
काठमाडौं । इंग्लिस प्रिमियर लिगको क्लब टोटनहमका कप्तान तथा स्ट्राइकर सन ह्युङ मिनले आफूलाई ब्ल्याकमेल गरेको आरोपसहित दक्षिण कोरियामा उजुरी दिएका छन् । दक्षिण कोरियाली सञ्चारमाध्यमले खुलाएअनुसार एक महिलाले आफूलाई गर्भवती बनाएको झुटो आरोप लगाएपछि सनले प्रहरीको सहयोग खोजेका हुन् ।
बिहीबार सनको एजेन्सी सन एन्ड फुटबल लिमिटेडले दक्षिण कोरियामा उजुरी दर्ता गरेको विज्ञप्ति जारी गरेको छ ।
“हाल प्रहरीले छानबिन गरिरहेको छ, हामी प्रहरीको निष्कर्ष आउनसाथ अन्य जानकारी दिनेछौँ । हामी यस कुरामा सनको कुनै पनि संलग्नता नरहेको जानकारी दिन चाहन्छौँ । सन यो प्रकरणमा पीडित हुन्,” सन एन्ड फुटबल लिमिटेडले उल्लेख गरेको छ ।
दक्षिण कोरियाका स्थानीय समाचार माध्यमहरूले प्रहरीलाई उद्धृत गर्दै २० देखि ३० की एक महिला र ४० देखि ५० वर्षको एक पुरुष यस विषयमा अनुसन्धानका निम्ति पक्राउ गरेको जनाएका छन् । महिलालाई गर्भवती बनाएको भन्दै झुटो आरोप लगाएर रकम मागेको खुलेको पनि जनाइएको छ ।
३२ वर्षीय सन दक्षिण कोरियाका चर्चित खेलाडी हुन् । उनी प्रिमियर लिगमा मात्रै नभई दक्षिण कोरियाका निम्ति पनि समर्पित खेलाडीको रूपमा परिचित छन् ।