site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
...अनि भावुक भए डा. भगवान कोइराला, भक्कानिए मीनबहादुर गुरूङ
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । “पाण्डेजी कता हुनुहुन्छ ? आज ठिक साढे १२ बजे एकजना क्यामेराको साथी पनि लिएर तपाईं नक्साल भाटभटेनी नजिकै आउन सक्नुहुन्छ ?,” बाह्रखरी मिडियाका प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्यको अघिल्लो शुक्रबार बिहान ९ बजेतिर फोन आयो ।

दैनन्दिन रिपोर्टिङ भन्दा समाचार व्यवस्थापनमा अलमलिएको भए पनि फिल्डमा जान सधैं जाँगर चल्छ । उहाँले कुरा करिब त्यतिमै टुंग्याउनुभयो, “मैले तपाईंलाई पर्खिरहेको हुन्छु । एकठाउँ जानुपर्ने हुनसक्छ ।”

अक्सर उहाँका धारणा या बोली सांकेतिक हुन्छन् । पछि थाहा भयो उहाँलाई पनि थाहा थिएन जाने कहाँ र किन भन्ने । न त खबर गर्नेलाई नै सबै कुराको जानकारी थियो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

थियो त केवल मनस्थितिमात्रै । खासमा उहाँलाई पनि कसैले अनुरोध गर्‍यो, सोहीअनुसार मलाई खबर गर्नुभएको हो भन्ने लाग्छ ।

सम्पादकलाई जानकारी गराएर फोटो पत्रकार सुनील प्रधानसँगै हामी त्यसतर्फ लाग्यौँ ।

Royal Enfield Island Ad

काठमाडौंको ट्राफिक जामका कारण निर्धारित समयभन्दा हामी करिब दुई मिनेट ढिला गरी भाटभटेनी नजिकै पुग्यौँ ।

फेरि आचार्य सरकै फोन थियो, “तपाईंहरु अब सीधै हेपाली हाइट जाँदै गर्नुस् । मिलेसम्म म पनि आउँछु ।”

हेपाली हाइट किन जाने हो, त्यहाँ कसको अन्तर्वार्ता गर्ने या कोसँग कुराकानी गर्ने केही पनि जानकारी थिएन । तर पनि हामी फेरि हेपाली हाइटतर्फ अघि बढ्यौँ । 

बीचबीचमा फोन आउँथ्यो– अब यो बाटो छिर्नुस्, अब यता लाग्नुस्, यस्तै यस्तै...।

हामी यस्तो ठाउँमा पुग्यौँ– वरिपरिका पहाड सबै ताछिएका छन् । पुछारमा केही पिलरका संकेत देखिन्छन् । केही डोजर र कामदार पनि । त्यसको टाकुरामा रहेको एउटा घरको झ्यालबाट बाहिर हेरेर कसैले संकेत गरे यतै हो भन्ने । ति थिए – डा. भगवान कोइराला ।

koirala-hospital-(4)-1715951694.jpg
डा. भगवान कोइरालालाई नचिन्ने नेपाली सायदै होलान् । 

अहिलेसम्म करिब १५ हजारभन्दा धेरैजनाको त मुटु अपरेशन गरे । त्यसमध्ये ६ हजारजति त बालबालिकाको मात्रै अपरेशन गरे उनले । तर काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थको अभियान अघि बढाएदेखि डा. कोइराला यो ७–८ वर्षको अवधिमा राम्रोसँग सुत्न पाएका छैनन् ।

उनैको संकेतअनुसार हामी माथि उक्लियौँ, त्यहाँ पुग्दा सानो बैठककक्षमा डा. कोइरालासँगै थिए भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरूङ ।

गुरूङलाई देख्ने बित्तिकै भगवान कोइरालाको जिन्दगीको सबैभन्दा परोपकारी र स्वास्थ्य क्षेत्रको उल्लेखनीय काममा ठूलै बल मिल्नेभयो भन्ने सोच अनायासै मनमा आयो । किनभने गुुरूङका पुराना सामाजिक सेवाको कर्म मलाई थाहा छ ।

त्रिवि शिक्षण अस्पतालमा करिब २६ करोड लागतमा इमर्जेन्सी वार्डको भवन, दुर्गम क्षेत्रका १४ जनालाई एमबीबीएस अध्ययन गराएर डाक्टर बनाएका, भूकम्पका बेला सरकारलाई सहयोग गरेका, कोरानाकालमा संघीय सरकार र सबै प्रदेशको खातामा रकम जम्मा गरिदिएका, सुदूरपश्चिम केन्द्र बनाएर गएको भूकम्पमा ट्रकका ट्रक खाद्यान्न पठाएका गुरुङका धेरै समाचार मनमा रिलजस्तो आयो । 

डा. कोइरालाले कुराकानी सुरु गर्दै भने – अघि तपाईंहरुले तल हेर्नुभएको स्थानमा यस्ता भवन बन्दैछन् । 

koirala-hospital-(1)-1715951693.jpg
 

योजनाका फेहरिस्त राख्दै अघि बढ्दै गए डा. कोइराला, गुरुङ गम्भीर मुद्रामा कुरा सुन्दै थिए । लाग्दैथ्यो उनी कुनै ठूलै वा गम्भीर कुरामा मन घुमाइरहेका छन् । मानौं गुरूङ केही ठूलो कुरा घोषणा गर्ने मन बनाइरहेका छन् ।

यही बीच कोइरालाले यो अस्पतालको प्रोजेक्टका साथ साथै आफ्नो विगत सुनाए, वर्तमान र भविष्य समेत सुनाउन भ्याए ।नेपालका निजी अस्पतालले महंगो तलब प्रस्ताव गर्दासमेत सरकारी अस्पताललाई नै राम्रो बनाउन कस्सिएर लागेका वरिष्ठ चिकित्सक हुन् डा. कोइराला । 

निजीलाई चित्त नदुखाउनेगरी ‘धन्यवाद, तर म जागिर खाँदिन धन्यवाद’ भन्दै धेरै जवाफ फर्काए ।

सरकारी अस्पताल जागिर खाने मात्र होइन, सरकारीलाई निजीभन्दा उत्कृष्ट बनाउने उदाहरण उनैले सुरु गरेका हुन् भन्दा अत्योक्ति हुँदैन । 

पहिले गंगालाल अस्पताल अनि शिक्षण अस्पताल र त्यसपछि मनमोहन कार्डियोभास्कुलर अस्पताल । यिनै अस्पतालमा यिनले गरेको गुणात्मक कामका कारण यिनलाई नाम मात्र होइन कामले पनि भगवान भनिएको हो । 

धेरै काम गरे डा. भगवान कोइरालाले । तर उनलाई अझै सन्तोष प्राप्त भएन । उनलाई लाग्यो २५ वर्षको अवधिमा बालबच्चाको भविष्यप्रति जति सोच्नुपर्ने हो त्यति गर्न सकिएन । 

१५ हजार मुटुको अपरेशन गरेका उनले ६ हजार त बच्चाको मुटु अपरेशन गरेर करिब सबैको जीवनमा नयाँ आशा सञ्चार गरेका छन् । 

bhagawan-1715951724.jpg
 

तर, उनलाई अझै केही अपुग जस्तो लागिरहेको थियो । एकदिन डा. कोइरालाले सोचे हाम्रा बाल–बालिकाको जुन तरिकाबाट नेपालमा उपचार भइरहेको छ त्यो पर्याप्त छैन, यसरी हुँदैन, केही ठोस कदम चाल्नैपर्छ ।

अहिले पनि जन्मिएका प्रतिहजारमा २१ बच्चा मरिरहेका छन् । सरकारले विश्वसामु उभिएर बाचा गरेको विषय हो– सन् २०३० सम्म प्रतिहजार १२ मा झार्ने । १२ मा झार्ने त भन्यो तर १० वर्षदेखि सरकारले केही गरेको छैन ।

सरकारले चाहेरमात्रै यो काम गर्न पनि सक्दैन । निजी पनि त्यो अवस्थामा पुगेकै छैनन् । उनले सोचे यो क्षेत्रमा न त निजी एक्लैले सक्छ न त सरकारले मात्रै । 

स्वास्थ्य सेवाको मोडलकै बारेमा बहस गर्न चाहन्छन् डा. कोइराला । बहसमात्रै किन ? सरकार र निजी क्षेत्र या गैरसरकारी संस्था कसरी अघि बढेर काम गर्नुपर्छ भन्ने स्पष्ट सोच ‘भिजन’ छ, उनमा ।

“मैले यहाँहरुमार्फत् नै नीति तहमा बहस होस् भन्ने चाहन्छु,” डा. कोइराला भन्छन्, “स्वास्थ्यमा सेवाको उपलब्धता सम्बन्धमा मोडल नै परिवर्तन गर्नुपर्छ । सरकार आफूले मात्रै दिन्छु भन्यो भने पनि सेवा दिन सक्दैन । दरबन्दीकै कारण पनि सम्भव छैन । विशेषज्ञ होलान्, भवन होला, पैसा पनि होला, उपकरण पनि होला तर सम्भव छैन ।”

“स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउने हो भने पार्टनरसिपमा काम गर्नुपर्छ र सेवा दिनुपर्छ,” उनको भनाइ छ, “तिलगंगाले आँखाको क्षेत्रमा राम्रो गरेको छ, धुलिखेलले राम्रो सेवा दिएको छ, बयलपाटाले अछाममा राम्रो सर्भिस दिएको छ । सरकारले फरक तरिकाले सोच्नुपर्छ । यो मोडलमा लैजानैपर्छ । बहस यसमा हुनुपर्छ ।”

डा. कोइरालालाई लाग्यो– अब बालबालिकाको क्षेत्रमा केही गर्नैपर्छ ।

योजना पनि बनाए, काम पनि अघि बढ्यो तर बीचबीचमा आइरहेका अन्तर्राष्ट्रिय समस्याको असरले नराम्रोसँग गाज्यो ।

काठमाडौंसहित सातवटै प्रदेशमा उच्चस्तरको अस्पताल होस् जहाँ बालबालिकाको सबै प्रकारको उपचार सहज होस् भनेर अस्पताल बनाउने योजना अघि सारेका थिए । उनको सपना पनि थियो । साढे दुई दशक नेपालमै बसेर नेपालीको सेवा गरेका उनलाई यो अभियानमा कसो नेपालीले साथ नदेलान् भन्ने थियो । 

कोभिड आयो, योजनामा ब्रेक लाग्यो । कोभिड विस्तारै कम हुँदै गयो आर्थिक संकट आयो । 

koirala-hospital-(3)-1715951694.jpg
 

डा. भगवान कोइरालाले हार त खाएनन् तर पनि भनेकोजस्तो सहयोग जुट्ने देखिएन ।

संसारभर रहेका नेपालीलाई पनि कति ठाउँ आफू नै पुगेर होस् वा विभिन्न माध्यमबाट योजना पुर्‍याएर केही सहयोग त प्राप्त भयो नै जुन पर्याप्त थिएन ।

कोइरालाकै भनाइ सापटी लिने हो भने नेपालीले दान त गर्छन् तर मुठीमा । अञ्जुलीमै पनि गर्ने निकै कम भेटिन्छन् । कतिसँग धन छ मन छैन, कतिसँग मन छ पर्याप्त धन छैन ।

मुठी दानबाटै भए पनि अभियान पूरा गरेरै छाड्ने दृढता उनमा थियो र अझै छ । तर गुरूङको सदासयताले अब उनको आत्मविश्वास निश्चित रुपमा हिमालको चुचुरोमा पुगेको छ । 

डा. कोइराला र गुरूङको सम्बन्ध निकै लामो होइन । गुरूङले कोइरालालाई चिन्थे तर कुराकानी हुँदैनथ्यो । नौ वर्षअघि पहिलो भेट भएको थियो ।

केही वर्षपछि कोइरालाले गुरुङलाई भेटेर आफ्नो योजना सुनाए ।

त्यसबेला गुरुङले जवाफ दिए – “तपाईं असल चिकित्सकमात्रै होइन असल व्यक्ति पनि हुनुहुन्छ । तपाईंले गरेका काम पनि असल छन् र अब पनि हुनेछन् । असल काममा लागि मिलेर अघि बढौँ । म तपाईंको साथमा छु ।”

कोइरालाको विगत हेरेर सहयोगको निष्कर्षमा पुगेका थिए गुरूङ ।

minbahadur-gurung-1715951726.jpg
 

उनले भने, “तपाईं संसारका जुनसुकै ठाउँमा पुगेर पनि आरामले बस्न सक्नुहुन्थ्यो । नेपाललाई माया गरेर बस्नुभयो । मैले पनि नेपालमा बसेर कमाएको पैसा नेपाल र नेपालीकै हितमा खर्च हुनुपर्छ भन्ने मान्यता राखेर व्यवसाय गर्दै आएको छु । सूर्यबहादुर थापाले भारतको स्कर्टमा उपचार गराउँदा चार लाख रुपैयाँ खर्च भयो भनेर हामीले सुनिन्थ्यो । पैसा र पहुँच हुनेले त विदेशमा गएर पनि उपचार गराउन पाउँछन् तर देशमै मुटुको अपरेसन र उपचारका लागि आम मान्छेले पनि गंगालालमा सेवा पाए  । तपाईंले हजारौँ नेपालीको ज्यान बचाउनुभयो । मैले पहिले पनि मिलेर काम गरौँ भनेको थिएँ अहिले पनि भन्छु ।”

पहिले पहिलेका भेटले ठोस सहयोगको निर्णय भएको थिएन । गुरूङ आफ्नै काममा व्यस्त, डा. कोइराला पनि अस्पताल जसरी पनि सकाउन दिन–रात एक गर्दै थिए ।

उनले नेपाली बच्चाको ज्यान जोगाउन आफूले जीवनभर कमाएको ख्यातिलाई धक नमानी प्रयोग गरे । हुने र दिने धेरैसँग गएर आफ्नो काम बताए र सहयोग मागे । 

कति सहयोग आयो पनि । तर, जति नै कोसिस गर्दा पनि योजनाको ४० प्रतिशतमात्रै रकम उठ्ने देखियो । जति नै कोसिस गर्दा पनि पैसा नपुग्ने देखेर डा. कोइरालालाई निद्रा लाग्न छाडेको थियो । लागोस् पनि कसरी !

koirala-hospital-(5)-1715951694.jpg
 

तर, डा. भगवानलाई साँच्चैको भगवानले आशीर्वाद दिए, “तिमीले चिताए मात्र हुन्छ, म पुर्‍याउँछु ।”

बाह्रखरी मिडियाले आयोजना गरेको अन्तर्राष्ट्रिय गल्फ डे को कार्यक्रममा एक होटलमा कोइराला र गुरूङको भेट भयो । भोलिपल्ट अस्पताल निर्माण परिसरमा नै भेट्ने समझदारी भयो । डा. कोइरालाले धेरै धन भएका व्यक्तिसँग भेटेका थिए । उनले मीनबहादुर गुरूङको छाती आकेका थिएनन् । धेरै आशा पनि थिएन तर केही उत्साह भने थियो । 

baahrakhari-1715951693.jpg
 

तर, अप्ठेरो अवस्थामा पुगेका कोइरालासामू मुठी, अञ्जुली होइन भकारी नै लिएर उपस्थित भइदिए ‘मनकारी’ मीनबहादुर ।

वास्तवमा गुरुङ पनि शुक्रबार त्यहाँ जाने र यति सहयोग गर्ने भन्ने निष्कर्षमा पुगेका रहेनछन् । योजना त थियो पहिलेदेखि नै तर रोकिएको थियो ।

काठमाडौं इन्स्टिच्यूट अफ चाइल्ड हेल्थ अर्थात् डा. कोइरालाले स्थापना गर्दै गरेको अस्पताललाई आफूले केही सहयोग गर्न चाहेको कुरा श्रीमती सावित्रीसँग सल्लाह गरे अनि लागे डा. कोइरालालाई भेट्न । उनका अनुसार छोरा छोरी कसैलाई पनि डा. कोइरालाको अभियानमा सहयोग गर्न लागेको बारेमा जानकारी गराएका थिएनन् ।

उनी चाहन्थे– मेरा बाँकी परिवारले पनि मैले गरेको सहयोग मिडियाबाटै या डा. कोइरालाकै मुखबाट थाहा पाउन् ।

“नेपालीसँग भएर पनि दिन गाह्रो मान्छन् । दिँदा पनि मन फुकाएर दिए लिनेले पनि केही गर्न सक्छ, गर्नेलाई पनि आँट आउँछ,” गुरुङले भने, “मैले मेरो श्रीमतीसँग पनि सल्लाह गरेँ, डा. साबकहाँ जाँदैछु, के गर्न सकिन्छ हेर्छु भनेर आएको छु । मैले मेरा छोराछोरीलाई पनि सोधिनँ । मैले गरेको कुरा उनीहरुले पनि मिडियाबाटै जानकारी पाउन् भनेर आएको छु ।”

minbahaduran-bha-1715951726.jpg
 

डा. कोइरालाले बाल अस्पतालमा अहिलेसम्म गरेका प्रयास, भएका काम, अहिले वर्तमानको अवस्था र यसको भविष्यका बारेमा बताए ।

“हामीले अबको सात वर्षमा प्रोजेक्ट रन गर्न सक्यौँ र अर्को सात वर्ष चलाउन सकियो भने हाम्रा बच्चाहरुको मर्ने क्रम निश्चय पनि घट्नेछ,” कोइरालाले आफ्नो योजना सुनाउँदै अहिलेसम्म गरेका कामहरु गुरुङलाई देखाए ।

डा. कोइरालाका कुरा गम्भीर भएर सुनिरहेका गुरुङले सोधे– तपाईंलाई अस्पताल बनाउन अब कति सहयोग आवश्यक पर्छ ? हामीबाट कस्तो भवन अपेक्षा गर्नुभएको छ ?”

कोइराला पनि कति भन्ने कति अप्ठेरोमा परे ! सम्भवतः सोचेका थिए– २, ४, ८, १० करोड !

उनले यति नै भन्न सकेनन्, भने, “अहिलेसम्म गरेको काम यही हो । प्रतिवद्धता भएको सबै रकम आयो भने हामी ४० प्रतिशतको नजिक पुग्नेछौँ । मलाई लाग्छ प्रतिवद्धता भएको रकम आउछ नै ।”

गुरुङले सोधे– यो हेलिप्याडसहितको भवन कति स्क्वायर फिटको छ ?

koirala-hospital-(7)-1715951695.jpg
 

गुरुङको मन फुक्दै गयो । 

“अब त अलि अलि इञ्जिनियरको पनि भाषा बुझ्न थालेँ,” हजारौँको मुटु चिरेका डा. कोइरालाले हास्दै भने, “भवन विभागले भनेको मापदण्डअनुसार बनाउँदा ९५ हजारदेखि एक लाख स्क्वायर फिटसम्मको हुनेछ । ठ्याक्कै भन्न सकिँदैन, त्यो भन्दा बढी वा कम चाहिँ हुँदैन ।”

आफुसँगै रहेका टिमका एकजना सुवर्ण डंगोललाई लिएर पुगेका थिए गुरुङ । 

गुरुङले सुवर्णतिर फर्किँदै सोधे– हामीले यो भवन नेपालका कुनै पनि अस्पतालभन्दा राम्रो बनाएर हस्तान्तरण गर्दा कतिजति खर्च आउन सक्छ ?”

क्यालकुलेटर थिचेको केहीबेरमै सुवर्णले भने– अहिलेकै अवस्थामा कम्तिमा पनि ३८ करोडमा भवन तयार हुन्छ ।

गुरुङले भने फिनिसिङ गरेर हामीले ४० करोड खर्च गरेर उहाँहरुलाई हस्तान्तरण गर्न सक्छौँ ?

सुवर्णले टाउको हल्लाउँदै भने– सक्छौँ ।

ल त्यसो भए त्यति सहयोग गर्छौं डा. सा’ब– गुरुङले फ्याट्टै भने ।

त्यति भनेर रोकिएनन्– ४० होइन हामीले ४१ करोड सहयोग गर्छौँ । तपाईंको यो अभियान सफल बनाएर छाड्नुपर्छ ।

हलमा उपस्थित सबै अवाक देखिए !  

डा. कोइराला भावुक बने । उनी केही बोल्नै सकेनन् ।  

कोइरालाले यति भने– यो घोषणाले मेरो आयु नै लम्ब्यायो ।

सहयोगको घोषणा गर्दा गुरुङको मुहारमा खुसीको सीमा थिएन । 

bhagawanagminbaha-(1)-1715951725.jpg
 

उनले त्यो क्षणमा आँखामा आइसकेको आँसु पटक पटक रोक्ने प्रयास गरे तर सकेनन् ।

गोजीबाट रुमाल निकाले– चस्मा छड्के पार्दै आँसु पुछ्दै भने, “मैले त्रिवि शिक्षण अस्पतालमा पनि दुईवटा भवन निर्माण गरिदिएँ । तर सरकारलाई हस्तान्तरण गर्न पाएको छैन । २०६८ सालमा ११ करोड खर्च गरेर इमर्जेन्सी भवन बनाएको हो । पछि १५ करोड खर्च गरेर अर्को भवन ।”

गुरुङले पछिल्लो ईएचएस भवन १५ करोड लागतमा निर्माण गरिदिएका हुन् ।

उनैले अहिलेसम्म १४ जनालाई एमबीबीएस अध्ययन गराएका छन् । रोल्पा, खोटाङ, मुगु, डोल्पा, बैतडी, दार्चुला, संखुवासभा, ताप्लेजुङ, पाँचथर र कालीकोटका गरी १४ जना डाक्टर बने र धेरैले स्थानीय तहमै जनताको सेवा गरेर बसेका छन् । 

उनीहरुको पढाइको सम्पूर्ण खर्च भाटभटेनीले नै बेहोरेको थियो र उनीहरू सो बापत् केवल स्थानीय तहमा जनताको सेवा गर्ने प्रतिबद्धता दिएका थिए ।

गुरुङ ती कुराहरु स्मरण गर्दै भने, “घरमा पनि सबैलाई यो कुरा नभनी यहाँ आएको थिएँ । पार्टनरलाई २५ करोडसम्म सहयोग गर्न सक्छु भनेको थिएँ तर यहाँ आइसकेपछि मैले ४१ करोड सहयोग गर्ने घोषणा गरेँ ।”

कोइरालाले भने, “हामीले पैसा नै नभएको बेला बनाउन थालेका हौँ । मैले यो खुसीको क्षणलाई बयान गर्नै सकेको छैन । अहिले मैले यतिमात्रै भन्छु– इट इज ह्युज अमाउन्ट । दिस इज अ गेम चेन्जर ।”

डा. कोइरालाले आफूले बनाउन लागेको अस्पताल केवल उपचारका लागिमात्रै नभएको उल्लेख गर्दै भने, “अहिले सबै कुरा बाहिर पनि भनिसकेको छैन । मैले अलि परैसम्म सोचेर यो प्रोजेक्ट अघि सारेको हुँ ।”

उनले अहिले घोषणा भएको यो सहयोगले देशका लागि केही गर्न खोज्ने व्यक्तिको कमी नभएको उल्लेख गरे ।

“यो सहयोगले बिग भिजनलाई सफल बनाउन सहयोग गर्‍यो । म फेरि पनि भन्छु यो भगवान कोइराला या बोर्डको मात्रै होइन, देशकै लागि गरिएको काम हो । आज मीनबहादुरजी पिलर बनेर आउनुभयो,” कोइरालाले भने, “नेपालमा पनि यस्तो मन खोलेर सहयोग गर्ने व्यक्ति हुनुहुन्छ भन्न पाउँदा हामीलाई गर्व लागेको छ । यो आम नेपालीको लागि खुसीको कुरा हो ।”

कोइरालाले काठमाडौंसहित सातवटै प्रदेशमा बाल अस्पताल बनाउने अभियान अघि सारेका छन् ।

bhagawan-koirala-1715951724.jpg
 

कोसी प्रदेशको झापामा एक वर्षअघि नै बाल अस्पताल सम्पन्न भइसकेको छ । अब काठमाडौंसहित बाँकी प्रदेशमा बाल अस्पताल निर्माण हुनेछ । 

“अहिले पनि दमकस्थित बाल अस्पतालमा दैनिक तीन सय बालबालिकाको उपचार भइरहेको छ,” उनले भने, “यो अस्पतालले पूर्व क्षेत्रमा धेरै सहयोग गरेको हामीले पाएका छौँ ।”

सहयोग रकम घोषणापछि भाटभटेनीका अध्यक्ष गुरुङले पनि राम्रो कामका लागि सहयोग गर्न पाउँदा आफूलाई भित्रैबाट खुसी लागेको बताए ।

“राम्रो काम गर्न पाउँदा मलाई खुसी लागेको छ,” उनले भने, “घरबाट आउँदा २५ करोडसम्म सहयोग गर्ने सोच थियो । जसले राम्रो काम गर्छ उसलाई सकेको बढी सहयोग गर्नुपर्छ भन्ने मलाई लाग्यो, त्यसैले मैले ४१ करोड सहयोग रकमको घोषणा गरेँ ।”

bhawan-minbahadur-1715951725.jpg
 

गुरुङले अहिलेको समयमा धेरैलाई समस्या रहे पनि   कसैले राम्रो काम गर्छ भने उसलाई सहयोग गर्न सबै तयार हुनुपर्ने र त्यो देशकै लागि सहयोग हुने बताए ।

“यो निस्वार्थ भावले गरेको काम हो । त्यसैले स्वार्थरहित काममा सहयोग गर्न पाउनु मेरो खुसीको कुरा हो,” उनले भने । अबको डेढ वर्षमा गुरुङले करिब एक लाख स्क्वायर फिटको अत्याधुनिक भवन निर्माण गरेर बाल अस्पताललाई हस्तान्तरण गर्नेछन् ।

जुन भवनमा बेसमेन्ट पार्किङ, इमर्जेन्सी, आईसीयू, एनआईसीयूलगायत कक्ष रहनेछन् भने माथि हेलिप्याड पनि रहनेछ ।

गुरुङले फेरि पनि सुवर्णतर्फ फर्किएर भने– हामीले बनाइदिने भवन नेपालकै उत्कृष्ट हुनुपर्छ । कुनै पनि अस्पतालको भवनभन्दा कम हुनुहुँदैन ।”

डा. कोइरालाले अहिलेसम्म जुटेको रकम सबै एकदमै पारदर्शी रुपमा खर्च भइरहेको उल्लेख गर्दै जुन प्रयोजनका लागि सहयोग आएको छ त्यहीँमात्रै खर्च हुने बताए ।

“हाम्रो प्रतिवद्धता के छ भने अहिलेसम्म जति पनि सहयोग आयो । एक दुईजनाबाहेक जसले जे प्रयोजनका लागि सहयोग गरेको हो त्यहीँ नै खर्च गर्छौँ,” उनले भने, “त्यो भवनको नाम, उहाँको नाममा या उहाँले इच्छाइएको व्यक्तिको नाममा हुनेछ । अहिलेसम्म डुप्लिकेट नहुनेगरी काम गरिएको छ ।”

koirala-hospital-(6)-1715951695.jpg
 

कोइरालाले गएको तीन चार वर्ष यही प्रोजेक्टका लागि आफू निकै कम समय मात्रै आराम गरेको बताउँदै भने, “पहिले सहजै बनाउन सकिएला भनेका थियौँ यो चार वर्षको अवधिमा म ६ महिनामात्रै सुतेको हुँला । कोभिड भयो, आर्थिक संकट देखियो । सक्ने मान्छे पनि नसक्ने भए । सोचेजस्तो सजिलो भएन । तर आजको यो घोषणाले मलाई उत्साही बनाएको छ । अब भने पक्का यो अस्पताल निर्माण हुनेछ ।”

सो सहयोग समारोह सकेर निस्कदै गर्दा डा. कोइराला र मीनबहादुर गुरूङको अनुहारमा विजयभाव झल्किन्थ्यो । दुवैजना एउटा ठूलो पहाड सफलतापूर्वक चढेको सन्तुष्टि झल्किरहेको थियो ।

यो देशमा केही हुँदैन भन्नेहरुका लागि डा. भगवान कोइरालाले एक अन्तर्राष्ट्रिय स्तरको सस्तो र सुविधायुक्त बाल अस्पताल बनाउने अठोट लिएर चुनौती दिएका छन् भने पैसा भनेपछि सबैजना जस्तोसुकै गलत कर्म गर्न पछि पर्दैनन् भन्नेलाई गतिलो उत्तर दिँदै मीनबहादुर गुरूङ एक अद्वितीय उदाहरण बनेर अघि देखिएका छन् । 

तस्बिर– सुनील प्रधान/बाह्रखरी 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  १९:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro