site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जलनको निःशुल्क उपचार गर्न कुन अस्पताललाई कति बजेट ?

काठमाडौं । विपन्न नागरिकका निम्ति जलनको निःशुल्क उपचार कार्यविधि स्वीकृत भएसँगै सरकारले तोकिएका अस्पतालहरूलाई बजेट छुट्याएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई केन्द्रीयसहित सातै प्रदेशका निम्ति बजेट व्यवस्थापन गरेको हो । गएको कात्तिक २ गतेको मन्त्रिपरिषद् बैठकले उपचार खर्च व्यहोर्न नसक्ने नागरिकलाई कस्मेटिकबाहेकका जलन उपचारको व्यवस्था निःशुल्क गर्ने निर्णय गरेको थियो ।

निःशुल्क उपचारका निम्ति जलनको सघन उपचार सेवा विस्तार गर्नेसम्बन्धी कार्यविधि २०८१ स्वीकृत गरिएको छ । सोही कार्यविधिका आधारमा उपचार सेवा दिन मन्त्रालयले चालु आर्थिक वर्षका निम्ति आठ अस्पताललाई १२ करोड रुपैयाँ बजेट छुट्याएको हो ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार प्रदेशस्तरमा तोकिएका अस्पताल प्रत्येकलाई एक–एक करोडका दरले सात करोड रुपैयाँ दिने निर्णय छ ।

केन्द्रीय अस्पताल तोकिएको कीर्तिपुर अस्पताललाई भने पाँच करोड रुपैयाँ बजेट छुट्याइएको छ । वीर अस्पतालले भने वार्षिक बजेटमा नै विनियोजन गरेकाले बाँकी सात अस्पतालका निम्ति मात्रै व्यवस्था गरिएको बुढाथोकीले जानकारी दिए ।

यी हुन् निःशुल्क उपचार हुने अस्पताल
जलनको सघन उपचार सेवा विस्तार गर्नेसम्बन्धी कार्यविधिअनुसार काठमाडौंका कीर्तिपुर र वीरलाई केन्द्रीय अस्पताल तोकिएको छ ।

प्रदेशस्तरबाट कोसीमा बीपी कोइराला राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, मधेसमा नारायणी अस्पताल वीरगञ्ज, गण्डकीमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनीमा भेरी अस्पताल नेपालगञ्ज, कर्णालीमा प्रादेशिक अस्पताल सुर्खेत र सुदूरपश्चिममा सेती प्रादेशिक अस्पताल, धनगढीले यो सेवा दिनेछन् ।

कार्यविधि अनुसारको उपचार पाउन सरकारले प्रदान गरेको गरिब परिवार परिचयपत्रका आधारमा अस्पतालको सामाजिक सेवा इकाइको सिफारिस आवश्यक हुन्छ ।

कस्ता कस्ता उपचार निःशुल्क हुन्छन् ?
कार्यविधिअनुसार जलनको आकस्मिक उपचारदेखि अंगभंग भएकाको पुनर्संरचनात्मक शल्यक्रिया समेतको उपचार निःशुल्क हुन्छ ।
जसमा आकस्मिक सेवा, जलनका घाइतेका निम्ति अस्पतालमा उपलब्ध तत्काल उपचार, आईसीयू उपचार, र जलनपश्चात मुख्य अंगभंगबाट पुनर्स्थापना गरी शारीरिक रूपमा सक्रिय जीवनयापन हुन आवश्यक पुनर्संरचनात्मक शल्यक्रिया सेवा समेत समेटिएको छ ।

पुनर्स्थापना गरी सक्रिय जीवनयापनका निम्ति कृत्रिमअंगको समेत सोही सेवामार्फत् उपलब्ध गराइने प्रवक्त बुढाथोकीले बताए । “अनुहार वा अन्य अंगमा असर नै पर्ने गम्भीर अवस्था भए प्लाष्टिक सर्जरी पनि निःशुल्क हुन्छ, तर राम्रो देखिनकै लागि गरिने कस्मेटिक सर्जरी चाहिँ निःशुल्क हुँदैन,” उनले भने ।

कुन अस्पतालबाट कति सेवा ?
कार्यविधिअनुसार तोकिएका सबै अस्पतालले अविच्छिन्न रूपमा सघन उपचार सेवा दिनेछन् । प्रदेशस्तरका अस्पतालले थप उपचार आवश्यक परे केन्द्रीय अस्पतालमा प्रेषण गर्नेछन् । केन्द्रीय अस्पतालहरूले उपचारका साथै दक्ष जनशक्ति उत्पादन, क्षमता विकास र जलनका घटना रोकथामका निम्ति नीतिगत काम समेत गर्नुपर्नेछ ।

सेवाप्रदायक अस्पतालहरूले आवश्यकताका आधारमा सघन विशेषज्ञ तथा तालिम प्राप्त स्वास्थ्यकर्मी करार सेवामा राख्न सक्ने व्यवस्था कार्यविधिले गरेको छ । बर्न तथा प्लाष्टिक शल्यक्रियामा विशेषज्ञता हासिल गरेका छात्रवृत्ति चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सेवामा खटाइने पनि कार्यविधिमा उल्लेख छ । यस्ता जनशक्ति व्यवस्थापनमा मन्त्रालयले सहजीकरण गर्नेछ ।

मन्त्रालयले अस्पतालहरूलाई शोधभर्ना रकम दिन चालु आर्थिक वर्षका निम्ति १२ करोड रुपैयाँको व्यवस्थापन गरिसकेको छ  । आगामी आर्थिक वर्षदेखि भने अस्पतालको बजेटमा नै  राखिने कार्यविधिमा उल्लेख छ ।

यस्तै, स्वास्थ्य विकास साझेदार निकायबाट आर्थिक र वस्तुगत सहायता लिन सकिने व्यवस्था कार्यविधिले गरेको छ । अपुग भएको बजेट मन्त्रालयबाट व्यवस्थापन गरिने कार्यविधिमा उल्लेख छ । तर, तोकिएका उपचारभन्दा बाहिर गएर दिइएका सेवाबापत् भने अस्पताललाई सरकारबाट भुक्तानी नहुने कार्यविधिमा प्रष्ट उल्लेख छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  ०७:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro