site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
निरजले जिते सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गतको चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि निरज तामाङले जितेका छन् । जयराम श्रेष्ठलाई तीन स्ट्रोकले हराउँदै उपाधि जित्ने क्रममा निरजले समग्रमा १–अन्डर २०६ स्कोर गरे । 

शुक्रबार भने उनले ४–ओभर ७३ स्कोर गरे । उपाधिसँगै उनले नगद एक लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

निरजले पोखरामा उपाधि जितेको यो पहिलोपटक हो । उनको करियरको यो तेस्रो उपाधि हो । उनले गत सिजनमा सूर्य नेपाल काठमाडौं ओपन र यसपालि सूर्य नेपाल वेस्टर्न ओपन जितेका थिए ।

इभन–पार ६९ को कार्ड तयार पारेका जयराम श्रेष्ठ समग्रमा २–ओभर २०९ सहित दोस्रो भए । उनले नगद एक लाख रुपैयाँ हात पारे ।

समग्रमा ३–ओभर २१० को स्कोरमा भुवनकुमार रोक्काले तेस्रो स्थानमा चित्त बुझाए । शुक्रबार उनले ७–ओभर ७६ को प्रदर्शन गरे । उनले ७५ हजार रुपैयाँ पुरस्कार पाए ।

नेपाल नम्बर एक प्रो भुवन नगरकोटीले शुक्रबार २–अन्डर ६७ को स्कोर दर्ज गरे । समग्रमा ४–ओभर २११ सहित चौथो हुँदा उनले ६३ हजार रुपैयाँ प्राप्त गरे ।

समग्रमा ७–ओभर २१४ को स्कोरमा सञ्जय लामा, धन थापा, विष्णुप्रसाद शर्मा र रामे मगरले पाँचौँ स्थान बाँडे । विष्णु र रामेले शुक्रबार ४–ओभर ७२ तथा सञ्जय र धनले ७–ओभर ७६ को स्कोर निकाले । उनीहरूले जनही ४४ हजार ७५० रुपैयाँ पुरस्कार पाए ।

१०–ओभर २१७ सहित कृष्णमान राजबहाक र तोरणविक्रम शाहीले १०औँ स्थानमा प्रतियोगिता सकाए । कृष्णले ६–ओभर ७५ र तोरणले ४–ओभर ७३ मा अन्तिम दिनको खेल सकाए । दुवैले जनही ३३ हजार ५०० रुपैयाँ नगद प्राप्त गरे ।

एमेच्योरतर्फ सुरेश तामाङ पहिलो भए । इभन–पार ६९ को स्कोरमा समग्रमा ९–ओभर २१६ को नतिजा निकाल्दै सुरेशले सुमन परियारलाई दुई स्ट्रोकले हराए ।

समग्रमा ११–ओभर २१८ सहित सुमन काउन्ट ब्याकमा दोस्रो भए । उनले शुक्रबार ३–ओभर ७२ स्कोर गरे । दोस्रो दिनका लिडर सुन्दर राई शुक्रबार ९–ओभर ७८ खेल्दै तेस्रो स्थानमा झरे ।

अन्तिम दिनको सुरुआत गर्दा मात्र एक स्ट्रोकले अगाडि रहेका निरजले उत्कृष्ट स्कोर निकाल्न सकेनन् । उनलाई अरू गल्फरले चुनौती दिन नसक्दा ३ स्ट्रोकले उपाधि जितेका हुन् ।

पाँचौँ देखि सातौँ होलमा बोगी खेपेका उनले फ्रन्ट नाइन ३–ओभर ३७ खेले । यसपछि १०औँ होलमा बर्डी प्रहार गरे पनि ११औँ र १८औँ होलमा एक–एक सट खेर फाले । ब्याक नाइन १–ओभर ३६ मा सकाए ।

जयरामले पहिलो होलमा नै ट्रिपल बोगी प्रहार गरे । लगत्तै तेस्रो होलमा एक सट खेर फाले । छैटौँ र नवौँ होलको बर्डीले फ्रन्ट नाइन २–ओभर ३६ मा पूरा गरे । यसपछि ब्याक नाइनमा चार बर्डी र दुई बोगी प्रहार गरे । १०औँ होलमा बर्डी प्रहार गरे भने १२औँ होलमा बोगीको सामना गरे । यसपछि १५औँदेखि १७औँ खेलमा लगातार तीन बर्डीको सफलता प्राप्त गरे । अन्तिम होलमा एक सट खेर फाल्दा ब्याक नाइन २–अन्डर ३३ मा सकाए । योसँगै उनी संयुक्त रूपमा पाँचौँबाट दोस्रो स्थानमा उक्लन सफल भए ।

लगातार दुई दिन दोस्रो स्थानमा रहेका भुवनले फ्रन्ट नाइन ५–ओभर ३९ र ब्याक नाइन २–ओभर ३७ मा सकाए । उनले दोस्रो र चौथो तथा यसपछि पाँचौँदेखि सातौँ होलमा लगातार तीन बोगी हाने । ११औँ र १५औँ होलमा पनि एक–एक सट खेर फाले ।

प्रतियोगिताका विजयी खेलाडीहरूलाई सूर्य नेपाल प्रालिका महाप्रबन्धक केशव प्रधान, गण्डकी प्रदेश गल्फ संघका अध्यक्ष इन्द्रधारा बिष्ट, कास्की जिल्ला गल्फ संघका अध्यक्ष जिवाराम गुरुङले पुरस्कार वितरण गरे ।

५४ होलको तीनदिने प्रतियोगितामा ३४ प्रोफेसनल र १८ एमेच्योर गरी कुल ५२ गल्फरले भाग लिएका थिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शनिबार, माघ १२, २०८१  २०:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro