site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
भोपाल राज्यको करोडौँको सम्पत्ति सैफ अली खानको कि सरकारको ?

मुम्बई । पटौदी परिवार तथा भोपाल राज्यका उत्तराधिकारी सैफ अली खान र उनको परिवारसँग रहेको १५ हजार करोड भारु बराबरको सम्पत्तिको स्वामित्वलाई लिएर अहिले चर्चा भइरहेको छ । यो सम्पत्ति सैफसँग रहन्छ वा सरकारको नाममा जान्छ भन्ने प्रश्न केही दिनदेखि भारतमा चर्चामा छ ।

भोपालको अहमदाबाद प्यालेस, फ्ल्याग स्टाफ हाउस, हजारौँ एकड जमिन र यसको वरपरका ऐतिहासिक भवनहरू अहिले ठूलो विवादको हिस्सा बनेका छन् । सरकारले ती सम्पत्तिलाई ‘शत्रु सम्पत्ति’ घोषणा गर्ने प्रक्रिया अघि बढाएको छ । फ्ल्याग स्टाफ हाउस त्यो क्षेत्र हो, जहाँ सैफ अली खानको बाल्यकाल बितेको थियो ।

सन् २०१५ मा कस्टोडियन अफ एनिमी प्रोपर्टी फर इन्डिया (सीईपीआई)ले तयार पारेको दस्तावेजअनुसार भोपालका नवाब हमिदुल्लाह खानकी जेठी छोरी आबिदा सुल्तान पाकिस्तानमा बसाइँ सरेकी थिइन् ।

Dabur Nepal
NIC Asia

केन्द्र सरकारका अनुसार, आबिदा पाकिस्तान प्रस्थान गरेका कारण भोपालका नवाबको सम्पत्ति ‘शत्रु सम्पत्ति ऐन’अन्तर्गत पर्छ ।

आबिदा सुल्तान सैफ अली खानकी हजुरआमा साजिदा सुल्तानकी जेठी बहिनी थिइन् । सैफ अली खान र उनको परिवारले सरकारको यो दाबीविरुद्ध मध्य प्रदेश उच्च अदालतमा मुद्दा दायर गरेको थियो ।

उच्च अदालतले १३ डिसेम्बर २०२४ मा फैसला सुनाउँदै ‘शत्रु सम्पत्ति’सँग सम्बन्धित विवादबारे निर्णय गर्न एक प्राधिकरण गठन गरिएको बताएको थियो ।

सैफ अली खान र उनको परिवारले भारत सरकारको दाबीविरुद्ध प्राधिकरणमा रिट दायर गर्न सक्नेछन् ।

डिस्ट्रिक्ट म्याजिस्ट्रेट के भन्छ ?

भोपालका डिस्ट्रिक्ट म्याजिस्ट्रेट कौशलेन्द्र विक्रम सिंहले बीबीसी हिन्दीसँग भनेका छन्, “मैले भर्खरै उच्च अदालतको आदेशबारे जानकारी पाएको छु । यसको अध्ययन गरिसकेपछि कानुनबमोजिम कारबाही हुनेछ । यद्यपि, यस केसबारे अहिलेसम्म कुनै जानकारी छैन । यसको अनुसन्धान फेरि एकपटक गर्नुपर्नेछ । त्यसपछि मात्र हामी थप विवरण दिन सक्छौँ ।”

मध्य प्रदेशको राजधानी भोपालका एक व्यक्ति भन्छन्, “जब मियाँ भोपालीको आन, बान र शानमा आउँछन् भने भोपालवनसी पछि हट्दैनन् ।”

अब्दुल्ला खान र उनको परिवार आज बस्ने घरहरू कुनै समय भोपाल राज्यको हिस्सा थिए । र, भोपाल नवाबको सम्पत्तिमा समावेश थिए । अब्दुल्लाह खानले बीबीसीलाई भने, “भोपाल राज्य भारतमा विलय भयो । यसपछि दोस्रो छोरी हमिदुल्लाह खानलाई भोपालको नवाब बनाइयो । जेठी छोरी आबिदा सुल्तान आफ्नो बुबा जीवित छँदै पाकिस्तान गएकी थिइन् । यहाँ आबिदा सुल्तानको नाममा कुनै सम्पत्ति छैन ।”

भोपाल राज्य र हमिदुल्लाह खानको विरासत

सन् १९२६ मा भोपाल राज्यका अन्तिम राजकुमार हमिदुल्लाह खान सिंहासनमा थिए । दुई दाजुको मृत्युपछि यो जिम्मेवारी उनको काँधमा आएको थियो ।

हमिदुल्लाह खानको शासनकाल राजनीतिक र सामाजिकरूपमा धेरै महत्त्वपूर्ण थियो । उनका तीन छोरी थिए– अबिदा सुल्तान, साजिदा सुल्तान र राबिया सुल्तान ।

सन् १९४७ मा भारतको विभाजनपछि नवाब हमिदुल्लाह खानले भारतमा नै बस्ने निर्णय गरे । उनकी जेठी छोरी आबिदा सुल्तानलाई उनको उत्तराधिकारी बनाइएको थियो । सन् १९५० मा आबिदा आफ्नो छोरा शहरयार खानसँग पाकिस्तान गएकी थिइन् ।

यी उनै शहरयार खान हुन्, जो पाकिस्तानको विदेश सचिव र पाकिस्तान क्रिकेट बोर्डको अध्यक्ष बने ।

सन् १९६२ को जनवरीमा भारत सरकारले हमिदुल्लाह खानकी दोस्रो छोरी साजिदा सुल्तानलाई भोपाल राज्यको उत्तराधिकारी घोषणा गरेको थियो ।

भोपालमा राजकुमारहरूको समयको अध्ययन गरेका इतिहासकार सिकन्दर मलिक भन्छन्, “हमिदुल्लाह खान सन् १९२६ मा भोपालका राजकुमार हुन् । त्यही बेला उनका दुई दाजुहरूको मृत्यु हुन्छ । त्यसैले उत्तराधिकारीको विवाद यो परिवारका लागि नौलो होइन ।” 

भोपालको नवाबको उत्तराधिकारी

साजिदा सुल्तानको विवाह पटौदी राज्यका राजकुमार इफ्तिखार अली खानसँग भएको थियो । उनका तीन छोराछोरी थिए– मंसुर अली खान पटौदी, सालेहा सुल्तान र सबिहा सुल्तान ।

सन् १९९५ मा साजिदा सुल्तानको मृत्यु भयो । उनको सम्पत्ति मुस्लिम 'पर्सनल ल'अन्तर्गत उनका छोराछोरीलाई बाँडिएको थियो ।

मंसुर अली खान पटौदीले आफ्नो सम्पत्ति आफ्ना छोराछोरी सैफ अली खान, सोहा अली खान र सबा अली खानलाई दिएका थिए । यसरी सैफ र उनकी बहिनीहरू भोपाल राज्यको सम्पत्तिको उत्तराधिकारी बने ।

भोपाल राजकुमारको सम्पत्तिमा भोपालको फ्ल्याग स्टाफ हाउस, अहमदाबाद प्यालेस, नूर–उस–सबा प्यालेस र लगभग पाँच हजार ८०० एकड जमिन समावेश छ । यी सम्पत्तिबाहेक, सिहोर र रायसेन जिल्लामा लगभग एक हजार ४०० एकड जमिन पनि छ ।

भोपालका स्थानीय सुमेर खान भन्छन्, “भोपाल नवाबकी जेठी छोरी पाकिस्तान गएपछि पनि नवाब साहेब जीवितै थिए । उनको मृत्युपछि उनकी कान्छी छोरी साजिदा सुल्तान त्यसपछि मन्सुर अली खान र उनको पनि मृत्युपछि, सैफ अली खानलाई भोपालको राजकुमार घोषित गरियो ।

“सरकारले यसलाई कसरी ‘शत्रु सम्पत्ति’ घोषणा गरिरहेको छ भन्ने अहिले बुझ्न गाह्रो भएको छ,” सुमेर भन्छन् । 

‘शत्रु सम्पत्ति’ विवादको सुरुआत

सन् १९६८ मा भारत सरकारले ‘शत्रु सम्पत्ति’ ऐन लागु गर्‍यो । यसअन्तर्गत पाकिस्तान वा चीनको नागरिकता लिएकाहरूको भारतमा रहेको सम्पत्तिलाई ‘शत्रु सम्पत्ति’ घोषणा गरिएको थियो ।

‘शत्रु सम्पत्ति’ विवाद भारतमा नौलो होइन । उत्तर प्रदेश र उत्तराखण्डको महमुदाबाद राज्यको मुद्दा पनि चर्चामा छ ।

सन् १९७५ मा राजा मोहम्मद आमिर अहमद खानले पाकिस्तानको नागरिकता लिए । त्यसपछि उनीहरूको सम्पत्तिलाई ‘शत्रु सम्पत्ति’ घोषणा गरियो ।

सन् २००५ मा सर्वोच्च अदालतले ‘शत्रु सम्पत्ति’को स्वामित्व परिवारमा नै रहने फैसला सुनाएको थियो । तर, सरकारले अध्यादेशमार्फत उक्त निर्णय उल्ट्यायो ।

सन् २०१५ मा भारतका लागि ‘शत्रु सम्पत्ति’को संरक्षकले भोपाल राज्यमा रहेका सबै सम्पत्ति आबिदा सुल्तानको भएको दाबी गरेका थिए । आबिदा सुल्तान पाकिस्तानमा बसाइँ सरेपछि यी सम्पत्ति ‘शत्रु सम्पत्ति’को दायरामा आए ।

यसपछि सैफ अली खान र उनको परिवारले सरकारको दाबीलाई चुनौती दिए । उनले मध्य प्रदेश उच्च अदालतमा मुद्दा दायर गरे । अदालतले यो ‘शत्रु सम्पत्ति’को मुद्दाको निरुपणका लागि गठित प्राधिकरणमा पठाउन निर्देशन दिएको छ ।

पाकिस्तान जाने आबिदा सुल्तानको निर्णय

आबिदा सुल्तानको जीवन भोपाल राज्यको राजनीति र संस्कृतिको एक महत्त्वपूर्ण हिस्सा बनेको छ । इतिहासकारहरूका अनुसार, सन् १९२८ सम्ममा उनी आधिकारिक उत्तराधिकारी थिइन् । त्यसैले उनी आफ्नो बुबासँगै प्रशासनिक काममा सक्रियरूपमा सहभागी हुन्थिन् ।

सन् १९२६ मा आबिदा सुल्तानको विवाह कुरवाईका राजकुमार सरवर अली खानसँग भएको थियो । आबिदा सुल्तानको आत्मकथामा उल्लेख भएअनुसार २९ अप्रिल १९३४ मा उनका एकमात्र छोरा शहरयार मोहम्मद खानको जन्म भएको थियो । तर, आबिदा सुल्तान र नवाब सरवर अली खानको विवाह लामो समय टिक्न सकेन । उनी भोपाल फर्किइन् ।

इतिहासकार सिकन्दर मलिक भन्छन्, “देशको विभाजन र स्वतन्त्रताको समयमा धेरै परिवर्तन भयो । राजनीतिक परिवर्तनसँगै नवाब साहेब (हमिदुल्लाह खान)को जीवनमा पनि निकै ठूलो उथलपुथल आयो । सन् १९४६ मा हमिदुल्लाह खानले दोस्रो विवाह गरे । यसपछि उनको घरमा कलह थप बढ्यो ।” 

यसबीच, आबिदा सुल्तानले भारतको राजनीतिक अवस्था परिवर्तन भइरहेको देखेकी थिइन् । घरमा पनि परिस्थिति उनीहरूको अधिनमा रहेन । त्यसैले उनले आफ्नो १६ वर्षीय छोरासँग पाकिस्तान जाने निर्णय गरेकी थिइन् ।

यदि, भोपालका राजकुमारको सम्पत्तिलाई ‘शत्रु सम्पत्ति’ घोषणा गरियो भने यसले सैफ अली खानको परिवारलाई मात्र नभएर भोपालका लाखौँ बासिन्दालाई असर गर्नेछ ।

यसमध्य धेरै सम्पत्तिमा स्थानीय बसोबास गरिरहेका छन् । भोपालनिवासी सुमेर खान भन्छन्, “यदि, यी सम्पत्तिहरू जफत गरियो भने १० देखि १५ लाख मानिस प्रभावित हुनेछन् ।

भोपालको खानुगाउँ इलाकाका मोहम्मद नसिम भन्छन्, “हाम्रा बुबाहरू भोपालका राजकुमारहरूसँग काम गर्थे । आज हामी जहाँ बस्छौँ, त्यहाँ यी सम्पत्ति नवाब हमिदुल्लाह खानले हाम्रा पुर्खाहरूलाई बस्न र खेती गर्नका लागि दिएर गए ।”

भोपालका राजपरिवारको सम्पत्तिमा अहिले लाखौँ मानिसको बसोबार र धेरै बजारहरू छन् । यसमा केही जग्गासँगै मोटर्स ग्यारेज, न्यू कोलोनी क्वार्टर, कटेज, डेरी फार्म क्वार्टर, फरेस्ट स्टोर, सुरक्षा रुमलगायत रहेका छन् ।

अब अगाडि के हुन्छ ? 

अब सैफ अली खान र उनको परिवारले जनवरी २०२५ मा गृह मन्त्रालयमा अपिल दायर गरेको छ । सैफ परिवारको दाबीअनुसार, आबिदा सुल्तानले आफ्नो पिता जीवित छँदा भोपाल राज्यमाथिको आफ्नो अधिकार त्यागेकी थिइन् । त्यसैले यी सम्पत्ति ‘शत्रु सम्पत्ति’को दायराभित्र पर्दैनन् ।

महत्त्वपूर्ण के छ भने यसअघि सरकारले भोपालका नबाव हमिदुल्लाह खानकी दोस्रो छोरीलाई राजकुमार मानेको थियो । यसपछि उनको परिवारका सदस्यले पनि यो पदवी पाए ।

अब सरकारले भोपालका तत्कालीन नवाबकी जेठी छोरी आबिदा सुल्तानलाई आधिकारिक उत्तराधिकारी मानिरहेको छ । त्यसैले भोपालले नवाबसँग सम्बन्धित सम्पत्तिलाई ‘शत्रु सम्पत्ति’को रूपमा व्यवहार गरिरहेको छ । अब, सरकारले सैफ परिवारको सम्पत्तिबारे के निर्णय गर्छ भन्नेमा धेरैको चासो छ । बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १६, २०८१  १६:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro