site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘हमास कमजोर भएको हो, हारेको छैन’

काठमाडौं । हमास र इजरायलबीच जनवरी १९ मा युद्धविराम भयो । यो युद्धविराम हुनुभन्दा केही दिनअगाडि अमेरिकाका राज्य सचिव एन्टोनी ब्लिकेनले भनेका थिए, “हमासले युद्धमा मारिएका आफ्ना लडाकुको ठाउँमा नयाँ लडाकु भर्ती गरेको छ । यो निरन्तर युद्धको छनक हो ।”

अक्टोबर ७ मा हमासले आक्रमण गरेपछि इजरायलले जवाफी आक्रमण ग¥यो । इजरायली जवाफी आक्रमणमा ४७ हजारभन्दा बढी गाजाबासी मारिए । इजरायली आक्रमणमा हमासका पनि हजारौँ लडाकु मारिए । हमासका सैन्य प्रमुख यह सिन्वर पनि इजरायली आक्रमणमा मारिए । ‘युरोपियन काउन्सिल अन फरेन रिलेसन’का यो १५ महिने युद्धका क्रममा हमासको हतियार भण्डार समाप्त भएको छ ।

तर, युद्धविराम भएसँगै गाजा क्षेत्रमा हमासको उपस्थिति देखिएको छ । इजरायली बन्धक रिहा गर्ने क्रममा हमासका लडाकु प्रफुल्लित मुद्रामा देखिएका छन् । हमासले चलाएको प्रशासनले गाजा क्षेत्रमा आफ्नो काम सुरु गरेको छ । गाजा क्षेत्रमाथि नियन्त्रण गर्ने एउटै प्रशासन हो, हमास ।

‘युरोपियन काउन्सिल अन फरेन रिलेसन’का सदस्य ह्युग लोभाट भन्छन्, “हमास आफू अझै पनि शक्तिशाली रहेको छवि बनाउन चाहन्छ । यसलाई हामीले उसको प्रोपागान्डा अभ्यासका रूपमा हेर्नुपर्छ ।”

यद्यपि, एक वर्षभन्दा बढी समयसम्म युद्ध गर्दा पनि हमासका लडाकुको गाजामा नियन्त्रण कायमै रहेको ह्युगको बुझाइ छ । उनका अनुसार इजरायलले न त हमासलाई समाप्त पार्न सक्यो न हमासको आन्दोलनलाई ।

गाजा क्षेत्रबाट विस्थापित भएर गाजाको रफाह क्षेत्रमा बस्न आइपुगेका ६७ वर्षीय फाथी अलि लवादीले हमासले इजरायली बन्धक रिहा गर्दा ठूलो संख्यामा हमास लडाकु देखे । ठूलो संख्यामा हमासका लडाकु देखिएपछि उनलाई लागेको छ, हमास अझै समाप्त भइसकेको छैनन् ।

‘मिडिल इस्ट काउन्सिल अन ग्लोबल अफयेर्स’का फेलो ओमार रहमान भन्छन्, “हमासले आफूले बन्धक बनाएकाहरूलाई सुरक्षित र राम्रो अवस्थामा राख्न सक्यो र युद्धविरामका लागि वार्ता पनि गर्न सक्यो ।”

यो युद्धमा हमासका कति लडाकु मारिए भन्ने यकिन तथ्यांक छैन । हमासको दाबीअनुसार उसको सैन्य र नागरिक संगठन दुवैबाट गरेर ६ देखि ७ हजार जना मारिएका छन् । हमासका अनुसार, उसका २५ हजार लडाकु अझै जीवित छन्, उनीहरू गाजा क्षेत्रमै छन् ।

इजरायली प्रधामनमन्त्री बेन्जामिन नेतन्याहु भने २० हजार हमास लडाकु मारेको दाबी गर्छन् । तर, संयुक्त राष्ट्र संघको मानवअधिकार कार्यालयका अनुसार, गाजामा मारिएका ४७ हजार ३०० जनामध्ये ७० प्रतिशत महिला र बालबालिका हुन् ।

प्यालेस्टिनी सैन्य विश्लेषक हमज अत्तर भन्छन्, “हमासलाई मात्र थाहा छ, उसका कति लडाकु मारिए भनेर, हालसम्म हमासले औपचारिक रूपमा केही भनेको छैन ।”

इजरायलले हमासको सम्पूर्ण भौतिक संरचना ध्वस्त पारेको दाबी गर्दै आएको छ । हमासले गाजा क्षेत्रमा बनाएको भूमिगत सुरुङ संरचना ध्वस्त पारको इजरायली दाबी छ । तर, इजरायली सञ्चारमाध्यमहरूले भने हमासको सुरुङ संरचना अझै पनि सक्रिय रहेको समाचार लेखिरहेका छन् ।

‘युरोपियन काउन्सिल अन फरेन रिलेसन’लाई हमासका सदस्यले बताएअनुसार इजरायलले भत्काएको सुरुङ संरचना हमासले पुनर्निर्माण गरिसकेको छ । कतिपय स्थानमा त उसले थप भूमिगत सुरुङ बनाएको छ ।

इजरायली आक्रमणमा हमासको रकेट भण्डार ध्वस्त भएको छ । तर, हमासले घरेलु तरिकाले बनाउने हतियार भने गाजाका विभिन्न क्षेत्रमा सुरक्षित छन् ।

‘युरोपियन काउन्सिल अन फरेन रिलेसन’को रिपोर्टअनुसार, “इजरायलले प्रहार गरेका तर विस्फोट नभएका रकेट, बमहरूलाई हमासले घरेलु तरिकाले रिसाइकल नयाँ हतियार बनाएको छ ।”

१५ महिनादेखि इजरायलले निरन्तर आक्रमण गर्दा पनि समाप्त नहुने शक्ति हमासले लामो समय लगाएर विकास गरेको हो । लामो समयको संघर्षले हमासमा यो क्षमता विकास भएको हो । यही क्षमताका कारण कयौँपटक प्रहार हुँदा पनि हमास संगठनका रूपमा जिवित रहिरहन्छ ।

हमास सैन्य संगठन मात्र होइन, यसले सन् २००६ देखि गाजा क्षेत्रको सरकार पनि चलाइरहेको छ । हमासले सन् २००६ मा गाजा क्षेत्रको चुनाव जितेको थियो । ७ अक्टोबर २०२३ मा इजरायलमा आक्रमण गरेपछि वेस्ट बैंक क्षेत्रमा पनि हमासको लोकप्रियता बढिरहेको विभिन्न अध्ययनले देखाएका छन् ।

हमासले आक्रमण गर्नुअगाडि इजरायलले गर्न सक्ने सम्भावित आक्रमणको ख्याल नगरेको, गाजाका जनतालाई युद्धमा धकेलेको भनेर हमासको आलोचना गरिन्छ । यसका बाबजुद यो १५ महिने युद्धका क्रममा गाजाबासीहरू हमासको साथमा उभिए ।

विश्लेषक अत्तर भन्छन्, “यो लडाइँ हमासका बारेमा होइन यो त उनीहरू (प्यालेस्टिनी)को पहिचानका बारेमा हो । प्यालेस्टिनी नागरिकको प्रतिरोध हो । हमासप्रतिको प्रेम नभई उनीहरूको प्यालेस्टिनप्रतिको प्रमे हो ।”

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, माघ १६, २०८१  २१:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro