site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
दमदमदेखि टोकियोसम्म

कलकत्ताको दमदम हवाईअड्डाबाट उड्नासाथ झ्यालबाट तलतिर हेर्न थालेँ । केही मिनेटभित्रै हामी यात्रारत विमान बादलभन्दा पनि माथिमाथि उडिरहेको थियो, र तल ?

तल बंगालको खाडीको निलो जल ! लाग्थ्यो, कुनै परीकथाको राजकुमारझैँ श्वेत हंसमाथि बसेर जादुको महलतिर गइरहेको छु ।

केही बेरमै रंगून सहरमाथि भएर जब हवाईजहाज उड्यो, सहसा मलाई एउटा पुरानो गीतको सम्झना भयो, ‘मेरे पिया गए रंगून...’

अचानक मेरो तन्द्रा भंग भयो र आधुनिक शृंगार प्रसाधनको सुगन्धमा म लट्ठिएँ ! कुनै युवती मसँग केही सोधिरहेकी थिइन् । स्निग्ध अनुहार, गुलाफको पातझैँ । अनुहारमा मृदु मुस्कान । मैले केही बुझ्न सकिरहेको थिइनँ कि उनी मसँग के भन्दै छिन् । मेरै छेउमै बसेका सहयात्री एकनास मेरो अनुहारमा हेरिरहेका थिए । सायद उनले सम्झिए म कतै लाटो त होइन !

एक मात्र विदेशी भाषा जुन हामीलाई बाल्यकालमा पढाइन्थ्यो, मैले त्यसको सहारा लिएँ । ‘एक्सक्युज मी !’

त्यसपछि मात्र ती जादुमय युवतीलाई होस आयो, म त्यो यात्रु होइन जो तिनले सम्झिरहेकी थिइन् । म त परदेशी हुँ ।

त्यसपछि तिनले टुटेफुटेको अंग्रेजीमा सोधिन्, ‘के लिन चाहनुहुन्छ ?’ (म यदि हिन्दी सिनेमाको हिरो हुन्थे भनेँ सायद भन्थेँ हुँला– तिम्रो दिल ! तर थिइनँ, त्यसैले ‘जिन र टनिक मगाएँ अनि बिस्तारैबिस्तारै चुस्की लिन थालेँ ।)

त्यत्तिकैमा तिनै जादुमय युवतीले ‘अनशन तोडो’ अर्थात् ब्रेकफास्ट लिएर आइन् । जबसम्म मैले अनशन तोड्ने कर्म पूरा गरेँ, बैंकक सहर आइपुगेको घोषणा भयो । हामी सबैले आआफ्नो सिटबेल्ट बाँध्ने काम गर्‍यौँ ।

बैंककमा हामीलाई ‘ट्रान्जिट लाउन्ज’मा लगियो, जहाँ अनेक प्रकारका फलफूल सजाएर राखिएको थियो । तरबुजा त त्यही नै थियो जुन हामीकहाँ पनि पाइन्थ्यो, तर जस्तो तरिकाले त्यसलाई काटेर सजाइएको थियो, सायदै कसैले आफ्नो लोभ लुकाउन सकूनँ !

दिउँसोको भोजन भने हामीले आकाशमै गर्‍यौँ । यतिन्जेल भोजनका साथमा सधैँ शुद्ध पानी पिउँदै आएका थियौँ, तर आज ‘वाइन’ प्राप्त हुने देखेपछि म ‘डिवाइन’ सुखमा डुबेँ । यदि, विदेश यात्राको यस्तै रङ रहिरह्यो भने भगवान्ले गरोस्, यो यात्रा कहिल्यै नसकियोस् ! मैले यसैगरी भगवान्लाई मनाउन थालेँ ।

हवाईजहाजमा ती जादमय युवतीहरू समयसमयमा हामी नजिक आएर ‘अरू केही चाहिन्छ कि ?’ भनेर यसरी सोधिरहेका थिए, मानौँ बनारसका कुनै धनाढ्यको निम्तोमा महाराजाहरूलाई सोधिएको होस् ।

अँ ! एउटा घटना त मैले लेख्नै बिर्सिएँ । जसै हामी चढेको वायुयान दमदमबाट उड्यो, म बंगालको खाडीको विहङ्गम दृश्य हेर्न ढोकानजिकैको झ्यालअगाडि उभिएँ । अनि, जसै म पछिल्तिर फर्किएँ – एक हवाई युवती (एयर होस्टेज)का हातमा रहेको किस्तीका सबै गिलासहरू तल झर्‍यो र पेयपदार्थ मेरो प्यान्टमा पोखियो ।

ती विचरी आत्तिइन् र भन्न थालिन्, ‘गोमेननसाइ, गोमेननसाई (माफ गर्नुस्, माफ गर्नुस्) । सँगसँगै नेपकिन लिएर मेरो प्यान्ट पुछ्न थालिन्, सर्वत्र ! मेरो शरीरमा काँडा उम्रियो र म सोच्न थालेँ– बनारसका गल्लीहरूमा कुनै दूध लिएर हिँडिरहेकी युवतीलाई यसरी धक्का लागेको भए के हुन्थ्यो ?!

‘तोहार आँख फूट गैल हो का ? अरे मुआ, अपने माँ बहिन के धक्का द...! सूअर कहीँ का...’ (तेरो आँखा फुट्यो के ? आफ्नी आमा र बहिनीलाई धक्का दे न ! सुँगुर कहीँको...) यदि, छेउछाउमै उसको भाइ हिँडिरहेको हुन्थ्यो भने उसका दुईचार मुक्का मेरो शरीरमा पर्थ्यो नै होला ।

साँझपखको अवस्थाले मलाई आफ्नो रेसमी आवरणमा बाँधिरहेको थियो र पर कतै बिजुलीको रङ–बिरंगी प्रकाशमा उज्यालिएको कुनै सहर देखियो । यसभन्दा केहीअगाडि हामी भियतनामको माथि भएर उडिरहेका थियौँ । म झ्यालबाटै तलतिर हेरिरहेको थिएँ, चारैतिर हरियो जंगलजस्तो ‘हाइल्यान्ड्स’ देखिँदै थियो ।

म सोचिरहेको थिएँ, यो विरान जंगलमा कति तोप, गोला, बन्दुक र ज्यान आफ्ना हातमा बोकेर लम्किने सेनानीहरू हिँडिरहेका होलान् ! माथिबाट हेर्दा कति शान्त देखिरहेको थियो आन्दोलित धरतीको त्यो सतह !

व्यापारको प्रमुख केन्द्र, तस्कर व्यापारीहरूको स्वर्ग हङकङ हेर्दा विलक्षण लाग्छ । त्यति धेरै प्रकाश त हामीकहाँ दीपावलीमा पनि देखिँदैन ! यहाँ पनि हामीले करिब एक घण्टा रोकिनुपर्‍यो ।

विमानघाटभित्रै यात्रुहरूका निम्ति अनेक पसलहरू खोलिएका थिए । हामीसँगै रहेका जापानी यात्रुहरू यहाँ सिगरेट र मदिरा खरिद गर्न थाले । जापानीहरू राम्रो किसिमको सिगरेट र मदिरा बनाउँछन् । तर, विदेशी चिज त आखिर विदेशी नै हो ।

कट्टर देशप्रेमी जापानी मानिस पनि अमेरिकन सिगरेट र स्कच ह्वीस्की आफूसँगै लैजान चाहन्थे, सायद आफ्ना बन्धुबान्धवहरूलाई उपहार दिन होला !

त्यसो त जापानमा विदेशी वस्तुहरूको मूल्य अधिक हुन्छ । हङकङमा एक बोतल स्कच ह्वीस्कीलाई २१ रुपैयाँ पर्छ भने जापानमा खरिद गर्दा त्यसको दाम करिब एक सय रुपैयाँ पर्न जान्छ ।

हङकङबाट उडान भरेपछि सबै परिचारिकाले आफ्नो राष्ट्रिय पोसाक ‘किमोतो’ पहिरिएका थिए । यो पहिरनमा ती झनै परीझैँ लाग्दै थिए । पश्चिमी शैलीको पहिरनमा जहाँ ती नारी यौवनको प्रतीक झल्किएका थिए, यतिखेर भने नारीको नैसर्गिक सौन्दर्यको प्रतीक देखिए ।

‘किमोतो’ जापानका युवतीहरू हमेसा लगाउँदैनन् । वर्षमा एकदुईपटक उत्सव वा विशेष अवसरका समयमा मात्र लगाउँछन् । हामीकहाँ बिहेमा ‘बिहेको कपडा’ भनेझैँ तिनले पनि विवाहका बखत विशेष रूपमा ‘किमोतो’ खरिद गर्नुपर्छ ।

तर, मैले कैयन् जापानी उच्चस्तरको क्लबहरू र विभिन्न होटेलका परिचारिकाहरूलाई हमेसा ‘किमोतो’ पहिरनमै देखेको छु । सायद यो पोसाकमा ती जति सुन्दर र आकर्षक लाग्छन्, कुनै अरू पहिरनमा त्यस्तो देखिँदैनन् ।

वायुयानमा मेरा सहयात्री विश्व भ्रमण गरेर स्वदेश फर्किंदै थिए । जापानी मानिस आफ्नो प्रौढावस्था र वृद्धावस्थामा देश–विदेशको भ्रमण गर्न मन पराउँछन् । एकदम कम जापानी होलान्, जसले आफ्नो देशको भ्रमण नगरेका होलान् !

विद्यालयका छात्रछात्रा पनि स्कुल बिदा हुनासाथ समूहसमूहमा आफ्नो सहरभन्दा टाढाटाढा जान्छन् । यही नै सायद तिनको विशाल हृदय र उन्नतस्तरको परिचायक हो ।

हामीकहाँ त भ्रमण गर्ने फुर्सद नै कसलाई हुन्छ र ? र, फुर्सदमा रहेका मानिसमा स्रोतसाधनको यस्तो कमी हुन्छ कि तिनले देशकै भ्रमण गर्नुलाई विलासिताको लक्षण मान्दिन्छन् ।

विदेश जाँदा भाषाको कठिनाइले कति अप्ठ्यारो रूप लिन्छ भन्ने कुरा मैले टोकियोको ‘हनेडा’ विमानस्थलमा ओर्लिएपछि थाहा पाएँ । रातको बाह्र बजेको थियो । मलाई भनिएको थियो कि तिमीलाई लिन कोही मानिस आउँछन् ।

म आफ्नो सामान भन्सार जाँच गराएर बाहिर निस्किएको थिएँ । र, मानिसहरूको भीडमा ‘आफ्नो मानिस’ खोज्न थालेँ ।

यो जुन राष्ट्रियता, देशप्रेम भनिन्छ नि, विदेशमा त्यसको रूप नै बेग्लै देखिन्छ ! विदेश पुग्नासाथ हामी अन्तर्राष्ट्रिय भइदिन्छौँ । त्यहाँ न कसैको राष्ट्र हुन्छ न त कुनै धर्म । बस्, बाँकी रहन्छ त मानवताको नाता ।

संयोगले एकजना महानुभाव बाहिर भेटिए । उनी भर्खरै मात्र अर्को कुनै विमानबाट ओर्लिएका थिए र ‘आफ्नो मानिस’को खोजी गर्दै थिए । हामी दुवै एउटै किसिमको भाषा बोल्ने रहेछौँ ।

यो थाहा पाएर दुवैजनामा अत्यधिक खुसी महसुुस भयो, मानौँ हामी दुवै धेरैअघिदेखि हराएका दाजुभाइ हौँ ! र, तिनै पाकिस्तानी महोदय जापान बसाइको पाँच महिनासम्म मेरो साथी भए ।

राम्रो के थियो भने हामी दुवैजनालाई एउटै मानिसको खोजी थियो । र, त्यो मानिस पनि हामी दुवैलाई निकै बेरदेखि खोजिरहेको रहेछ !

आश्चर्यको कुरो त के थियो भने, ऊ अंग्रेजी राम्ररी नबुझ्ने मात्रै होइन कि ठिकसँग बोल्न पनि सक्दैनथ्यो ।

हेर्नुस् त, हामी जुन अंग्रेजीका पछाडि यसरी दौडिरहेका छौँ त्यही भाषा कति बेकारको लाग्छ, कतैकतै !

बडो नम्रताका साथ झुक्दै उनले हामीसँग हात मिलाए र आफ्नो भिजिटिङ कार्ड निकालेर हामीलाई दिँदै घुँडामा हात राख्दै झुके । हामीलाई पछि मात्रै थाहा भयो कि जापानमा पहिलो परिचय यसरी नै गर्ने परम्परा रहेछ, भिजिटिङ कार्ड परस्परमा आदानप्रदान गरिसकेपछि निहुँरिँदै अभिवादन गर्नु ।

मसँग भिजिटिङ कार्ड थिएन, त्यसैले मनमनै निर्णय गरेँ– भोलिको पहिलो काम नै भिजिटिङ कार्ड छपाउने हो ।

हाम्रो स्वागतार्थ आएका ती महानुभावले हामीलाई ट्याक्सीबाट कताकता पुर्‍याउँदै टोकियो इन्टरनेसनल सेन्टरमा लिएर गए । त्यस होटेलमा हामीलाई आआफ्नो कोठा देखाएर उनी बिदा भए ।

कोठा वातानुकूलित थियो र पलङमा सफा सेतो सिरक, च्यादर, तकियाका बीचमा कुनै सुन्दर कपडाको डिजाइन देखिँदै थियो । र, कोठाको भुइँले मानौँ धुलोलाई चुनौती दिँदै थियो– सक्छस् भने ममाथि आइज, नचिप्लिए त भन्नू !

अंग्रेजीको एउटा भनाइ ‘क्लिन्लीनेस इन नेक्स्ट टु गाडलीनेस्’ अक्षरशः यहाँ चरितार्थ हुँदै थियो ।

र, म वास्तवमा उदाउँदो सूर्यको देशमा आइपुगेको थिएँ ।

(श्रेष्ठको हिन्दी नियात्राकृति ‘देश देशान्तर’बाट अनूदित)
 

प्रकाशित मिति: शनिबार, माघ ५, २०८१  ०९:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro