय गुरुबाट उच्चारणको प्रक्रिया पनि सोही अनुरूप बुझ्नुभएको थियो भने हार्दिक सम्मान छ । 

यसै सन्दर्भमा आफ्नो फेसबुक पेजमा डा.राम आचार्य लेख्नुहुन्छ, ‘श, स र ष’ को महत्त्व मैले रुसी भाषा पढ्दा महसुस गर्न पाएँ । रुसी भाषामा यी तिनवटा व्यञ्जनका तीन भिन्न उच्चारण छन् : С रअ (स), Ш/ш (श), र Щ/щ    (स्श) । हामीले पहिलो स र श नै स्पष्ट उच्चारण गर्न सिकेनौँ, सिकाएका छैनौँ । दन्त्य स तालव्य श भन्छौँ, तर उच्चारण भिन्न सुनिन्न भने तेस्रोको त कुरै छाडौँ । 

अर्को दृष्टान्त जर्मन र साथै डच भाषामा पनि पाइन्छ । भारतीयहरूले बरु स र श स्पष्ट रूपमा भिन्न उच्चारण गर्दछन् । अंग्रेजीमा स र श स्पष्ट छ । अब कुरा गरौँ ष को । रुसी भाषाको ‘Щ’ दुइटा व्यञ्जनको गठजोडबाट с+ш बनेको हुन्छ । यसअनुसार ष को उच्चारण ख मा खोजिनुहुन्न । जर्मन भाषामा कअज को उच्चारण रुसी Щ को जस्तै हुन्छ । त्यसअनुसार पनि ष मा ‘ख’ खोजिनुहुन्न । तर डच भाषामा कअज को उच्चारण ‘स्ख’ हुन्छ ।’ 

हामीले ‘ष’को उच्चारण गर्न जान्दैनौँ । उच्चारण नै गर्न नजानेपछि सिकाउन जान्ने कुरा पनि भएन । उहाँले उदाहरण दिएको रुसी भाषाको आफ्नै लिपि भएको हुँदा उच्चारणअनुरूप शुद्ध रुसी लिपि प्रयोग हुन सक्यो । नेपाली भाषाको आफ्नै लिपि नरहेको हुँदा नेपाली जिब्रोले संस्कृत वर्णमालाको ष उच्चारण गर्न जानेन । नेपाली भाषाले देवनागरी लिपिलाई अंगीकार गरेको र संस्कृत नेपालीको माउ भाषा रहेको हुँदा वर्णमालालाई यथावत् राख्नुपर्छ भन्ने राम आचार्यको अभिमतमा मेरो समर्थन छ । 

आफ्नो फेसबुक पानामा राजेन्द्र काफ्ले लेख्नुहुन्छ, ‘मेरो विचारमा भाषाको ध्वनिअनुसार लिपि हुनुपर्ने हो, लिपिअनुसार ध्वनि होइन । हामीले बोल्ने ध्वनिमा हुँदै नभएको कुरा देवनागरी लिपिमा छ भन्दैमा जबरजस्ती मुख र जिब्रोलाई कर्‍याक्कुरुक पारी पारी बोल्नु जरुरी छैन । कुनै समयमा नेपाली भाषाले देवनागरी नलिएर अन्य अर्कै लिपि लिएको भए नितान्त अर्कै अवस्था पनि आउन सक्थ्यो । कालान्तरमा लिपिले भाषालाई नै आफूतिर डोर्‍याउने गरी प्रभाव पार्न पनि सक्छ । उदाहरणका लागि एउटै भाषाबाट छुट्टिएका नस्तालिक लिपिमा लेखिने ऊर्दू, देवनागरी लिपिमा लेखिने हिन्दी, अनि ल्याटिन लिपिमा लेखिने फिजियन हिन्दी यी तीन भाषाहरूको उच्चारणमा बिस्तारै तत्तत् लिपिहरूको प्रभाव देखिन थालेको छ ।

भाषा भनेको एउटा ‘डाइनामिक’ प्रणाली हो । यो बिस्तारै परिवर्तन हुँदै जान्छ र ती परिवर्तनहरू लिपिमा पनि प्रकट हुन्छन् । केही हराउँछन् र केही थपिन्छन् पनि । ...हामीले बोल्ने नेपाली भाषामा ह्रस्व, दीर्घ र सशषका बीचमा फरक छैन । मात्र ऐतिहासिक रूपमा देवनागरी लिपिमा लेख्ने गरिएका कारण रहेका अवशेषहरू मात्र हुन् ।’ 

मैले यहाँ आचार्य र  काफ्लेका अभिव्यक्ति साभार गर्नुको कारण छ । अचेल चलिरहेको विवादको मूल प्रवाहभन्दा बाहिरका उदाहरण पनि आवश्यक देखेको हुँदा प्रतिनिधि अभिमत र रायका रूपमा दुईजना सिभिल इन्जिनियरका  विचारलाई सम्मानसाथ स्थान यहाँ दिएको हुँ । 

४. शुद्ध र अशुद्धका कुरा 

क. हलन्त बहिष्कार 
विक्रम संवत् १९६५ तिरको कुरा हो । राममणि आदिले वनारसमा माधवी प्रकाशन गर्नुहुन्थ्यो । नेपाली लेखनमा हलन्तको भरमार देखेर उहाँलाई दिक्क लागेछ । उहाँले भन्नुभएछ, ‘मलाई त्यो बेला रामप्रसाद सत्याल, सदाशिव अधिकारी, शम्भुप्रसाद ढुंगेल र कवि शिखरनाथ सुवेदीहरूको मनपरीसँग खुट्टा काट्ने चलनले भाषामाथिको ताण्डव नृत्य सम्झी सहीनसक्नु भएको थियो ।’ उहाँले फेरि भन्नुभयो– ‘मेरो सिद्धान्त एक दिन अवश्य पनि विजयी हुनेछ भन्नेमा म विश्वस्त छु । हलन्त बहिष्कार भएरै छोड्छ् ... (हे. प्राडा दयाराम श्रेष्ठ, साहित्यको इतिहास ः सिद्धान्त र सन्दर्भ पृ. १३६/३७) । 

नोट – राममणिको यो भनाइ १८ असोज २०७३ मा रातोपाटीमा प्रकाशित ‘माउ खानेले बाछाबाछी खान्छ....’बाट साभार । 

के शम्भुप्रसाद ढुंगेल र शिखरनाथहरू अशुद्ध लेख्थे ? अवश्य पनि त्यस्तो होइन । उच्चारणअनुरूपको हलन्तको प्रयोग अशुद्ध थिएन, तर असुन्दर र अप्ठ्यारो थियो । हलन्त बहिष्कार उच्चारणविरुद्धको लेखन कायम गर्न सञ्चालन गरिएको मुहिम थियो, तर त्यो सही र प्रगतिशील थियो । हालसम्म यथावत् हलन्तको प्रयोग हुँदै आएको र अहिलेको मितिमा बहिष्कार अभियान चालिएको भए निकै गाह्रो पथ्र्यो होला जस्तो लाग्छ । जे होस्, समयमै अभियान चलाइएको हुँदा हलन्त बहिष्कार सफल भयो । अब त स्थापित परम्पराले हलन्त बहिष्कारलाई शुद्ध पनि बनाइसक्यो ।

नेपाली भाषामा कपाल, काट, दालभात, उस, त्यस, उन, उदेक, गडबड, झलझलजस्ता हलन्त उच्चारण हुने अजन्त शब्दहरू छन् । अर्कोतर्फ अब, आज, जब, तब, पर, तल, नत्र, निर, बाहिर, सँग, सित, जान, आउन, बसेर, हेरेरजस्ता शब्दमा अजन्त उच्चारण गरिन्छ । नेपाली भाषा पढ्ने लामो अभ्यास र आदत परेको पाठकले मात्र सोही मुताबिक उच्चारण गर्न सक्छ । नेपाली मातृभाषा नहुनेका लागि त यो अचम्मलाग्दो कुरा हो । 

ख. खुट्टा काट्ने र झुन्ड्याउने कुरा 
खुट्टा काटेर र झुन्ड्याएर लेख्दा यस्तो देखिन्छ – 
प्रेम – प्रेम 
राष्ट्रपति – राष्ट्रपति 
विद्या – विद्या 
बुद्ध – बुद्ध 
कन्या – कन्या 
उद्बोधन – उद्बोधन 
राष्ट्र – राष्ट्र 
माथिका शब्दहरूलाई एक झलक नियालेर हेर्दा दाहिनेतर्फका शब्दहरू सुन्दर लाग्छन् भने बायाँतर्फका देख्दैमा असुन्दर र अशुद्धजस्ता लाग्छन् । शुद्धाशुद्धिको हिसाबले माथिका सबै शब्दहरू शुद्ध छन् । दुवैको उच्चारण उस्तै हुन्छ र यी लिपिका भेद मात्र हुन् भन्ने कुरा बुझ्नु आवश्यक छ । खुट्टो काट्ने परिपाटी कायम गर्न खोज्नेहरूको तर्क बालबालिकालाई सिकाइमा सजिलो हुन्छ भन्ने छ । यो आरोप लगाउनेले भने जस्तो ‘लिपि सिध्याउने खेल’ त हुँदै होइन । तर, मलाई स्थापित, स्वीकृत एवं अभ्यसित भइसकेको यस मामिलामा चाहिँ हात नहाल्नु नै बेस हुन्थ्यो जस्तो लाग्छ । 

ग. आगन्तुक शब्दको तत्सम रूप प्रयोग गर्ने सम्बन्धमा  
नेकशुले (२०६९) भन्छ, ‘अन्य भाषाबाट हाम्रो भाषामा जस्ताको तस्तै मिल्न आएका शब्द यथावत् लेखिन्छन् । जस्तै— जोश, होश, जीप, चीफ, शहीद, शिकार, जमीन, गरीब, शेयर, फेशन, शेक्सपियर, सीट, मार्कशीट, टीभी, सीडी, कानून, तूफान, स्कूल, कार्टून, जवाफ, रवाफ, मुताबिक आदि ।’ यसरी ‘अन्य भाषाबाट जस्ताको तस्तै मिल्न आएका शब्द’ भनेर केही शब्द उल्लेख गरिएको छ र अन्त्यमा ‘आदि’ पनि भनिएको छ । 

नेपाली भाषामा आफ्नो लिपि नभएको हुँदा देवनागरीको उपयोग गर्ने गरिएको छ । नेपाली भाषाको जननी संस्कृत भएको र संस्कृत पनि देवनागरीमै लेखिने हुँदा हामीलाई संस्कृतका तत्सम शब्द चिन्न र लेख्न सजिलो छ । 
फारसी, अरबी, तुर्की, पुर्तगाली, स्पेनी र अंग्रेजी आदिबाट नेपालीमा आएका आगन्तुक शब्द सबै जस्ताको तस्तै आएका हँुदैनन् । कुन जस्ताको तस्तै आयो र कुन बदलिएर आयो भन्ने कुरा पत्तो लगाउन पनि सजिलो छैन ।

हामी आफ्नै घरका नेवारीबाट आएका स्वदेशी अगन्तुक शब्दलाई त बिगारेर प्रयोग गरिरहेका छौँ भने विदेशी शब्दको कुरा त परको भयो । पुर्तगालीको बटाटा अंग्र्रेजीमा पोटाटो भयो । तुर्कीको बागातुर हाम्रोमा बहादुर भयो । हामीले अरबी र फारसीका शब्दहरू धेरै समय अघिदेखि लिन थालेका हौँ । हामीले ती शब्दहरूमध्ये केही हिन्दुस्तानमा जस्तै गरी र केहीलाई नेपालीपनमा ढालेर प्रयोग गरिरहेका छौँ । 

अरबी या फारसीका यहाँ दिइएका शब्दहरू उताबाट आउँदा सायद जस्ताको तस्तै आए हुन् । तर, तिनलाई हामीले आफ्नोपनमा समायोजन गरेर प्रयोग गरिरहेका छौँ । दायाँतर्फ लेखिएका शब्दहरू उनीहरूको मौलिक रूपमा (पूरा या करिब–करिब होलान्) छन् भने दायाँतर्फ हामीले आफ्नो तरिकाले प्रयोग गर्दै आएका शब्द छन् । फारसी र अरबी जस्ताको तस्तै प्रयोग गर्ने भन्दै सीमित उदाहरण दिँदा भ्रम पैदा भएको छ । 
फायदा –  फाइदा 
मुल्क – मुलुक 
हफ्ता – हप्ता 
बुजुर्ग – बुज्रुक 
बाबत – बापत 
कर्जÞ – कर्जा 
मशहूर – महसुर 
कुबूल – कबुल 
उम्र – उमेर 
जवाब – जवाफ 
जिम्मेदार – जिम्मेवार 
हुक्म – हुकुम 
एकातर्फ हामीले अरबी, फारसी, अंग्रेजी र  स्पेनिसका सयौँ शब्दलाई आफूखुसी प्रयोग गरिरहेका छौँ भने अर्कातर्फ तिनको ह्रस्व, दीर्घ र स श मा चिन्ता गर्छौं । हामी हाम्रो खुसीले ‘वलि अहद’लाई वलेट (युवराज त्रैलोक्यलाई वलेट महाराज भनिन्थ्यो) भनिदिन्छौँ, तर शहीदलाई सहिद लेखे भनेर भावुक हुन्छौँ । 

भाषालाई शुद्ध राख्नुपर्छ भनेर निरन्तर इमानदार प्रयत्न गर्ने एकजना अभियन्ताले ‘फ्युचर’लाई ‘फ्यूचर’ भनेको, क्याम्पसलाई ‘क्याम्पस’ भनेको, जर्जलाई लाई ‘जर्ज’ भनेको स्रोतभाषाकै उच्चारण पछ्याइएको हो, नत्र ‘फुटुरे’, ‘कम्पुस’ र ‘ग्योर्गे’ भनिन्थ्यो भन्ने तथ्य ढाकछोप गर्न खोजिन्छ ।’ भन्दै व्यक्त गरेको उद्गारलाई सम्मान गर्दागर्दै पनि केही कुरा थप गर्न मन लाग्यो । 
हामीले प्लेटोलाई अफलातुन, सोक्रेटिसलाई सुकरात र अरिस्टोटललाई अरस्तु बनाएका छौँ । त्यति मात्र होइन, हामीले अलेक्जेन्डरलाई सिकन्दर, अक्टरलोनीलाई नुनीअख्तर र माइथोसलाई मिथ हुँदै मिथक बनाएका छौँ । 

विदेशी आगन्तुक शब्दलाई जस्ताको तस्तै प्रयोग गर्न सकिने भए जर्मन दार्शनिक नित्सेको नाम कसैले नित्से, कसैले निच कसैले निचा र कसैले निजा एवं फ्रेन्च दार्शनिक रेने देकार्तलाई देकार्त, देकार्ट र डेकार्टे प्रयोग गर्ने अवस्था आउँदैनथ्यो होला । हामीले ग्लासलाई गिलास, फर्मलाई फाराम, हस्पिटललाई अस्पताल, ल्यान्टर्नलाई लालटिन र जनरललाई जर्नेल प्रयोग गरिरहेका छौँ । 

आश्चर्यजनक तरिकाले हामीलाई सेक्सपियर अश्लील लाग्छ । शहीद दुब्लो भएकोमा सन्ताप लाग्छ । परन्तु हामी पल्लो आँगनमा प्रयोग भइरहेको ‘नेवा’लाई नेवार र ‘क्वाति’लाई क्वाँटी भन्न केहीझैँ मान्दैनौँ । विदेशी आगन्तुक शब्दलाई हरेक अर्को भाषाले आफ्नै तरिकाले ग्रहण गरेको हुन्छ । त्यसलाई अन्यथा मान्न मिल्दैन । 

माथि उल्लेख भएबमोजिमको निर्देश जारी गर्ने नेकशुले (२०६९) अर्को वैकल्पिक व्यवस्था दिँदै भन्छ, ‘अन्य भाषाबाट आएका शब्दका झर्रो नियमअनुसारका वा वैकल्पिक रूप पनि हुन सक्छन् । जस्तै— शिकार/सिकार, होश/होस, शेयर/सेयर, गरीब/गरिब, स्कूल/स्कुल, छूट/छुट, कानून/कानुन, कार्टून/कार्टुन, जवाफ/जबाफ आदि ।’ जब सिकार हुन्छ भने सहर पनि हुन्छ नै होला ।

नोट– नेकशुलेको बनावट, मार्गनिर्देश, विकल्प र अपवादसम्बन्धी व्यवस्था थाहा पाउनका लागि गुगलमा नेकशुले टाइप गरेर पढ्न सकिन्छ । 

अन्त्यमा आगन्तुक शब्दलाई लिएर गरिएको त्यो हदको भावुकता शहीद र शेक्सपियर शब्दमा पुगेर समाप्त हुन्छ । अर्को भाषाबाट आएका सबका सब शब्दहरू कहीँ पनि तत्सम रूपमा प्रयोग हुँदैनन् । ल्याटिन र ग्रीकबाट अंग्रे्रेजीमा आगन्तुक भएर प्रवेश गरेका अनेकौँ शब्दहरू रूप बदलेर आएका छन् । नेपालमा रहेका अन्य स्वदेशी भाषाका कतिपय ठाउँका नामहरू नेपाली ढाँचामा प्रयोग भइरहेका छन् । त्यसतर्फ पनि नेकशुलेको ध्यान जानु आवश्यक थियो जस्तो लाग्छ । हाम्रो कर्तव्य नेपाली भाषालाई समृद्ध पार्नु हो, परन्तु अन्य स्वदेशी भाषाको सम्मान र संवर्द्धनमा सहयोगी बनेर मात्र ।

हामी दुष्ट र कुस्तको उच्चारण फरक तरिकाले गर्छौं भन्छौँ, तर मलाई त एउटा पत्रकारले डा. महेशराज पन्तलाई ‘अथिति’ भन्दै पुकारेको सुन्दा चिन्ता लागेको छ । कान्तिपुरमा बोल्ने पत्रकारलाई ‘विद्यालय’लाई ‘बिध्यालय’ या ‘विधालय’ भन्न कसले सिकायो होला ? अमूक पार्टीको अध्यक्षलाई अदक्ष या अद्दक्ष भन्न कसले सिकायो ? इमानदारी, सामीप्य, तादात्म्य, बफादारी र सान्निध्यजस्ता नाम शब्दमा ‘ता’ थप्न कसले सिकायो ? इतिहासलाई इतिहाँस उच्चारण गर्ने नाम चलेका महाशयलाई कसले सम्झाउने होला ?  

‘स्वागत गर्दछु’ नभनेर ‘स्वागत गर्न चाहेँ’ भन्ने प्रख्यात उद्घोषकलाई कसले तहमा राख्ने होला ? ‘साठीभन्दा बढी संख्यामा मानिस मरे’ लेख्नुपर्नेमा ‘साठी बढी’ लेखाएर प्रचलित नै गराउन सक्ने महाशय को होला ? ‘सहर्ष’लाई ‘सहस्र’ भन्ने विद्वान् वकिलले त्यसो भन्न कहाँबाट सिके होलान् ? हामी शहरलाई सहर लेखे भनेर चिन्ता गर्छौं ।

उता शाकाहारीलाई साहाकारी भन्नेहरूको ताँती छ । एउटा लेखकले सन्दर्भअनुसार ‘आसक्ति’ लेखेर पठाउँदा अर्थै भिन्न हुने गरी सम्पादन गरेर ‘आशक्ति’ बनाइदिँदा मन दुखेको कुरा कसलाई सुनाउने ? ‘बिस्कुट चोर पुलिस फन्दामा’ लेख्नेले कसलाई चोर भन्न खोजेको होला ? हामीले यस्ता अनर्गल मनलागीको चिन्ता गर्ने कि सेक्सपियर शब्द अश्लील भयो भनेर सिकिस्त हुने ?

५. ‘बदनियत र षड्यन्त्र’का कुरा  

शरच्चन्द्र वस्तीले सर्वोच्च अदालतको निर्णयले वर्णविन्यास बिगार्ने ‘बदनियत र षड्यन्त्रकारी चरित्रको’ समेत पर्दाफास गरिदिएको छ भन्नुभएको छ । यहाँनिर आइपुगेपछि त एउटा भाषाप्रेमीका नाताले म पनि भावुक भएँ । के साँच्चै २०४० सालदेखिका प्रज्ञाका पदाधिकारीहरू, विश्वविद्यालयका थुप्रै विद्वान् प्राध्यापकहरू र पछिल्लो समय नयाँ वर्णविन्यास स्वीकृतिका लागि पेस गर्ने शिक्षा मन्त्रालय र अन्तर्गत कार्यरत तमाम कर्मचारी समेत बदनियतकारी र षड्यन्त्रकारी नै हुन् ? यदि हुन् भने बदनियत र षड्यन्त्रबापत उनीहरूले के–के व्यक्तिगत फाइदा लुटे होलान् ? के सर्वोच्चको निर्णयमा ‘बदनियत र षड्यन्त्र’ शब्द पनि परेका छन् ? एकथरी प्रज्ञावान् व्यक्तिहरूबाट अर्काथरी प्रज्ञावान् व्यक्तिहरूलाई ‘लुसुक्क शब्दकोशमा पसेर (२०४०), बाछाबाछी खानेले माउ खान्छ, डलरे, बदनियतकारी, षड्यन्त्रकारी, सियो भई पस्ने मुसल भई निस्कने’जस्ता आरोप लगाएको देख्दा दुःख लाग्यो । विशिष्ट विद्वान्, प्राज्ञ, प्राध्यापक र साहित्यकारहरू रमण गर्ने उपवन समेत यतिसम्मको भनावैरीले भरिभराउ हुन्छ भन्ने कुरा कल्पनामा पनि थिएन । 

सर्वोच्चको निर्णयले मुख्य रूपमा दुइटा कुरामा जोड दिएको देखिन्छ–

१. ‘नेपाली भाषा सरकारी कामकाजको भाषा भएकाले सबै अड्डा अदालत, संसद्, सरकारी निकायहरूबाट नेपाली भाषामा गरिने सम्पूर्ण कामकारबाहीमा समेत प्रभाव पर्न जाने हुन्छ ।’
२. ‘भाषालाई कुनै देशको संविधान वा कानुन वा नीतिनियम निर्माण भए/गरेजस्तो तवरले राज्य वा सरकारको कुनै अंगले निर्णय गरेर जारी गरिएको जस्तो विषयका रूपमा लिन मिल्दैन’, सर्वोच्चले भनेको छ, ‘भाषाको वर्णविन्यासको प्रश्न पाठ्यक्रम र पाठ्यपुस्तकसँग मात्र सम्बन्धित विषय हो भनी मान्न मिल्दैन ।’ 
सर्वोच्चले वर्णविन्यासको प्रश्न पाठ्यक्रम र पाठ्यपुस्तकसँग मात्र सम्बन्धित नहुने कुरा प्रस्ट पारिदिएको छ । अर्को कुरा भाषालाई राज्य वा सरकारको कुनै अंगले जारी गरिदिएको जस्तो विषयका रूपमा लिन नहुने बेहोरा उल्लेख गरेबाट शिक्षा मन्त्रालय अगिसरा भएर वर्णविन्यास र भाषाको क्षेत्रमा प्रवेश गर्नु गलत थियो भन्ने कुरा प्रस्ट भएको छ । 

६. नेकशुले, २०६९ 

नेपाली भाषा र वर्णविन्यास सम्बन्धमा विवाद सुरु भएपछि ‘नेपाली भाषा प्रयोगकर्ता समूह’को तर्फबाट जारी भएको मार्गनिर्देश नै नेकशुले (नेपाली कसरी शुद्ध लेख्ने ?) हो । शरच्चन्द्र वस्तीले नेकुशलेलाई ‘हाम्रो भाषिक राजमार्ग’ भन्नुभएको छ ।

नेकशुलेले विशेष गरेर शिष्ट परम्परालाई सम्मान गर्न खोजेको छ । शिष्ट परम्परालाई जोड दिएको हुँदा यसको नाम नेकले (नेपाली कसरी लेख्ने ?) राखेको भए अझै सान्दर्भिक हुन्थ्यो जस्तो लाग्छ । नेकशुले विशेष गरेर तद्भव र आगन्तुक शब्दमा निकै अलमलिएको भए तापनि यसले तद्भव, आगन्तुक र झर्रोवादी शब्दहरू सम्बन्धमा प्रशस्त वैकल्पिक व्यवस्था दिएर भाषालाई उदार बनाउन मद्दत गर्दै तद्भवीकरण भाषाको मौलिक स्वभाव हो भन्ने कुरालाई आत्मसात् गरेको छ । मूल मार्गनिर्देशमा जे लेखिएको भए तापनि विकल्पमा ‘शिकार/सिकार, होश/होस, शेयर/सेयर, गरीब/गरिब, स्कूल/स्कुल, छूट/छुट, कानून/कानुन, कार्टून/कार्टुन, जवाफ/जबाफ आदि’ प्रयोग गर्न सकिने कुरा उल्लेख भएकै छ । आगन्तुक शब्दको आगमन, स्वभाव, उदाहरण र मैले बुझेसम्मको विशेषताबारे माथि नै उल्लेख गरेकै छु । त्यस्ता शब्दलाई वैकल्पिक रूपमा लेख्दा अशुद्ध भयो भनेर उपहास गर्ने चलन हटाउन म सबैलाई आह्वान गर्दछु । 

म पनि बालचन्द्रको शब्दकोश पढेर सोहीअनुरूप रत्तिएको मान्छे हुँ । मैले त्यही कोशको आधारमै लेख्न सिकेको पनि हुँ । म साहित्य र भाषाको पारखी होइन, केवल इमानदार पाठक मात्र हुँ । पछि ४० सालमा प्रज्ञाबाट नेपाली बृहत् शब्दकोश आयो । मैले झन्डै एक महिनाको तलब खर्च गरेर त्यो किताब किनेको थिएँ । मैले यहाँ उल्लेख गरेका कतिपय कुरामा गल्ती भएको होला र कतिपयमा विमति पनि हुनसक्ला । म हरेक प्रकारको शिष्ट आलोचना र सुझावको स्वागत गर्नेछु । 

बालचन्द्रको कोश आउनुअघि ९१ सालको नेकशुले, बगली कोश, गोपाल पाण्डे, हृदयचन्द्र सिंह प्रधान, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा र माधवप्रसाद घिमिरे आदिले प्रयोग गर्ने गरेको भाषा र पछिल्लो समय बालचन्द्रको कोश नै सबैका लागि सामान्य मानक रह्यो होला ।

४० सालमा नयाँ शब्दकोश आउँदा प्रचलनमा रहेका केही हिज्जे बदलिएर आए । अभ्यस्त जनसमूहलाई अप्ठ्यारो महसुस भयो । तद्भव शब्दमा केही शब्दको पहिलो अक्षर दीर्घ राख्ने विषय शुद्धाशुद्धिभन्दा पनि शिष्ट परम्पराको कुरा थियो । कविवर माधवप्रसाद घिमिरेले ‘हामी बुढो भन्छौँ’ भन्नुमा र डा. बलदेवले ‘हामी बूढो भन्छौँ’मध्ये यो शुद्ध र त्यो अशुद्ध भन्नुभन्दा दुवैलाई सम्मान गर्नु राम्रो हुन्छ । यो वैकल्पिक व्यवस्थाले लिपि सिद्धिने हुँदैन, बरु समृद्ध हुन्छ । गर्नेले जति नै आलोचना गरे पनि झर्रोवादीहरूले ‘नेपाली भोटो पहिर्याएका’ आगन्तुक शब्दहरूलाई नेकशुलेले मान्यता दिनैपर्‍यो । भाषाको प्रवाह कसैले थुनेर किन थुनिन्थ्यो, आली र डिललाई उल्लंघन गर्दै शरच्चन्द्र सरले भनेको ‘राजमार्ग’मा पुगेर विलय भइछाड्दो रहेछ । 

नेकशुलेको मार्गनिर्देश उचित र ग्राह्य छ, तर यो हतारहतारमा आएको देखिन्छ । यस्तो महत्त्वपूर्ण कुरा, त्यसमा पनि अर्को पक्षको तर्कमाथि प्रतितर्क गर्ने विषयमा अलिकता उदार भएर विस्तारमा छलफल गर्नुपथ्र्यो । त्यसो हुन सकेको भए उभयपक्षलाई एकै लाममा लामबद्ध हुन बाटो खुल्ने थियो जस्तो लाग्छ । 

७. निचोर 

यो मामिलामा मेरो परिमित सोचले दुवै पक्षलाई ‘तार्किक र फलदायी’ नै देखेको छ । परन्तु २०४० सालदेखि नेपाली भाषाको श्रीवृद्धिमा समर्पित तमाम प्राज्ञ र विश्वविद्यालयका प्राध्यापकहरूलाई म कसरी ‘षड्यन्त्रकारी, डलरे, मुसले र बाछाबाछी खाने’ भनेर निन्दा गरूँ ? कसैको बुद्धिले काम गरेन होला । कोही भाषाको मर्म नबुझ्ने खालका पनि थिए होलान् । कोही अरूको कुरै नसुनी आफ्नो अभिमतमा अडान लिएर बसे होलान् । परन्तु ती सबै नेपाली भाषाका अनन्य प्रेमी थिए, र छन् । 

भाषा विवादबारे प्रकाशित लेखहरू पढ्दा मलाई पनि निकै धेरै कुरामा विवाद रहेछ जस्तै महसुस भएको थियो । यथास्थिति कायम राख्ने कुरालाई ‘अँध्यारोबाट  उज्यालोतिर’जस्ता आप्त वचनको प्रयोग गरिए तापनि विवादरूपी दहीलाई धीर, स्थिर र शान्त मनले मथन गर्दा नौनीको डल्लो भने साह्रै सानो निस्क्यो । यो प्रकरणको खास कुरा के हुन गयो भने परिवर्तनकामी पक्ष सरकारी निर्णयको आडमा आदेशात्मक र नेकशुले विनम्र र अनुनयात्मक देखियो । 

देश, भाषा, धर्म, विश्वास र संस्कृतिजस्ता कुरामा तर्कभन्दा भावना बलियो हुन्छ । अघिदेखि चल्दै आएको कुरा प्यारो र सजिलो लाग्छ । परिवर्तन गर्न खोज्ने पक्ष प्रायः एक्लो हुन्छ । यो मामिलामा दुवै विवादीमा खोट छैन । एउटाले तार्किक पक्षमा जोड दिएको देखिन्छ भने अर्कोले प्रायः भावनामा । एउटा पक्ष सरकारको आडमा आदेशात्मक परिवर्तन चाहन्छ भने अर्को क्षुब्ध हुन्छ । किन्तु परिणाममा यो विवाद फलदायी नै भएको छ । 

परिवर्तनकामी पक्षले उच्चारण र बालबालिकाको सहजताको तर्क गरेको छ । विवादको मूल जड संयुक्त अक्षरमा रहेछ । नेकशुलेले अन्य कुरामा विकल्प दिए तापनि संयुक्त अक्षरको मामिलामा यथास्थितिको पक्षमा देखिन्छ । किन्तु नेकशुलेले या अन्य कसैले पनि खुट्टा काटिएका शब्दलाई अशुद्ध भन्न सकेको देखिँदैन । भद्दा, अप्रिय र नमज्जाको भन्नेमा बाक्लो अभिमत रहेको हुँदा परिवर्तनकामी पक्ष पछि हट्नु नै हितकर हुन्छ । भविष्यमा प्रयोगकर्ता समुदायले व्यापक रूपमा खुट्टो काटेर लेख्न थाल्यो भने स्वतः स्वीकार हुँदै जानेछ । हलन्त बहिष्कारजस्तो जब्बर मुहिम त सफल भयो भने अरू परिवर्तनको के कुरा । 

भाषाको मानक न सरकारी दबाब, न कुनै जबरजस्ती र न त कुनै कोमल या भावुकतापूर्ण अपिलले कायम गर्न सक्छ । मानकको सार्वभौमसत्ता प्रयोगकर्तामा हुन्छ । ती सार्वभौम प्रयोगकर्ताहरूको प्रतिनिधित्व समाजका प्रतिष्ठित भाषाविद्, लेखक र प्राज्ञहरूबाट हुन्छ । उनीहरूको निर्णय आदेशात्मक नभई विनम्र र तार्किक सुझावका रूपमा आउनुपर्छ । 

भाषा कलम हातमा हुनेको मात्र होइन, वाणी हुने सबैको हो । भाषा लिपि सम्पादनको अधिकार लिनेहरूको मात्र होइन, सामान्य लेखकहरूको पनि हो । भाषामा एकाधिकार न त सरकारलाई हुन्छ, न त कुनै भाषाशास्त्री, न कुनै सम्पादक या साहित्यकारको समूहलाई । सरकारले विज्ञको समूहबाट अध्ययन गराउन सक्छ, किन्तु निर्णय गरेर बाध्यकारी बनाउन सक्दैन । विज्ञको समूहले पनि मार्गनिर्देश गर्न सक्छ, यसै हुनुपर्छ भनेर आदेश दिन सक्दैन । यो विषय आदेशात्मक नभई सधैँ शिष्ट र अनुनयात्मक हुनुपर्छ ।

पाठ्यक्रममा तोकिएको मानकको हकमा सोहीअनुरूपको शुद्धता कायम गरी लेख्न भनिएकोमा बाहेक अन्य प्रश्नमा हिज्जेका आधारमा अंक काट्न मिल्दैन । पाठ्यक्रमका लागि मानक तोक्दा विश्वविद्यालयहरू, प्रज्ञा प्रतिष्ठान र अन्य सम्बन्धित संस्थाहरूले सद्भाव, सहृदयता र सौहाद्र्र कायम राख्दै वृहत्तर छलफल गर्न सक्छन् । यस मामिलामा नेपाल सरकार संलग्न हुनुहुँदैन । 

राय मागिएको अवस्थामा आदेशात्मक शैलीमा नभई विनम्र तवरले सुझाव मात्र दिनु राम्रो हुन्छ । भिन्न मतलाई भनावैरीबाट होइन, ‘वादेवादे जायते तत्त्वबोध’को माध्यमबाट निर्णयमा पुग्नु मनासिब हुन्छ । आफूले भनेजस्तो नहुँदैमा अर्को पक्षलाई अनर्गल निन्दा गर्दा विद्वत् समुदायलाई शोभा दिँदैन । बरु आफ्नो विमतिलाई निर्णयमै लिपिबद्ध गरेर छाड्ने हो भने भविष्यमा काम लाग्न सक्छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ १९, २०८१  ०९:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro