site stats
बाह्रखरी :: Baahrakhari
देश
यी १२ जिल्लामा ‘धेरै भारी’ वर्षाको चेतावनी
काठमाडौंमा भएको वर्षाको दृश्य । फाइल तस्बिर ।

काठमाडौं । देशका केही जिल्लामा ‘धेरै भारी’ वर्षाको सम्भावना औँल्याइएको छ । शनिबार (असार १४) साँझदेखि सोमबार (असार १६) बिहानसम्म लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही जिल्लामा धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

लुम्बिनीका बाँके, बर्दिया र दाङमा भारी/धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् मीनकुमार आर्यालले बताए । कर्णालीका पनि तीन जिल्लामा यस्तो सम्भावना रहेको उनले जानकारी दिए ।

“लुम्बिनी प्रदेशको बाँके, बर्दिया र दाङमा र कर्णाली प्रदेशको दैलेख, सुर्खेत र सल्यानमा भारीदेखि धेरै भारी पानी पर्ने सम्भावना छ,” उनले भने ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यो अवधिमा सुदूरपश्चिमका ६ जिल्लामा भारी/धेरै भारी वर्षाको सम्भावना छ । उनले भने, “सुदूरपश्चिम प्रदेशको बैतडी, डडेलधुरा, डोटी, अछाम, कैलाली र कञ्चनपुरमा पनि भारीदेखि धेरै भारी पानी पर्ने सम्भावना छ ।” 

यीबाहेक अरू प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा भारी/धेरै भारी वर्षाको पूर्वानुमान छ । “यसले बाढी र पहिरोको जोखिम बढ्न सक्छ । सहरी तथा तराईका क्षेत्रमा डुबान हुनसक्छ,” मौसमविद् अर्यालले भने, “दैनिक जीवन, सडक तथा हवाई यातायात, कृषि, स्वास्थ्यलगायत विभिन्न क्षेत्रमा प्रभाव पार्न सक्ने हुनाले सतर्क रहन र पूर्वतयारी गर्न अनुरोध छ ।”

यो अवधिमा वर्षाको सम्भावना देशभरि नै छ । अरू प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यति बेला पनि देशका केही स्थानमा वर्षा भइरहेको छ ।

के हो भारी वर्षा ?
कुनै स्थानमा २४ घण्टामा १०० देखि २०० मिलिमिटर पानी पर्नुलाई ‘धेरै भारी’ वर्षा भनिन्छ । २४ घण्टामा २०० मिलिमिटरभन्दा धेरै पानी परे ‘अति भारी’ वर्षा भनिने महाशाखाले जनाएको छ ।

कुनै स्थानमा २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म पानी पर्नुलाई ‘भारी’ वर्षा भनिन्छ । १० देखि ५० मिलिमिटरसम्म पानी परे ‘मध्यम’ वर्षा भनिन्छ । १० मिलिमिटरसम्म पानी परे हल्का वर्षा भनिने महाशाखाले जनाएको छ ।

मौसमविद् भन्छन्– भीषण वर्षाको सम्भावना
जलवायुविज्ञ डा. धर्मराज उप्रेतीले पनि असार १४, १५ र १६ गते मनसुन थप सक्रिय हुने जनाएका छन् । उनले डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुरमा अति भारी वर्षाको सम्भावना औँल्याएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले थप लेखेका छन्, “कर्णालीको सुर्खेतलगायत तल्लो तटीय क्षेत्रमा भारी वर्षा, केही ठाउँमा अति भारी वर्षाको सम्भावना पनि देखिन्छ । लुम्बिनीको पश्चिम भाग, विशेष गरी बाँके, बर्दियामा समेत भारी वर्षाको सम्भावना प्रबल हुँदै गएको छ ।”

उनले अगाडि लेखेका छन्, “यो वर्षको असार १५ वर्षामय हुने, दिउँसोको भन्दा राति वर्षाको सम्भावना र गति बढी हुने देखिन्छ ।”

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले पनि आइतबार (असार १५) रातिदेखि सोमबार (असार १६) दिनभरि सुदूरपश्चिममा भीषण पानी पर्ने सम्भावना औँल्याएका छन् ।

प्रकाशित मिति: शनिबार, असार १४, २०८२  १८:१३
प्रतिक्रिया दिनुहोस्